बडा दशैं २०७६ को शुभ उपलक्ष्यमा खसखस डट कमका सम्पूर्ण पाहुना, पाठक, श्रोता, लेखक तथा शुभचिन्तकहरुमा मङ्गलमय हार्दिक शुभकामना !

हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

देव आनन्दः समय र सम्झनाको किताबमा,(प्रकाश सायमी)


सम्झना मात्र थियो, त्यो बेला । शक्ति  भनिने कुनै तत्व नै थिएन, त्यहाँ सम्म पुग्ने । तर एक दुर्बल कोशिश र मेरा एक मित्रको चरम आशाले  पुगेको थिएँ त्यहाँ ।

सफा कालो, सर्पिलो पीचको बाटो गलैँचाजस्तै फैलिएको थियो, त्यो उकालोमा । यो उकालोको नाउँ के होला । संसाथमा पैदलयात्रा गरिरहेका पवनपुत्र हनुमानजस्तो वेगमा कुद्ने साथी स्पेन्सरलाई सोधेँ । उनी केही भन्न खोज्दै थिए,अचानक हामी दुवै अङ्कगणितमा भाग लगाएको दुई अँकजस्तै दुई छेव भयौँ , थ्रीव्हिलर आएर ।

“बम्बईमा यस्तै हो, गाडीको हँकाई । यू कान्ट टलरेट् । ”

म र ऊ । उमेरले एउटै समयका हामी दुई पागल सिनेप्रेमी । ऊ दक्षिण भारतको एक अनकन्टार कुनाबाट , म भारतको छिमेकी मुलुकबाट ।

आनन्द भवन पुग्यौँ हामी  । हेर्दा भारतको कुनै राष्ट्रपतिको  भवनजस्तो देखिने त्यो महल अभिनेता,  फिल्मकार , चलचित्र उद्यमी देव आनन्दको थियो । मेरी आमा, मेरी हजुरआमा अनि मेरा हजुरबुबाका प्रिय अभिनेताको आवास । म त्यहाँ थिएँ, मेरी हजुरआमाले बीरसिक्काको कथा सुनाएजस्तै सुनाएका नायकको घरको आँगनमा ।

देवआन्दले कालो शुट लगाउँदा केटीहरु बल्कोनीबाट फाल हालेर मर्थे रे, हजुरआमाले मेरो उमेर नहुँदै सुनाएको यो कथा हजुरआमाले कुन च्यानलबाट कसरी सुन्नु भो र मसम्म आईपुग्दा यस कथाका कति अंशमा सम्पादन भो वा कति विस्तार भो भन्न सक्तिनँ । देव आनन्दलाई कहिले नभटेका मेरी हजुरआमाले यो कथा मलाई आफ्नै छिमेकीको घटनाजस्तो गरी मलाई पचासौँ पटक वा त्यो भन्दा बढी नै सुनाउनु भएको छ । देवआनन्दले आफ्नी प्रेमिका सुरैयालाई औँठी दिन गएको रात के भो ??? यसको बाँकी अंश देवआनन्दसित सोध्न मलाई अपार मन छ ।

सुरैया र देवआनन्दको प्रेमकथा हजुरआमाको यौवनकालको लोकप्रिय स्क्यान्डल थिएछ , हामी त्यसका स्रोता वा पाठक हुन पाएनौँ ।

सुरैयालाई मैले पर्दामा वा आफ्नो आँखामा कहिले देखिनँ । वा चिन्ने धम्मता पनि राखिनँ ।  सुरैयाका वारेमा त मैले नयाँ शिक्षा लागू भएपछि को  एस् एल सीको पाठ्यक्रममा राखिएको नेपाली विषयको महेन्द्र मालाको कथामा पढेको थिएँ , कथाकार गोविन्दबहादुर मल्ल गोठालेको म जुजुमान कथामा । काँठमा बस्ने जुजुमान विरामी वा अस्वस्थ श्रीमतीलाई घरमा एक्लै छाडेर एउटा निम्ता मान्न भोजमा जान्छन् । जुजुमान पुगेको एउटा भोजमा म आफै पुगेजस्तो कथा बनाएर मैले सुनेको एउटा पात्रको नाउँ हो , सुरैया । सुरैयाको नाउँ कण्ठस्थ पारेर पाँच नम्बरको वस्तुगत परिक्षामा उत्तीर्ण हुने काइदा अग्रजहरुले बनाइसकेका थिए ।

म जुजुमान नेपाली साहित्यको एक अद्धितीय कथा, यसका रचयिता  गोविन्दबहादुर मल्ल गोठाले पनि सुरैयाका फ्यान रहेछन् , उनले सुरैयालाई नुरजहाँ भन्दा राम्री र गाउन जान्ने भनेर चिनाएका छन्, त्यही कथामा । त्यही सवचर्चित नायिका गायिका सुरैयाका पूर्वप्रेमी देवआनन्दसित आज हजुरआमाको एउटा प्रश्न सोध्नु छ भनेर स्पेन्सरसित म पुगेँ , द्वारमा ।

ढोकैमा रोके, एक गुर्खेले । त्यहाँ ढोकेलाई पेशागत पहिचानमा बहादुर वा गुर्खे भन्दा रहेछन् तर नेपालको गोर्खासित यसको केही मेल हुँदो रहेनछ । तर सुन्दा त्यसो लाग्ने मात्र रहेछ । सुन्दाखेरि गुट्खा भनेको पनि बुझिँदो रहेछ तर पानपरागजस्तो सुनिने गुट्खा पनि  भनिएको होइन रहेछ । जसरी हामी सबै पश्चिमीयलाई अम्रिकन भन्ने गर्दछौँ , त्यसरी नै सारा इमान्दार द्वारपाललाई गोर्खा नै नदेखेका भारतीय मूलका मान्छेले बहादुर वा गुर्खा भन्दा रहेछन् । कहिलेकाहिँ यस्तो कुरा भारतीय साहित्यका कमजोर लेखकले उल्लेख गर्दा हामी मर्माहत भएका छौँ धेरैचोटि । त्यसको एउटा उदाहरण हो, हिन्दी सिनेमा घरवाली बाहरवाली । त्यसपछि मैले चारवर्षअगि पढेको अरविन्द अडिगाको उपन्यास द व्हाइट टाइगरले पनि मलाई त्यस्तै धुन्धता दिएको छ ।

“कहाँ से हो ? ”

उनले ऐन पुर्याएर तन्किएर सोधे । साथी स्पेन्सरले भाँती पुर्याएर भने, “यो मेरो पछाडि उभिएको सोझो मान्छे नेपालबाट आएको हो । देवसाहबलाई भेट्न मन गरेको छ । यसले देवसाहबलाई चिन्छ पनि । नेपालमा यसको भेट भइसकेको रहेछ । ”

लठ्ठु स्पेन्सरले ढोकेलाई बयान दिने क्रममा  मेरो सम्झनालाई पन्ध्रवर्षपछाडि धकेल्यो जुन मेरा निम्ति दुष्कर मात्र होइन , दुसाध्य पनि थियो । भेटेको त थिएँ, हो तर प्रमाण केही थिएन ।

त्यति बेला हामी स्कुले केटाकेटी थियौँ ।

स्कुलको नियमित एसेम्बलीमा दाँत, नङ, कपाल, जुत्ता र स्कुल ड्रेस जँचाएर हामी कक्षा तालिकामा नभएको अर्को कक्षामा जान्थ्यौँ,  शुटिङ्गमा । शुटिङ्ग पनि हाम्रो नियमित कक्षामा पर्ने भएको भए म सदैव प्रथम हुने थिएँ । तर कक्षामा मेरो त्यस्तो प्रिय विषय थिएन त्यसैले म कक्षाबाट दिनदिनै भागाभाग । म हरेक दिन एकजना साथीलाई ‘हिँड् देवआनन्द भेटाइदिन्छु’ भन्दै लान्थेँ । शुटिङ्ग थियो, धार्मिक फिल्मजस्तो लाग्ने हिन्दी फिल्म 'हरे रामा हरे कृष्णा' को । म कक्षागत रूपमा तीन वा चारमा पढ्थेँ तर म भन्दा माथिल्लो कक्षामा पढ्ने दाजुहरूलाई पनि म साथी लिएर जान्थेँ । त्यसकारण पनि स्कुल समुदायमा अलि लोकप्रिय भइसकेको थिएछु ।

जाउलाखेलस्थित टिवेटियन शरणार्थी शिविरको  डाँडालाई त्यतिवेला भोटे गाउँ भनिन्थ्यो , त्यहीँ एकदिन मैले देवआनन्दलाई नवप्रवेशी नायिका जीनत अमानसित अभिनय गर्दै गरेको सुखद् घडीमा देखेँ, भीड छिचोलेर मैले उनलाई तत्काल एउटा प्रश्न सोधी हालेँ, “मिष्टर देवआनन्द हाऊ ओल्ड आर यू ? ”

यो मेरो होइन, हजुरआमाको प्रश्न थियो मैले सापटीमा सोधी दिनुपर्ने । प्रश्न आकाशिँदै, मडारिँदै, रिँग्दै फिर्दै उनी सामू पुगिछाड्यो । प्रश्न त्यहाँ पुगेपछि उनले फरक्क फर्केर मलाई हेरे तर मलाई देखेनन् , म भीडमा अघि नै हराईसकेको थिए तैपनि उनले नभेटिने आकाशतिर हात पुर्याएर  जवाफ दिए , “थ्याँक् यू योँग व्वाई । आइम फोर्टी सेभेन इयर यङ्ग ।”

जवाफ घरमा हजुरआमालाई पुर्याउन नपाउँदै मैले अभिभावकद्धयको  गज्जबको जवाफ पाएँ , हातमा चार लठी र खुट्टामा चार । डामै नजाने गरी ।

त्यसपछि मेरो शुटिँगको अनिश्चितकालीन कक्षा बीचैमा अवरुद्ध भयो । सकियो । हातमा लठ्ठीको डाम लिएर देवआनन्दजस्तै हल्लिँदै हल्लिँदै म स्कुल जान थालेको थिएँ ।

ती दिनलाई आज अचानक  स्पेन्सरले सम्झायो । त्यति नै वेला ढोकेले हामीलाई सानो सूचना दिएर विदा गरे, “देवसाहब दुई हप्ताका लागि डेनमार्क गएका छन् । फर्के पछि समयानुमति मागेर मात्र आउनू । यसरी भेट्न पाइँदैन । ”

द्वारपाल महोदयको शिष्ट शैलीको सावसचेत पछि हामी त्यहाँबाट फर्कियौँ । तर  म उनलाई भेट्न कहिले गइँन कारण, बम्बईमा कसैलाई भेट्न जानु भेटघाट नभएर काम वा भीख माग्न गएजस्तो हुँदो रहेछ । चिनेकै भएपनि मैले नेपालीभाषी अभिनेता डैनीलाई भेट्न कहिले गइँन बरु पछि उनकै प्रोडक्शनमा काम गरेँ ।

त्यो दिनको पाठले मलाई त्यही सिकायो । र, म देवआनन्दको नजीक पुगिनँ बरु उनलाई परैबाट  आदर चैँ गर्थेँ । आदर यसकारण गर्थेँ कि उनले आफ्नो सिनेमा मार्फत् नेपालका सुन्दर पहाडी भूभागलाई विश्वभरि सार्वजनिकीकरण गरिदिए । कतै कतै नेपाली भाषाको भव्यतालाई गीतमा घुसारिदिए , कान्छा, कान्छी र मायाप्रीति आदि । अझै गर्व लाग्ने कुरा त उनले नेपाली धुनसँगै नेपाली बाजा मादललाई हिन्दी पाश्र्वसंगीतमा प्रविष्टी दिए जुन हरेक हिसाबले नेपाल र नेपालीप्रति उनको सम्मानित दृष्टि हो भन्ने ठान्दछु । उनले मादल मात्र भित्र्याएनन् नेपालबाट दुःखी र पलायन भएर भारत पुगेका दार्जीलिङका एक संगीतकर्मी रञ्जित गजमेरको परिवारलाई संरक्षण दिए अप्रत्यक्ष रुपमा ।

उनी नेपालमा पहिलोपटक राजाका पाहुना भएर आए, राजाका छोराको विहेमा । उनी त्यसवेला राजप्रसादभित्रै आसन्न पाहुना मध्ये एक थिए, अन्य मुलुकका राष्ट्रप्रमुख जस्तै । उनी युवराज बीरेन्द्र शाहको विहेमा आउँदा काठमाण्डूको चर्चित चलखेलको केन्द्र भूमि नयाँ सडक गइरहन्थे , त्यतिवेला त्यहाँ बीसको दशकमा फ्रिक् स्ट्रीट नामबाट झोछ्येँ चिनिन्थ्यो, झोछ्येँमै उनले एक आप्रवासी भारतीय कन्यालाई भेटे , बसन्तपुरको भीडमा । उनकै कथामा उनले हरे रामा हरे कृष्णा नामको सिनेमा बनाए, भारतीय मोडल जीनत अमानलाई लिएर । हरे रामा हरे कृष्णाको छायाँकन उनले नेपालका सुन्दर भूमागमा गरे, हिमाली प्रदेश नाम्चे बजार, स्याँगबोचे, थार्कु आदि स्थानमा । त्यसवाहेक उनले काठमाण्डू र पाटनमा  पनि गरे, बज्रबाराही, जावलाखेल, भलिमण्डल, बागडोल र तिब्बती शरणार्थी शिविरमा उनी व्याप्त रहे ।

हरे राम हरे कृष्ण छायाँकनका वेला उनले नेपालका धेरै कलाकारलाई चलचित्रमा अभिनय गर्ने अवसर पनि दिए, विशेषतः उनले चलचित्र निर्देशक प्रकाश थापा, अभिनेत्री मीनासिंह, रंगकर्मी रवि शाह, जगन्नाथ तिमिल्सेना आदिलाई अभिनयको मौका दिए । यही फिल्मको निर्माणक्रममा उनले तत्कालीन राजासित छायाँकनको निम्ति अनुमति माग्दा महेन्द्रले उनलाई एक वचनमै स्वीकृति दिएपनि उनले भनेका थिए, सरकार । म सदैव नेपाल र नेपालीको भलाई चाहन्छु । सम्पूर्ण ईश्वरमा मेरो भित्री हृदयदेखि प्रार्थना छ, यो देशको सँधै भलो होस् । ...

हरेराम हरे कृष्ण ले त्यतिवेला विश्वमै तहल्का मच्चाएको हिप्पीवादलाई उनले पर्दामा सजीव रुपमा उतारे र प्रशस्त ख्याति पाए । नेपाल अचानक विश्वमै हिप्पीहरुको गतिविधि हुने ठाउँ हबको रुपमा चिनियो , त्यसपछि पश्चिमी जगतका चर्चित गायक र ब्यान्डले नेपाल र हिमाल माथि कैँयो गीत बनाए । बब सेजर, जोन लेनन, क्याट सेभेन्टी त्यसका उदाहरण बने ।

यही फिल्ममा देवानन्दले नेपाली वेशभूषा र बोली लवजलाई पर्दान्तरण गरे । उनले यही फिल्ममा नेपाली लोकधून र लोकवाजालाई प्रवेश दिए भने यसैवेला उनले केही नेपाली लोक आधुनिक गीतको संकलन गरेर लगे, त्यसमध्ये माणिकरत्न र प्रेमध्वज प्रधानको संगीतमा रहेको प्रसिद्ध गीत 'यो खोलाको सँग्लो पानी खाइ दिउँ खाइदिउँ लाग्छ' बोलको गीतलाई हिन्दीकरण गरेर 'मुझको अगर इजाजत हो तो मै यह गीत सुनाउँगा' बनाए पनि ।..

हरे राम हरे कृष्ण सँगै उनले जोनी मेरा नाम चलचित्रका केही गीत र दृश्य पनि यहाँ छाँयाकन गरे । अनि त्यसको केही वर्षपछि उनले शेखरकपूर, शबाना आजमी र जीनत अमान अभिनीत ईश्क ईश्क ईश्क को छायाँकन पनि यही गरे । यसरी उनी नेपालको सुन्दर हिमशृँखलालाई पर्दामा उतारेर अन्तर्राष्टिय बजारमा पुर्याउने नेपालका एक सांस्कृति सहचारी नै बने । उनलाई कति प्रसँगमा नेपाल र नेपालीले सांस्कृति राजदूत पनि भने । राजा र राजपरिवारका निकट देवानन्द जनताका पनि त्यतिकै प्रिय थिए नेपालमा । सरकार कर्मचारी देखि प्रहरी प्रशासनसम्म र होटल व्यवस्थापनदेखि पर्यटन व्यवसायीसम्म उनीप्रति आकर्षित थिए किनकि उनले नेपाललाई अलग्गै उचाइँमा पर्दामा उतारेका थिए । यही कारणले त्यतिवेला देखि उनलाई राजदरवारको आदेशमा इन्सपेक्टर सुरक्षा गार्डको रुपमा नियुक्त गरिएको थियो , इन्सपेक्टर नरेन्द्र थापा अवकाशप्राप्त भइसकेपछि पनि देवानन्द नेपाल आउँदा सुरक्षामा खटिन्थे ।

देवानन्दको कारणले गर्दा पछि धेरै हिन्दी र अँग्रेजी सिनेमाले नेपाललाई आफ्नो शुटिँग स्थल बनाए तर त्यो उँचाई दिन सकेनन् ।

यस्तो धेरै मायाले हेरिएको देवआनन्द मेरो जीवनमा दोस्रो पटक सन्नी रेकर्डिङ स्टूडिओमा देखापरे । उनको हिन्दी सिनेमा सच के बोलवाला को गीतको रेकर्ड गर्न उनी आएका थिए, संगीतकार बप्पी लाहिरीले अनुपस्थित भएका गायक मोहम्मद अजीजको स्वरमा डमी गाउन मेरा नेपाली मित्र उदीतनारायण झालाई बोलाएका थिए ।

उदीतले गाइसकेपछि देवआनन्दको प्रशंसा गर्दै भेट्न इच्छा राखे । संगीतकार बप्पी लाहिरीले ‘ अहिले दीवान्त भोजन पछि भेटाइदिउँला ’ भने ।

दीवान्त भोजनको केही क्षणपछि देवआनन्द बप्पीसित गफ्फिँदै झरे , म र उदीत छेव लाग्यौँ । समय एकदम कम थियो, दुरी पनि त्यस्तै कम । मैले उदीतलाई ठेलेँ नजीक जान ।  देव आनन्दको गाडी धीमा गतिमा गुड्दै  ढोकामा आएर रोकिएको थियो , उदीत बप्पीको ईशारा पर्खिरहेका थिए तर बप्पीले बिर्सिसकेका थिए, चिनाइदिनु पर्ने भनेर । देवआनन्दले उदीतलाई फर्केर पनि हेरेनन् , डमी सिङ्गरको कुनै पहिचान नै हुँदैन फिल्मी बजारमा । तर उदीत चुकेनन् , कुदेर देवआनन्दको खुट्टामा पुगे । देव चकित , बप्पी मौन । म मात्र दर्शक ।

उदीत अश्रुपूर्ण आवाजमा अनुनय विनय गर्दै थिए, एउटा राम्रो गीत गाउने  मौकाको लागि । यो उदीतको सर्वाधिक लोकप्रिय स्टाइल थियो ।

देवले उनलाई मधुर बोलीमा वचन दिए , फिल्मी भाषामा भने,  “देखते है । ” त्यो देखते है भनेको कति वर्षको र कति लामो भन्न सकिँदैन तर उनको आवाजमा स्पष्टता थियो , केही होलाजस्तो लक्षण ।

उदीतको रुवाइ र देवआनन्दको गम्किलो  प्रस्थान पछि मेरा आँखा अघिल्तिर एउटा पर्दा खस्यो, ठूला मान्छे यिनै हुन् ।

त्यस घटनाको ठीक एकवर्षजति पछि उदीतलाई उनले नवकेतन फिल्म्सको अब्बल नम्बर मा पाश्र्व गायनका लागि मौका दिए । यो उदीतले आफ्नो कारणले नभइ नायक अमिर खानका कारणले पाश्र्वमा गाउने मौका पाए । यसपछि उदीत देवआनन्दका प्रिय गायक नै भए । उनले फेरि एउटा तराईको नेपालीको उद्धार गरिदिए ।

यो घटनाको बाह्रवर्षपछि देवआनन्द एक आत्मगाथाकारको रुपमा फेरि नेपाल आए, सन् २००८ मे ५ तारिखका दिन । काठमाण्डूको नेपाल बुक पब्लीशर्स एन्ड डिस्टीब्युटर्स एशोसियनले  आयोजना गरेको पुस्तक प्रदर्शनीमा उनले लेखेको पुस्तक रोम्यान्सिङ्ग विथ् लाइफ, को विमोचन  थियो । यस पुस्तकलाई विमोचन गर्न भर्खरै नेपाल आएका भारतीय राजदूत राकेश सुद अतिथि थिए भने  पुस्तकका वारेमा वक्ताका रुपमा मैले बोल्नु थियो । अनि सुनाउनु थियो, पुस्तक प्रति मेरा सहमत असहत कुराहरु ।

मलाई देवआनन्दसित भेटेर मेरी प्रिय हजुरमुमाको एउटा अधुरो प्रश्न सोध्नु थियो, त्यसैले हुन्छ पनि भने ।

पेन्गुइन र भाइकिँगले संयुक्त रुपमा प्रकाशन गरेको ४३८ पृष्ठकको रोम्यान्सिङ्ग विथ् लाइफ पढ्दै गएपछि मेरा सामू अनगिन्ती प्रश्नहरु आए , नदीमा पानीको लहर आएजस्तै हराएजस्तै । हजुरआमाको प्रश्न त त्यहाँ गौण रह्यो । म अवाक् भएँ । कति साहसले बनेका रहेछन् ई मान्छे । जसका निम्ति राजा देखि रङ्क एक समान थिए । दुःख र सुख उनका निम्ति क्यालेण्डरका पानाजस्तै थिए । नेपालका कुनै राजा उनका साथी थिए, कुनै राजा उनका छोराजस्तै । कुनै राजा उनका निम्ति अपरिचित थिए ।

बील क्लिन्टनको माइ लाइफ, हिलारी ह्रोड्यामको लिभिँग हिस्ट्री पछि मैले आफ्ना आँखा यस पुस्तकको पानामा कुदाएको थिएँ , इमान्दारीपूर्वक । यो सम्पूर्ण किताब पढिसकेपछि मैले देवआनन्दलाई परिचयक्रममै पहिलो प्रश्न गरे, “यो तपाइँ आफैले आफ्नै हातले लेखेको हो त ?

उनले यसको जवाफ भरिसभामा दोहोर्याएर दिए । मैले पनि पुस्तक पढिसकेर आफ्ना भनाई लिखित रुपमा राखेँ, त्यही मञ्चमा । उनले मेरो कडा टिप्पणीलाई तीखो भनेनन्, शालीनतापूर्वक अत्यन्त राम्रो भने र त्यो मेरो लिखित मन्तव्यको पाना  प्रेमपूर्वक मागे , मैले तत्कालै भरिसभामै हस्तगत गरिदिएँ । शायद उनको घरमा मेरो प्रश्नै प्रश्नले घेरिएको समीक्षापत्र सुरक्षित होला जुन पढेर अवश्य झस्किरहनेछन् । मेरो घरमा पनि उनले साठी हजार मूल्यको माउन्ट ब्लाँ कलमले हस्ताक्षर गरेको उनको पुस्तक सुरक्षित छ, जहाँ लेखिएको छ ,

टू प्रकाश

विद् माइ लभ

देव आनन्द

काठमाण्डू

५ मे २००८

मोबाइल ९८२१०१२०१६

आयोजक संस्थाले उनलाई होटल याक एन्ड यतिमा राखेकाथिए, भोलिपल्ट विहान उनलाई म भेट्न गएँ, उनी विहान सातैबजे तयार अवस्थामा थिए सजधजका साथ । अघिल्लो रात उनी हामीसित भोजन गृहमा नेवारी भोज खाँदै थिए , आयोजक संस्थाले दिएको त्यस भोजमा संगीतकार शम्भुजीत बाँसकोटा , चलचित्र सम्पादक नरेन्द्र खड्का, सञ्चारकर्मी मुकुन्द खड्का र अञ्जली सुब्बा र म सरिक थियौँ । उनले त्यही भोजमा मुकुन्द खड्काजीलाई शिरमा हात राखेर आशिर्वाद पनि दिएका थिए ।  त्यसपछि हामी छुटेका थियौँ , नेवारी अय्ला एक एक पाल्चा खाएर । हामी त घर गयौँ , उनी त त्यसपछि अझै सोल्टी होटलमा गल्फ विजयीलाई पुरस्कार दिन गएका रहेछन् । त्यसपछि बाह्रबजे होटल फर्के रे ।

कति जोश यी जवान बुढामा । मलाई आश्चर्य लाग्यो ।

म विहान पुग्दा उनी सयौँ पुस्तकमा आफ्नो हस्ताक्षर गर्दै थिए प्रेमले । र, उनी भन्दै थिए यो किताबमा म सँधै हुनेछु । ”

उनी अलि अलमलमा पनि थिए, परिवर्तनको यस घडीमा म पूर्वराजालाई भेट्न जाऊँ कि नजाऊँ ?

त्यही वेला टीभी पत्रकारले क्यामेरामा सोधी हाले , आर यू गोइँग ?

उनी भावुक भए , भावुक बन्दै भने , म राजा महाराजाको जस्तै यो देशको पनि एउटा सच्चा साथी हुँ । तपाइँहरु के भन्नु हुन्छ ? भेट कहिँ त होला । ”

आशावादी थिए उनी तर निराशा पनि  थियो उनको स्वरमा ।

उनले सन् २००५ को जुलाईमा नेपाली चलचित्रकर्मीले दिएको सम्मान ग्रहण गर्न आउँदा पशुपति पुगेर राजपरिवारको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका थिए , त्यही बागमति नदीलाई  सम्झेर उनले लेखेका छन् ,

.... यही पानीमा मैले देखे मेरो साथीको छोराको हराएको अनुहार । त्यो सानो परिवारको अन्त्य । ...

उनले ती पंक्ति लेख्दा नेपालमाथि आइपरेको दुःख को चर्चा प्रेमले गरेका छन् ।

नेपाललाई अत्यन्त माया गर्ने छिमेकी मुलुकका सिनेकर्मी जो सँधै असल गाइड बने , उनी भन्ने गर्थे, मै जिन्दगी का साथ निभाता चला गया ।

उनी जाँदा पनि नेपाल र नेपालीको मनमा ठूलो भूँइचालो ल्याएर गए, मंसिर १८ गतेको विहान । मैले त्यही वेला सम्झेँ राष्टकविको कालजयी गीत..

.....फेरि कहिले  भेट होला है राजै यो जिन्दगानीमा ।

Comments

D.R THAPA

Thanks,it was Superb!!

Suman Raj Shrestha

प्रकाश दाईको फेरी एउटा सुन्दर संस्मरण पढ्न पाइयो । धन्यवाद खसखास डटकम ।

Prakash Sayami

thanks 

ganga limb

 नेपाललाई साचो माया गर्ने एक मात्र भारतीय कलाकार को  अन्त्यले साचैनै हामी सम्पूर्ण नेपालीहरु लै  निस्तब्ध बनाएको छ अझै तपाइको यो लेख पढ्दा त झन् मन थाम्न गारो भएको छ , अनि हाम्रो हजुर आमाहरुको प्रस्नको जवाफ चाही   कसले दिने अब??

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |