हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गिद्धहरु रमाउँदैछन्

बासु श्रेष्ठ, (उडब्रिज, भर्जिनीया)

जबजब मानिसमा आपत आईलाग्छ
जबजब तिनका आस्था धरमराउँछन्
जबजब तिनका विश्वास डगमगाउन थाल्छन्
अनि जबजब धरतीमा शुन्यता बढ्न थाल्छ
तबतब मा......थि आकाशका गिद्धहरु रमाउन थाल्छन्
चिँचिँ र चाँचाँ गर्दै अवसरका गीतमा
आकासिँदै बयली हान्दै, नाच्न रमाउन थाल्छन्
तिनलाई थाहा छ खाने मौका यहि हो
अनि
भोज र रमाईलोका अवसर पनि यहि हो ।

धरतीको पिडा के हो, उ जान्दैन
मानवधर्म के हो, उ मान्दैन
परसेवामा कदापी, उ रम्दैन
समाजसेवामा कदापी, उ जम्दैन

तथापी
,
कुन सँयोग कसरी र कहिले
धरतीमा बिपत आईलाग्छ
उ यस्तै मौकाको पर्खाईमा हुन्छ
यहि पर्खाईमा तल्लीन रहन्छ
किनभने, धरतीको पीडा
उसको अवसर हो
मानवीय दुख उसको चाड हो
धरतीको आँसु उसको पेय हो
अनि त,
आफ्नो चुच्चो आहारमा घोच्न ब्यग्र रहन्छ
चुच्चोमात्र होईन,
खुट्टाका नँग्रासमेतले
चिथोरेर पिडितका मासु
चिथ्राचिथ्रा पारेर खान अग्रसर हुन्छ
वर पिपलका हाँगामा ढुकेर होस् या
आकाशमा बयली खेल्दै होस्
उ धरतीमा आपतको कामना गरिरहेको हुन्छ
र त,
जबजब मानिसमा आपत आईलाग्छ
जबजब तिनका आस्था धरमराउँछन्
जबजब तिनका विश्वास डगमगाउँछन्
अनि जबजब धरतीमा शुन्यता बढ्न थाल्छ
तबतब मा......थि आकाशका गिद्धहरु रमाउन थाल्छन्
चिँचिँ र चाँचाँ गर्दै अवसरका गीतमा
आकासिँदै बयली हान्दै नाच्न रमाउन थाल्छन् ।

अहिले धरतीमा आपत आईपरेको छ
मानव सँकटमा परेको छ
हाहाकार र बिष्मय अनि छटपटि बढेको छ
हो यहि अवसर हो गिद्धकालागी
खाने, नाच्ने रमाउने
अनि त अहिले गिद्धहरु रमाउन थालेका छन्
अनि त अहिले गिद्धहरु रमाउन थालेका छन् ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |