हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

मुनामदनका उपर,(दीपक जडित)


अचेल नेपालबाट खास गरिकन नपढेका र भर्खरै निस्किएका नयाँ
, चर्चामा रहेका साहित्यिक किताबहरू मगाएर पढ्न थालेको छु । त्यो मौकामा संग्रह गर्न योग्य लागेका, पहिले पढिसकेका किताबहरू पनि थपेर ल्याउँने गर्छु । जस्तो कि अघिल्ला पटकहरूमा शंकर लामिछाने, विश्वेश्वरप्रसाद कोइराला आदिका किताबहरू ल्याएँ । त्यही मौकामा यसपटक महाकवि लक्ष्मीप्रसाद देवकोटाको सर्वाधिक चर्चित खण्डकाव्य 'मुनामदन' मगाएको थिएँ । अर्थात् यसपटक पहिले पढिसकेको 'मुनामदन' आएको छ ।

 

यसअघि 'मुनामदन' मैले तेह्र वर्षको हुँदा, कक्षा आठमा छँदा पढेको थिएँ । त्यो कसरी याद छ भने, एकदिन म मुनामदन र दश कक्षाको नेपाली किताब एकैसाथ च्यापेर आफ्नै खेतमा भएको 'खाडीको पिपल' भनिने पिपलको रुखमाथि चढेर पढ्न गएको थिएँ र रुखमाथिबाट तल खाडीको पानीमा पर्ने गरेर खसेको थियो, धन्न पानीमा तोप्न ठीक पारेको पाटाको बोझाहरु थियो र त्यसैमाथि पिपलको पात झैं बसेको थियो पातलो मुनामदन । म आफू आठमा पढ्थें, उमेरले म भन्दा दुई वर्ष ठूलो दाजु स्कूलमा पनि दुई कक्षा माथि हुन्थ्यो । स्कूलका हरेक कक्षामा हुँदा म दाजुका किताब चोरेर पढ्ने गर्थें । आफ्नै पठ्यक्रमका किताबहरु पनि त्यसै गरेर रुख रुख चढेर, खेतबारीतिर बसेर पढ्नुपर्छ भन्ने चैं न कैले बुद्धी आयो न रहर नै पलायो । रहर त किन पलाउँथ्यो र आफ्नो किताबको स्वाद दुई वर्ष अगाडि नै लिइसकेको हुन्थें । बरु त्यसले गर्दा मलाई स्कूलका प्रत्येक कक्षाहरुमा आफ्नो किताबहरु प्रति उदाशिनता बढेर जान्थ्यो ।

 

जे होस्, सात कक्षामा हुँदै 'साइँला बाजे' पनि भनिन्थ्यो भनेर महाकवि देवकोटाको परिचय दिइसकेको थियो मलाई स्कूलले । झ्याउरे लयमा रचिएको मुनामदनको प्रख्याति र देवकोटा स्वयंले मुनामदन बाहेक मेरा सबै कृतिहरू जलाईदिए पनि हुन्छ भनेका थिए भन्ने कुरा समेत थाहा पाइसकेको थिएँ । मुनामदन ठूलो किताब हो भन्ने लागेको भएर हुन सक्छ त्यसबेला पातलो, च्याङ्लो, कमसल पन्नाहरू भएको मुनामदन देख्दा मन खिन्न भएको थियो । हुनपनि त्यो मुनामदनको किताब भन्दा आकर्षक र गतिलो त त्यसबेला गाउँमा साँझ बिहान 'हरि भज हरि भज झूठो माया जानी' भन्ने भजन गाउँदा पल्टाउने राउत बाको भजनको किताब नै थियो ।

 

सम्झना छ त्यो मुनामदनको कभर हरियो थियो । मूल्य १५ रुपैयाँ थियो । १५ रुपैयाँ मूल्य देख्दा त्यो बेला मलाई 'कति सस्तो! मै किन्न सक्ने रहेछु!' जस्तै लागेको याद छ । तर त्यो बेला मसँग उस्तो सजिलो गरेर १५ रुपैयाँ भने हुँदैनथ्यो र यदि भएको भए पनि अवश्य मुनामदन भन्दा अर्थोकै हुँदा हुन् १५ रुपैयाँ खर्च गर्ने जरुरी कुराहरु ।

 

त्यो बेलाको मुनामदनमा पनि भित्र प्याल प्याल परेका पन्नाहरु थिए । अक्षरहरु एकापट्टिबाट अर्कोपट्टिको पनि कार्वन पेपरमा परेर छापिएको जस्तो देखिन्थ्यो । ले आउट नमिलाएर कविताका श्लोकहरु टपरामा न अटाएर चिउरा पोखिन लागेको हो कि जस्तो देखिन्थ्यो । किताबको आकार त्यसै पनि सानो, त्यसमाथि कमसल पातलो कागजको छपाईले गर्दा एकडल्लो पारेर मुखमा हाल्यो भने मुखमै अट्ने खालको थियो । आफुले लगाएको कोट नै फुकालेर अर्कालाई लगाइदिने, तलब पाएको दिन सबैलाई पैसा बाँड्दै हिंड्ने त्यस्ता ठूला मान्छेको किताब किन यस्तरी हेपेर छापेको होला? जस्तो लाग्थ्यो मलाई त्यही बेला पनि । अहिले पनि त्यस भन्दा पर लागेन ।

 

पैंसठ्ठीसालमा निस्किएको, पच्चीसौं संस्करणको रातो, गुलाबी रंगको कभर भएको मुनामदन हातमा लिएर म पहिलेको भन्दा पनि बढ्ता दु:खी भएर सोचिरहेछु । मूल्य अझै पनि केवल ३० रुपैयाँ छ । तातो न छारोका किताबहरू तीनचारसय घटी पाइन छोडेको समयमा मुनामदन १०० रुपैयाँ सम्म पारेर अलि गतिलो कागजमा, गतिलो हिसाबले निकाले कस्को के जान्थ्यो होला? कृतिको महत्ताको हिसाबले वा महाकविको सम्मानकै खातिर पनि मुनामदनको कुनै एक संस्करणलाई चाँदीको पन्नामा सुनको अक्षरले छापेर निकाले पनि हुने हो । अर्थात् यत्तिका वर्ष भैसक्यो, यत्तिका संस्करण निस्किसक्यो, विक्रीकै हिसाबले पनि मुनामदन अग्रस्थानमा छ । तब के कुनै एक संस्करणलाई हार्ड कभर राखेर, ले आउट मिलाएर, राम्रो गुणस्तरको कागजमा छाप्न पर्दैन र? भाषा सेवा गर्ने हुँ भन्ने, यो किताब निकालिरहेको साझा प्रकाशनले यो दायित्व उठाउनु पर्दैन र?

 

यो सब कुरा यसपटक पनि म सोचिमात्र रहन्थें होला । यसरी लेख्दिनथिएँ सायद तर मेरो हातमा एउटा बरको पात जत्रै 'मुनामदन' किताब देखेर अर्जेन्टिनाको मेरो सहकर्मी साथी 'लुकास'ले सोध्यो के हो भनेर । मैले उस्लाई यो हाम्रो भाषाका महाकविको सबैभन्दा राम्रो कृति हो भनें ।

 

उसले किताब हातमा लिएर हेर्यो र भन्यो, 'के तिम्रो देशमा राम्रो छापखानाहरु छैनन्?'

 

उसले भित्ता पुग्ने गरेर भनिसकेको थियो मलाई । मैले भन्थें के र? भनें, 'यो धेरै पहिले निस्केको किताब हो ।'

 

महाकवि देवकोटाका कृतिहरुलाई अनुवाद गरेर विश्व बजारमा पुर्‍याउने काम त गर्न सकेनौं सकेनौं । सबैभन्दा अब्बल मानिएको, नेपाली काव्य जगतको हीरा 'मुनामदन'लाई आफ्नै भाषामा पनि चारजना विदेशीहरुको अगाडि गर्व गरेर देखाउन सक्ने हिसाबले निकालेनौं । अनि हामी भन्छौं हाम्रो साहित्य कमजोर छ र विश्व साहित्यका सामु हामी हाम्रो साहित्यलाई आफैं निर्धो घोषणा गर्छौं ।

 

मैले यो सब कुरा लेखेर केही फरक पर्ने होइन थाहा छ । तर यही कुराहरुलाई मैले झ्याउरे लयमै केही श्लोक मार्फत पनि ब्यक्त गरेको छु । मेरो यो सानो कुरा मुनामदनका अनेक अनेक संस्करणहरू निकाल्ने साझा प्रकाशनका मठाधिशहरुको कानेगुजी पार गरेर कानभित्र परे केहि हुन्थ्यो कि भन्ने अपेक्षा भने गरेको छु ।

 

 मुनामदनका उपर 

 

हे मेरा दाजु ! हे मेरा दिदी, विदेशमा बसेर

साहित्य आफ्नै पढ्ने रहरको लहडमा फसेर

 

बेला बेलामा नेपाल देखि किताब मगाउँथें

परदेशको न्यास्रो नेपाली भाषा पढेर भगाउँथें

            ****

 

यो पल्ट मुना मदन आयो त्यै क्रम रीतमा

झ्याउरे लय गाउँला मन खोलेर गीतमा

 

गाएको थिएँ तेह्रमा हिंड्दा आठमा पढ्दा

आँसुमा डुबी मदनको चोट मुटुमा गढ्दा

 

झ्याउरे लय खुलेको हाम्रै गरीवी चुलेको

हिलोको कमल फक्रिए जस्तै मानवता फुलेको

 

गाउँले बोली ह्रदय खोली गाउँदै सरर

खसाए होलान् कतिले आँसुका दाना बरर

****

 पढेथें मैले बाइस साल पैले त्यो मुनामदन

रोएर आयो एस्पाली उस्को देख्तैमा बदन

 

पहिले पनि म यस्तै गती हालत देख्तथेँ

'के साह्रो हेला गरेको होला' मनैमा लेख्तथेँ

          ****

 

पहिलोपल्ट छापियो उन्नाईस् सौ बयानब्बेमा

पच्चीसौं पल्ट छापिइसक्यो, गनिन्छ द्रब्यमा

 

त्यो मुनामदन पहिले देख्दा आउँथ्यो पन्ध्रमा

पातलो कुन त, किताबको गति, चौथीको चन्द्रमा

 

पैंसठ्ठीसालमा छापिँदा पनि मूल्य छ तीनदश

चुहाइदिन्छ हरफै पिच्छे जो अमृत रस

 

कुन छ र साथी यो भन्दा माथि नेपाली कविता

नक्षत्र भइ आकाशमा रही चम्कने सबिता

****

 

कुनै किताब नि मुना-मदनझैं लोकप्रिय भएन

बिक्रीमा पनि यो जति धेरै अर्को केही गएन

 

भन्दछन् गम्की सुनाउँछन् चम्की रेकडतोड विक्री छ

संस्करण अनेक निकाल्नेलाई पैसाकै फिक्री छ

          ****

 

कदी र मदी ती साझा, आदी सोच्दैनन् किन यो

गतिलो छापे महाकविको सम्मानै हुनेथ्यो

 

बितेझैं जूनी गरीव मदनको फाटेको भोटोमा

एक पन्ना थपि राखेनन् महाकविलाई फोटोमा

 

को थाक्छ कैले? महाकविको गुणगान गाएर

मुना-मदनलाई को छाप्ला कैले धन् र मन् लाएर

 

कोही त छाप यो मुना-मदन सुनौला पातामा

बनाई चिल्लो झलल बल्ने चाँदीझैं गातामा

****

 

पर्थेन धेरै महङ्गो पार्न दुई-एक शय होस्

किताबको भने रूप आकर्षक, सुडौल वय होस्

 

भण्डार गरी यो अमृत बाणी कस्ले नराख्ला र?

यो नीधिलाई दुई-एक शय कस्ले नफ्याँक्ला र?

            ****

भन्दछौं हामी पुगेन कोही त्यो उच्व चोटीमा

गन्दछौं हामी महाकविलाई द्यौताकै कोटीमा ।

 

लेखेर दिए अमृत वचन सुनौला अक्षर

सुनेर जस्ले आँसु बहाई रसाउँछ पत्थर

 

करुणा, प्रेम, मानवता उपर यो भन्दा मास्तिर

अहिलेसम्म लेखियो भन्न भेटिन्न नजीर

 

जोगाइदिनु मुना-मदन चैं भन्थे रे देवकोटा

छपाईमा हेर्छु यो मुनामदन अझै नि छ खोटा

****

 

बिक्दछन् फोस्रा गाली साहित्य यै हाम्रो बजारमा

शय पाँच भन्दा मास्तिरै अझ कुनै त हजारमा

 

लाखौं-लाख खर्ची छापिन्छ राजनीतिका पर्चा, नारा

मुना-मदन चैं दु:खी छानोझैं देखिँदो छ तारा

        ****

 

वैद्याङ्गी मन्त्र छापेको जस्तै यो खेला जस्तो छ

हेरन पेज अक्षर नअटाई पोख्खेला जस्तो छ

 

पहेँली दुब्ली मुनाझैं अझै प्यालप्याले पन्ना चैं

खोल पनि मदन झैं दु:खी घरको गरीव तन्नाझैं

 

देवकोटै गरिव भनेर कि त राखेकै यस्तै हो

किताबको हालत देखेर मनमा पहिरो जस्तै गो

 

कि भोट पुग्ने मदन जस्तै दरीद्र छोडेको

म कैले देख्न पाउँछु यो काव्य रत्नले जडेको?

****

 

संसारलाई देखाउँदा, भनि यो हाम्रो नीधि हो

भन्दछन् 'हरे! के विजोग यस्को, हेला के विधी हो?'

 

कसैले भने, कि तिम्रो देशमा छापखाना गतिलो

छैन कि, राम्रो छपाउँने छैन रुपियाँको जिलो

           ****

 

लाजले मुख पहेंलो पार्दै म चुप बसें नि

कसरी कस्लाई, यो कुरा सुनाउँ, सोचमा फसें नि

 

मनैले भनें कागजमा नजाउ, अक्षर यी बुझौला

तब छ कत्रो मानवता यस्मा बुझेर रुझौला

 

ता पनि सोच्छु, साँच्चै छ बिजोग यो श्रेष्ठ नीधिको

यसबारे आवाज उठाउन ठोकुँ घण्ट कुन विधीको

 

तर्कना उठिरहँदा मनमा, विशिष्ठ काव्य यो

सपना देखें चाँदीका पन्नामा स्वर्णले लेखिंदो

****

 

भन्दछौं हामी कम्जोर हाम्रो साहित्य विश्वमा

सक्दैनौं सोच्न दीर्घमा कैले रम्दछौं ह्रस्वमा

 

हे भाषा प्रेमी ! ब्युँझेर मनको बाकस उघारौं

आत्मा छ अमर मुना-मदनको काया नि सुधारौं

          *****

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |