हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नीलम निहारिका तथा ज्ञानमणि नेपाल सम्मानित ,(खसखस सम्वाददाता)



काठमाडौं : नेपाल स्रष्टा समाजले समाज सुधारक योगमायाका नाममा स्थापना गरिएका दुई वटा सम्मान साहित्यकार निलम कार्की निहारिका र इतिहास तथा संस्कृतिविद् ज्ञानमणि नेपाललाई प्रदान गरेको छ । योगमाया दिवसको अवसरमा सोमबार राजधानीमा २५ हजार एक सय ११ रुपैयाँ राशीको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान निहारिकालाई र २० हजार एक सय ११ रुपैयाँ राशीको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान नेपाललाई प्रदान गरिएको हो ।
 
नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले निहारिकालाई सम्मान अर्पण गरेका थिए । योगमायाका विषयमा बृहत अनुसन्धान गरी आख्यानको माध्यमबाट योगमायालाई समाजमा चिनाउन गरेको योगदानका लागि निहारिकालाई यो सम्मान प्रदान गरिएको हो । समाजका अध्यक्ष पवन आलोक र सम्मानका संस्थापक राजेश न्यौपानेका हातबाट योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान अर्पण गरिएको हो ।

 

सोही कार्यक्रममा योगमाया विशेष सम्मानबाट हिरण्यप्रसाद भण्डारीलाई पनि सम्मान गरिएको छ । योगमायाको सान्निध्य पाउनु भएका ९९ वर्षका भण्डारीले योगमायाको व्यक्तित्वलाई बाहिर ल्याउन तथा उहाँका धेरै कुराहरुको संरक्षणमा विशेष योगदान पुर्याएका छन् । उनका परिवारका छजना सदस्य पनि योगमायासँगै जलसमाधीमा गएका थिए । भण्डारीले योगमायाको व्यक्तित्वलाई उजागर गर्ने असल काम गरेको भन्दै नेपाल स्रष्टा समाजलाई १० हजार रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरेका थिए ।
 
कुलपति उप्रेतीले समाजले योगमायाका बारेमा गरेका गतिविधि सराहनीय भएको बताउँदै नेपाल सरकारले पनि योगमायाका विषयमा विभिन्न गतिविधिहरु शुरु गरेको जानकारी दिए । योगमायाका अझै नखुलेका तथ्यहरुको सार्वजनिकीकरणमा सरकारले सहयोग पुर्याउनु पर्नेमा उनको जोड थियो । 

नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले आफूले योगमाया जस्ती बहुप्रतिभाशाली व्यक्तित्वको विषयमा उजागर गर्न र प्रसिद्धिलाई अझ उचाईमा पुर्याउन योगमाया राष्ट्रिय सम्मान स्थापना गरी विगत १० वर्षदेखि प्रदान गर्दै आएको बताए ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २०६५ साल र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान २०७५ सालमा स्थापना गरी प्रदान गर्दै आइएको हो । दुवै सम्मान सामाजिक, सांस्कृतिक बेथिति र कुरीतिका विरुद्ध विद्रोह गर्ने समाजसुधारक योगमायाले ६८ जना अनुयायीका साथ अरुण नदीमा जलसमाधि लिएको दिन पारेर प्रदान गरिएको हो ।

निहारिकाले योगमायाको नाममा स्थापित सम्मान पाउँदा आफूलाई धेरै गौरव लागेको बताइन् । उनले अझ जिम्मेवारीवोध भएको र समाज रुपान्तरणका लागि अझ डटेर लाग्न प्रोत्साहन मिलेको बताइन् । यसैगरी नेपालले योगमाया त्यसबेलाको समाजमा एउटा सशक्त विद्रोहको रुप भएको र उहाँको व्यक्तित्वको प्रभाव धेरै मानिसमा परेको भन्दै विगत स्मरण गरे । सशक्त सामाजिक अभियन्ता योगमायालाई चिनाउन आफुले अझै धेरै गर्ने इच्छा रहेको पनि उनको भनाइ छ ।

समाजका महासचिव चेतनाथ कँणेल हरितले समाजले दश वर्षमा गरेका कार्यहरुको जानकारी दिँदै संघीय, प्रादेशिक तथा स्थानीय तहसम्मले साहित्यिक संस्थाको स्थायित्व र विकासमा सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |