ग्रीन कार्ड
सुदीपभद्र खनाल, (हर्नडन, भर्जिनिया)
सुनौलो केश गोरो रङ ठिक्क मिलेको अनुहार अग्लो कद र पातलो सुडौल जिउडाल अनि चम्किला ठूला आँखा भएकी त्यो केटी कल्कलाउँदी र साँच्चै सुन्दर देखिन्थी । त्यसमा पनि गुलाफी रङको ड्रेसमा गुलाफी रङकै लिपिस्टिक र घाँटिमा गुलाफी रङकै मुगाले उसको सुन्दरतामा सूनमा सुगन्ध थपेको थियो।
राम्रो कुरामा आँखा जानु स्वभाविकै हो। मेरा आँखा तिनिहरुमाथि परे | अझ आश्चर्यजनक तरिकाले उनिहरूलाई हेरिरहेको अर्को अधवैँसे मानिसमाथि पर्यो। त्यो मान्छे पल्लो लङमा भएकोले सत प्रतिशत यकिन गर्न नसकेपनि ठ्याक्कै माइकल जस्तै थियो। मलाई उ भन्दा पनि उसको त्यस सुन्दरीप्रतिको गतिविधिले बढे आकर्षित गरेको थियो।
हाउभाउले बुझिन्थ्यो, त्यो मानिसले आफूलाई रोक्न खोज्यो तर सकेन। हेर्दिन भन्दाभन्दै पनि हेर्यो । फर्किफर्कि हेर्यो,
अब हेर्दिन भनेजस्तो गरेर केही उता गयो तर सकेन, फेरी हेर्यो र त्यो केटीले थाहा नपाउने गरी हेरिरह्यो। त्यो केटीले त्यो सबै देखिन । चाल पाइन। उसँग आएको एउटा स्प्यानिस मूलको मान्छे थियो उसले देख्यो कि? देखेपनि शायद मेसो पाएन।
त्यो केटी र उसको साथी आपसमा कुरागर्दै गए । उनिहरूलाई त्यसरी लुकिलुकी हेर्ने मान्छेपनि कुन्नी किन हो पछिपछि गयो। लाग्थ्यो उनिहरुले नदेखुन्। मानौँ उ तिनिहरुमाथि जासूसी गरिरहेको थियो।
केहीबेर त्यो सुन्दरी र त्यसको साथीले थाहा नपाउने गरी पछिपछि गएपछी त्यस्ले यताउती हेर्यो र कता लागे भन्ने भेउ नपाएपछि वालमार्टको गेटमा गएर पार्किङ लट निहार्यो । किनमेल कार्ट गुडाउँदै पार्किङ स्थलतिर गयो र दृश्यबाट हरायो।
पसलभित्र भएकोले मैले नजिकैबाट देख्न पाइन। नत्र चिनिहाल्थेँ । हेर्दा ठ्याक्कै माइकल जस्तो छ।
एक मन त बाहिर निस्केर माइकल भनेर बोलाउन मन लागेको थियो तर हो कि हैन पक्का गर्न नसकेकोले बोलाउन सकिनँ र हेरि मात्र रहेँ। फेरी कतिपय स्प्यानिस मूलका मान्छेहरू ठ्याक्कै नेपाली जस्ता पनि देखिन्छन्। । एकपल्ट मलाई पनि त्यस्तै भएको थियो, बसमा यात्रा गर्दा नेपाली हो भनेर सोधेको स्प्यानिस परेछ। आबला स्प्यानियोल भनेपछि अचम्मित भएको थिएँ। त्यसैले आफू जोकर भइएला भन्ने डरले चूप लागेँ।
जे होस् माइकलको सम्झनाले पहिलेको कुरा याद आयो। केही वर्ष अघिको कुरा हो, चार वर्ष भएको थियो माइकल अमेरिका आएको। यता आउनु अगाडि काठमाण्डौमै एउटा साधारण कारिन्दाको काम गर्थ्यो । अमेरिकामा पनि भर्जिनियातिर आएपछि हामी बसेकै अपार्टमेण्टमा कसैसँग मिलेर रूम शेयरमा बसेको थियो। बेलाबखत भेटघाट भैरहन्थ्यो। यता आएपछि उ मानबहादुरबाट मानबहादुर उर्फ माइकल भएको थियो।
प्रभा पनि यहीँ बस्दिरहिछन् नि चिन्नुहुन्छ?
अहँ चिन्दिन त को प्रभा?
ए नचिन्नुहुँदो रहेछ। छन् यौटी नेपाली कुनै दिन भेट गराउँला ।
मैले प्रत्यक्ष नचिने पनि समूहमा कुराकानी चल्दा फाट्टफुट्ट प्रभा र उसका कुरा आइरहन्थे । खासगरी नेपाली केटाहरू कसैले मान उर्फ माइकललाई अमेरिकी हावा लागेको कुरा गर्थे । कतिले लाइफ त मानबहादुर दाइको पो छ त, नाम फेरे पो जिन्दगी पनि फेरिन्छ। आफ्नो त नाम पनि उही जिन्दगी पनि उही भनेर छेड हान्न पनि भ्याउँथे।
एक दुई हुँदै महिना बिते २ महिना जतिमा माइकलले कुरा मिलाएछ भनौँ उनिहरू प्रेम बन्धनमा वाँधिएछन्। सबैले बिहे भए छिटो पारिवारिक आधारको बसोवास अनुमति पत्र अर्थात ग्रीन कार्ड बन्ने र त्यो भए उन्नतिको चौतर्फि ढोका खुल्ने बताएपछि उसले बिहेकै प्रस्ताव राख्यो र बिहे पनि भयो र उनिहरु सँगै बस्न थाले। तिनताका लौ ग्रीन कार्ड त बन्ने भो नि माइकल भोज कहिले खुवाउने त? भन्दा माइकलको अनुहार हेर्न लायक हुन्थ्यो।
कहिले काँही तिनिहरू हाम्रो डेरामा आएको र एकाध हामी पनि तिनिहरूको डेरामा गएको मलाई याद छ। बाक्लो आवतजावत नभएपनि फाट्टफुट्ट भेट भइरहन्थ्यो।
गफगाफकै शिलशिलामा के कसरी अमेरिका आउनुभो भनेर सोद्धा एकदिन प्रभाले आफ्नो कहानी यसरी सुनाएकी थिइन् ।
बुझ्नुभो दाई? अमेरिका आउने कुरा वास्तवमा अरूलाई त के म आँफैलाई पनि थाहा थिएन। एकदिन रत्नपार्कबाट फर्कँदै थिएँ आमाले एउटा चिट्ठी दिनुभो। चिट्ठी मेरै नाममा रहेछ। खोल्दा डि भि परेको चिठ्ठी रहेछ।
पहिले त आफैँलाई पत्यारै लागेन। आमा र बालाई सुनाएँ,
उहाँहरूले पनि पहिले पत्यारै मान्नुभएन पछि खुशी हुनुभो। आमाको मनमा चाहिँ खुशी र त्रास दुबै थियो। घण्टा नबित्दै जानेभै के गर्छे कता जान्छे। एक्ली केटी मान्छे यस्तै यस्तै सोच्न थाल्नुभो।
मैले अनुहार हेर्ने बित्तिकै बुझिहाले र भने अहिले नै जाने हो र दोश्रो पत्र पनि आउनु पर्छ अनि पो जाने नजाने थाहा हुन्छ । केही भन्यो कि पोलिहाल्ने कस्तो बानी हो? आमा फिस्स हाँस्नु भो र सोध्नुभो । कान्छी तँ साँच्चै गइस् भने एक्लै बस्न सक्चेस? फेरी नौलो ठाउँ नौला मान्छे कस्ता छन् कस्ता । छोरी मान्छेको जात तेरा कुरा सुन्दा मेरा मना त डर लाम्च ।
कुन जुगमा छौ आमा तिमी अलिकती पनि सोच्न सक्दिनौ ? हाम्री हजुरमाकै पालामा इन्दिराले भारत र बेनजीरले पाकिस्तान चलाए । नेपालमै पनि न्यायाधिस, उपप्रधानमन्त्री, मन्त्री, सचिव, जिएम, हाकिम,
सिडिओ केके हो केके भएर चलाइसके । म त एक्काइसौँ शताव्दिकी मान्छे हुँ । अमेरिका जान छोरा मान्छे र छोरी मान्छे को के मतलब ? फेरी म केटाहरुभन्दा के मा कम्ती छु र? बरु ति लठुवाहरु भन्दा त बढ्तै छु। तिम्रो बुद्धी कहिल्यै नफिरेर मात्रै यस्ता कुरा गर्छ्यौ । म पनि पड्किएँ।
हाम्री आमा पनि कहाँ कम्तिकी छन् र जङ्गीई हालिन्: त्यसै रिसाम्चे । कच्चा बुद्धिले बिगार हुन्छ कि दुक्ख पाम्चेस् कि भनेर पो हो। फेरी जत्ती भनेपनी केटी मान्छे भनेको केटी मान्छे नै हो। मायाले छोरा भनेर बोलाए पनि तेरो शरीर छोरीकै छ मन छोरीकै छ रूप शृंङ्गार आनिबानी सबै छोरीकै छ। मुखले भन्दैमा काँ हुन्छ? आफू हेर दुनियाँलाई हेर । तैले र मैले भन्दैमा सबै संसार फेरिन्च र? कुरा त हाम्ले पनि बुजिच्चम् भो धेरै नपडेका भा पनि। त्यै पनि हाइस्कूलसम्म त पडेकै हम हाम्ले पनि। त्यसै उडाम्चे ।
खासमा आमाले पढेको प्राइमरी स्कूल आजकाल बढेर हाइस्कूल भएको छ। आमा आफैले हाइस्कूल नपढे पनि उनले ५ सम्म पढेको स्कूल हाइस्कूल भएकोले उनी आफूलाई हाइस्कूल पढेको भन्थिन् धक्कु लगाउन पर्दा। उसो त बेलाबेलामा तिनले मिसाउने अङ्ग्रेजीका शव्द र तिनको टुटेफुटेको अङ्ग्रेजी लवजले हामीलाई हँसाउँथ्यो । हामी कुनैबेला तिनलाई अङ्ग्रेजी बोल्न उकासेर पेट मिचिमिची हाँस्थ्यौं ।
मैले आमालाई सम्झाएँ। म तिम्री छोरी भा पनि तिमी भन्दा फरक छु क्या आमा । फेरी तिम्रो र मेरो जमाना नै फरक छ सोच्ने तरिका पनि फरक छ। तिमी फरिया भन्दा लाउन्नौ म जिन्समा हिंड्छु । अङ्रेजी बोल्छु । म छोरो जस्तो छु भन्थ्यौ नि, हो म त्यस्तै छु। ती सबलाई गोलभेंडाको अचार जस्तै पिनेर खान्छु अनि तिनैमाथि राज गर्छु । बरु सम्झ, म गएँ भने त तिम्रा पनि दिन खुले। यति विश्वास गर कि तिम्रा दुक्खका दिन सिद्दिए। रानीहार, जापानी सिफनको सारी, छड्के तिलहरी, सूनका बाला, चाँदिका पाउजेब, मोटर कार, पक्की घर, भाईलाई मोटर्साइकल पक्का भो। त्यति भएसी त खुशी हौली नि ।
आमाले पत्याइनन् र फत्फताइन्। खै तेसै सबै हुनिभा यत्तिका मान्छेले के हेर्ते र । तेरा कुरा सुन्दा त दन्ते कथा सुनेजस्तो लाम्च म त।
एक कान दुइकान मैदान गरेर हल्ला फिजियो म जाने भएँ भनेर तर आफूलाई भने दोश्रो चिट्ठ्ठी आउला नआउलाको सूर्ता अनि आई हाल्यो भने अमेरिका पुग्ने रोमाञ्चक खुल्दुलीले भित्रभित्रै मुटु खाइरह्यो । बिस्तारै साथीहरूले पनि थाहा पाइहाले । सबै भेट्यो कि क्या भाग्य रहेछ भन्थे । भोज खान मुख बाउने त कतिकति ।
हामीले रत्नपार्कमा करीब एक सय प्लेट त मम नै खायौँ होला। त्यो बेलाको मम साह्रै मीठो भो। मन उज्यालो भए संसार उज्यालो भनेको त्यही होला हुन पनि जीवनमा सबैभन्दा मिठो मनको खुशी रहेछ। । आखिर भाग्यले साथ दियो भनम्, सबै मिल्यो। दोश्रो चिट्ठी छिट्टै आयो। वर्षदिन नबित्दै भिसा पनि लाग्यो । भिसा लागेपछि घरमा नयाँ कुराले प्रवेश पायो। मेरो बिहेको।
एक्लै नपठाउने बिहे गरेर पठाउने कुरो चलेपछि नेपाली समाज बुझ्नुभएकै छ। मैले मात्रै चाहेर रोक्न सक्ने कुरो थिएन।
२० वर्षेदेखि अधबैँसेसम्म, धनी देखि गरीब सम्म आएका थिए हेर्न तर समयको अभाव र मेरो अनिक्षाले बिहे टर्यो र त्यसै आएँ ।
यिनलाई लेखेको रहेछ र हो कि ? यता आएपछी यिनिसँग भेट भो । एक्लै भएर आत्तिएर उचिटाबाट उछिट्टिएका रहेछन् देखेपछी लिसो लागे। यसो भनेर उ माइकलको मुखमा हेरेर फिस्स हाँसी ।
माइकल चाहिँ पढ्न भनेर आएको थियो क्यान्ससको उचिटामा। साधारण परिवारको छोरो महङ्गो फी तिर्न नसकेपछि पैसा कमाउने लालसाले छोडिदियो कलेज सलेज। र लाग्यो एट्लाण्टातिर। एट्लाण्टातिर कहिले पाकिस्तानी कहिले बंगाली, कहिले ईरानी र कहिले भारतीय मूलका साहूका होटल चाहर्दै वर्षदिन जति एउटा पबमा बोस ब्वाइको काम गरिसक्दा पनि सुको जम्मा नभएपछि र अनधिकृत कामदारहरूले कामगर्ने ठाउँमा पुलिसको छापा पर्न थालेको सुनेपछि जिन्दगीभर जेलमा सड्नुपर्ने डरले उसको निद्रा हराम भएको थियो। कसैले फ्लोरिडा जान सुझाउँथे त कोही ओहायो। कतै डिसितिर राम्रो पे पाइने र ठुलो शहरमा पुलिसले पनि त्यति वास्ता नगर्ने सुनेपछि त्यतै हानियो। तर जिन्दगी त्यहाँपनि सजिलो कहाँ थियो र? कमाइ लुटिने डर त थियो नै, फेरी कमाइपनि भने जस्तो थिएन। यो मान्छे अन्यत्र काम गर्न जान सक्दैन भन्ने बुझेका साहूले मौकाको फाईदा उठाइहाल्थे र पाएसम्म सस्तोमा काम लगाउँथे। श्रमको शोषण चरम थियो। जिन्दगी जिन्दगीजस्तो थिएन। यसो भनौँ मानबहादुर परिस्थिती र परिवेशले बाँधिएको बँधुवा मजदूर बनेको थियो। त्यसैले उ अवसरको खोजिमा थियो। काम गराएपछि ग्रीनकार्डकोलागी सिफारिस पनि गरिदिने असल साहूको खोजी पनि भित्रभित्रै गर्दै थियो। नभए कुनै नागरिकता भएकी केटी पट्ट्याउने सुरमा थियो। कहिले नक्कली बिहे गर्ने स्थानीय केटी पाईन्छन् कि पनि भन्न भ्याउँथ्यो। कलेज छोड्नासाथ असाइलमको निवेदन हालेको रहेछ। कस्ता कस्ता को भयो तर मेरो भएन । के गर्नु भाग्यको खेल रहेछ दाई भन्थ्यो। नागरिकता भएकीसँग बिहे गर्न सके बिहेकै आधारमा पनि पारिवारिक आधारको ग्रीन कार्ड पाउने बाटो खुल्थ्यो र त्यो हरियो पत्ता भए सबै दुख र दशाहरू छुमन्तर हुनेथिए भन्ने उसको बुझाई थियो।
त्यसै सिलसिलामा भौँतारिदा भौँतारिँदै कहिले रेलका लिकमा त कहिले पूलमूनी सुतेर उ डिसी आएको थियो तर त्यहाँको महँगाइले डस्न थालेपछि कहिले एट्लाण्टिक सिटी त कहिले ओसियन सिटी हुँदै भर्जिनियामा आएर थन्केको थियो। आधिकारिक कागजपत्र नभएकोले उसले जिन्दगीमा खाएको हण्डर सुन्दा जोसुकैको पनि कपाल जिरिङ्ग हुन्थ्यो।
यता आएर बिहे गरेपछि विहेको छ सात महिनामा ग्रिन कार्ड आयो । त्यो आएपछि नै माइकल न्यूयोर्क गयो राम्रो काम पाएको भनेर र प्रभासँग छुट्टीएर उतै बस्यो जाक्सन हाइटमा। त्यताको कुनै कलेजबाट कम्प्यूटर बिषयमा स्नातक पनि गर्यो। र न्यूयोर्क नगर कार्यालयमा काम गर्थ्यो। लोभलाग्दो कमाइ र न्यूयोर्कको जीवनशैलीमा माइकलको जिन्दगी पनि लोभलाग्दो थियो तिनताका। खै के भो खट्पट परेछ। र छुट्टीने निधो गरेछन् तिनिहरूले । प्रभा यतै थिई। खासमा उसले आफूमाथि शंका गरेको थियो भन्थी। प्रभाका आफ्ना कुरा अर्कै थिए। ग्रिन कार्ड बनाउन मात्र उसले मलाई बिहे गरेको रहेछ। उसकी पहिलेदेखी कै अर्कै प्रेमिका छ भन्थी ।
पारपाचुके गरेपछि प्रभा टेक्ससतिर लागि। माइकल न्यूयोर्कतिरै थियो भन्ने सुनिन्थ्यो। एकदिन मेरो फेसबूकमा फ्रेन्ड रीक्वेष्ट आयो हेरेको प्रभाको रहेछ। केहीबेर कुरा भए। लामै कुरा भएपछि अब घरजम गर्ने हैन त भन्दा हैन दाई बिहे र्गयो भने धोका हुने सम्भावनाको साथसाथै आफ्नो स्वतन्त्रता पनि गुम्छ त्यसैले बिहे नगर्ने भन्थी । फेसबूकले ति दुबै मसँग जोडिएका थिए, पहिले कहिले काहीँ हल्का कुरा हुन्थ्यो। आजकल समयको अन्तरालले हराएका थिए ।
एकदिन लगभग १२ वर्ष पछि अचानक माइकलको उचिटा विश्वविध्यालयमा सँगै पढ्ने साथी र हाम्रो गाउँले भाई बिरमानसँग मेरो भेट भयो डलास मलमा ।
ओहो दाई यता हुन्नुहुन्छ भन्ने थाहै थिएन भन्दै नमस्कार गर्यो।
बसेर कुरा गरियो। लामै कुरा भो।
कुरैकुरामा उसले माइकलको कुरा झिक्यो र भन्यो।
थाहा पाउनुभो माइकल त डुब्यो नि?
हँ को माइकल त्यै माने?
हा हा कहाँ दाई पनि कुन जमानामा हुनुहुन्छ? माइकल हैन आजकाल त म्याक भा'को छ ।
दुई महिना जति भो यता आएको नयाँ पार्टनर सित बस्थ्यो ।
माइली भन्ने गोरीसँग लिभिङ टुगेदर?
दाइलाई थाहा छैन होला त्यो केटी त म पनि राम्रो चिन्छु नि। रसियन केटि म्याईल्लि म्यालोकोभिच अर्थात् माइली । हामी तिनैजना उचिटामा सँगै पढ्थ्यौँ। त्यसलाई पैसावाल केटा भए पुग्ने, म्याकलाई राम्री केटी। खासमा केटिकै पछि लागेर बिग्रेको हो म्याक ।
त्यो केटिको पनि क्या लाइफ छ। पहिले रसियामै व्याइ फ्रेन्ड छ भन्थी । पछि एउटा गोरे पछि लागेको थियो । त्यसैसँग हिँड्थी ग्रीन कार्डको लोभमा तर बिहे गर्न मानेन रे त्यसैले छोडेकी भन्ने सुनिन्थ्यो। म्याकसँगपनि ग्रीन कार्डको ललिपप ले अडिएकी होली भन्ठानेको उल्टो उसैले सबै पैसा कुम्ल्याएर रसियातिर भागिछ । म्याकलाई जोगी बनाई। म्याक त बौलाहा जस्तै भाको छ ।
मैले आज बल्ल बुझेँ त्यसदिन मैले देखेको मानिस माइकल नै रहेछ। शायद त्यो सुन्दरी चाहिँ माइली थिई।