हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

सङ्गीत, साहित्य र साधनाको सङ्गमः नेपाली सङ्गीतको एक शतक,(राम्जी तिमिल्सना)


'क्याम्पमा आमाले गाइरहेका बेला सुरप्रेमी मृगहरु महाराजका अगाडि नै आइबस्थे र महाराजको हुकुम हुन्थ्यो- मेलवाले गाएका बेला आएका मृगहरुलाई नमार्नू । आमाको गीत सकिने बित्तिकै ती मृगहरु जङ्गलतिर भाग्थे रे ।'
नेपाली सङ्गीतकी प्रथम गायिका मेलवादेवीकी छोरी विमला दीक्षितको स्मरण हो यो । सार्वजनिकरुपमा सँचारदूतको पद्वी पाउनुभएका कवि गीतकार समालोचक साचारकर्मी र सिने निर्देशकका साथै पछिल्लो समयमा नेपाली सङ्गीतको इतिहासकारसमेत बन्नुभएका प्रकाश सायमीको भर्खरै प्रकाशित पुस्तक नेपाली सङ्गीतको एक शतक- २०६६ भित्रको 'नेपाली सङ्गीतको पाश्र्वभूमिमा मेलवादेवीको आगमन' शीर्षक लेख १०९- ११४ मा उद्धृत गरिएको अंश हो यो । सिकारमा निस्केका राणा प्रधानमन्त्रीको साथमा गायिकाको रुपमा समावेश हुने मेलवादेवीको गायनको शक्तिको यो प्रसङ्ग सङ्गीतको क्षमता प्रभाव र रहस्यले भरिपूर्ण तिलस्मी गुणलाई एकसाथ प्रस्तुत गर्न पर्याप्त छ । 'सङ्गीतमा क्रान्ति ल्याउन साहित्यसित निकटता राख्नुपर्छ' भन्ने नेपाली सङ्गीतका स्वरसम्राट नारायणगोपालको भनाइले देखाएजस्तै साहित्य र सङ्गीत एकअर्काका पूरक हुन् । दुवैले जीवनका सामान्य दुःख वा सुखका भावभन्दा पर मधुरता र सुन्दरताको तेस्रो भावतिर सर्जक र भावक दुवैलाई लानसक्ने क्षमता राख्दछन् । सङ्गीत धुनमा आउने र साहित्य शब्दमा प्रस्तुत हुने कलाका विधा भए पनि दुवैको उत्पतिको कारण र प्रभावको क्षेत्र एउटै रहने भएबाट यी दुवैलाई पूर्णरुपमा अलग्याएर अध्ययन गर्नु अपूर्ण यात्रा तय गर्नु जस्तै हो । आजकल व्यापक अर्थमा गीतलाई पनि सङ्गीतकै महत्वपूर्ण पक्ष मानिन थालिएको छ । गीत शब्दमा रचना गरिने भएकाले स्वभावतः साहित्यको साङ्गीतिक रुप हो । यसले पनि सङ्गीत र साहित्यको निकटताको पुष्टि गर्दछ ।

 
प्रत्येक लेखन सत्यको खोजीतर्फको यात्रा हो । साहित्यिक लेखले मान्छेको अन्तरको यात्रा गर्दछ भने गैरसाहित्यिक लेखले उसको वरिपरिको सत्यलाई लक्ष्य बनाएर खोजको बाटो समात्दछ । खोज वा अनुसन्धान साधनाको एउटा रुप हो । पूर्ण समपर्ण भावले मात्र यो सम्भव तुल्याउँदछ । यदि कुनै लेखनले भित्री र बाहिरी दुवै सत्यको खोजीको एकसाथ प्रयास गर्यो भने मान्छेका दुवै यथार्थहरु एकसाथ उपस्थित भएर जीवनको पूर्ण चित्र बनाउँदछन् । प्रत्येक लेखकले सम्भव भएसम्म जीवनलाई समग्र बुझ्न चाहन्छ । यस्ता कृतिहरुको असाध्यै अभाव हुने यथार्थका बीच खोजपूर्ण र गहिरो अध्ययनको सहायताले सङ्कलित तथ्यहरुलाई साहित्यिक रसका साथ मानवीय संवेदना र चाखलाई समेट्ने गरी प्रस्तुत गरिएको नेपाली वाङ्मयको पछिल्लो कृति हो प्रकाश सायमीको नेपाली सङ्गीतको एक शतक- २०६६ (२००९) ।

काठमाडौँ बाहिरका कलाको क्षेत्रमा लागि परेर पनि ओझेलमा परेका स्रष्टाहरुलाई राष्ट्रिय मंचमा ल्याउन समर्पित र खप्पिस मानिनु हुने सायमीको यो कृति इतिहासको पर्दाले ढाकेर राखेका गौरबशाली सङ्गीतसाधकहरुको समर्पण र योगदानको खोजमूलक ग्रन्थ हो । पाश्चात्य सङ्गीतले पकड जमाएको यस समयमा आफ्नै नेपाली सङ्गीतको इतिहासमा पाइने उपलब्धिहरुलाई एकीकृत गरेर आत्मसम्मानका साथ भविष्यको यात्रा तय गर्नु आजको आवश्यकता हो । सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुले आफ्नो कर्तव्यबोध नगरी जागीर खाने र राजनीतिक अखडाको रुपमा प्रयोग हुने वातावरण व्याप्त रहेको वर्तमान समयमा कला संस्कृतिको संरक्षण र सम्वद्र्धन सचेत र कर्तव्यनिष्ठ नागरिकहरुकै तहमा मात्र हुनसक्दछ । विभिन्न सेलुलर बडीहरुको सक्रियता र त्यो पनि नभए व्यक्तिगतरुपमै भए पनि इतिहास र सम्पदाको रक्षा जरुरी छ भन्ने सायमीको कर्तव्यबोधको प्रतिफल हो यो कृति । २०६५ सालमा नेपाली सङ्गीत सयवर्ष पुगेको तथ्यको 'शुभारम्भः द म्युजिकल जर्नी'को तर्फबाट सार्वजनिक घोषणा गर्ने ऐतिहासिक र शाहसिक काम गर्नुभएका सायमीको यो पुस्तक उहाँकै २०५८ सालमा प्रकाशित 'नेपाली सङ्गीतको स्वर्णीम युग'ले सुरुगरेको ऐतिहासिक दस्तावेजको शृङ्खलाको दोस्रो खुड्किलो हो ।

संसारको कुनै पनि समाजको विकासको प्रकृयासँगै सङ्गीतको पनि विकास भएको तथ्यमाथि विशेष जोडदिँदै राजनीति जीवन र सङ्गीत एकअर्कामा निर्भर रहने यथार्थ नेपाली सङ्गीतको इतिहासमा पनि भएको देखाइएको छ पुस्तकमा । ऐतिहासिक सङ्गीतकार, गायक, गीतकार र सङ्गीतसाधकहरुलाई समग्रमा समेट्ने शब्दहरुको योगदान र प्रभावहरुको विश्लेषणात्मक प्रस्तुति पाइन्छ पुस्तकभरि नै । राजनीति मान्छेले मान्छेकै लागि गर्ने र सङ्गीतले मान्छेमा भावनात्मक र परिणामस्वरुप वैचारिक परिवर्तन समेत ल्याइदिँदा राजनीतिको स्वरुपसमेतमा प्रभाव पर्ने तथ्यलाई नेपालको सन्दर्भमा जोडेर लेखकले भन्नुभएकोछः "नेपालको राजनीतिमा पंचायती शासनको दमन आकासिएर गए पनि साङ्गीतिक क्रान्तिले राजनीतिमा केही हलचल ल्याइरह्यो" ३२ । राल्फा (२०२३) को राजनीतिक तथा सामाजिक क्षेत्रमा परेको प्रभावको समेत चर्चा गर्दै पुस्तकमा लेखिएकोछः
पंचायतकालीन रेडियो नेपालभित्रको बुर्जुवा संस्कृतिको विरोधगर्दै सुरुभएको यो साङ्गीतिक शृङ्खला नेपालको इतिहासमा पहिलो र पृथक मानिन्छ जसले निःशुल्क कार्यक्रम प्रदर्शन गर्दै पहाडतराइमा सङ्गीतका माध्यमले चेतना जगाउने काम गर्यो । (३३)

यसरी समाजपरिवर्तनको अन्तरमा रहेर कामगर्ने सक्षम र प्रभावकारी कलाको रुप नेपाली सङ्गीतको सय वर्षको इतिहासलाई सम्भव भएसम्म मिहीन तहमा प्रस्तुत गर्ने जमर्को गरिएको छ । सिङ्गै इतिहास लेख्ने प्रयास गरिएकाले अपूर्णताहरु त स्वाभाविक रुपमै रहन्छन् नै । सन् १९१० तिर भारतमा ५ रुपैँया ६ आना पर्ने ग्रामोफोनको सहयोगले नेपाली र नेवारी भाषाका गीत रेकर्ड गर्ने प्रचलनको सुरुआत भएयता नेपाली सङ्गीतको इतिहासको अभिलेखनको प्रारम्भ हुन्छ । नेपाली समाजको मात्र नभई विशाल भारतमै पहिलो पटक गीत रेकर्ड गराउने नारी नेपालकी प्रथम महिला गायिका मेलवादेवीको नाम पढ्न पाउँदा प्रत्येक नेपाली उनीप्रति श्रद्धाले झुक्दछन् र यस्तो लुकेको तथ्य प्रकाश पार्ने लेखकप्रति आभारी पनि हुन्छन् । मित्रसेनलाई सङ्गीतका भानुभक्त र नारायणगोपाललाई सङ्गीतका देवकोटाको स्थान दिए जत्तिकै चर्चा भएको छ पुस्तकभरि । यसैगरी चाखलाग्दा निम्न तथ्यहरुको प्रस्तुति पनि छः
क) २००० को दशकमा नेपाली गीतको नेपाल र भारत दुवैतिर प्रभाव बढ्यो ।
ख) गायकगायिकाहरुको आफ्नै रचनामा झ्याउरे गीतको परम्परा सुरुभयो ।
ग) मिस पाताल चाइना नेवारभाषाको गीत रेकर्डमा गाउने प्रथम नारी हुन् भने सेतुराम श्रेष्ठ नेपाली र नेवारी दुवै भाषामा प्रथम रेकर्ड गरिएका गीतका गायक हुन् ।
घ) मिस प्रमिला र मिस दुलारी नेपाली युगल गीतका प्रथम गायिकाहरु हुन् ।
ङ) वि. सं. १९९० तिर नारीपुरुषको प्रथम युगल गीत मास्टर पूर्णमान र हिनादेवीले गायका हुन् ।
च) मित्रसेन अलइन्डिया रेडियोमा बज्ने पहिलो नेपाली गायक हुन् ।
छ) रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल प्रथम गायिका रानूदेवी अधिकारी र गीतकार शङ्कर लामिछाने हुन् ।
ज) नातिकाजीले सबैभन्दा व्यापक गायकगायिकाका लागि सङ्गीत भर्ने काम गरेका छन् ।
झ) प्रेमध्वज प्रधान नेपाली जनसमाजमा गीतार लिएर प्रवेश गर्ने प्रथम नेपाली गायक हुन् ।
यस्ता पथप्रदर्शकहरुको लामो सूची बन्दछ पुस्तकभित्र रमाउदै जाँदा । समग्रमा यस कृतिले नेपाली सङ्गीतको इतिहासलाई निम्नानुसार कालखण्डहरुमा प्रस्तुत गरेको छः
१९६५- २०००: प्रारम्भिक चरण
२००१- २०१०: सिर्जनात्मकताको प्रारम्भ
२०११- २०१७: आधुनिक सङ्गीतको विस्तार
२०१८- २०३७: स्वर्णीम युग जनस्तरमा सङ्गीतको प्रवेश
२०३०- २०४०: चरम उत्कर्ष र ढुलमुलको अवस्था
२०४१- २०५०: सुगम सङ्गीतको उत्थान
२०५१- २०६०: सङ्गीत संरचनाको प्रयोगको दशक
२०६१- २०६५: गीतसङ्गीतको संरक्षणको युग सङ्गीतमहोत्सवको परम्परा गीतको दृश्यविधाको रुपमा विकास रिमिक्सको व्यापक प्रयोग ।

गम्भीर ऐतिहासिक तथ्यहरुको प्रस्तुतिको बीचबीचमा केही रोचक तथ्यहरु पनि टिपिएका छन् यो शताब्दीको साङ्गीतिक इतिहासको बीचबाट । सङ्गीतको संसारभित्र प्रवेशका विभिन्न घतलाग्दा तथ्य तथा त्यसबाट बहिर्गमनका अझ बढी मन छुने कैयौँ घटनाहरुको प्रस्तुतिले पुस्तकमा चटपटेको काम गरेकोछ । हिउँदको दिउसोको खुल्ला घमाइलो शहरको स्वच्छ चोकमा चटपटेको विशिष्ट स्वादले रिङ्गिएर निमग्न भएकी सुन्दरीको जस्तै अवस्था हुन्छ यो पुस्तक पढिरहँदा पाठकको पनि सङ्गीतको संसारमा उभिँदाको क्षण । नारायणगोपाल र गोपाल योन्जनको मितेरीपछि प्रारम्भ भएको सङ्गीतको शक्तिशाली युग यी दुईबीचको फुटपछि सेलाउँदै गए पनि उनीहरुमा कायम रहेको हठको वृत्तान्तका साथै उनीहरुको अन्त्यपछि पनि परिवारिक मनमुटाव कायम रहेर सङ्गीतको विकासमा धक्का लागेको प्रसङ्ग मान्छेभित्र लुकेर रहेको खराब प्रवृत्तिले कसरी कलामा आघात पार्छ भन्ने सप्रमाण उदाहरण बन्न गएको छ । देवकोटा, रिमाल, भूपि, सिद्धिचरण, युद्धप्रसाद मिश्र, गोकुल जोशी, माधव घिमिरे र वैरागी काइँलाजस्ता प्रसिद्ध कविहरु पनि गीतकार रहनुभएको तथ्यदेखि लिएर "दार्जिलिङका कलाकारलाई कि त नेपालले लान्छ कि रक्सीले खान्छ" भन्ने तीसको दशकको भनाइसम्मका सयौँ रोचक प्रसङ्गहरुले भरिएको यो पुस्तक पढिरहँदा कतै अल्छी नलाग्नुलाई इतिहास लेखनको ठूलो सफलता मान्नुपर्दछ ।

यो पुस्तकको अर्को शक्ति अनुसन्धानात्मक खोजको स्तर हो । इन्द्रबहादर राईको सन् १९३५-४५ को दार्जिलिङको समाजमा नेपाली सङ्गीतप्रतिको अनुरागको रोचक टिप्पणीदेखि ठूलो सङ्ख्यामा गीतकार, गायक र सङ्गीत साधकहरुको वास्तविक नाम र साङ्गीतिक नामको सूची समेत अनुसन्धानको रोचक प्राप्ति हुन गएको छ । सङ्गीत समालोचकहरुका टिप्पणीहरुलाई नेपाली सङ्गीतमाथिका आधिकारिक धारणा मानेर तिनकै आधारमा कैयौँ नयाँ तर्कहरुको सिर्जना गर्दा पनि सायमीको शैली चोटिलो र विश्वासिलो बनेकोछ ।
यो पुस्तक अनि यसका लेखकको असाध्यै उल्लेखनीय शक्ति रहेको छ समालोचकीय दृष्टिकोण । प्रस्तुत प्रत्येक घटना समालोचकीय आँखामा परेका छन् । तथ्यहरुको रुखो वर्णनात्मक प्रस्तुतिलाई नै इतिहासलेखनको शैली ठानिने यस समयमा तिनीहरुको विवेचनात्मक टिप्पणीले घटनाहरुलाई सटीक र यथार्थलाई वैचारिक र भावनात्मक दुवै रुपमा रोचक बनाएका छन् । कुनै पनि प्रसङ्गमा आफ्नो तर्कलाई सुहाउने घटना वा कुनै आधिकारिक व्यक्तिको भनाइ वा प्रसिद्ध व्यक्तित्वको जीवनशैलीलाई उदाहरणको रुपमा प्रस्तुत गरेर त्यसैलाई आधार बनाएर समग्र समाज र सामाजिक चिन्तनमाथिकै समीक्षा प्रस्तुत गर्ने क्षमताले सायमीलाई समालोचनात्मक इतिहासकार भन्न सकिने विश्वास जन्मिन्छ पुस्तकभित्र डुलिरहँदा । जीवनकालमै स्वरसम्राटको उपाधिले विभूषित नारायणगोपालले 'यस किसिमको पगरी ढोंग हो ।' भनेर त्यसलाई बहिष्कार गर्नुभएको घटना यो पुस्तक लेखनको उर्जा भएको उजागर गर्दैगर्दा सायमीले गर्नुभएको तलको टिप्पणी यसैको प्रमाण होः
"आजको ढोङ र आत्मरतिमा भुल्ने समाजले ती महान् साधकबाट सिक्नपर्ने पाठ पनि यही हो । र नसिकेको पाठ पनि यही हो ।" (लेखकीय)

नेपाली गीतको विकास स्वर्णीम युगको समीक्षा विभिन्न सङ्गीतकारहरुको मूल्याङ्कन लगायतका व्यापक क्षेत्रमा सायमीका दार्शनिकदेखि  रोमांचकसम्मका टिप्पणीहरुले खँदिलो बनेको छ यो कृति । डेभिड डेकिचले अङ्ग्रेजी साहित्यको इतिहास लेख्दा आफुलाई इतिहासकारभन्दा बढी समालोचक बनाएर इतिहास लेखनको नयाँ प्रवृत्तिलाई विस्तार गरेजस्तै भएको छ सायमीको यो पुस्तक । वास्तवमा यो नेपाली सङ्गीतको समालोचनात्मक इतिहास बन्न गएको छ ।

सङ्गीतको क्षेत्रमा प्रयोग गरिने विभिन्न शब्दावलीको वास्तविक अर्थ पनि क्रमशः प्रस्टिने यस पुस्तकभित्र अनुवाद र व्याकरणीय दृष्टिले केही अस्पष्टता र कमजोरीहरुसमेत रहेका छन् । कर्ता र क्रियाको परम्परागत सम्बन्ध भत्किएको एउटा उदाहरणः
त्यसपछि सङ्गीत विद्यालय, म्युजिक नेपाल, दी काठमान्डू पोष्ट आदिले पनि यस विषयमा केही प्रभाव देखायो । (लेखकीय)
'प्रभाव देखाए'; हुनपर्नेमा 'प्रभाव देखायो'; हुनगएको छ । अबको समयमा गायिका भन्नुभन्दा 'नारी गायक'; वा 'महिला गायक'; भन्ने शब्दावली प्रिय हुन्छ । 'मोफसल';को सट्टामा कतै 'मुफस्सल'; त कतै 'मुफस्सिल'; प्रयोग गरिएको छ । एकरुपताको यो अभाव अनुवादमा पनि छ । 'नोस्टाल्जिया'लाई कतै 'इप्सास्मृति' (७१) त कतै गृहविरह' (१२३) भनिएको भेटिन्छ । सामान्य पाठकहरुमा यसले द्विविधा उत्पन्न गर्दछ । यसको साथै परिचयीकरण द्वारदरवेशहलमार्क जस्ता शब्दको प्रयोग र 'अन्तमा तर अन्तिममा होइन' जस्ता चाखलाग्दा शब्दावलीको प्रयोग पनि छ । यो दोस्रो प्रयोग सकारात्मक छ ।

आफू आधारभूतरुपमा साहित्यकार रहनुभएका सायमीले सङ्गीत र साहित्यको निकटतम् सम्बन्ध हुन्छ भन्ने प्रमाणित नै गर्नुभएको छ सङ्गीतकार दीपक जङ्गममाथिको निम्न टिप्पणीमाः रङ्गमंच, गायन र साहित्यिक ज्ञानको समग्र अनुभव र सत्सँग पाएका जङ्गमले कम समयमा विधि विधका प्रयोग गरेर नेपाली सङ्गीतलाई विशिष्टता दिए ।(२९-३०)
 
यस्तो विश्वास राख्नुहुने लेखकले यो इतिहासको पुस्तकको भाषा पनि सरल सरस र पाठकको मनमस्तिष्क तान्न सक्ने क्षमताको प्रयोग गर्नुभएको छ । यसरी भन्न सकिन्छ, सङ्गीतमा मात्र होइन इतिहासको लेखनमा पनि रोचकता ल्याउन यसको लेखनको शैली साहित्यको नजिक रहन जरुरी छ । पाठकको ध्यान खिच्नसक्ने र मानवीय चाखको गहिराइमा पुग्नसक्ने इतिहास मात्र सफल हुन्छ । यो पुस्तक त्यस्तै भएको छ । अरुणा लामाको 'गाउने कला गलामा होइन मुटुमा सिउरिएको हुन्छ।' भन्ने भनाइले पनि सङ्गीतको साहित्यसँगको निकटता प्रष्ट पार्दछ। दुवै मुटुकै छेउबाट निस्केर मुटु र मस्तिष्कहरुलाई एकसाथ प्रभाव पार्ने विधाहरु हुन् । मेलवादेवीको निधनमाथिको लेखकको निम्न टिप्पणीमा त्यो साहित्यिक सक्षमता देखिन्छः
वि.सं. २०१२ सालमा सरस्वतीकी पुत्री मेलवाको आफ्नै डेरा तर विदेशको आकासमा विलय भयो- सामान्य अग्निकाण्डले । आगोजस्तै फैलिएको पानीजस्तै सरल र गरल उनको आवाजलाई आगोको ज्वालाले नै निभाइदियो- नेपाली आधुनिक सङ्गीतको प्रारम्भिक चरणमा । (११४)
यो टिप्पणी सरस र भावपूर्ण मात्र छैन नेपालको सरकार र यसका निकम्मा संस्थानहरुप्रतिको व्यङ्ग्यले भरिपूर्ण पनि छ ।

नेपाली सङ्गीतको एक शतकको इतिहासका तथ्यहरुभन्दा थप झ्याउरे गीत, मेलवादेवी, स्वर्णीम युग, गोपालहरुको योगदान, सङ्गीतकार शरण प्रधानको सम्झना हुँदै नारायणगोपालका बहुआयामहरुको चर्चा र मूल्याङ्कनका साथमा विभिन्न टिप्पणीकारहरुको उनीमाथिका भनाइहरुलाई समेत एकसाथ एउटै पुस्तकमा समेट्दा नेपाली सङ्गीतको अध्ययनमा प्रवेश गर्न चाहने जो कोहीलाई पनि मूलद्धार हुनगएको छ यो पुस्तक । तथ्यहरुको आधिकारिकता त सम्बन्धित विषयका विज्ञहरुले विश्लेषण गर्ने विषय हो । आफ्नै अघिल्लो पुस्तक 'नेपाली सङ्गीतको स्वर्णीम युग २०५८' माथिका समालोचनात्मक टिप्पणीहरुको यस पुस्तकको अन्तिम भागमा गरिएको सङ्कलन र अच्यूत भट्टराईले सायमी आफैँसँग लिनुभएको सङ्गीतसँग सम्बन्धित पूर्वप्रकाशित अन्तर्वार्तासमेत जस्ताको तस्तै पुनः प्रकाशन गरेर आफ्नो यथार्थ र सामाजिक स्थितिको प्रमाणिक रुप पेसगर्दा पाठकहरुलाई प्रकाश सायमीको मूल्याङ्कन गर्न पनि प्रशस्त सामग्री र सहयोग दुवै प्राप्त भएका छन् । वास्तवमा यसरी यो पुस्तक सङ्गीतको इतिहास मात्र नभएर प्रकाश सायमीको जीवनको चित्र जस्तै उपस्थित छ पाठकहरुका सामू । पिटर जे. कार्थकका शब्द सापटी लिएर प्रकाश सायमीलाई नेपाली सङ्गीतका मोतिराम भन्न हुने प्रमाण जुटाइ दिएको छ यो पुस्तकले ।

गीता त्रिपाठीले भन्नुभएजस्तो क्षतिपूर्ति ग्रन्थका रुपमा मात्र यसको महत्व सीमित हुने छैन । यो पथप्रदर्शक कार्य हो जुन नयाँ श्रृङ्खलाको सुरुआतको रुपमा सदैव सुरक्षित रहनेछ । नेपाली सङ्गीत र यसको विकास-विस्तारको आधिकारिक जानकारीमूलक पुस्तक हुन गएको छ यो । त्रिपाठीले कामना गर्नुभएजस्तै अध्ययन चिन्तन र लेखनको त्रिवेणी त पक्कै भएको छ यो अहिले नै । समग्रमा यस पुस्तकले सङ्गीत नेपाली समाज र सभ्यताको स्थापित कला हो भन्ने पुष्टि गरेको छ ।


 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |