हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पहिलो पटक पोखरा, रित्तै हात ,(बासु श्रेष्ठ)

काठमाण्डौँको रैथाने म देशका विभिन्न ठाउँ र कतिपय विदेशमा पुगीसकेको भएता पनि काठमाण्डौँबाट २०२ किमी पश्चिम उत्तरमा रहेको रमणीय, लोकप्रिय पोखरा भने सन् २०१३ सम्मपनि पुग्न पाएको थिईन । मेरो धेरै बाल्यकाल तराईमा बित्यो । जनकपुरका विभिन्न गाउँहरुमा हुर्किँदै एसएलसी जनकपुर धामबाट २०३२ मा पास गरेँ । बुवाको जागीरसँगै रौतहटको सदरमुकाम गौरमा २०३३ सालमा मेरोपनि सरुवा भयो । र बेलाबखत गौर काठमाण्डौ गरेपनि २०३८ सालमा सदाकोलागी काठमाण्डौँ फर्किएपछिपनि विभिन्न कारणवश पोखरा पुग्ने जुरेकै थिएन । त्यसो त पोखरा पुग्न मरिहत्ते कोशीश गरेको पनि थिईनँ । तर जाने लालसा भने जिउँदै र ताजै थियो ।

यता अमेरिकामा नेपालको बारेमा अनभिज्ञहरुलाई सगरमाथाको देश भनेर चिनाउँदा ‘ओ...तैँले सगरमाथा कतिपटक चढिस् त’ या ‘सगरमाथा तेरो घरको झ्यालबाट देखिन्छ ?’ भनेर प्रश्न गर्ने गर्छन् । मानौँ सगरमाथा कुनै एक ढिस्को हो र यसको वरपर मानव बस्ती छ । अनि हामी दिनदिनै यसमा तलमाथी गरेर खेल्छौँ । यिनिहरुको थप अनजानपन देखेर आफुलाई दया त लाग्छ नै, मनमनै ‘पोखरा त पुग्न सकेको छैन मैले, कताको सगरमाथा चढ्नु नि पनि भन्थेँ ।’

जे होस् सन् २०१३ मा नेपाल गएको मौकामा समय जुराईयो । काम विशेषले नेपाल गएको भएपनि साहित्यिक भेटघाटमा मेरो समय वित्न थालेको देखेपछि घरपरिवार र श्रीमतिले होईन, हामीलाई समय दिन्नौ भनेर घुर्कीपूर्ण असन्तुष्टि देखाए । श्रीमतिलाई फकाउँदा पोखरा जाने रहर निकालिन् । मैले हवस् भनेर तत्काल स्विकारेँ ।

यसरी तत्काल स्विकार्नुको अर्को कारणपनि थियो । तत्कालिन शानेवानीको अर्थ विभागमा सँगै काम गरिसकेको मित्र महेश मोक्तान पोखराको डिस्ट्र्क्टि मैनेजर भएर पुगेका रहेछन् । अफिसले दिएको क्वार्टरमा कोठा खाली रहेको र महेशले आउने भए आईज भनेर केहि दिन अघिको भेटमा भनेको थियो । यता श्रीमतिको माग स्विकार गरेपछि महेशलाई कहाँ कसरी आउने भनी सोद्धा उनले नै बसको टिकटको व्यवस्था गरिदिए र जमलबाट बस चढियो पोखरा र माछापुच्छ्रेको दर्शन गर्न ।
त्यसो त हवाईजहाजबाट गए समयको बचत निकै हुने थियो । तर खल्तीको बचत हुने थिएन । अर्को कुरा दृश्यावलोकनकोपनि बचत हुनेथियो । म यसको अति लोभी । आँखा झिमिक्क नगरी झ्यालबाट दृश्यावलोकन गर्न मलाई असाध्य आनन्द लाग्छ । त्यसैले आफुलाई त्रिशुली नदीको छेउछेउ बगेको पृथ्वी राजमार्गमा कुदेको बसबाट आँखा बाहिर फाल्दै गुड्न मन थियो । दाँयाबायाँका दृश्यपान र बेला बेलाको चियापान र खानपान गर्दै जान छोडेर चढ्न पाको छैन ओर्लन पर्नेगरी प्लेनमा के जानु भनेर बसको यात्रा थालिएको थियो ।

जमलबाट आठ बजे बस हिँड्यो । एकैचोटि कलँकीमा रोक्यो अनि त्यहाँबाट थानकोट नागढुँगा हुँदै बस सुलुलुलुलु गर्दै नागबेली खेल्न थाल्यो । त...ल पहाडको काखीमा सर्प झैँ देखिने सडकमा किरा झैँ लाग्ने बस, ट्र्क, कारहरु जन्ती झैँ लामबद्ध भएर आउने जाने गरिरहेको देखिईन्थ्यो । बस भीरको छेउमा पुग्दा झ्यालबाट देखिने अथाह गहिराईमा यो बस गुल्टियो भने ? भन्ने जस्ता तर्कनाहरु बेलाबखत मनमा आउँथे र आँखालाई बसभित्र ल्याएर किताव पढ्नेतर्फ ध्यान मोड्थेँ ।
नागढुँगाबाट भने सडकको विजोग रहेछ । न मर्मत छ, न सम्भार छ । खल्ड्याँग र खुल्डुँग, गल्ड्याँग र गुल्डुँग भएको सडक रहेछ । भर्खर खोलिएको ट्रयाक जस्तो । सडक भन्नुपनि सडकको बेईज्जत हुने थियो । तर मैले यसमा नेपाल सरकारको बेर्ईज्जत देखेँ । काठमाण्डौँलाई देशका अन्य दक्षिणी भागहरुसँग जोड्ने एकमात्र सम्पर्क मार्गको रुपमा रहेको यो त्रिभुवन राजपथले काठमाण्डौँको आर्थिक विकासमा कति टेवा दिएको छ भन्ने कुरा सबैलाई थाहा छ । यो सडक बन्द हुनेवित्तिकै काठमाण्डौँ कति अव्यस्थित हुन जान्छ हामी सजिलै कल्पना गर्न सक्छौँ र बेलाबखत भोगेकापनि छौँ ।

एकछिन नविराई ओहोर दोहोर गरिरहेका गहौँ सामान बोकेका ट्र्कहरुले काठमाण्डौँको अर्थ व्यवस्था र जिविका कसरी धानी रहेको छ भन्ने प्रष्ट देखाउँथ्यो । तर तिनै ट्र्क आउजाउ गर्ने यो बाटोको अवस्था देखेर भने सरकारप्रति मेरो उदासिनता जाग्यो । अमेरिका फर्किएपछि त्यस सडकको मर्मत सम्भार हुन लागेको छ भन्ने पढेको थिएँ । कत्तिको सत्यता थियो त्यस समाचारमा कुन्नी अहिलेका भुक्तभोगी नै जानुन् ।

जे होस्, पोखराकोलागी हिँडेको बसले दशबजेतिर खाजा, बाह्रबजेतिर लन्च खुवाउँदै यात्रा जारी राख्यो । बेला बेला सिटमा पानी चुहिएर यो कुना र त्यो कुना गर्नुपरेको थियो । बाहिरबाट हेर्दा सलक्क र चिल्लो देखिने बस त पानी परेको बेलामा चुहिने हुँदो पो रहेछ । सुकुल गुण्डो रहेछ बस त । उता बसको नाम भने कोच दिइएको थियो । शायद जस्तोसुकै र जेसुकै गरेर यात्रीलाई ठगेर भएपनि पैसा आफ्नो खल्तीमा कोच् भन्ने आशय थियो क्यारे बसधनीको । तर पोखरा घुम्ने धुनमा यस असुविधालाई मजैले नमजा मानेपनि उपाय नास्ती भनेर बेहोयौ हामीले । झण्ड्रै अपरान्ह चारबजेतिर पोखरा एयरपोर्ट नजिक रहेको नेपाल वायुसेवाको अफिसनिर ओर्लियौँ ।

पोखरा उपत्यकामा बस प्रवेश गर्ने वित्तिकै मैले माछापुच्छ्रे खोज्न थालेँ । दायाँ बाँया, अगाडी पछाडी चारैतिर आँखा घुमाएँ । तर अहँ माछापुच्छ्रे कालो र नीलो बादलभित्र कुन कुनामा लुकेर बसेको थियो कुन्नी । कतै देखिएन । साहित्यका लेख रचना, गीत, कविता, गजलमा सुन्दै पढदै आएकोले मेरालागी आकर्षक बनेको माछापुच्छ्रे दर्शनीय भएर मेरोलागी तिर्षना भयो । तर ठिक छ, आज नभए भोली या पर्सी त देखिई हाल्छ नि भनेर मैले चित्त बुझाएँ ।

पोखरा एयरपोर्ट नजिकै रहेको महेशको अफिसनिर ओर्लिएपछि सुटकेश घिसार्दै महेशको अफिस पस्यौँ । त्यहाँ बसेर चिया खाने जमर्काेका बिच हामी एकैसाथ २०४३ सालमा निगममा भर्ति भएको साथी देखा परिन् । अचम्म र खुशी एकैसाथ तँछाड मछाड गरे । तिनलाई झण्डै एक्काईस वर्षपछि भेटेको थिएँ । यताको चलन अनुसार अँगालो हाल्न या भनौँ हग गर्न मन लाग्यो । तर त्यताको सँस्कृति जसमा म आफैं हुर्किएको थिएँले रोक्यो र मेरा पाखुरा र छाती त्यत्तिकै सगबगाएर चुप लागे । यो अँगालोमा आत्मियता र सहृदयताको पोको हुन्थ्यो तर सबै सँस्कृति सबै ठाउँमा एकैनासले लागु हुन्न भन्ने कुरा मैले बुझेकोले रोकिएँ ।

महेशको कार्य व्यस्तता देखेर मैले कोठा कति टाढा छ, हामी जाँदै गर्छौं भनेपछि उनले एक सहयोगीको साथ लगाएर ट्याक्सीमा पठाए । कोठामा हातमुख धोएर फ्रेस भएको एकघण्टापछि महेश आए र हामी घुम्न निस्कियौँ ।
महेशले फेवातालको छेवैछेउ पैदल नै पैदल हिँडाएर ताल वाराही मन्दिरको दर्शन गर्न डुँगा चढ्न पुर्र्याए । डुँगा चढ्न लागेको बेलामा काठमाण्डौँबाट प्रज्ञा प्रतिष्ठानका तत्कालिन उपकुलपति गँगा दाईले फोन गर्नुभयो र भन्नुभयो “प्रतिष्ठानले तपाईसँग भेटघाटको आयोजनाको मिति मे २४ कादिन तय गरेको छ । समयमा पुग्नुहोला’’ भन्नुभयो । एक हप्ता अघिमात्र अर्थात मे १६ कादिन यलमाया केन्दको कार्यक्रममा तत्कालिन कुलपति वैरागी काईला दाइसँग कमल दाई अर्थात कमलमणी दिक्षितले भेट र चिनजान गराई दिनुभएको थियो । त्यसबेला वहाँले भन्नुभएको थियो “प्रज्ञा प्रतिष्ठानले बाहिरबाट आएका साहित्यकारहरुसँग भेटघाटको कार्यक्रम राख्ने गरेको छ । म कुरा गरेपछि तपाईलाई खबर गरौँला ।” गँगा दाईको यो फोन यसैको निरन्तरता थियो । फेरी गँगादाईसँग भने अमेरिकामा आउनुभएको मौकामा मैले खसखस डटकमकोलागी अन्तर्वार्ता लिई सकेको नातालेपनि चिनजान थियो ।

गँगा दाईलाई हस् भनेर फोन राखेपछि त्यसदिनकोलागी अन्तिम डुँगाबाट ताल वाराही मन्दिर गई दर्शन गरेर फर्कियौं । १५ वर्ग किमीमा फैलिएको विशाल तालको विच यसरी मन्दिरको निर्माण कसले र के प्रयोजनले गरेको होला भन्ने प्रश्नहरुले मनमा हुत्ति खेले । तर उत्तर खोज्न कताको दक्षिण फर्किनु र ? जे होस् पौडी खेल्न नजान्ने म र श्रीमतिले केहि त्रास र भयकासाथ यो छोटो जलयात्रा पुरा गर्यौं । श्रीमतिले त के सोचेकी थिईन् कुन्नी मैले भने यात्रीकोलागी सुरक्षाकोलागी लाईफ भेष्ट लगाउन दिएको भए बढि सुरक्षित हुन्थे कि भन्ने सोचेँ । कथम डुँगामा कुनै गडबडी या डुँगा खियाउनेलाई केहि भएमा १०-१२ फिट गहिरो तालमा जलयात्रीको विजोग हुने अवश्यम्भावी छ । तसर्थ यस्तो दुर्घटना हुनुभन्दा पहिले नै सुरक्षाका माध्यमहरु अपनाए दूरदर्शिता झल्किने थियो ।

फर्किँदा बाटोमा थकाली खाना खाईयो । निकै नाम सुनेको यो थकाली खानाका रेष्टुरेण्टहरु लहरै थिए । हामी नेपालीहरुमा एउटाले केहिमा सफलता पायो भने त्यसको नक्कल गर्नेहरु बग्रेल्ती देखा पर्छन् । यो थकाली खाना व्यवशायको नक्कलपनि यसैको उदाहरण हो । काठमाण्डौमापनि एकै ठाउँमा थकाली रेष्टुरेण्टको लहर धेरैपटक देख्न भ्याएको थिएँ । जे होस् आजको पोखराको पहिलो दिन यसरी टुँगिएको थियो ।

भोलीपल्ट अर्थात मे २१ कादिन महेश विहानै अफिस हिँडिसकेका थिए । हामी दुईजना आफ्नै ढँगले घुम्न निस्कियौँ । डेभिड फल्स, न्युरोड बजार, विन्ध्यावासिनी मन्दिर गयौँ । डेभिड फल्स सुकेर तुर्तरे धारा भएको रहेछ । शायद वर्षातमामात्र फल्स हुन्छ होला भन्ने अनुमान गर्न सकिन्थ्यो । मचाहिँ माथिको डाँडाबाट सानो डोरेटो हुँदै पातले छाँगो आएको तर्फ गएँ र देखेँ अलि माथि मानिसहरु लुगा धुने र नुहाउने गरिरहेका थिए । मलाई अलि अचम्म लाग्यो । फर्किँदा पातले छाँगोको अफिसमा त्यसबारे जानकारी लिँदा उनीहरु खासै सजग या चिन्तित देखिन्नथे । त्यहाँबाट गुप्तेश्वर महादेवलाई परैबाट हेरेर बस चढेर फर्कियौँ ।

महेन्द्र गुफा जान विन्ध्यवासिनी मन्दिर छेउबाट एउटा ट्याक्सी लियौँ । पोखराको ट्रयाक्सीमा मीटर नहुने रहेछ । मलाई लाग्यो मीटर नै नभएकोलाई कसरी ट्याक्सी भन्ने ? पाँचशयमा महेन्द्र गुफा र चमेरे गुफा पुर्याएर फर्काउने तय भयो । ट्याक्सी ड्रईभरसँग मीटर नहुनाको कारण बुझ्दा नापतौल विभाग र ट्याक्सी चालकहरुको विच जुँगाको लडाई रहेछ । एकार्काले भनेको नमानेर यो सेवा व्यवस्थित र विश्वासिलो हुन नपाएको रहेछ । परिणाम स्वरुप प्रयोगकर्ताहरु मारमा परेका छन् ।

महेन्द्र गुफाभित्र पस्दै जाँदा एक मिनेट नहिँड्दै देउतास्थान बनाएर एकजना पुजारी बसेको ठाउँमा पुगेपछि गुफाको यात्रा टुँगिदो रहेछ । टिका लगाएर दक्षिणा चढाएर युटर्न हान्नुपर्ने रहेछ । मैले भर्जिनीयामा देखेको लुरे नामको गुफाको दाँजोमा यो महेन्द्र गुफा पो लुरे रहेछ । खास्सै प्रभावित नभईकन फर्कियौ र चमेरे गुफातर्फ लाग्यौँ ।

चमेरे गुफाको टिकट काटेर भित्र पसियो । केहि भित्र पसेपछि दाँया दाँया पारेर ठाडो डाँडो जस्तो उक्लिनु पर्ने रहेछ । माथि देखिने सानो प्वालमा पुगेर त्यसबाट बाहिर निस्कनु पर्ने रहेछ । प्रशस्त उज्यालोको अभावमा चट्टानका भागहरु समाउँदै माथि उक्लनु पर्ने रहेछ । चिप्लिएर तल खस्ने त्रासमा शरीर लगलग कामी सकेको थियो । भीरको चिचिण्डो भैसकिएको थियो । किनभने ओर्लिएपनि उत्तिकै डर, माथि उक्लिएपनि उत्तिकै डर । यै भीरमा हामीभन्दा अगाडि पुगेका भारतीय पर्यटकको १०-१२ वर्षकी छोरी आत्तिएर व्हाँ व्हाँ रोईरहेकी थिईन् । बाबुआमा जड भएर निरुपाय बनेका थिए । तर छोरीलाई फकाउँदैपनि थिए । हामी आफुपनि आत्तिईसकेका थियौँ । चढ्न अप्ठ्यारो भएको टुप्पामा बसेर तलकालाई हात दिँदै माथि तान्ने पूण्य काम एकजना भाईले गरिरहेका थिए । तिनि गुफाका कर्मचारी थिए वा हामीजस्तै पर्यटक थिए, त्यहाँबाट निस्कने धुनमा बुझ्नै पाईएन । जे होस्, तिनका सहायताबाट माथि उक्लिएपछि साँगुरो प्वालमा आफुलाई छिराएर घस्रँदै, कोल्टे पर्दै सर्पले दुलोबाट टाउको निकाले झै हामी दुबै जमिनमा निस्कियौँ । बाफ् रे बाफ । नयाँ जीवन पाए जस्तो, ठुलो विपतबाट बचे जस्तो अनुभव गरियो । शरीर थरथर कामी रहेको थियो । लुगाहरु मैला भएका थिए । यो कस्तो एडभेन्चर हो आफ्नो शरीरलाई सास्ती दिएर रमाईलो मान्ने? फेरी गुफाको व्यवस्थापन अफिसले यो यात्रालाई अझ व्यवस्थित र सजिलो बनाउन सक्थ्यो होला, यसरी किन नगरेको होला भन्ने तर्कनापनि लाग्यो । केहि नबोली हामी ट्याक्सी रोकेतर्फ जाँदै थियौ । फर्कन ढिलो भएकोले ट्याक्सी ड्रईभर हामीलाई खोज्दै गुफातिर आउँदै रहेछ । त्यहाँको व्यवस्थापनतर्फ उनकोपनि असहमति रहेछ । उनलेपनि दुखेसो पोखे । मैले थप जान्ने मौका पाएँ र मेरो सोचाईमा बल थपियो ।

त्यहाँबाट पोखराको नयाँ सडक एक छेउबाट अर्को छेउ त्यत्तिकै दाँयाबाँयाका रमिता र पसलहरु हेर्दै हिँड्यौँ । एकठाउँमा भर्खर खोलिएको रेष्टुरेण्ट थियो क्या रे बाहिरबाट हेर्दा सफा र चिटिक्क देखिन्थ्यो । यहाँ वाईफाई सिँत्तैमा पाईन्छ भन्ने सूचना पढेपछि ईण्टरनेट र स्मार्टफोनले हाईफाई भएको यो ज्यान भित्र पसिहाल्यो । किनभने हातमा भएको फोन नचलाएको केहि दिन भैसकेको थियो । फोन र डाटाप्लान नभएपछि यो त कामै नलाग्ने डल्लोमात्र पो हुँदो रहेछ । जेहोस् भित्र पसेर कफि अर्डर गर्दै पैसा तिर्न लाग्दा तीनछक परेँ । झण्डै १०० मिली लिटर अट्ने एक कप कफिको साठी रुपैँया पर्ने रहेछ । अरु सबैले धमाधम पैसा तिर्दै अर्डर गरेको देखेर यो महँगोको अनुभव मलाईमात्र भएको होला भन्ने मनमनै ठान्दै लाजपनि मानेँ । हुन त अमेरिकी डलरको हिसाब गर्ने हो भने साठी सेण्ट थियो । त्यो साठी सेण्ट भनेको भए मेरोलागी यस्तो बज्रपात हुने थिएन । तर पैसाको भोल्युम थाहा पाएर म आत्तिएको थिएँ । नेपालको बजारको भाउ बेसाहा सुनेर म धेरै पटक तर्सने गरेको छु ।
कफी अर्डर गरेर एउटा टेबलमा बस्दै पाएको वाईफाईको पासवर्ड हालेर सबैभन्दा पहिले ईमेल चेक गरेको त कमलमणी दिक्षितको एउटा ईमेल आईरहेको रहेछ । कथाकार सुन्दर जोशीको 'क्यासल रककी अप्सरा' कथा सँग्रह मदन पुस्तकालयमा दर्ता भयो भन्दै सुन्दर जोशीका कथाको बयान गर्दै उनलाई लेखिएको ईमेलको कपी मलाईपनि आएको रहेछ । खसखस डटकममा प्रकाशित भैसकेका ति कथाहरुको बारेमा कमलमणी दाईको विचार पढ्न पाउँदा खुशी लाग्यो । मैले त्यहिँबाट अमेरिकाको फ्लोरिडा भएका सुन्दरजीलाई भाईबरबाट फोन गरेर जानकारी दिएँ । उनीपनि साह्रै खुशी भए । आफुले गरेको काममा म आफैँ एकछिन मख्ख परेँ ।

त्यहाँबाट हामी लाग्यौँ घरीपाटनमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सँग्रहालयको अवलोकन गर्नकोलागी । झण्डै ४५ मिनेटको बाटो हिँड्ने जमर्को हामी जोईपोईले गर्यौं । नयाँ ठाउँमा आएपछि हिँडेर नै ठाउँ हेरिन्छ भन्ने मेरो मान्यतालाई उनलेपनि साथ दिईन् । गर्मीको तापले पोलेपनि हामी हिँड्यौँ । बाटोमा व्यवस्थित र योजना मुताबिकका घरहरु बनेको बस्ती देख्दा मलाई पोखरा काठमाण्डौँ भन्दा धेरै नै व्यवस्थित लाग्यो । जथाभावी कुनै अगाडि र पछाडी नबनाईएका, बाटोलागी मनग्य जग्गा छोडिएका अनि सफा र सुग्घर लाग्यो पोखरा । काठमाण्डौँले सिक्नुपर्ने हो यस्तो शिक्षा । तर न काठमाण्डौँबाट पोखराले पो सिकेर आफुलाई यति व्यवस्थित बनाएको हो कि भन्नेपनि लाग्यो ।

जे होस् सँग्रहालयको टिकट काउण्टर पुगेपछि थाहा भयो विदेशी र स्वदेशीको अलग अलग दर रहेछ । थाहा भएपनि यो कुरा मैले विर्सिसकेको रहेछु । भारतीय र सार्क मुलुककोलागी अर्कै दर रहेछ । आफु कागजमा विदेशी भएपनि स्वदेशीको रकम तिरेर भित्र पसियो । ५.१० हेक्टरमा फैलिएको यो सँग्रहालयको शिलान्यास सन् १९९५ भएर सन् २००४ देखि प्रदर्शनकोलागी खोलिएको रहेछ । भित्र पर्वतारोहरण सम्बन्धि विशाल प्रदर्शन रहेछ । एक एक हेर्न निकै समय लाग्ने । त्यसकारण आँखाले जताजता भ्यायो उतैउतै हेरेपछि डकुमेण्ट्र् िदेखाउने एउटा हलमा पुग्यौ र सो हेर्यौं । डकुमेण्ट्रि सिद्धिएपछिको उज्यालोमा मैले तीनचार जना अमेरिकी जस्ता देखिने विदेशी देखेँ । मलाई उनीहरुसँग बोल्न आतुरीले च्याप्यो । मलाई लाग्यो हामी एकै देशका वासिन्दा हौँ र नेपालमा भेटदै छौं । मानौं म घरदेश छोडेर परदेशमा छु | त्यसैले किन हो कुन्नी एकप्रकारको खुशी भएजस्तै मन आल्हादित भयो । गएर परिचय गर्दै कुरा गरेँ । नभन्दै अमेरिकाको ओहायोका रहेछन् । नेपालमा स्वयँसेवी भएर काम गर्दै रहेछन् । तर उनीहरुले मैले अनुभव गरेजस्तो अनुभव गरेको देखिनँ । गर्थेपनि किन र? छाला र अनुहार नै फरक छ । उनीहरुकोलागी म त स्थानिय नै हुँ । जुन स्वाभाविक नै थियो ।

उनीहरु स्वयँसेवी भएको कुरा सुनेपछि मलाई एउटा कुरा खट्कियो । त्यो के भने यि सहृदयी विदेशीहरु नेपालकोलागी भनेर आफ्नो थातथलो छोडेर आएका छन् । तर नेपालमा उनिहरुले टिकट काट्नुपर्दा भने विदेशी भएर पैसा तिर्नुपर्छ । मलाई यो न्यायसँगत लागेन । के उनीहरुलाई विशेष परिचयपत्रको व्यवस्था गरेर नेपाली सरह वा कमसेकम सार्क मुलुक सरहको टिकट लाग्ने व्यवस्था गरे हुन्न ? यसो गर्दा उनीहरु आफुले गरेको योगदानको मूल्याँकन भएको ठान्नेछन् भने अर्कातिर नेपाल सरकार र नेपालीको उदारमनापनि उजागर हुने थियो । तर यो सम्भव होला ?

त्यहाँबाट अब गर्नुपर्नु र हेर्नुपर्ने सबै सकिएको अनुभव गर्दै फेरी हिँडेर नै फर्कियौँ । अलिकति समय भएकोले अब यताका साहित्यकारहरुसँग भेट्न पाए हुन्थ्यो भन्ने लाग्यो । पोखरा घर भएको र मैले चिनेको साहित्यकारमा एकजनाकोमात्र नाम सम्झेँ सरुभक्त । तर फोन नम्बर छैन । उनलाई अमेरिकामा मालती मँगलेको टोली नेता भएर आउँदा भेटेको थिएँ । साह्रै फरासिला र हँसिला फुर्तिला लागेका थिए । अब फोन नम्बर कसरी लिने त भन्ने धुनमा काठमाण्डौँमा रहेकी कथाकार बहिनी शर्मीला खड्का दाहाललाई फोन गरेँ । ला..छैन पो रहेछ । उनले 'खोई अरु कोसँग होला दाजु' भनेर अनभिज्ञता प्रकट गरिन् । खल्लो मन बनाएर फोन राखेँ । काठमाण्डौँ फर्किएको केहि दिनपछि साहित्यकार तथा समालोचक बहिनी गीत त्रिपाठीसँग कुरा हुँदा पो थाहा पाएँ तिनी त त्यस बखत पोखरामा नै रहिछन् । त्योपनि सरुभक्तकै नेतृत्वमा भएको साहित्यिक कार्यक्रममा सहभागी हुन । ठुलो अवसर हातबाट उम्केको अनुभव गरेँ। यसरी सरुलाई त भेटिएन, बरु उनको सम्झनामा नै चित्त बुझाउन परेको थियो ।

अब भोलीपल्ट बिहान काठमाण्डौ फर्किने भएकोले नथाकिनकोलागी हामी कोठातिरै लाग्यौँ । महेश आएपछि फेरी एकछिन बाहिर घुमेर रातीको खाना खाएपछि गुँडमा नै फर्कियौँ र निगमका पुराना बेलीविस्तारका कुरा गरेर सुत्यौँ ।
बिहान उठ्नु अगाडि नै कल्याँगमल्याँग आदिको आवाज सुनिएको थियो तर यो आवाज छिमेकीबाट आएको होला भन्ने लाग्यो । उठेर नुहाईवरी निस्किँदा महेश त भान्सामा हाम्रालागी खान्तेपिन्तेको पो बन्दोबस्त गर्न लागेका रहेछन् । अण्डा उमालेर, दुध तताएर, फलफूल काटेर ठिक्क पार्न लागेका रहेछन् । हे महेश, किन यति झण्झट गरेको होला भन्दै पिरतीको स्वरमा हकारेको त उल्टै उहि पो मेरै नक्कल गर्दै मलाई नै हकार्छ । माया, प्रेम सद्भावमा महेशले जित्यो । बस्न दियो, सेवा सुश्रुषा गर्यो । धन्न महेश !

बस स्टपसम्म जानकोलागी ट्याक्सी लिने जोहो गरेनौँ । मीटर नै नभएको ट्याक्सीमा केको आधारमा भाडा तिर्ने? मनलागी भनेको भाडा तिरेर ट्याक्सी चढ्न मनले मानेन । त्यसमाथि हतारपनि थिएन । समय प्रशस्त भएकोले सुटकेस घ्यारार्र पार्दै बस स्टपतिर लाग्यौँ र बस काठमाण्डौँतिर लाग्यो । बस गुडेपछिपनि दाँयाबाँया माछापुच्छ्रेको दर्शन पाईएला कि भनेर हेरेँ । तर अहँ पहिलो पटक पोखरा आएको मलाई उनले निराश बनाएर रित्तै हात फर्काईन् । पोखरा प्रवेश गरेदेखि बादलको घुम्टोमा माछापुच्छ्रे लुकेर बसेको बस्यै गरिन् । मचाहिँ बेहुली हेर्न जाँदा बेहुलीको मुख नै नदेखी फर्किन परेको अवस्थामा झैँ थिएँ । त्यसैले मेरो आँखामा उनीप्रतिको तिर्षना अझै ताजै छ । अब यो तिर्षना कहिले मेटिने हो भविष्यलाई नै थाहा होला ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |