हालसालैका लेखहरु : ठूलो बन्ने कसरी?,(विक्रम गौतम) संवाद संस्कृतिको उत्तरआधुनिक प्रयोजनामा शर्मिला खड्का,(कृष्ण गौतम) म हुॅ आजकी नारी,(लालीगुराॅस) जागित्राहरु ,(गणेश खड्का ) झरी पर्दा सम्झिन्छु......,(गणेश खड्का) ह्याप्पी भ्यालेन्टाइन्स डे,(विक्रम गौतम) मौसमी मानव,(होमनाथ सुवेदी) गीत,(विपुलश्री सिजापति ) स्वप्न बिन्दु,(रजनी श्रेष्ठ) मैनबत्ति,(बासु श्रेष्ठ)

वासीकी बुढीआमा,(बिनोद खडका )

गएको ४५ मिनेटको समय भनेको दिनभरीको कामपछिको पहिलो फुर्सदको समय हो । ल्यापटप सहितको ब्यागलाई पछाडीतिरको खाली ठाँउमा फालेर आफ्नो थाकेको शरीरलाई ईनोभा कारको सिटमा थ्याच्च थचारेपछि आराममय क्षणका केही श्रृखलाहरु शुरु भएको महशुस हुन्छ । त्यसमाथी यात्राका क्रममा मुम्बई बेलापुर सडकको छेउछाउमा देखिने गतिबिधीहरुले मन र मस्तिष्कलाई भने सजिव नै बनाई रहेको हुन्छ । सडकका द्धष्यहरु पनि कम्ती हेर्नलायक हुँदैनन । सडकमा बेनियम कुदिरहेका गाडीहरु, कानै टट्याउने गरी बजाईने हर्नहरु, हतार हतार सडकपार गर्दै गरेका पैदलयात्रुहरु सबै साँझका रमाईला द्धष्यहरु हुन जुन एउटा गाडीभित्र बसेर अवलोकन गर्न एक प्रकारले मज्जा नै आँउदो रहेछ ।
यीनै दृष्यहरुसंग मिसिएर आउने कतिपय द्धष्यहरुले भने मनलाई चसक्क घोच्दो पनि रहेछ ।  सडक यात्राका क्रममा देखिने केही परिवारहरुको फुटपाथमा अवस्थित बसाई र साँझका समयमा तिनका स्टोभहरुबाट आएका आगोको पिलपिले ज्वालाहरुले पुरै शहरलाई नै गिज्याई रहेको आभास पनि हुँदो रहेछ । तर तीनका भुराहरुले त्यही वरिपरी यताउता भाग्दै रमाउँदै खेल्दै गरेका द्धष्यहरुले भने त्यहाँ पनि एउटा सिंगो वस्तीको उपस्थितीको आभास दिलाउँदो रहेछ । 
थानेदेखि शुरु हुँने ईनोभा कार यात्रा करिब ४५ मिनेटको अन्तरालमा नयाँ मुम्बईको वासीस्थित होटेलको प्रांगणमा पुगेर रोकिन्छ । साँझ पूर्ण रुपले धर्तीमा ओर्लिसकेको हुन्छ । बिजुली बत्तिहरु बलिसकेका हुन्छन । नयाँ मुम्बईको आउटस्कर्टमा पैदल यात्रुहरु मात्र होईन सडकमा सवारी साधनहरु पनि पातलिदै गई रहेका हुन्छन । मैले मूम्बईको एउटा भाग साँझमा यति चाँडै नै बन्द हुन्छ थाल्छ भन्ने कहिल्यै पनि अनुमान नै गर्न सकेको थिईन । तर यस्तो पनि हुँदो रहेछ । जे होस यो मेरो एउटा छोटो दिनचर्या हो जुन केवल केही दिनहरुमा मात्र सीमित भएर सिधै स्मरणपटलमा कुँजिन पुग्छ ।
आज पनि साँझमा होटेलको प्रांगणमा प्रवेश गर्ने वित्तिकै थाहा भयो कि यहाँ कुनै पार्टी चल्दैछ ।  हिजो पनि थियो, अस्ती पनि थियो । मानौ यो होटेल नभएर कुनै पार्टी प्यालेस हो । होटेलभित्र प्रवेश गर्नका लागी पार्टीमा मस्त भैरहेका पाहुनाहरुलाई पन्छाउँदै अगाडी बढ्नु पर्ने हुन्छ जुन त्यत्ति सजिलो छैन । पार्टी चलेको दिनमा होटेलमा भित्र बाहिर आवत जावत गर्न त्यति सजिलो हुँदैन । होटेलमा बसिरहेका पाहुनाहरुका लागी वैकल्पिक बाटोको व्यवस्था हुनु पर्ने थियो । तर छैन ।
गाडी पार्किंग क्षेत्रमा कारहरुको भीड लागी सकेको छ । कतिपय ड्रईभरहरु पार्टीमा मस्त तीनका मालिकहरुको प्रतिक्षामा गाडीको ढोकामा टाँसिएर पार्टी हलतिर नजर दौडाउँदै चुरोटको धुँवा उडाई रहेका छन । मानौ तिनीहरुलाई परबाट हेर्नमात्र अनुमति छ तर पार्टीमा जानका लागी प्रतिवन्ध लागेको छ । ग्राउण्ड फ्लोरका ठूला हलहरुमा थरी थरीका खानाहरुका परिकारहरु राखिएका छन । कोही यता खाँदैछन कोही उता खाँदैछन । अत्याधुनिक पहिरनमा को भन्दा को कम बनेर निक्लेका युवा युवती पाहुनाहरु अपरिचित एक अर्कालाई हेर्दैछन वा आफुतिर द्दष्टी तान्ने प्रयास गर्दैछन । कोही कोही होटेल बाहिरको एउटा कुनामा बसेर धुम्रपान पनि गरिरहेका छन । लाग्छ सबैको उपस्थितीका आआफ्नै उदेश्यहरु छन, पार्टी त केवल बहानामात्रै हो । 
मुम्बईमा सुरक्षा व्यवस्था कडा छ । हरेक होटेलहरुमा एक्सरे मेसिन राखिएका हुँदा रहेछन । सामान र झोला एक्सरे मेसिनमा चढाएर मैले आफुलाई सुरक्षाकर्मीको जिम्मा लगाए । उसले नमस्तेको अभिवादन सहित मेरो जीउभरी उसको हातमा भएको सर्च मेसिन दौडायो र भित्र जान आदेश दियो ।
थोरै समय होटेलभित्र बिताएपछि म तुरुन्तै बाहिर निक्लन्छु । सडकमा सवारी साधनहरु ज्यादै कम भैसकेका छन । पैदल यात्रुहरु त औलामा गन्न सकिने गरेर पातलिई सकेका छन । साँझको साढे ९ मात्र बजेको छ तर नजिकैका पसल र मलहरु पूर्ण रुपले बन्द भैसकेका छन । मलभित्रका सिनेमाहलहरु भने चालु छन रे । तर सिनेमाहल तिर जाने आउनेहरुको पनि उल्लेख्य चहलपहल भने छैन । परतिर म्याकडोनाल्डको रेष्टुराले बाहिर फालेको एक चोक्टो उज्यालोमा मान्छेहरु भित्र बाहिर गरिरहेका देखिन्छन । मेरा पाईलाहरु पनि त्यहि उज्यालोलाई पछ्याउँदै अगाडी बढ्न थाल्छन । ड्रईभ थु्र पनि रहेछ त्यसैले आफ्नो गाडी म्याकडोनाल्डको सानो झ्यालको नजिकै अड्याएर खानेकुरा अर्डर गर्नेहरुको मसिनो संख्या देखिन्थ्यो । एकाध मान्छेहरु भित्र बसेर खाईरहेका पनि देखिन्थे । रेष्टुरा बाहिरको दोछायामा केही युगल जोडीहरु प्रेमालापमा मग्न रहेझै देखिन्थे । मलाई मनमनै हाँसो उठ्यो, ती युगल जोडीहरुलाई दोछाया नै किन रोज्नु परेको होला, उज्यालो भएतिरै बसेको भए पनि त हुँदो हो । तिनले अरुका सामु मुखै देखाउन नमिल्ने के पो गर्दै थिए र दोछाया नै रोज्नु परेको होला त ।
म अगाडी बढ्दै जान्छु अगाडी कहि बजार मिल्ने आशाहरु पालेर । मलाई साँझको प्रकाशमा वासीको बजारमा निश्फिक्री घुम्न मन लागेको थियो । सामानहरुको मोलमोलाई गर्न मन लागेको थियो । अनि एउटा राम्रो ढावामा पसेर रोटी र तरकारी मस्त खान मन लागेको थियो । तर मेरा यी रहरहरु पुरा हुन सक्ने कुनै गुन्जायस नै देखा परिरहेको थिएन । या त वासीमा बजार नै छैन या त यो आजका लागी सुतिसकेको छ । वासीमा बजार नहुनै सवालै रहदैन । पक्कै पनि यो चाँडै बन्द भैसकेको हुँनुपर्छ ।
ओहो । हिँडदा हिँडदै म अगाडीको दृष्य देखेर झस्किएं । फुटपाथमा बिर्को खुल्ला छाडिएको एउटा ठूलो र गहिरो खाल्डो देखा पर्यो । सायद ढल निकास विभागले कामकालागी खोलेको थियो होला तर बन्द गर्न बिर्सेको होला । सडक छेउको रुखको दोछाया परेर त्यो खाडल त्यति सजिलै देखिई रहेको थिएन । तर कसो कसो मेरा नजरहरुले त्यो खाडललाई सजिलै पहिल्याए र धन्न म बचें । पर पर देखिदै गरेको उज्यालोलाई पछ्याउँदै जाँदा झण्डै आफै त्यो अँध्यारो खाल्डोमा परेको । धन्य ढल निकास विभाग !
अगाढी बढ्दै गर्दा फेरी अलिकती पर अर्को एउटा चोक्टो उज्यालो देखा पर्यो । त्यो उज्यालोको एउटा छेउमा थुप्रै मान्छेहरुको चहलपहल पनि देखियो । नजिकै सडकको छेउमा पार्किंग गरिएका थुप्रै कारहरु पनि देखिए । एउटा फाष्टफुड रेष्टुरेण्ट रहेछ जहाँ पानीपुरी खान आउनेहरुको भीड लागिरहेको थियो ।  यहाँ परिवार सहितका मान्छेहरु पनि देखिए जो पानीपुरी सहितको अन्य फाष्टफुड खाँदै थिए । कोही टेक अवे अर्डरको प्रतिक्षामा पनि देखिए । यहाँ पनि आफ्नै प्रकारको रमाईलो संसार जमिरहेको थियो, बिन्दास मस्तीका साथ । लागथ्यो यो चिन्तामुक्त जत्था हो ।
एउटा सानो क्षण आफुलाई यहाँको भीडमा हराएपछि फेरी मेरा पाईलाहरु अगाडी बढ्दै जान्छन । म आफु बसेको होटेलबाट कति अगाडी पुगिसकेको छु मलाई नै थाहा छैन । उज्यालो बजार खोज्दै अगाडी बढिरहेका मेरा पाईलाहरु अनायास नै रोकिन पुग्छन । सडकछेउको एउटा रुखको हाँगाहरुको दोछायाको तल फुटपाथको एउटा छेउमा एउटा मानवाकृति चल्मलाएको देख्छु । म बिस्तारै र होशियारीका साथ अगाडी पाईला बढाउँछु । अलि पर एउटा मान्छे फुटपाथसंग जोडिएको होचो पर्खालमा बसेर चुरोटको धुँवा उडाईरहेको छ । आकृतिको नजिकै पुगेपछिमात्रै देख्छु एउटी बुढी आमा फुटपाथमा बसेर खाना खाने शुरसार गरिरहेकी थिईन । खाना तैयार भैसकेको रहेछ । बत्ति छैन । पर एउटा घरछेउको बिजुली बत्तिले तीनको अगाडी एक छेउ उज्यालो लेराई दिएको छ । त्यत्ति मलिनो उज्यालोमा पनि तीनका नजरहरुले दूरुस्त काम गरिरहेको देखिन्छ । तीनका हातहरु चलिरहेका छन मानौ ती अँध्यारोमा नै पनि चल्नका लागी अभ्यस्त भैसेकेका छन । तीनि यसरी चल्दैछिन मानौ तिनले जीवनमा आजसम्म पनि कसैको सहयोगको भीखारी बनिनन होला । नजिकैको चुलोमाथी मन्द आगोमा तावामा खुर्सानी पनि फ्राई भैरहेको थियो । ओहो कस्तो अचम्म, कसैले फुटपाथमा नै गुजारा चलाउनु पर्दा पनि आफ्ना रहरहरुलाई मर्न दिदैन रहेछन । केवल पेट भर्नका लागी मात्रै होईन बरु सन्तुष्टी पनि खोजिँदो रहेछ । तीनी पातली झै देखिन्थिन । अनुहारमा चाउरी पनि परेका होलान तर यो अँध्यारोमा न त तीनका अनुहारका चाउरीहरु देख्न सकिनथ्यो न त तीनका अन्र्तमनका पीडाहरु नाप्न सक्ने अवस्था नै थियो ।  
मैले यस यात्राका क्रममा फुटपाथमा गुजारा चलाई रहेका थुप्रै परिवारहरु देखे तर यति नजिकबाट भने पहिल्यै कहिले देखेको थिईन । मलाई लाग्थ्यो तिनीहरु फुटपाथमा सकसका साथ केवल गुजारा मात्रै चलाई रहेका होलान । तर होईन रहेछ । कम्तीमा पनि यी बुढी आमाले आफ्ना रहरहरुलाई मारेकी रहिनछन । मलाई यस अर्थमा ती बुढी आमाको फुटपाथे जीवन उत्कृष्ट लाग्यो । यद्यपी तिनीभित्र कस्ता पीडाहरु मडारिईरहेका छन, कसरी तिनी फुटपाथमा आई पुगिन, नाति नातिना सहितको परिवारका साथ हुनु पर्ने ती बुढी आमा कसरी यो बृद्ध उमेरमा अकेली हुन्छ पुगिन, त्यो त मलाई के थाहा । म यी उनका व्यक्तिगत कुराहरु सोध्न पनि त सक्दिन थिए । तैपनि मलाई यस्तो लाग्यो कि ती बुढीआमाले फुटपाथमा नै भए पनि सन्तुष्टी बटुलिरहेकी छिन । आखिर सबैले मृत्यु पर्खने त हो कसले पो नयाँ जन्म पर्खिरहेको छ र, त्यो त बहाना मात्रै हो । बस्नैका लागी त रुखको हाँगो नै स्वर्ग हो चरीका लागी चाहे त्यो सुकेको होस या हरियो नै, एकछेउ भूमि नै खुब हो निन्द्राका लागी बिछ्यौनामा के राखेको छ र त्यसले निन्द्रा बोलाओस, के छ त्यस्तो बिशाल महलहरुमा जो छैन त्यो फुटपाथमा, आखिन मनै त हो सन्तुष्टी भोग्ने । 
मलाई तिनको भान्साले आकर्षित गरि रह्यो । कौतुहलताले कोपरीरह्यो । मलाई तिनको पुरा दिनचर्या पढ्न मन लाग्यो । तर मसंग त्यत्ति धेरै समय पनि त थिएन । त्यसैले जति बुझ्नु थियो आजै बुझ्नु थियो अहिल्यै बुझ्नु थियो, यही साँझमा । म अलिक पर गएर यता उता हेरेको बहाना गर्दै तिनको भान्साको द्धष्यलाई आँखाले चोर्न थाले । हेर्दाहेर्दै तिनले खाना खान सुरु गरिन । तिनको खुल्ला आकाशमुनिको फुटपाथमा अवस्थित भान्साले यतिखेर संन्तुष्टीका हिसाबले संसारका सात तारे होटेलका रेष्टुरादेखि धनी, रईस र मध्यम वर्गिय मान्छेहरुको भान्सालाई माथ खुवाईरहेको थियो भन्ने मलाई लाग्यो । खानु त के छ र जिब्रोमा छउन्जेल स्वाद हो जो क्षणभरमै बिलाउँछ । मुख्य त भोक हो अनि सन्तुष्टी पनि । सायद ती बुढी आमासंग भोक र सन्तुष्टी दुबै थियो ।  मलाई यस्तो लाग्यो । फुटपाथमा तिनीसंग महंगो डाईनिंग टेवल वा मेचहरु त थिएनन तर तिनले बसेको एक टुक्रो जमिन तिनका लागी काफी थियो । तिनीसंग महंगा र विलासी भाडावर्तनहरु थिएनन तर तिनका ती पुराना भाँडाकुँडाहरुमा पनि तिनले चाहे अनुसार खाना राम्रै पाकेको देखिनथ्यो । तिनले आफ्ना वरिपरि ती भाडाहरुलाई जतनले सजाएकी थिईन । तिनीसंग परिवार थिएन संगै बसेर खानका लागी तर तिनको साथैमा एउटा कुकुर तिनै बुढी आमाले दिने अलिकति खानेकुराको आश गरेर बसेको थियो । मानौ त्यो पनि उनकै आफ्नै कोखको सन्तान हो । त्यसको आश पनि तिनले मारिनन ।
मैले आजको यो साँझमा जुन द्धष्य देखे र म जहाँ पुगे त्यो मेरा लागी एउटा पाठशाला बराबर थियो । मैले त्यो पाठशालमा जीवनका केही नयाँ कुराहरु सिक्ने मौका पाएको जस्तो लाग्यो । उज्यालो बजार खोज्दै हिँडेको थिए । तर मेरो उज्यालो बजार खोज्ने यात्रालाई त्यो बुढो रुखको दोछायामुनिको एउटा दिनचर्याले रोकिदियो । उज्यालो बजारको सटृामा मैले ज्ञानका केही बुँद उज्यालो बटुल्न सके झै लाग्यो । म त्यहीबाट नै फर्किए मानौ मैले खोजेको कुरा मलाई मिलिसकेको थियो । जीवनरुपी रथ जहाँ पनि चल्दो रहेछ, भव्य महलहरुमा, डेराहरुमा, छाप्राहरुमा अनि फुटपाथहरुमा पनि । केवल भोक र निन्द्रा रहेछ, परिकार र बिछेयौनाहरु होईनन । रहर र चाहनाहरुको पूर्ती महलहरुमा मात्र होईन फुटपाथमा पनि हुँदो रहेछ । मलाई यस्तै लाग्यो ।
फर्कदै गर्दा, मेरा मस्तिष्कभरी अनेक सवालहरु जन्मिन थाले । कौतुहलताको सिखर बढ्न थाल्यो । मैले एकछिन नजिकैको सपिंग मलको मूख्यद्धारको सिढीमा बस्ने निधो गरे । तन मन सबै तीनै बुढी आमा तिर गयो । बृद्धाश्रममा आश्रित ती थुप्रै बा आमाहरु पनि स्मरणपटलमा आउन थाले । संसारको रीत अचम्मको छ । बाबुआमाले जीवनभर आर्जित माया ममता, शक्ति, सम्पत्ति सबै आफ्ना सन्तानको भविष्य सुखद बनाउनका लागी लगाएका हुन्छन । आफु रातभर नसुतेर पनि बच्चालाई सुताएका  हुन्छन । आफु नखाएर पनि सन्तानको भोक निवारण गरेका हुन्छन । आफ्ना रहरहरु मारेर पनि आफ्ना सन्तानका रहरहरु पुरा गरेका हुन्छन । तर जीवनको एउटा पाटोमा तिनै बाबुआमा तिनका आफ्नै सन्तानहरुबाट पर फ्याकिन्छन अनेक बहानामा । तीनै बाबुआमा तीनका सन्तानका लागी बोझ बन्न पुग्छन, वा बोझ मानिन्छन । तिनका सन्तानले तिनका बाबुआमाले तिनीहरु माथि गरेको त्यागको रत्तिभर मूल्यांकन गर्दैनन बरु तिनै बाबुआमालाई अनेक दूख र सन्तापहरु दिई रहेका हुन्छन । आफ्नो सारा जीवन केवल सन्तानका लागी खर्चेका तीनै बाबुआमाहरु जब तिनीहरुलाई सहयोगको खाँचोपर्छ तब तीनका सन्तानहरुबाट अनेक बहानामा एकल्याईएका हुन्छन । यो समाजको एउटा दूखद पाटो हो जुन दिनानु बढिरहेको छ ।   
फर्केर होटलमा पुग्दा त्यहाँ बिहेको भव्य पार्टी अझै जमिरहेको थियो । महंगा लुगा गहनाहरुमा सजिएका पाहुनाहरु खानाको छनौट गरिरहेका थिए । होटेलको ठूलो हलमा गित संगितले बाताबरण रंगिन बनिरहेको थियो । तर मेरा दिल र दिमागमा भने नयाँ मुम्बई स्थित वासीको सडकको फुटपाथमा जीवन गुजारा गरिरहेकी तीनै बुढीआमा छाई रहेकी थिईन । अनि नजिकै तीनै बुढीआमाको खानाको आशा गरेर बुढीआमातिर नै हेरेर बसिरहेको त्यो कुकुर स्मरणपटलबाट अझै दूर भएको थिएन । म सोच्दै थिए, न ओढ्ने छ न त बिछ्यौना नै । थाहा छैन ती बुढीआमाले कसरी पार गर्दी हुन्छ धरतीमा झर्दै गरेको अर्को एउटा कालो रात । म सोच्दै गए कहाँ होलान तिनका सन्तान वा आफन्तहरु, किन तिनले त्यो उमेरमा फुटपाथमा एक्लो जीवन बिताउनु परेको होला आदि ईत्यादि ।
उमेरले डाँडा काटे पनि आफ्ना हात खुटृा चलुन्जेल सन्तान वा सरकार कसैको पनि मुख नताकी आत्मस्वाभिमानका साथ आप्mनै पौरखमा यो धर्तीमा खडा भैरहँनु पर्ने ज्ञान मैले ती आमाबाट सिके । सायद मैले यो जीवनमा आर्जन गरेका ज्ञानहरुमा यो नै मेरा लागी उत्कृष्ट ज्ञान भएको मेरो ठहर छ । यस अर्थमा म वासीकी ती बुढीआमाको श्रृणी भएको महशुस गरेको छुँ ।

१६ फेवु्रअरी २०१४, आईतबार,

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |