हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

२०५औं भानु जयन्ती मनाइयो,(खसखस सम्वाददाता)



अमेरिकाको नर्थ क्यारोलाइना नेपाली साहित्य समाज तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले भानु जयन्ती मनाएको छ । समाजले नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना र त्यसमा आवद्ध नेपाली पाठशालासँग मिलेर भानुभक्त सम्बन्धि बाल वक्तृत्वकला प्रतियोगिता
, खुल्ला कविता वाचन, भानुभक्तको नेपाली योगदान सम्बन्धी प्रवचन गरी जुलाई २१ का दिन २०५औं भानु जयन्ती मनाइएको हो ।
कार्यक्रमको पहिलो चरणमा उमेर समूह अनुसार बालबालिकाबीच भानुभक्त र नेपाली भाषाविषयक वक्तृत्वकला प्रतियोगिता भएको थियो । यो प्रतियोगितामा केजीदेखि २ कक्षासम्म, ३ देखि ५ कक्षा सम्म, ६ देखि ८ कक्षा सम्म र ९ देखि १२ कक्षा सम्मका २२ जना प्रतिस्पर्धीहरु सहभागी थिए । पहिलो समूहमा क्रमशस् शाइन लामिछाने, विभुषा गौतम र प्रिन्स गौतम प्रथम, द्वितीय र तृतीय भएका थिए । यसैगरी दोस्रो समूह अन्तर्गत क्रमशः निर्विरोध तिमिल्सिना, सेजल घिमिरे र बिभु पोखरेल पहिला, दोस्रा र तेस्रा भएका थिए ।
त्यसैगरी, तेस्रो समूह अन्तर्गत समी घिमिरे, मोनिका चौलागाईं र सुहानी ढुङ्गेल क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए । चौथो समूह अन्तर्गत आयुष्मा शर्मा र सम्पदा आचार्य प्रथम र द्वितीय भएका थिए । विजयी हुने बालबालिकाहरुलाई कार्यक्रम सभापति मनोज प्रधान, एनसीएनसीका अध्यक्ष डा. बटु शर्मा, प्रमुख अतिथि डा. नारायण राजभण्डारी र भानुभक्त भेषधारी विक्रम गौतमले संयुक्तरुपमा पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा भानुभक्तको भेषमा आएका विक्रम गौतमले भानुभक्तले विभिन्न समयमा विभिन्न कविताहरु लेखेका थिए भन्दै केही कविताहरु सुनाएका थिए । उनले भानुका बारेमा थप प्रष्ट पार्दै रामायण लगायत बिभिन्न समयका पुस्तकहरुका बारेमा सारांशमा चर्चा गरेका थिए । उनले भानुभक्तले आफ्नो छोरालाई पढ्न अर्ती दिंदै लेखेको भानुकै हस्ताक्षरको पत्र पढेर सुनाएका थिए ।
यसै क्रममा शिखर दुलालले भानुभक्तको कान्तिपुरी नगरी कविता पाठ गरेका थिए । साथै, उनले हालको कान्तिपुरको अवस्था त्यो बेला जस्तो नभएको भन्दै भानुभक्तीय कान्तिपुरी नगरी कविताको जवाफ रोचक ढंगले प्रस्तुत गरेका थिए । कार्यक्रममा गीता बस्नेत, उमा शर्मा, निर्मला राजभण्डारी, सुजाता ढुङ्गेल, नम्रता आचार्य र मनोज प्रधानले आ(आफ्ना कविता पाठ गरेका थिए ।
कार्यक्रमको तेस्रो चरणमा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनोज प्रधानले संस्थाको संक्षिप्त इतिहास प्रस्तुत गर्दै संस्थाले गरेका कार्यहरु सुनाएका थिए । प्रधानका अनुसार २०१२ देखि अनवरतरुपले घरदैलो मासिक कार्यक्रम भइसकेको र करिब ६० जना सर्जकका बारेमा छलफल र २४ भन्दा बढी कृतिका बारेमा बुक क्लब तथा वेबसाइटमा तिनको लेखा राख्ने काम भइसकेको छ । साथै उनले शारदा साहित्यिक पत्रिकाको नर्थ क्यारोलाइना विशेष अंक, कविता तथा वालकथा संग्रह प्रकाशन जस्ता कार्यक्रमहरु गरिएको चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको आगामी दुई बर्षको लागि नयाँ नेतृत्वको पनि घोषणा गरिएको थियो । जसअनुसार अध्यक्ष शिखर दुलाल, बरिष्ठ उपाध्यक्ष नम्रता आचार्य, उपाध्यक्ष शिशिर खनाल,महासचिव निर्मला राजभण्डारी र कोषाधक्ष सुजाता ढुङ्गेल निर्विरोध चुनिएका छन् । यसैगरी सदस्यहरूमा डा. अच्युत शर्मा, डा. ऋषि वस्ताकोटी, विक्रम गौतम, सुवास ढकाल, गिता बस्नेत र डा दिपेन्द्र अर्याल रहेका छन् ।
निर्वाचन प्रक्रिया अनुसार निर्विरोध निर्वा्चित भएका वर्तमान महासचिव शिखर दुलाललाई अध्यक्ष मनोज प्रधानले अध्यक्षता पद हस्तान्तरण गर्दै वधाई तथा शुभकामना दिएका थिए । अध्यक्ष पद ग्रहण गर्दै नवनिर्वा्चित अध्यक्ष शिखर दुलालले सबैको सहयोगको अपेक्षा गर्दै अबको खेल हामी सबै मिलेर खेलेमा मात्र शिल्ड हात पर्ने भन्दै आफु त केवल फुटबल मात्रै भएको र त्यसलाई खेलाएर पोष्टमा गोल गर्ने जिम्मा खेलाडीकै रहेको स्पष्ट पारे । खेलको उदाहरण दिंदै तपाईहरुनै खेलाडी र रेफ्री हो, मेरो काम तपाईहरुले जता गुडाउनु हुन्छ त्यतै गुड्ने होभन्दै आफ्नो नयाँ कार्यसमितीको परिचय गराएका थिए ।
नर्थक्यारोलाईना नेपाली साहित्य समाजले अन्तर्रा्ष्ट्रिय नेपाली समाज नर्थक्यारोलाईनाको पनि प्रतिनिधिको रुपमा काम गर्दै आइरहेको छ । नर्थक्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनोज प्रधानको सभापतित्वमा भएको कार्यक्रममा समाजकी सदस्य सुजाता ढुङ्गेलले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन कवयित्री नम्रता आचार्यले गरेकी थिइन् ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |