हालसालैका लेखहरु : ठूलो बन्ने कसरी?,(विक्रम गौतम) संवाद संस्कृतिको उत्तरआधुनिक प्रयोजनामा शर्मिला खड्का,(कृष्ण गौतम) म हुॅ आजकी नारी,(लालीगुराॅस) जागित्राहरु ,(गणेश खड्का ) झरी पर्दा सम्झिन्छु......,(गणेश खड्का) ह्याप्पी भ्यालेन्टाइन्स डे,(विक्रम गौतम) मौसमी मानव,(होमनाथ सुवेदी) गीत,(विपुलश्री सिजापति ) स्वप्न बिन्दु,(रजनी श्रेष्ठ) मैनबत्ति,(बासु श्रेष्ठ)

भूमिगत रेलयात्रा र शौचालय ,(कोमलप्रसाद पोख्रेल)

अक्टुबर ५, २००६ प्रातः सधैंभन्दा अलिक चाँडो म आफ्नो दैनिक नित्यकर्मबाट निवृत्त भएँ । छोरी कृष्णाले भोजन तयार गरिन् । भोक लाग्ने बेला भएको थिएन, तर सिन्कीको स्वादिष्ट रस र दही भएपछि मलाई भोक लाग्नु पर्दैन भोकलाई म लाग्छु । समयमै मुखमा बेराबारा नगरे पेन्टले पेट अँठ्याउन सक्तैन । अमेरिकामा डकारुन्जेल खानु हुदैन, त्यसैले अपानवायु चलुन्जेल खाएँ ।

सो दिन सबेरै भोजनमा सामेल हुनुको मुख्य प्रयोजन के थियो भने म मेरी आत्मीया चेली गोमा संग्रौलाको निमन्त्रणामा २०६३ बडा दशैंको टीका लगाइदिन र आशीर्वाद दिन आर्लिङ्टन जाँदै थिएँ । गोमाहरू पाँच दिन अघि मात्र डी.सी. बाट त्यहाँ सरेका थिए ।

गोमाको डेरा आर्लिङ्टनको ११औं स्ट्रिटमा थियो । त्यहाँ पुग्ने प्रसस्त बाटा (रुट) थिए तापनि दुईवटा बाटालाई मैले विकल्पका रूपमा लिएको थिएँ । एउटा बाटो उडब्रिजबाट फ्रान्कोनिया हुँदै जान्थ्यो भने अर्को बाटो उड्ब्रिजबाट मेरिफिल्ड हुँदै त्यहाँ पुग्थ्यो ।

फ्रान्कोनियाबाट जाँदा बस र रेल दुबै नचढी पुग्न सकिंदैनथ्यो भने अर्कोबाटो भएर जाँदा अलिक सजिलो पथ्र्यो; किनभने मेरिफिल्ड हुलाकमा ज्वाइँको नोकरी थियो । त्यहाँसम्म उहाँसँगै जान सकिन्थ्यो र त्यहाँबाट मेट्रो रेल समात्दा हुन्थ्यो ।

मैले मेरिफिल्डसम्म ज्वाइँसँगै जाने निश्चय गरें । ९ बजे ज्वाइँ र म मेरिफिल्ड प्रस्थान ग¥यौं । ज्वाइँले कार हाँक्नु भयो । म उहाँकै छेउमा पेटी बाँधेर बसें । गाडी आफ्नो गन्तव्यतिर हुइँकियो । बिचबिचमा अनगिन्ती राता र निला बत्तीहरूको अवरोध र निरवरोधको द्वन्द्वमा पीडित हुँदै गाडी अघि बढ्यो । गाडी प्रत्येक चौबाटामा त्यसरी रोकिएको देख्ता राता र निला बत्तीलाई क्रमशः नेपालको बाटो बन्द गर्ने आन्दोलनकारी र बाटो खुलाउँदै हिड्ने सुरक्षाकर्मीमा अनुवाद गरें मैले ।

हाम्रो गाडी पचपन्न, साठीको गतिमा दाहिने लेनबाट गुडिरहेको थियो । सत्तरी, असी माइलको गतिमा हाँक्नेहरू देब्रे लेनबाट हाम्रो गाडीलाई उछिन्थे र पुनः सोही लेनमा आफ्नो गाडी हुल्थे । अमेरिकामा जाने र आउनेबाटाहरू अलगअलग हुन्छन् । एउटा बाटामा घटीमा दुई र बढीमा ६ लेन सम्म भएको पाइयो । हँकाइको गति जतिजति बढ्दै जान्छ त्यतित्यति गाडी देब्रे लेनतिर सर्दै जान्छ ।

बाटामा सयौं गाडीले उछिने होला तर हाम्रो गाडीले गति बढाएन; सामान्य गतिमा गुडिरह्यो । हामीलाई द्रुत गतिमा गाडी गुडाएर खतरा मोल्नु थिएन । हामी रमिता हेर्दै अघि बढिरह्यौं । मलाई लाग्यो ती सडकहरू हाम्रो पहाडमा गरैगरा पारेर बिराइएका अनगिन्ती खेत हुन् ।

चटक्क सिउँदो काडेर कपाल कोरेकी नेपाली युवतिझैं दुबैतिर जङ्गलैजङ्गल भएका अमेरिकी सडकको दृश्यले म आफ्नै देशको आफ्नै जन्मस्थानतिर पो छु कि !एकछिन कल्पनामग्न भएँ । कसैले अमेरिका कस्तो छ ? भनी सोध्यो भने म भनौला, ‘अमेरिका सडकैसडकजस्तो छ ।यो मेरो मनोवाद थियो । वास्तवमा अमेरिकी विकासको मूर्तरुप नै अमेरिकी सडक हो भन्दा अत्युक्ति हँुदैन ।

उड्ब्रिजबाट मेरिफिल्ड पुग्ने छोटा सडकहरू प्रसस्त रहेछन् । सुदूर दक्षिणको फ्लोरिडा राज्यबाट आउने महासडक, जसलाई ९५ (नाइन्टी फाइव) भनिन्छ, उत्तरदक्षिण यात्राका लागि अत्यन्त सोझो रहेछ । अन्यत्रबाट आएका गाडीहरू त्यसैमा समाहित भएर गुड्दा रहेछन् । ९५ र त्यस्तै अन्य महासडकहरूमा गुड्ने गाडीहरूको गति एकदम तीव्र हुन्छ । त्यस किसिमका सडकमा गुड्ने गाडीले राता र निला बत्तीको झन्झट बेहोर्नु पर्दैन । हाम्रो गाडी पनि ९५ नामको महासडकमा पसेर गुडेको भए लगभग आधा घण्टा जतिमा मेरिफिल्ड पुग्ने रहेछ; तर हामी कम गतिमा कुदाउन सकिने घुमाउरो सडकबाट गयौं । बाटो घुमाउरो र त्यसमा पनि ट्राफिक लाइटको अनुशरण गर्नुपर्ने कारणबाट बढी समय लाग्दो रहेछ । लगभग एकघण्टा जति लाग्यो हामीलाई मेरिफिल्ड पुग्न । ज्वाइँ नजानेको र बढी गतिमा गुडाउनु पर्ने सडकमा कहिल्यै आँट गर्नुहुन्न । वास्तवमा अमेरिका जस्तो ठाउँमा गाडी हाँक्ता मनमा डर राखेर हाक्नु एकदमै बुद्धिमानी हो ।

लगभग दस बजे हामी मेरिफिल्ड पुग्यौं । त्यहाँको लि हाइवेको नजिकै ज्वाइँले काम गर्ने विशाल हुलाक कार्यालय रहेछ । त्यो हुलाक भर्जिनियाको सबभन्दा ठूलो हुलाक हो । त्यसमा चौबिसै घण्टा काम हुँदो रहेछ । अत्याधुनिक मेसिनबाट त्यस हुलाकमा चिठी प्रोसेसिङ कार्य हुँदो रहेछ । त्यस मेसिनले ठेगाना अनुसार चिठीहरूको वर्गीकरण गरी छुट्याउने कार्य गर्छ । त्यसरी छुट्याइएका चिठीहरू देशबिदेशतिर पठाउने काम गरिन्छ । त्यस हुलाकमा विभिन्न स्तरका कर्मचारीहरू कार्यरत छन् । तल्ला स्तरका कर्मचारीमध्ये कसैले मेसिनमा चिठीहाल्ने काम गर्छन् भने कसैले मेसिनद्वारा अस्वीकार गरिएका चिठीहरूको पुनव्र्यवस्था गर्ने कार्य गर्छन् । पुनव्र्यवस्था गर्दा मेसिनद्वारा अस्वीकार गरिएका चिठीहरूको ठेगाना अध्ययन गरी यथासम्भव सच्याउने काम हुन्छ र सच्याइएका चिठीहरू पुनः मेसिनमा लगाइन्छ । मेसिनले अमेरिकाको प्रत्येक राज्यमा जाने चिठीका साथै विश्वका प्रत्येक देशमा जाने चिठीहरूलाई बेग्लाबेग्लै छुट्याएर फरकफरक ठाउँमा थुप्रो लगाउँछ । ती चिठीहरूलाई सम्बन्धित ठाउँमा प्रेषण गर्ने काम कर्मचारीले गर्छन् ।

सयौं कर्मचारीले गर्न नसक्ने काम त्यस मेसिनले गर्छ । त्यस किसिमको मेसिन भर्खरभर्खरै तयार भएको रहेछ । त्यस हुलाकले अहिले परीक्षणका रूपमा कार्य गर्दै रहेछ । पछिपछि विश्वका अन्य मुलुकमा पनि त्यस किसिमको प्रविधि सुरु हुन सक्ने देखिन्छ ।

गाडीलाई हुलाक अगाडि पार्किङ् गराएर हामी त्यहीं नजिकैको सेल ग्यासस्टेसनमा गयौं । त्यस ग्यास स्टेसनमा विराटनगरका भण्डारी काम गर्छन् । उनको नाम केदार भण्डारी हो । उमेरले पैंतीसे चालीसे जस्तो लाग्ने ती मान्छे अमेरिका पुगेर पनि स्वभावमा परिवर्तन नभएका नेपालीमा गनिन्छन् । वास्तवमै यस्ता नेपाली अमेरिकामा कमै हुनुपर्छ मेरा विचारमा । मेरा लागि उनी बिस्तारै बोल्ने मिजासिला नेपाली ठहरिए । अमेरिकामा बस्ने कुनै नेपाली त बोल्दा पनि पैसा लाग्छ जस्तो गर्दा रहेछन् । कुनै चाहिं फोन गर्छु भन्छन् तर पटक्कै गर्दैनन् । उनीहरूले फोन गर्नु त परै जाओस् आपूmले गर्दा पनि फोन उठाउँदैनन् । आफ्नै देशका नेपाली त यस्ता छन् भने भारतीय र पाकिस्तानी झन् कस्ता होलान् ! बरु एउटा ताइवानीले मलाई आर यु इन्डियन ?’ भनेर सोद्धा मैले नो आइ एम नट, आइ एम नेपालीभनेथें । त्यसपछि उसले मसँग हात मिलाउँदै भनेथ्यो, ‘थ्याङ्क्यु, यु बिलङ् टु द कन्ट्री अव माउन्ट एभरेस्ट ।आफू चाहिं भारतीय र पाकिस्तानी भेटेपछि आफ्नै दक्षिण एसियाका हुन् भनेर दाजुभाइजस्तो गर्यो तर अघि कताबाट छिनाइसक्या हुन्छ । प्रायः सबै ट्याक्सी ड्राइभर भारतीय र पाकिस्तानी मात्र भेटिन्छन् । कतै हिंड्दा उनीहरूको ट्याक्सीमा परिएछ र आपूmलाई उनीहरूले दक्षिणएसियाली भनेर चिनेछन् भने ठग्नुसम्म ठग्छन् । अफगानी र इरानीहरू चाहिं अलिक असल हुँदा रहेछन् ।

मलाई सेल ग्यासमा पुर्याएर ज्वाइँ हुलाकतिर लाग्नुभयो । म १२ बजेसम्म केदारसँग गफगाफ गरेर बसें । मलाई त्यहाँबाट मेट्रो रेल स्टेसन गएर रेल चढ्नु थियो । मैले केही सहयोगको अपेक्षा गरेर केदारलाई भने, “केदारजी, तपाईंलाई म यस ठाउँका लागि सर्वथा नयाँ हुँ भन्ने कुरा थाहा भइहाल्यो । त्यसमा पनि हामी एकै ठाउँका पर्यौं । मलाई रेलस्टेसनसम्म पुग्नका निमित्त केही उपाय गर्न सकिन्छ ?”

ठीकै छ, म केही उपाय गर्छु । म एउटा नक्सा बनाइदिन्छु, त्यही नक्सा हेरेर तपार्इं त्यहाँ सजिलै पुग्न सक्नुहुन्छ । यहाँबाट त्यस्तै १५, २० मिनेट लाग्ला त्यहाँ पुग्न ।केदारले भने ।

म उनले बनाइदिएको हातेनक्सा बोकेर मेरिफिल्ड मेट्रो रेलस्टेसनतिर हिंडे । लि हाइ वेपार गरेर म सिधै उत्तरपूर्वतिर लागें । नक्साले मात्र नपुगेर बाटामा भेटिएका केही मानिसहरूलाई सोधपुछ गर्दै म अघि बढें । अघि बढ्ने क्रममा मेरा देब्रेतिर बाटाका किनारमा रोपिएका अमेरिकी वृक्षहरू मसँग झुम्मिए । कसैले कुमतिर, कसैले टाउकातिर सुम्सुम्याए । ती वृक्षहरू मेरालागि सर्वथा नयाँ थिए । सायद उनीहरूले पनि मलाई नयाँ विदेशी पर्यटक ठाने होला । नयाँ विदेशी पर्यटक देखेपछि नयाँसडक र वसन्तपुरतिरका ससाना केटादेखि लिएर असी पुगेर बसी खाने बेला भएकाहरूसम्म ठुटे अंग्रेजीमा खै के, खै के भन्दै बाटो छेकिरहेका हुन्छन्; डलर तान्न कोसिस गरिरहेका हुन्छन् । कसैकसैले त बिदेशी पाहुनाहरूसँग जवर्जस्ती गरेर पैसा धुत्छन् पनि । यी कुरा संझिएपछि मनमा कताकता चीसो भयो । यी वृक्षहरूले पनि मसँग डलर तान्न कोसिस त गर्दै छैनन् ? भनेर मनको बाघले झन्डै खायो ।

अझ अघि बढें । दाहिनेतिर लाममा बनिएका गगनचुम्बी भवनहरू थिए । एकछिन उभिएँ र ती सुन्दरतम महलहरूको प्राकृतिक डिजिटल फोटो लिएँ मसँग भएको दुई लेन्सको ओरिजिनल क्यामराबाट । अभैm ती फोटोहरू मभित्र सुरक्षित छन् ।

ती महलहरू अत्यन्त सुन्दर र सफा थिए । तलबाट माथिहेर्दा हातले टोपी समाउनु पथ्र्यो । त्यहाँ भएका भवनहरूमध्ये अधिकतम एक्काइस तले सम्म थिए । मैले त्यसैबेला झट्ट संझिएँ बोस्टन ट्रेड सेन्टरमा भएको पचास तले भवनका छेउमा त्यो भवन एउटा बचरो मात्र थियो । मेरो स्मृति न्युयोर्कको ट्विनटावरमा गएर ठोकियो । एक सय दस तलाको त्यो जोडी भवन कस्तो थियो होला !

, एकसय दस तलाका छेउमा एक्काईस तलाको के बखान गर्नु ! भन्दै पाइला अघि बढाएँ । अलिक अगाडि गएर देब्रे मोडिएपछि मेरिफिल्ड मेट्रो रेल स्टेसनपुगियो । एक जना अमेरिकी केटाको सहयोगमा पैसा छिराएर टिकट निकाल्न सिकें । कोर्ट हाउससम्मको भाडा २.५० डलर लाग्दो रहेछ । हातमा टिकट लिएर म अलिक अघि बढें । त्यहाँ चार, पाँचवटा साँगुरा छिर्ने बाटा थिए, जसका बीचबीचमा काठका स्वचालित आग्ला थिए । अरु मानिसले गरेभैंm मैले पनि आपूm छिर्ने ढाटको दाहिनेतिरको दुलामा टिकट छिराएँ । बीचको बाटो थुन्ने स्वचालित आग्लो फुत्त खुल्यो, म त्यहींबाट छिरें । छिर्दै गर्दा टिकट पनि त्यही छेउबाट फुत्त निस्कियो । टिकट समात्तै म अधि बढें ।

त्यहाँका मान्छेछेक्ने ढाट (आग्ला) त्यति दरा पनि छैनन् र नाघ्न नसकिने अग्ला पनि छैनन् । जबर्जस्ती गर्ने हो भने नाघेर जान पनि सकिन्छ; तर त्यहाँ अनैतिक सोच वा विचार भएका मान्छे नै छैनन् जस्तो लाग्छ । मैले यसो विचार गरें, नेपाल र भारत जस्तो भए त्यस्ता ढाटसाट केही रहने थिएनन् । स्वास्नीको रिस समेत त्यहीं गएर पोख्ने थिए लोग्नेले । कम्प्युटराइज्ड सिस्टमनै सबै भत्याङ्भुतुङ् हुने थियो । अमेरिका नैतिकता र जनउत्तरदायित्वमा अडेको देश रहेछ वास्तवमा ।

ढाटबाट केही पर दाहिने र देब्रे दुबैतिर विद्युत भर्याङ् थिए । म चढ्ने रेल दाहिनेतिर लाग्ने हुनाले म दाहिने भर्याङबाट तल झरें । त्यहाँका रेल मार्गहरू सहरीक्षेत्रमा अनिवार्यतः भूमिगत हुँदा रहेछन् भने ग्रामीण क्षेत्रमा वैकल्पिक रूपमा भूमिगत हुँदा रहेछन् । मेरिफिल्डको रेल स्टेसन भूमिगत थियो । वासिङ्गटन डि.सि.जस्ता जनघनत्वको चाप भएका शहरहरूमा त एकमुनि अर्को तह गर्दै तीन तहसम्मका भूमिगत रेलमार्ग हुँदा रहेछन् ।

म स्टेसनमा झरेको दस मिनेट पछि भिएना फेयरफ्याक्सतिरबाट ओरेन्ज लाइनको रेल आयो । रेल रोकिएको केही सेकेन्डभित्र स्वचालित ढोका खुल्यो । भित्रका यात्रीहरू अवतरण गरिसकेपछि बाहिरका यात्रीहरू पनि लाममा एकपछि अर्को गर्दै पसे । म पनि लाममा थिएँँ, आफ्नो पालोमा पसें र गन्तव्यस्थानतिर मुख फर्काएर एउटा सुन्दर कुर्सी (सिट) मा बसें । आफ्नो देशमा भूमिगत हुने मौका नपाए पनि पाताल लोकमा गएर भूमिगत हुने मौका पाएँ, त्यसैले अमेरिकाको भूमिगत यात्रा मेरा निमित्त चिरस्मरणीय रह्यो ।

रेलको ढोका स्वतः खुल्ने र बन्द हुने भएकाले त्यसबाट ओर्लिने र चढ्ने कार्य शीघ्रातिशीघ्र हुनुपर्दो रहेछ । कुनै यात्रीले ओर्लिन र उक्लिन विलम्ब गरेमा ऊ पछि पर्दोरहेछ । तर त्यहाँ कुनै कार्यमा पनि विलम्ब गर्नुहुदैन भन्ने कुरा सबैलाई थाहा भएकाले कसैलाई पनि विलम्बको रोगले छुँदो रहेनछ । म विलम्ब गर्ने देशको विलम्बप्रुफ व्यक्ति थिएँँ तापनि त्यहाँको द्रुत वातावरणले मलाई विलम्ब गर्न दिएन । तर विलम्बका कारण रेल छुटिगए पनि अर्को रेलबाट जान सकिन्छ । अब मलाई कसैले अमेरिकाको रेल कस्तो हुन्छ ?’ भनी प्रश्न गरेमा म भन्छु, ‘अमेरिकाको रेल अमेरिकाको जस्तै हुन्छ ।

मैले अमेरिकी रेलयात्राको कुरा उठाउँदा तपाईंले भारतको कटिहार, बरौनी, समस्तीपुर, लखनउ जस्ता रेलजङसनको पुनःस्मरणगर्नुभयो होला र चारधाम गर्न हिंडेका नेपाली तीर्थयात्रीहरूलाई त्यहाँका ठग कुल्लीहरूले सजिलै रेल चढाइदिने निहुँमा मनग्गे पैसा धुतेर मालसामान कोचेझैँ झ्यालबाट जबर्जस्ती कोचेका घटनाहरू, दृश्यहरू तपाईंका आँखाअगाडि नाच्न थाले होला । त्यसो हुनु स्वाभाविक पनि हो । तर म फेरि पनि भन्छु, म अमेरिकी रेलयात्राको कुरा गर्दैछु ।

त्यहाँका रेलमा चढ्दा कसैले कसैलाई ठेलमठेल गर्ने कुरा त परै जाओस् एकले अर्कोलाई छोएको सम्म पनि देखिएन । पहिला उक्लनेहरू खाली सिटमा बस्ने र पछि उक्लनेहरू सिट नपाए उभिने; यस्तो परम्परा रहेछ त्यहाँ । रेल चढ्नेहरू सबै आआफ्नै धुनमा थिए । कसैलाई कसैको मतलव थिएन । एकदम शान्त वातावरण, हल्ला पटक्कै थिएन । कोही गफ गर्नेहरू पनि कसैलाई बाधा नपर्ने गरी बिस्तारै गर्दैथिए । रेलभित्र पस्दा कसैले कसैलाई नछोइकन पसे पनि सिटमा बस्ने बित्तिकै केही विपरीत लिङ्गीहरूले एकअर्काको अधरामृतपान गर्ने कार्यको उद्घाटन गरिसकेका थिए । मैले त्यस डिब्बाभित्र दृष्टि घुमाएँ । कोही पुस्तक पढ्दै थिए, कोही पत्रिका पढ्दै थिए । कोही चाहिं मस्तसँग मोबाइलमा गफ गरिरहेका थिए; नेपालमा जस्तो छेरुन्जेल कराएर होइन, बिस्तारै ।

मेरिफिल्ड स्टेसन पार गरेपछि दुई स्टेसन अर्थात् इस्ट फल्सचर्चसम्म रेल जमिनमाथि नै गुड्यो । लिखका दुवैतर्फ रहेका वृक्षहरूले, जनआन्दोलन अघिका राजाको सवारीमा नेताहरूले स्वागत गरेझैं झुकेर स्वागत गरिरहेको दृश्य अत्यन्त मनमोहक थियो । त्यो दृश्य देखेपछि मेरो एक मनले भन्यो, ‘हाम्रो काठमाडौंमा पनि भूमिगत रेलको व्यवस्था भए गाडी जाममा पर्ने कुराको राम्रो समाधान हुन्थ्यो होला ।अर्को मनले भन्यो, ‘देशको सबै संपत्ति भ्रष्टाचारीलाई नै पुग्दैन, केले रेलमार्ग बन्छ र !

इस्टफल्स चर्चदेखि कोर्टहाउससम्म जम्मा चारवटा स्टेसन रहेछन् । ती स्टेसनहरू पार नगरुन्जेलसम्म नै रेल भूमिगत मार्गबाट गुड्यो । भूमिगत मार्गमा पसेपछि रेलको गति तीव्र भयो । सो मार्गबाट यात्रा गरिरहँदा कुनै किसिमको दृश्यावलोकन गर्न नपाइए पनि रेलभित्रको अमेरिकी संसार हेर्दै मख्ख पर्ने कार्यमा म अरु सबैभन्दा अगुवा भएँ ।

प्रत्येक भूमिगत रेल स्टेसन अत्यन्त सुन्दर ढङ्गले निर्मित थियो । बत्तीको सुन्दर प्रकाशले भित्तामा लेखिएको स्टेसनको नाम प्रस्ट रूपमा परैबाट दृष्टिगोचर हुन्थ्यो । त्यसो त रेलभित्र पनि आउने स्टेसनका बारेमा बराबर उद्घोष गर्ने मात्र होइन विद्युतीय पर्दामा समेत देखाइदो रहेछ । यसबाहेक रेलको प्रत्येक डिब्बामा रेलमार्गको नक्सा टाँसिएको हुँदा आफू जानुपर्ने स्टेसन कुन हो र कति स्टेसनपछि त्यो आउँछ भन्ने कुरा नक्सा हेरेर जानकारी लिन सकिन्छ ।

अमेरिकी बसको तुलनामा अमेरिकी रेलमा यात्रा गर्नेको संख्या अधिक देखियो । रेलमा यात्रा गर्नेमा अधिकांश कर्मचारी र विद्यार्थी हुँदा रहेछन् ।

रेलयात्राको धित मरेकै थिएन क्लोरेन्डन स्टेसन आइपुगेछ । त्यस स्टेसनबाट रेल अगाडि बढ्ने बित्तिकै अगाडिको विद्युतीय पर्दामा अब आउने स्टप कोर्टहाउसहोभन्ने देखियो र कम्प्युटरकी अमेरिकन्नीले पनि सोही कुरा बोली । म सतर्क भएँ, किनभने अलिकति विलम्ब गर्ने बित्तिकै रेलले अर्को स्टपमा पुर्याउने डर थियो । भूमिगत रेलमार्गमा नयाँ यात्रीलाई कुन स्टपमा रेलको कतापटिको ढोका खुल्छ भन्ने कुरा थाहा नभएर पनि समस्या हुँदो रहेछ, त्यसैले त्यस विषयमा पनि चनाखो हुनपर्ने रहेछ । नत्र ओर्लिन विलम्ब भएर रेलको ढोका बन्द हुने डर हुँदो रहेछ । म रेल रोकिनुभन्दा अलिक अगाडि उठें र ढोकाका छेउमा गएर उभिएँ ।

कोर्टहाउसआइपुगेछ, रेल रोकियो । दाहिनेतिरको ढोका खुल्यो । मैले सबैभन्दा अघि ओर्लिने अवसर पाएँ । त्यहाँ नजिकै रहेको छोटो सामान्य भर्याङ्बाट माथिल्लो तलामा गएँ । त्यस ठाउँमा टिकट बुकिङ काउन्टर’’ टी.टी.आईको काम गर्ने ढाट थिए । ढाटमा टिकट छिराउने काममा लाटा देशको गाँडो तन्देरीभइसकेको हुनाले त्यति समस्या परेन । टिकट छिराएँ, ढाट खुल्यो; पार भएँ । त्यहाँबाट सिधा अगाडि बढेपछि तल झर्ने र माथि उक्लिने दुइवटा विद्युत् भर्याङ् भेटिए । माथि उक्लिनेमा गोडा मात्र टेकाउनु पर्यो, उसैले बिस्तारै बगाएर माथि पुर्यायो । भर्याङ्को टुप्पामा पुगेर अलिकति हिंडेपछि एउटा बाणले स्क्वायर प्लाजाको सङ्केत गर्यो । म त्यही वाणले संकेत गरेतिर लागें । पर अरु दुईवटा लामा भर्याङ् देखिए । उँभो बग्ने भर्याङमा चढेपछि त्यसले सूर्यको प्रकाश भए ठाउँमा पु¥यायो । बिजुलीको प्रकाशमा धेरैबेर यात्रा गरेर सूर्यको प्रकाशमा आएपछि सपनाबाट बिउँझेझं भएँ । त्यस भर्याङ्ले स्क्वायर प्लाजापुर्यायो । दुवैतिर अग्ला अग्ला विशाल भवनहरू भएको त्यो प्लाजा रमणीय र आकर्षक पनि रहेछ ।

लगभग दिनको एक बजे म त्यस स्क्वायर प्लाजामा पुगेको थिएँ । एक बजेसम्ममा म त्यहाँ पुग्ने र सोही समयमा मलाई लिन कोपिला त्यहाँ आउने पूर्वसल्लाह भएको थियो गोमासँग ।

त्यहाँ पुग्नासाथ कोपिलाको खोजीमा मैले एक फन्को लगाएँ । कतै नदेखेपछि प्लाजाको पटाङ्गिनीमा रहेका फलामे कुर्सीमा उनको बाटो हेर्दै बसें । त्यहाँ मैले साढे तीन घण्टा कुर्नुप¥यो । दशैंको बेला भएपनि मौसम ओसिलो भएकाले निकै ठन्डा थियो ।

चार बजेसम्म पर्खंदा पनि कोपिला देखा परिनन् । त्यहाँको चिसो मौसमका कारण तीन घण्टाभन्दा अघिदेखि म लघुशङ्काद्वारा अत्यन्त पीडित थिएँ । हुँदाहुँदा म कहाँ हिंडेको, के गर्दैछु, कसलाई पर्खंदैछु जस्ता कुराहरू मेरा स्मृतिपटबाट अन्तध्र्यान भइसकेका थिए । मेरो स्मृति लघुशङ्काबाट कसरी छुट्कारा पाउने भन्ने कुरामा मात्र केन्द्रित भयो । मेरो एक मात्र कामना थियो मेरो मूत्र थैली बिन्लादेनको आत्मघाती चेलो नबनोस् ।

मैले एकछिन काठमाडौंको नयाँसडक छेउछाउका गल्लीहरू संझिएँ । मनमा गमे, ‘म त्यस विषम परिस्थितिमा नयाँसडकका गल्लीका छेउछाउमा भएको भए मान्छेसान्छेको वास्तै नगरी आँखा चिम्लिएर कुकुरासनमा च्यापबाट काँचा इँटा भिजाइदिने थिएँ । सजाय हुने थिएन, जेल जानुपर्ने थिएन । बिध्न भए देख्ने मान्छेले उनीहरूकै भाषामा गाली गर्थे होला, सराप्थे होला । सुन्या नसुन्यै गरेर आफ्नो काम सकी गल्लीतिर पस्दा भइजान्थ्यो ।

पुनः आफ्नो स्मृति प्लाजातिरै फिर्याे । यताउति आँखा घुमाएँ । न गल्ली, न च्याप, न काँचा इँटाले बनेका घर; नमोनास्ति केही थिएन त्यहाँ । भए पनि के गर्नु ! त्यो काठमाडौं थिएन, त्यो रत्नपार्क थिएन, त्यो न्युरोड थिएन । त्यो अमेरिका थियो ।

दुवैको सहमति भए त्यहाँ सयौं मान्छेका बीचमा गाला चुसाचुस गरे पनि कसैले केही भन्दैन । कसैले केही गर्दैन; तर बाहिर जथाभावि पिसाप गर्ने मानिसलाई हदैसम्मको सजाय हुन्छ, यो कुरा पक्का हो ।

स्याम्स क्लब, वालमार्ट, मल, ग्यासस्टेसन जस्ता ठाउँमा रेस्टरुमको अत्यन्त राम्रो व्यवस्था हुन्छ । मैले त्यसअघि निकै पटक ती रेस्टरुमको उपयोग गरेको थिएँ । तर त्यस प्लाजाका छेउछाउमा त्यस खालका कुनै पनि दोकान दृष्टिगत भएनन् । त्यहाँ दुई, तीनवटा ससाना कफी हाउस, एउटा बैङ्क, एउटा, ‘भिटामिन स्टोरलेखिएको दोकान र अरु बाहिर सटर लागेका विशाल भवनहरू मात्र थिए । भिटामिन स्टोरबन्द थियो भने कफीहाउसमा काम गर्ने सबै महिला थिए । बैंकमा परिचय पत्र भएकालाई मात्र भित्र छिर्न दिएजस्तो लाग्यो । कफी दोकानमा काम गर्ने महिला चाइनिज वा कोरियनजस्ता थिए । आपूm नेपाली भएर होला ती महिलालाई रेस्टरुम उपलब्ध गराइमाग्न मुख लागेन ।

म पिसाबले असह्य भएर घरी बस्दै घरी उठ्दै गर्दै थिएँ, ‘भिटामिन स्टोरउघ्रियो । भित्रबाट दुईजना मान्छे एकैसाथ बाहिर निस्किए । मलाई लाग्यो ती मान्छे दोकानकै हुनुपर्छ । तिनै मान्छेलाई बिन्तीभाउ गरेर यस फालबाट उम्कनु प¥यो भनेर उनीहरूको छेउमा गएँ । मैले एकदम मिजासिलो स्वरमा भने, “हाइ एक्स्क्युज मि; उड् यु माइन्ड प्रोभाइडिङ मि द रेस्ट रुम, प्लिज ।

ती दुईमध्ये एउटा अफ्रिकी जस्तो थियो भने अर्को नेपाली अनुहारको स्पेनिस थियो । त्यो नेपाली जस्तो मान्छे बोलीले स्पेनिस भए पनि नेपालीभन्दा दशौं गुणा असल रहेछ । उसले आफ्नो कालो साथीलाई रेस्टरुम देखाउन अह्रायो । मैले हाम्रै नेपाली भाइलाई माथिको प्रश्न नेपालीमा सोधेको भए उसले भन्नेथियो, ‘अँ, यहाँ तिमेरुजस्तालाई अभर पर्ला कि भनेर हामीले ट्वाइलेट बनाइद्या छौ नि !

एउटाले अह्राएपछि अर्काले मलाई दोकान भित्रै बोलायो । म भित्र गएँ । उसले चावी झिक्यो र भित्र गोदाममा जाने ढोका खोल्यो । उसका पछिपछि म निकै परसम्म गएँ । त्यहाँ अत्यन्त सफा रेस्टरुम रहेछ । उसले मलाई देखायो र ऊ बाहिरियो । मैले निकै लामो समयसम्म निर्धक्क लघुशङ्का गरें । शरीर हल्का भयो, म आनन्दित भएँ । म बाहिर आएँ र ती दुबैलाई हार्दिक धन्यवाद भन्दै आभार पनि प्रकट गरें । मेरो चोला उठ्न लागेका बेला ज्यान बचाउने तिनीहरू मेरा लागि सदा स्मरणीय छन् । तिनीहरूको नाम र ठेगाना सोध्न मेरो बुद्धि पुगेन; नत्र उनीहरू पनि ऐतिहासिक बन्ने थिए ।

सुषुप्त अवस्थामा रहेको मेरो मानसिक तनाव रेस्टरुमको प्रयोगपछि पुनः यथास्थितिमा फर्कियो । तत्कालै घडीतिर आँखा पुगेछ, चार बजेर तीस मिनेट भएछ । त्यो स्थान मेरा निमित्त स्वप्नवत् थियो । त्यहाँ सबै नौला र सबै नयाँ अनुहार मात्र देखिन्थे । झापाका मान्छेले बैतडीको कुरा थाहा पाएझै् त्यहाँ पनि थाहा पाउँछन्, यो सोचाइ थियो; तर त्यहाँ दशौं स्ट्रिटमा स्थायी घर भएको मान्छेले एघारौं स्ट्रिट कता छ र कुन हो भन्ने थाहा पाउँदो रहेनछ । मानौं उसले एघारौं स्ट्रिट कुन हो भन्ने कुरा पढेकै छैन । उसले जे पढेको छ, त्यसमा ऊ पारङ्गत छ । हाम्रो देशमाभैंm सबै विषयमा हात हालेर कुनै विषयमा पनि पूर्णता प्राप्त नगर्ने मान्छे त्यहाँ पाउन कठिन छ । मलाई एघारौं स्ट्रिट यतातिर छ भनेर कसैले बताउन सकेन; त्यसैले जुन बाटो आएको थिएँ त्यही बाटो त्यसरी नै उड्ब्रिज फर्कनुको विकल्प थिएन मेरा लागि ।

लिफ्ट्को प्रयोग गरेर तल भूमिगत रेलको टिकट कक्षतिर झरें । काउन्टरमा टिकटका लागि पैसा छिराउन आँट्तै थिएँ मेरा देब्रेतिर कसैले फोन गर्दै गरेको देखें । मलाई पनि हिड्ने बेलामा गोमालाई एक कल फोन गरेर हिडुँजस्तो लाग्यो । एकछिन पर्खें, टेलिफोन सेट खाली भयो । पच्चीस सेन्टका दुईवटा सिक्का छिराएँ; टेलिफोन अन भयो; गोमाको नम्बर डायल गरें ।

हलो, गोमा ! म तिम्रो गुरु कोमल बोलेको । तिमीले बहिनीलाई स्क्वायर प्लाजापठाउँछु भनेर मलाई ढुक्क पार्याै म यहाँ आएर साढे तीन घण्टा बस्दा पनि कोपिला आइनन् । यसरी अपरिचित ठाउँमा मान्छेको हरिबिजोक पार्नुहुन्छ नानी ? म उतै फर्किन तल रेल स्टेसनमा आएको छु । अब हिंड्छु पनि ।

सर ! एता सुन्नु न ! मलाई त स्क्वायर प्लाजागएँ तर सरसँग भेट भएन र आएँपो भनी त फोनमा कोपिलाले । ए कस्ती केटी रछे हँ ! सर ! म अहिले नै उसलाई फोन गरेर तुरुन्त त्यहाँ पठाउँछु । फरक पर्दैन सर, ऊ आइन भने म कामबाट बिदा मागेर पनि आउँछु । अब पन्द्र मिनेट मात्रै माथि गएर बस्दिनु न सर, बिन्ती

गोमाका यी कुरा सुनेपछि मभित्र आशाको सानो टुसो पलायो । म फेरि अघिकै बाटो माथि गएँ । नभन्दै केहीछिन पछि कोपिला त्यहाँ आइपुगिन् । मैले निकै गम्भीर भएर आफ्ना गुनासा पोखें । उनले आफू आएको तर भेट्न नसकी फर्केको कुरा बताइन् । उनले भनेको कुरा विश्वास नलागी नलागी पत्याइदिएँ ।

कोपिलाको साथ लागेर म उनीहरूको कोठामा पुगें । उनीहरू एकदम भव्य महलको पाँचौं तलामा बसेका रहेछन् । म उनीहरू बसेको वासिङ्टन डि.सि. को कोठामा पनि पुगेको थिएँ । त्यो भन्दा यो कोठा सुन्दर, फराक र आरामदयी पनि रहेछ । म पुग्दा सबै आआफ्ना काममा थिए । राती सात, आठ बजेतिर गोमा आइन् । अरु सबै बाह्रबजे आइपुगे । त्यस कोठाको अभिभावक त्रिलोचन प्रसाईं हुनुहुन्थ्यो । उहाँमा यावत् मानवीय गुणहरू रहेको पाएँ ।

गोमा जोडी, कोपिला जोडी र म समेत पाँच जनाको एउटा परिवार बन्यो । राती १२.३० तिर आयुद्रोणसुते .......जयन्ती मङ्गला काली ........जस्ता पवित्र आशिष्द्वारा चारैजनाका निधारमा मैले टीका लगाएँ । त्यहाँ म वास्तविक पिता बनेको थिएँ, उनीहरू वास्तविक पुत्रपुत्रीका रूपमा आशीर्वाद ग्रहण गरिरहेका थिए । आर्लिङ्गटन एघारौं स्ट्रिटको त्यो कोठा दुर्गामन्दिर बनेको थियो भने हामी सबै दुर्गादेवीका अनन्यभक्तमा रूपान्तरित भएर आफूलाई बिर्सिरहेका थियौं ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |