सुवेदीको एकल रचना वाचन,(खसखस सम्वाददाता)
३० जेष्ठ ।
साहित्यकार नारायण सुवेदीले शनिबार आफ्ना रचनाहरु सुनाएका छन् । रोल्पाको सदरमुकाम लिबाङमा आयोजित कार्यक्रममा उनले धेरैजसो छन्द कविता सुनाए । ललित साहित्य परिषद्को मासिक कार्यक्रममा उनले ‘एकल रचना वाचन’ गरेका हुन् ।
‘आराधना’ शीर्षकको कविताबाट सुरु गरेका सुवेदीले अन्त्यमा ‘होला कि शान्ति’ शीर्षकको कविता वाचन गरेका थिए । त्यस्तै उनले बन्दना, अन्धो म हराउँला, पोख्तोछु पीर मनको, बी.पी.को चिन्तनधारा, प्रजातन्त्र नेपालको, किशोर अवस्था, नेताको पश्चात्ताप, मुर्काट्नाहरु, जलजला, आमा देऊ बारुद एकमुठी ध्वस्त पार्छु संसार, चित्र मेरो बढारी शीर्षकका कविताहरु सुनाए ।
उनले १४ वटा रचना वाचन गरेको कार्यक्रम समीक्षक डी.बी. टुहुरोले बताए । टुहुरोका अनुसार वाचित रचनाहरुमध्ये १ वटा गीत, १ वटा गजल, २ वटा गद्य कविता थिए भने अरु सबै पद्य कविताहरु थिए ।
रचना वाचनसँगै सुवेदीले आफ्ना अनुभूतिहरुसमेत व्यक्त गरेका थिए । सोही क्रममा उनले कवितासङ्ग्रह निकाल्ने तयारी भइरहेको बताए भने उपन्यासको तयारी पनि गरिरेको बताए । गजुल–१, रोल्पा निबासी सुवेदीको ‘१०० दिन माओवादी कब्जामा’ प्रकाशित छ ।
सुवेदीको व्यक्तित्वमाथि प्रकाश साहित्यकार खेमराज शर्माले पारेका थिए । एकल रचना वाचन कार्यक्रम रेडियो रोल्पा ९३ दशमलव ८ र रेडियो जलजला ९६ थोप्ला ४ मेगाहर्जबाट प्रत्यक्ष प्रशारण समेत गरिएको परिषद्ले जनाएको छ ।
परिषद्का अध्यक्ष ओम केसीको अध्यक्षता तथा महासचिव नवीन लोचनमगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा सचिव खेमराज गाउँलेले स्वागत मन्तव्य दिएका थिए ।