कमलमणि र म,(कृष्ण धरावासी)
पन्ध्र बर्षको उमेरमा पहिलोपल्ट एउटा साप्ताहिकमा एउटा कविता प्रकाशित भएपछि म औपचारिक रुपमा प्रवेश गरें । त्यसपछि साहित्य सम्बन्धि चासोहरु बढ्न थाले । मदन पुरस्कारको बारेमा पहिलोपल्ट मेरो चासो बढेको थियो २०३७ सालमा जब घामका पाइलाहरु भन्ने उपन्यासले मदन पुरस्कार पायो । तर त्यो किताब मैले धेरै पछि मात्र पढें । त्यसबेला स्कूलमा सरहरुले मदन पुरस्कार भनेको सबैभन्दा महत्वपूर्ण कुरा हो भन्थे । त्यो कुराले मलाई गहिरो गरि प्रभाव परेको थियो । भर्खर लेख्न थालेको भए पनि मनमा कताकता त्यस्तो पुरस्कार पाउन सके कस्तो हुँदो हो जस्तो लाग्न थालेको थियो । साँच्चै भन्ने हो भने त्यही पुरस्कारको कल्पनाले पनि मलाई लेखक हुन प्रेरित गर्यो होला । पछि थाहा पाएँ त्यो पुरस्कारका संस्थापक कमलमणि दीक्षित रहेछन् । पछि पछि उनको बारेमा झन् धेरै कुरा मैले भवानी धिमिरे र चूडामणि रेग्मीबाट थाहा पाउँदै गएँ ।
पहिलो पल्ट मैले उनलाई २०४६ सालमा झापाको दमकमा आयोजित महानन्द पुरस्कार समारोहमा अतिथिको रुपमा देख्न पाएको थिएँ । त्यो कार्यक्रमको एक पुरस्कृत प्रतिभा म पनि थिएँ । महानन्द पुरस्कार मेची अञ्चल भरिका साहित्यिक प्रतिभाहरुलाई मात्र प्रदान गरिन्थ्यो । त्यसमा एकजना प्रौढलाई सम्मान र एकजना युवालाई प्रोत्साहनका रुपमा पुरस्कृत गरिन्थ्यो । २०४४ सालमा रु. १००० बाट शुरु भएको त्यो पुरस्कार राशी २०४६ सालमा रु. २५०० पुगेको थियो । त्यो बर्ष सम्मान तर्फ स्व. स्वम्भूलाल श्रेष्ठ र प्रोत्साहन तर्फ म थिएँ ।
प्रमुख अतिथिको रुपमा डा. ईश्वर बराल र अतिथिको रुपमा कमलमणि दीक्षित थिए । कमलमणिले आफ्नो भाषण लिखित रुपमा पढेका थिए । त्यो भाषणमा उनले मेरो धराबासी उपनामको सारै सुन्दर व्याख्या गर्दै यो कवि आकाशतिर होइन धरतीतिर आँखा गाडेर उभिएको छ । यसको साहित्यिक भविष्य आउने युगको उज्यालो झिल्को बनोस् भनेका थिए । त्यो दिन म पुरस्कार पाएर र कमलमणिले दिएको मन्तव्यले सारै फुर्किएको थिएँ । मलाई त्यसै दिन लागेको थियो अब म साहित्यकार भएँछु । मैले जीवनमा पहिलो पल्ट पाएको सबैभन्दा ठूलो पुरस्कार त्यही नै थियो । त्यसै दिन मलाई लाग्यो मैले कमलमणिलाई सुन्नु पर्छ । मसंग बैरागी काइला, दान खालिङ, गणेशबहादुर प्रसाई, चूडामणि रेग्मी जस्ता अग्रजहरु हुनुहुन्थ्यो । उहाँहरुकै माया र प्रोत्साहनले त्यहाँसम्म पुगेको पनि थिएँ ।
जब म महानन्द पुरस्कारको त्यो प्रमाणपत्र हेर्थे मलाई कमलमणिका ती भनाइहरुको सम्झना आउँथ्यो । उनको लिखित भाषणको एक प्रति मसंग थियो र त्यो म झिकेर पढ्ने गर्थें । उनको त्यो भाषणको मसंग सम्बन्धित खास अंशलाई मैले मेरो साहित्यिक यात्रा र मदन पुरस्कार नामक कृतिमा साभार गरेको छु ।
त्यसपछि उनलाई दोस्रोपल्ट मैले २०४८ सालमा दुबसु क्षेत्रीको सकृयतामा मेरो पहिलो प्रकाशित कृति बालक हराएको सूचना काठमाडौंमा बिमोचन गर्दाको कार्यक्रममा भेटें । उनले मेरो काँधमा थपथपाउँदै भनेका थिए मैले दमकमा भनेको कुरा बिर्सेको छैन होला नि । मैले बिस्तारै टाउको हल्लाएर बिर्सेको छैन भनेको थिएँ । फर्किनु अघि मदन पुरस्कार पुस्तकालयमा निस्कनु भनेका थिए । दुबसुले नै मलाई लिएर गए । त्यो दिन म झन छक्क परें जब उनले बसेको ठाउँबाट उठेर हामी बसेकै सोफामा आएर बस्दै कुनै ठूलै लेखकसंग भेट भए जस्तो ब्यावहार गरे । म मनमनै भाबुक पनि भएँ । लाग्यो यी मान्छे साँच्चै नै साहित्यका माली नै हुन । यी साँच्चै लेखकलाई माया गर्ने नै मान्छे हुन । उनले मलाई पहिल्यैदेखि चिन्छु भन्ने विश्वास दिलाउन झापाबाट प्रकाशित पत्रिकाहरुमा छापिएका मेरा कविता र लेखहरुका अंक निकालेर राखेका रहेछन् । ती देखाउँदै भने मैले कत्तिको चिनेको रहेछु त ।
उनले झापा र पूर्वोतर भारतका लेखकहरुका बारेमा धेरै कुरा सोधे । मैले जानेसम्मका कुराहरु भने । आसामतिरका लेखकका बारेमा मलाई भन्दा दबसुलाई बढी थाहा रहेछ, उनले मलाई सघाए । त्यो दिन उनले नेपाली पत्रिकाका केही अङ्कहरु पनि दिए । म फेरि फुर्किएँ ।
त्यसपछि म जतिपल्ट काठमाडौं पुग्थें, एकपल्ट मदन पुरस्कार पुस्तकालय पुग्न थालें र कमलमणि दीक्षितसंग भेटेर उत्साहित हुँदै फर्किन्थें । २०५३ सालमा फेरि काठमाडौंमा दुबसु क्षेत्रीले स्थापना गरेको बसुन्धरामान प्रतिष्ठानले मेरो लीलालेखन किताब प्रकाशन गरि बिमोचन कार्यक्रमको आयोजनामा उनीसंग भेट भयो । त्यो पल्ट उनले भने तपाईले अकबरको दारी समात्नु भयो । के भनेको हो त्यो दिन मैले राम्रो कुरा बुझिन तर जब म लीलालेखनको अभियानमा अघि बढ्दै गएँ अनि बिस्तारै त्यो दिन उनले के भनेका रहेछन् भन्ने बुझ्दै गएँ ।
पचासको दशकदेखि मेरो साहित्यिक यात्रा एकदम नै तीब्र गतिमा अगाडि बढ्यो । मैले निबन्ध र उपन्यासतिर आफूलाई केन्द्रित गर्न थालें । नारी भित्र त्यस्तो के छ हजूर र लीलालेखन किताब प्रकाशित भएपछि एकाएक मेरो चर्चा राष्ट्रिय स्तरमा चल्न थाल्यो । म झापामै भए पनि अब मलाई काठमाडौमा धेरै नै साहित्यिक सुबिधाहरु प्राप्त हुन थाले । २०५० सालदेखि लेख्न थालेको उपन्यास शरणार्थी २०५६ सालमा प्रकाशित भयो । मेरो सानैदेखिको सपना पूरा गर्न त्यो उपन्यास मदन पुरस्कारका लागि दर्ता गरें । पाउने आशा त थिएन तर पनि मन खुशी थियो । पछि सुने मेरो त्यो उपन्यास पनि छनौटको निकै माथिसम्म पुगेको थियो रे ।
२०६२ सालमा साझा प्रकाशनबाट प्रकाशित राधा उपन्यासले मदन पुरस्कार पायो । यो खुशीको म आज पनि बर्णन गर्न सक्दिन । तीसको दशकमा देखेको सपना साठीको दशकमा पूरा भएको थियो । म इमान्दारीका साथ भन्छु, जुन दिन मैले मदन पुरस्कार पाएको घोषणा भयो त्यही दिन देखि नै मेरो साहित्यिक ब्यक्तित्व सगरमाथा आरोहण गर्ने सफल पर्वतारोहीको जस्तो अग्लिएको थियो ।
आज पनि म भन्छु मदन पुरस्कारका बारेमा जेजस्ता टिप्पणीहरु हुने गरे पनि धेरैजसो राम्रा लेखक आफ्नो कृतिको सफलताको अन्तिम लक्ष्य मदन पुरस्कारलाई नै ठान्छन् मनमनै । प्रायले पुस्तकको प्रकाशनको अन्तिम मिति हरेक बर्षको चैत्र मसान्त राख्छन् र बैशाख पन्ध्र भित्र दर्ता गर्छन् । यदि मैले त्यो पुरस्कार नपाएको भए पनि म लेखक त थिएँ तर आज मेरो संसार भरि छरिएका नेपालीहरुका बीच जुन चर्चा छ यो चाहिं हुने थिएन ।
सोच्दछु, कमलमणि दीक्षितले त्यो संस्था स्थापना नगरेका भए आजसम्म पनि नेपाली लेखकहरुलाई यस प्रकारको सम्मानको वातावरण बनाउने काम सायद अरुबाट हुन्थ्यो कि हुन्न थियो । जीवन भरि अरुलाई स्थापित गर्ने र साहित्यको नदी तार्ने काम गरिरहे उनले । आफ्नो रुचि माध्यामिक कालिन साहित्यको अध्ययनतिर भए पनि उनले नेपाली साहित्यमा आएका हरेक प्रयोग आन्दोलनको सम्मान गरे । २०२९ सालमा ईश्वरबल्लभको कवितालाई पुरस्कृत गर्दै तेस्रो आयाम अभियानको पनि सम्मान गरिएको थियो भने राधा उपन्यासले पुरस्कार पाउँदा लीलालेखन स्थापित भएको थियो । पछि दमिनी भिर पुरस्कृत हुँदा सिर्जनशील अराजकताले अर्को मान्यता पाएको थियो । जसले जे भनुन्, मदन पुरस्कार नेपाली साहित्यको लागि एक मानक बिम्ब हो जसको संस्थापक थिए कमलमणि दीक्षित ।
प्रत्येक्ष वा परोक्ष रुपमा उनको ममाथि ठूलो गुण छ । मलाई यहाँसम्म आउन दमकको भाषणदेखि नै उनले गरेको प्रोत्साहन महत्वपूर्ण छ । मेरो पिताभन्दा दुई बर्ष कान्छो उमेरको उहाँको हालै निधन भएको कुरा मैले अमेरिका मै सुने । अफसोस उनको अन्तिम यात्रामा म सामेल हुन सकिन । त्यो दिन लाग्यो नेपाली साहित्यको एउटा साँच्चैको नक्षत्र झरेको थियो ।
म उनी प्रति हार्दिक श्रद्धाञ्जली र सम्मान ब्यक्त गर्दछु । ममाथि उनले लगाएको गुण मेरा संतानहरुले पछिसम्म पनि संझिरहने छन् ।