हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जीवनको यात्रा,(शिव प्रकाश)



गीत के हो भन्नु पर्दा मेरो व्यक्तिगत धारणमा साहित्य सिर्जनाका विधाहरु मध्ये कोमलता र भावुकताभित्र मूलतः प्रेम प्रणय र पीडा अभिव्यक्त गर्ने प्राणको लय बोकेको छोटो विधा नै गीत हो । गीतमा प्राण अर्थात बोली र लयको संयोजन हुने हुँदा नै गीत सधै जीवन्त र कालजयी हुने गरेको छ । गीतका भाषाले जहिले पनि गेयपक्ष र लयलाई आत्मसात गरेको हुनु पर्छ । यस्ता गीत नै शाश्वत र कालजयी हुने गर्छन । यसका अलावा गीत देश समाज परिस्थिति रहनसहन लगायत अन्य खास विषय वस्तुमा पनि रचिन्छ । साहित्यभित्र पनि दुई धारहरु छन्- रचना र निर्माण ।

यी दुई मध्ये गीत रचना नै हो । गीतले गेय र लयलाई पूर्णरुपले आत्मसात गरेको हुनु पर्छ । नत्र त्यो निर्माण हुन जान्छ । आज साहित्यका हरेका विधामा नयाँ प्रयोगहरु आइरहेका छन् तर नयाँ प्रयोगका लागि पुरानोको आधार भत्कियो भने त्यो न त रचना नै हुन सक्छ न त निमार्ण नै । गीत रचनाको पक्षलाई सरसर्री हेर्दा सजिलो लागे पनि गीतीय धर्म र मर्म अनुरुप गीत रचना कठिना सृजनाशिल्प कार्यभित्र पर्छ । गीत गेयात्मक हुनु पर्छ भन्ने मान्यतालाई कुनै पनि गीत सर्जकले भत्काउनु हुदैन भन्ने मेरो पनि मान्यता छ । यदि भत्कायो भने त्यो गीत हुदैन मात्र एउटा टिपोट हुन्छ भन्ने मान्यतालाई सर्जकले स्विकार्नु पर्ने हुन्छ ।

यिनै कठिनता अप्ठ्यारा र साह्रागाह्राहरुसँग जुध्दै विनोद रोका जीवनको यात्रा गीत संग्रह लिएर आएका छन् । अमेरिकामा पेशले उनको पर्याय कानून व्यवसायी भए पनि र भावनाले नेपाली साहित्यप्रेमी हो । सन् १९९८ मा अमेरिका भासिएका रोकाले संग्रहमा मुद्रित आफ्नो मन्तव्यमा भनेका छन् "प्रस्तुत गीति संग्रह मेरो पहिलो कृति हो । कानून पेशामा संलग्नरत व्यक्तिवारे लेखिएका गीतहरुमा भाषा र साहित्यको अल्पज्ञानको कारणले गर्दा निश्चय नै केही कमी कमजोरी छन् । अतः तपाइँ विज्ञ पाठकहरुले त्रुटी औल्याइदिनु हुने छ भन्ने आशा एवं विश्वास लिएको छु ।" उनको यो लेखकीय उदारताले उनी गीत लेखनमा गीतिय धर्म मर्म र मान्यतालाई पालन गर्न सधैं प्रयाशरत छन् भन्ने स्पष्ट पारेको छ ।  

म उनका यिनै भनाइको आधारभूमिमा उभिएर एक पाठकको नाताले जीवनको यात्रा नियाल्दै छु । प्रस्तुत गीत संग्रहमा मानविय जीवनमा आउने आइरहने र भोगिने कष्ट दुःख पीर व्यथाका प्रस्तुति प्रसस्त छन् अनि कता कता मान्छे विशेषमा छाउने खुसीहरु गीत बनेर आएका छन् ।

मानिसले मानिस भएर गर्न नहुने तर गर्ने र गरिरहने घात-प्रतिघात धोका कपट छलछामहरु जीवनका भोगाइ भएर गीतमा उत्रिएका छन् । माता र मातृभूमि अर्थात गीतकार रोकाको भाषामा आमा र मातृभूमिबाट गीतयात्रालाई शुरु गरेर रोकाले एस सय पाचौं कोसेलीका रुपमा संग्रहलाई कस्तो साथी रोजे मैलेमा ल्याएर पूर्णविराम दिएका छन् । यसमा मान्छेभित्रको दम्भलाई उनले यसरी उतारेका छन् -

कस्तो साथी मैले रोजे कुरै नमिल्ने

उसले भने कहिले पनि हार्नै नमिल्ने !

मानवीय चेतनाको एक सानो अंशमात्र भएको कुन मान्छेलाई आफू जन्मे र हुर्केको ठाउँ  प्यारो हुदैन र उनी अमेरिका बसे पनि आँखाभरि तिनै आफ्ना हिमाल देख्छन गाउँघर र पाखापखेरा देख्छन् । सम्झनाका तरेलीहरुमा खेलिरहन्छन अनि जीवनले थाहै नपाई लिएको मोड नियाल्दै लेख्छन् -

थाहा थिएन जिन्दगी यसरी मोडिएला

जन्मे हुर्केको ठाउँ चटक्कै छोडिएला ।

घरदेश छोडेर परदेशीनुको पीडा गीतमा जताततै झल्किएका छन् । परिवाजनका सदस्य परदेशीदा पर्ने पीडाबोधलाई उनले राम्ररी बुझेका छन् ।

अगेनामा आज आगो भर्मरायो

पधेँरामा जाँदा देब्रे आँखा फर्फरायो ।

परदेशमा हुन सक्ने विग्रहले आफन्तलाई कति चिन्तित बनाउँछ  गीतमा बोल्छन् रोका । जीवन रहुन्जेल जीवन सधैं लडी नै रहेको हुन्छ- हारजितको खेलमा ! सबै खेल जित्न भन्दा हार्न सजिलो हुने र हारेपछि जित्न सजिलो हुने भन्दै जीवनको यथार्थतालाई आत्मसात गर्छन् ।

मैले लडेपछि उठ्न जाने

हारेपछि जित्न थाले ।

भाषागत शुद्धतामा त्यति ध्यान दिन नसकिए पनि केही गीतका भाव र बान्की राम्रा छन् ।  

धेरै जसो गीतमा प्रेम र प्रणयभाव झल्किएका छन् । संग्रहभित्र रहेका गीत मध्ये यो गीतले काव्यिक ओज बोकेको छ । निक्कै गहन छ भावपक्ष ।

रस लियो भमराले मलजल गर्ने तिमी भयौ

हाँसो लिने अरु भए आँशु पुछ्ने तिमी भयौ ।

गतिमा कविता र मुक्तकका वान्की र भाकाहरु पनि प्रसस्त भेटिन्छन् । यिनले गीतशिल्पीको निखारमा कताकति कसर पैदा गरेजस्तो पनि देखिन्छ । संग्रहमा सबैभन्दा खड्किने पक्ष शुभकामना मन्तव्यहरु रहेका छन् । संग्रहमा छापिएका बग्रेल्ती शुभकामनाले हल्काफुल्का स्मारिकाको झझल्को पनि दिन्छ । यति मात्र हैन संग्रहमाथि अन्याय नै भएको छ । सायद अनुभवको कमीले पनि प्रकाशकीयको यो पक्ष कमजोर भएको हुनु पर्छ । संग्रहको आवरणले पनि न्याय पाएको छैन ।  


बोस्टन अमेरिका
 

मार्च १४ २०१५ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |