हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

टुंगना र डम्फु-चौथो भाग

सुन्दर जोशी, (वेस्ट पाल्म बीच, फ्लोरिडा)

भ्यालेन्टाइन २०११ विशेष:


यसपालीको
कुरा बेग्लै  |
जिन्दगी नै एउटा बैगुनी सपना जस्तो भएको बेला यो प्रणय दिवसको दिनमा लेख्नलाई मसंग केहि पनि छैन | यस्तो पनि दिन आउने  जिन्दगीमा भनेर मैले सपनामा पनि सोचेकी  थिईन | समयको यो चक्रमा घुम्दै  यति बेला इटालीको पिन्जोलोमा आइ पुगेकी छु | धुपी  सल्लाका रुखहरुले घेरेको एउटा घरको बरन्डामा उभिएर आँखा भरि फैलिएको हिमालहरुलाई    नियाली रहेकी छु | अलि पर, पहाडहरु भन्दा पनि पर एक लस्कर हिमालहरु पनि जस्तै क्षितिज भरि आँखा डुलाएर बसेका छन् | आकाश फुटेर छताछुल्ल क्षितिज भरि खसेको  | आकाश जस्तै सपनाहरु पनि फुटेका छन्  प्रत्यक सिसाका टुक्राहरुमा  मेरा अमुर्त सपनाका अबशेषहरु बटुली रहेकी छु | अब बाकी नै के  जिन्दगीमा ? कुनै बेला हिमाल देखेपछि  मनमा  एक किसिमको  मातलाग्ने  गर्दथियो,  उनीहरुसंग  जिस्किन  मन  लाग्दथियो, पोहोर साल यति बेला अर्थात् यो प्रणय दिवसको दिन  मेरो देशको उत्तरी भेगमा,  स्यांग्बोचेको एउटा होटेलको बरन्डामा बसेर थामसेर्कुसंग मस्किएर बसी रहेकी थिएँ | मेरो सपनाको यलम्बरसंगको पुनर्मिलनको घटना कति रोमान्चकारी थियो | कुनै सिनेमाको कथा जस्तै

पिन्जोलो मेरो देशको खुम्जुंग हो,  यस्तै अनुभूति भै रहेको  मलाई | तर मेरो नजिकमा मलाई सधै आफ्नो अंगालोमा बाँध्न चाहने मेरो क्याप्टेन लामा मेरो नजिक छैन | आजभोली  उसलाई फुटेको सपनाका टुक्राहरुमा खोज्ने गर्छु | त्यहा हेलिकोप्टरको सिसाहरु गढेको उसको क्षत विक्षत अनुहार मात्रै सलबलाउछन | हो मेरो क्याप्टेन लामा, आफैले चलाई रहेको हेलिकोप्टरको दुर्घटनामा परेर ........| बतासहरु मेरो नजिक  आउनु अब |  मेरो आँसु छ्चल्कियेला भनि डराउने गर्छु |

मेरो इटालियन साथी जसको सपना पनि  क्याप्टेन लामासंगै अनन्तको यात्रामा उडेको थियो, हाम्रो भेट स्याँगबोचेमा आंग दिकिको होटेलमै भएको थियो | उनको यलम्बर उसको कामको सिलसिलामा केहि दिनको लागि काठमाडौँ जानु पर्ने भएर क्याप्टेन लामासंगै गएको थियो | हामीलाई के थाहा उनीहरु सल्लाह गरेरै पो उडेका थिए की  ? जे होस् हामी, इमिल्लीना  दुवै आफ्नो प्रेमीको अन्तिम संस्कारको लागि त्यहाँ पुगेका रहेछौं यति बेला  उनकै पाहुना बनेर पिन्जोलो आइ पुगेकी छु | "यो बर्षको प्रणय दिवस तिमि  इटालीका पहाडहरुसंग, झरना  खोलाहरुसंग बिताउँ है ?" भन्ने उनको शब्दहरुले मेरो चिसो ढुंगा जस्तै मुटुलाई हल्लाई दियो अनि  वास्तबमा त्यो परिवेशबाट भाग्ने दाउमा पनि थिएँ |  कहाली लाग्दो चिसो दिन  रातहरु, जिन्दगी दुष्कर भै सकेको थियो बाच्नलाई मानिसका आँखाहरु तीखा झिर झैँ लाग्ने , आफ्नो परिवेश ओरिपरिको आवाजहरुले पनि पिलो जस्तै दुखाउने, खै के भयो भयो मलाई  त्यसै त्यसै अत्तासी सकेकी थिएँ | एउटा चिसो बतासको झोक्काले हिर्काए पछि  भित्र भागेँ एउटा ठुलो ऐनाको सामुन्ने उभिन पुगेँ | धेरै समय पछि मैले आफ्नो रुपलाई ऐनामा नियालेँ | कपाल खौरिएको मेरो अनुहारलाई टीठलाग्दो नियालेँ आइप्याडको टच स्क्रिनमा औलाले फोटोहरु सारे जस्तै आफ्नो त्यो रुपलाई ऐनाको कुना तिर धकेल्दै थिए, भन्दै त्यहाँ मेरो अर्कै उमेरमा अर्कै रुप देखा पर्यो अनि  क्रमश: ति सबै रुपहरुलाई नियाल्दै ऐनाको कुना तिर धकेल्दै जान थालेँ | छिटो छिटो धकेल्न थालेँ अनि मेरो कम उमेर हुँदाको,   सानी छँदाको मेरो रुप पनि ऐनाको कुनामा धकेली सकेपछि त्यहाँ मैले मेरो आमा अनि बाबाको अनुहार देखेँ | मेरा औलाहरु हिउले कक्रिय जस्तै अरट्ठ जमेको भान भयो | " सपना त हाम्रो पनि फुट्यो नि " एउटा आवाज,  कता कता आमाको जस्तो, कता कता बाबाको जस्तो अथवा दुवै संगै बोलि रहे जस्तो... आवाज कानमा ठोक्किए पछि मुर्ति झैँ तेही उभिएर बाबा आमाको तस्बिर संग टाँस्सीए झैँ भए |  थर थर कामेको आवाजमा बोले "...तपाई हरुको  सपना पनि....?"
अनि अचानक ऐनामा एउटा कम्पन आयो  लहरमा मानिसको छाया हराए जस्तै चित्रहरु आउदै जादै गर्न थाले | र्यान्डम स्लाइड  सो जस्तै | कहिले  इन्कुबेटरमा राखिएको सानी तर सुन्दर नानीलाई देख्दथिए  | कहिले मोटर साइकलको पछि एउटी बच्ची च्यापेर बसेकी  आमालाइ,  अनि कहिले एउटी सानी केटिलाई स्कूलको युनीफर्म लगाई दिदै गरेकी आमालाइ, अनि कहिले बाबाको कोट टाइ चस्मा लगाएर छोरा भएको स्वांग पार्ने उत्ताउली केटीलाई | यति धेरै चित्रहरु आउन थाले कि  थाकेर नजिकैको काउचमा गइ थच्चारिएँ |
मैले आमा बाबाको पनि सपना हुन्छ होला भनेर कहिल्यै सोचिनँ, अथवा नसोचेको स्वांग पारी बसेँ सायद मेरो बारेमापनि उहाँहरुको कुनै सपना थियो होला ? त्यो आवाज फेरी पनि मेरो कानमा प्रतिध्वनित भयो  घनले जस्तै हिर्कायो मेरो मष्तिस्कलाई | स्वतन्त्र, एउटा आफैमा मग्न मेरो जिन्दगी पक्कैपनि मेरो आमा बाबाको सपना हुन सक्दैन | कहाँ आइ पुगेँ ? आफुले हिडी सकेको बाटो सम्झिदा अत्यास लागेर आयो | अनि जुरुक्क उठेर बरन्डातिर भाग्न खोजि रहेकी बेला इमिल्लीना  कोठामा प्रबेश गरिन मलाई बाहिर जान इशारा गरिरहेकी थिइन् |  चुप चाप उनको पछि लागेर उनको सानो यस. यु. भी. मा गइ बसी दिएँ |  उनले मेरो अनुहारको रंग नियाल्दै भनिन " के भयो तिमिलाई ?"

प्रति उत्तरमा उल्टै प्रश्न गरेँ " कहाँ जादै छौ हामी ?"

मेरो आशय बुझेकी उनले थोरै मुस्कुराउदै भनिन "त्यहाँ, जहाँ पुगे पछि हामी सम्भवत: हाम्रो बर्तमानलाई भुल्न सक्ने छौ " अनि उनले आफ्नो आइपोडलाई aux मा जोडिन | एउटा मीठो गीतको धुनसंगै गाडी अगाडी बढ्न सुरु गर्यो | केहि बेरमै बस्तीलाई ओझेल पारेर प्रकृतिको एउटा यस्तो विहंगम दृश्यमा दौडिदै थियौ मानौ त्यो पाखा, बैंसको उन्माद चढेकी एउटी उत्ताउली केटि हो | कतै लटरम्म सुनाखरी जस्तै फूलहरु, कतै संगीतको तालमा झुली रहेको घाँसको भेल | अलिपर आकाससंग अढेस लागेर बसेका हिमाल जस्तै चट्टानहरु जो मुर्छना बाट फर्किन सकी रहेका छैनन् | चुप चाप नियाली रहेका छन् यो पहरा पर्बतलाई अनायास हामी एउटा घना जंगल भित्र छिर्यौ, काहाली लाग्दो शुन्यता, कतै कतै घामका प्रकाशहरु  हामीलाईनै पछ्याउदै आइ रहे जस्तै | अनायास, कता कता एउटा ठुलो खोला बगी रहे जस्तो आवाज सुनिन थालेको केहि बेरमै एउटा चट्टानको काखमा पुगे पछि इमिल्लीनाले गाडी रोकिन | गाडीबाट ओर्लिए पछि मात्रै मैले देखे ठिक त्यो चट्टानको पछाडी एउटा बिशाल झरना, एउटा ठुलो पर्बतबाट फाल हानेर निरन्तर आत्महत्या गरिरहेकी छे   |  बिल्कुल स्तब्ध भै त्यहीं चट्टानको एक छेउमा बसेर त्यो बिशाल झरनालाई नियाल्न थाले | एमिली पनि मेरो नजिकै आइ बसिन  भनिन "  तिमीलाई केहि भनि रहेकी छे "

मैले झरना तिर इंगीत गर्दै सोधे " उनले मलाई केहि भनि रहेकी ? ...अनि तिमि उनको भाषालाई बुझ्दछ्यौ ?"

स्वीकृतिमा टाउको हल्लाउदै  इमिल्लीनाले भनिन " तिमि चुपचाप उनलाई नियाल उनलाई सुनी राख, तिम्रै भाषामा तिमिसंग बात मार्न थाल्ने छिन् "

जिल्ल परेर त्यो बिशाल झरनामा आँखा टासेर त्यहिँ बसी रहे | इमिल्लीना भने त्यहाँबाट उठेर अन्यत्र लागिन | त्यहिँ चट्टानलाई सिरानी हालेर ढल्किएँ र बोझिल आँखाहरु चिम्लिएर त्यो झरनाको भाषा बुझ्ने कोसिस  गर्न थाले | नभन्दै...नभन्दै कोहि मेरो मुडुलो शिर सुम सुम्याई रहेको थियो भनि रहेको थियो "आखिर मैले तिमीलाई भेट्टाई हाले |"

"भाग्ने तिमि थियौ ? यस्तरी भाग्यौ कि ....|" मैले बोल्दा बोल्दै मेरो ओठमा चिसो औला राखी दियो उसले |

उसले फेरी पनि मेरो मुडुलो शिर सुम सुम्यायो भन्यो "जे भए पनि तिमीले यसरि केश काट्न नहुने | त्यो झरना जस्तै लाग्दथियो तिम्रो केश |"

"पहराबाट खसेर निरन्तर आत्म हत्या गरि रहेको त्यो झरना जस्तै ...?" मैले भनेँ "आफ्नो आफ्नो दृस्टीकोण हो त्यहाँ अविरल जिन्दगि देख्छु | जे सुकै होस् बर्तमान मात्रै आफ्नो हो भन्ने संदेश दिई रहेको त्यो झरनाले | त्यो पहरा पछिको उसको जिन्दगीप्रति कसैको कुनै चासो छैन | पहराबाट झरेर पहाडको कुन कुना तिर  बिलिन भई | त्यो प्रति पनि कसैलाई चासो छैन |   

"कति भोग्नु यस्तो बर्तमान ? पोखिएर कति बाच्नु ? बरु एउटा ताल हुन पाय हुन्थियो " त्यसै त्यसै बडबडाएँ |

सायद इमिल्लीनाको उपस्थितिले हाम्रो यकान्त बिथोलियो | झस्किएर विउझिदा  एक्लै थिए | मेरो केस सुम्सुम्याउने मानिस त्यहाँ थिएन | मसंग बोलिरहेको मानिस मेरो नजिक थिएन |   एमिली मलाई अन्तै कतै लान खोजि रहेकी थिई  त्यो झरनासंगको केहि पल मुटुमा साच्दै त्यहाँबाट उठे | ढुंगा नै ढुंगाको बाटोहरुमा गरुङ्गो पैताला सार्दै उसलाई पछ्याउन बाध्य थिएँ | रुखै रुख भित्र लुकेको एउटा फराकिलो घरको संघार टेके पछि मात्रै त्यहाँ घर पनि भन्ने कुरा थाहा भयो | त्यो एउटा रेस्टुरेन्ट थियो सम्पूर्ण सजावटले आज भ्यालेंटाइन् डे भन्ने आभाष दिई रहेको थियो एउटा कुनामा अप्सरा जस्तै लाग्ने दुइ जना युवतीहरु ग्राहकहरुको स्वागतमा ब्यस्त थिए | अनि, अलि पर एक जना मानिस पियानोमा मस्त थियो मेरा पैतालाहरु मलाई त्यतै घचेड्दै  थियो संगीतले त्यसै पनि तान्छ मलाई |  यहाँको बातावरण झन्डै झन्डै बांफको त्यो रेस्टुरेन्ट जस्तै थियो जहाँ मैले पहिलो पल्ट टुंगना डम्फु सुनेकी थिएँ | जिन्दगीमा पहिलो पल्ट रातो फुलको चाहना भएको थियो अनि ....अनि बहकिनु सम्म बहकियेकी थिएँ | बिल्कुल त्यस्तै  यहाँको वाताबरण यतिबेला |  पियानोबाट निस्किएको धुन बाहेक अरु कुनै पनि कुराले मेरो ध्यान तान्न सकिरहेको छैन | वास्तबमा त्यो अन्जान मानिस पनि सबै कुरा भुलेर पियानोमा मात्र मग्न  | एउटा धुनको शृंखला सकिए पछि  अलि कति सल्बलायो तर दायाँ बायाँ कतै नहेरी फेरी पियानोमा आफ्ना औलाहरु चलाउन थाल्यो | मेरो आश्चर्यको सिमाना रहेन जब  पियानोमा कुनै पुरानो नेपाली गीतको धुन खेल्न थाल्यो जुन धुन कता कता मेरो स्मृतिमा बसेको धुन थियो |   स्मृतिको हरेक पानाहरु पल्टाउन थाले | कहाँ सुनेको थिएँ मैले यो धुन ? यो प्रश्न, यो कौतुहलताको उत्तर आफैं भित्र खोज्न थालें तर मेरा पैतालाहरु पियानोको छेउसम्म हिडन सकेन | सायद त्यो पियानो बजाउने मानिसको मुहार नियाले पछि आफ्नो कौतुहलता मेटाउन सक्ने थिएँ | तर किन किन आजभोली मलाई मानिसहरुको अनुहारमा कुनै रुची छैन | एक किसिमको बितृष्णा जागेको , अनुहारहरु संग | आफ्नै अनुहार संग पनि | यस्तैमा मेरो ध्यान अनायास इमिल्लीना तिर गयो | बारको नजिकै एउटा मानिससंग गफमा मस्त थिई | मलाई त्यो मानिसको अनुहार हेर्ने रहर पनि लागेन | त् संसार नै भुलेर गफिई रहेकी थिई |  फेरी पनि त्यो पियानोको धुनमा डुब्न थाले | अनायास मेरो ओठहरु बिस्तारै सल्बलायो   त्यो गीतको केहि शब्दहरु बडबडाउन थाल्यो : 

"सपना भए त बिर्सी दिन्थे, बिपना हो आफै तर्से
मुर्ति भय तोडी दिन्थे, मान्छे नै हो माया गरे"  

छेउ टुप्पा, गीतको अन्तराको केहि शब्दहरु मन मस्तिस्कमा उफ्री रह्यो | त्यो गीतको सम्पूर्ण शब्दहरु सम्झिने प्रयास गरिरहेकी थिएँ, इमिल्लीना मेरो सामुन्ने आइपुगिन, संगसंगै उसंग गफिई रहेको मानिस पनि | अनि, मेरो एकान्त,  एकाग्रता सबै बिथोलीयो  | परिचयसंगै त्यो पियानो बजाउने मानिस उसको नेपाली साथी भएको रहस्य खुल्यो, तर उसले उसको नाम भनेन बरु आज साँझको डिनर संगै  खाँदै छौ भन्ने जानकारी दियो |  मैले इमिल्लीनाको अनुहार चियाएँ,  मुस्कुराई रहेकी थिई | सायद मेरो ओठमा पनि त्यस्तै कुनै मुस्कान सल्बलायो होला  त्यसैले उसले भन्यो 

" मैले यहाँ आउदा यस्तो संयोगको कल्पना सम्म पनि गरेको थिईन "
वास्तबमा मैले पनि एस्तो संयोगको कल्पना गरेकी थिइनँ, त्यो अर्को मानिस अझै पियानोमा त्यहिँ मेरो ओठमा अल्मलिएको धुन बजाई रहेको थियो | 
"तिमि प्रकृतिसंग नजिक हुन मन पराउछ्येउ भन्ने थाहा पाएँ " उसले कुराको प्रसङ्ग बदल्न चाह्यो |" तर  यतिबेला तिम्रो साथीको संगीतमा लट्ठीएकि छु " झन्डै यसो भनेकी तर   त्यहीं जमेर बस्ने सुरले खाली एउटा मन्द मुस्कानले पन्छाउन खोजेँ उसलाई |
सायद मेरो मुस्कानले सहि अर्थ दियो, उसले भन्यो "त्यसो भय हामी एकछिन् बाहिर जाऊँ ?"

मैले असभ्य हुन चाहिनँ र स्वीकृतिमा टाउको हल्लाई दिएँ |  इमिल्लीनाले आफ्नो न्यानो हात दिईन, हामी हात समाएर आँखै आँखाको भाषामा केहि बोलि रहेका थियौ | एक छिन् पछि इमिल्लीनालाई त्यो मानिससंगै जादै गरेको हेरेर टोलाई रहेकी थिएँ | अनायास  पियानो बज्न बन्द भयो  वाताबरणमा एक किसिमको सन्नाटा छायो | मैले पछि फर्किएर हेरेँ, उ त मलाई नै नियाली रहेको थियो | कता कता देखेको परिचित जस्तो लाग्ने अनुहार | अनि   उठेर सरासरी बारतिर  लम्कियो | त्यो धुन उसको अनुहारलाई एकैपल्ट सम्झिन थालेँ | क्यानाडाको बांफमा अध्ययन गर्दाका पलहरु आँखामा सल्बलाउन थाल्यो अनि मलाई हेक्का भयो रितेन हो उसलाई मैले पहिलो पल्ट बांफ सेन्टरको एउटा ग्यादरिंगमा यसरी नै पियानो बजाई रहेको अवस्थामा देखेकी  थिएँ | अनि यो मैले सम्झिन नसकेको नेपाली गीतको धुन पनि उसले नै बजाएको हो भन्ने पक्का भयो | मैले फेरी उसलाई चियायँ  हाम्रा आँखाहरु गजबले जुध्यो | सम्हालिन पनि नपाउदै उठेर सरासरी भए तिरै लम्कियो |
"सायद  तपाइलाई चिन्दछु ? "  नजिक आए पछि उसले सहज भन्यो |
"मेरो यो हुलियामा पनि ?' मैले पनि सहज उत्तर दिएँ | मैले सोचे भन्दा फरक ढंगले गम्भीर भयो भन्यो " वास्तबमा, तपाइको यो गेटअप, विश्वास गर्न निक्कै गाह्रो कुरो हो " उसले समाती राखेको ग्लासबाट एक घुट्को पिएर फेरी भन्यो " तपाई मेलिना नै हो भनेर ठम्याउन मलाई अलिकति समय  लाग्यो नै |"
मौन भइ दिएँ, कुनै शब्द नै जुरेन | सायद यो असहज परिस्थितिलाई टाल्न आफ्ना आँखा यता उता डुलाउन थाल्यो |
"मेरो एउटा इटालियन साथी थियो, कता लागेछ कोनी ?" बडबडायो |
" तपाइको इटालियन साथी मेरो इटालियन साथी लिएर प्रकृतिसंग नजिक हुन गएको  |" झन्डै यसो भन्न लागेकी थिएँ उसले नै मलाई उछिनेर भन्यो " सायद माथि बरन्डा तिर लाग्यो, तपाइ जानु भयो माथि बरन्डामा ?"
"किन केहि विशेष कुरा त्यहाँ ?" मैले उत्सुकता देखाएँ |
" प्रकृतिको एउटा विहंगम दृश्य देख्न पाइन्छ त्यहाँबाट, जानु हुन्छ ?" उस्ले सोधी हाल्यो |
"अहिले नै ?"  सायद यस्तै प्रश्न या आसय झल्कियो मेरो अनुहारमा, त्यसैले त उस्ले पनि भनि हाल्यो " केहि पिउने कुरा लिनु हुन्छ ? के मन पर्छ तपाइलाई ?"
"पछि पिउँला " भन्दै उसंग माथि जान उठेँ | मेरो ब्यबहारबाट अति नै प्रसन्न भएको भाव लुकाउन सकी रहेको थिएन | इमिली जस्तै  पनि उसको साथ लागेर हिडी दिएँ | 
उही झरना तर फरक आकृतिमा  झन् धेरै पानीसंग  झन् धेरै बेगले फाल हानी रहेको दृश्यले मन मस्तिष्कलाई एकै पल्ट यस्तरी तान्यो कि म त्यहिँ मुर्ति भएँ | पानीका बाछिटाहरु बाक्लो बन कुइरो भएर नजिकैका साना ठुला पहाडहरुलाई चुमी रहेको थियो | अनि बताससंगै उडेर  आएको त्यो झरनाको पानीका बाछिटाहरुले मेरो गालामा स्पर्श गर्दा   अति रोमान्चित भएँ | मैले आफ्ना दुवै हातका पन्जाहरुलाई हावामा हल्लाएँ उस्लाई अर्थात् त्यो झरनालाई अभिवादन गरेँ | झन् धेरै हावा चल्यो झन् धेरै बाछिटाहरुले मलाई चुम्यो | कतै  मलाई रितेनसंग देखेर प्रसन्न भएकी  होइन ? मनले मलाई प्रश्न गर्यो | मैले उस्लाई हेरेँ, उ त मेरो भाव भंगीमामा लट्ठीएको थियो |
"मैले पहिलो पल्ट तपाईलाई देख्दाको रुपलाई यो झरना संग तुलना गर्न मन पराउँछु |  तपाइको लामो कालो केश बिल्कुल यो झरना जस्तै थियो "   झरना तिर नियालेर बोलि रहेको थियो मैले उसको उत्सुकतालाई बुझेँ तर केहि पनि बोल्न सकिनँ | चुपचाप झरनालाई नै नियाल्न थालेँ तर उ त मलाई रितेनसंग बात मार्न उक्साई रहेकी थिई |  
" के  जान्न सक्छु ......?" उसको वाक्य पुरा नहुँदै मैले उस्लाई नियालेँ अनि आफ्नो बाक्य पनि पुरा नगरेर सम्हालिने प्रयास गर्न थाल्यो |
" के जान्न चाहनु हुन्छ ? यहि कि मैले केश मुण्डन किन गरेँ ? " मैले उसको मनको कुरा बुझी सकेकी थिएँ | प्रतिउत्तरमा उसले टाउको मात्र हल्लायो  टिठ लाग्दो नियाल्यो |
" तपाईलाई के लाग्छ ? किन काटे हुँला मैले मेरो झरना जस्तो केश ? " मैले उल्टै उस्लाई प्रश्न गरेँ | मलाई थाहा , पनि म जस्तै भावनामा बहकिएर शब्दहरुमा रुमल्लिने मानिस हो | उसको मनको कुरा सुन्न लालायित जस्तै भएँ | तर  केहि पनि बोलेन, अहं बोल्दै बोलेन | निक्कै बेर पर्खिएँ तर उसको मुखबाट कुनै बाक्य नै फुटेन |
" तपाइले कसैलाई प्रेम गर्नु भएको  ? " मैले अचानक यस्तो प्रश्न गरेँ उ त मलाई हेरेको हेर्यै भयो |
" Simple question ...  yes  or  no  मा भन्नुस  " मैले सहज भनि दिएँ |
"yes .. तर .." उसले तर पनि  जोड्यो  रोकियो पनि  | यसको मतलब एउटा दुर्दान्त कहानी उसको प्रेमको पछाडी पनि   | यती बुझ्न मलाई गाह्रो भएन यस्तो नभएको भए पियानोमा त्यस्तो गम्भीर गीतको धुन खेल्ने नै थिएन, अनि मेरो मनमा त्यो धुन संग संगै फेरी अरु शब्दहरु खेल्न थाल्यो :
" पानी भय सुकाई दिन्थेँ, आँसु नै हो बहाई दिएँ
ढुंगा भए  फुटाई दिन्थेँ, मुटु नै हो लुकाई राखेँ " 
अझै पनि त्यो गीतको सुरुको बोल मेरो स्मृतिमा आउन सकेको छैन | मैले कुराको प्रसङ्ग बदल्ने हेतुले भनेँ "तपाई अघि जुन धुन बजाई राख्नु भएको थियो त्यो गीतको सबै शब्दहरु आउँछ ?"
" आउँछ "
"गाएर सुनाउन सक्नु हुन्छ ?"
"एक सर्तमा "
"कस्तो सर्त ?"
"केश..?"
अनायास मेरो हात मेरो छोटो केस सुमसुम्याउन पुग्यो, बतासले उडाएर ल्याएको पानीका थोपाहरु लपक्कै बसेका रहेछन | ती पानीका थोपाहरु छुँदा,  त्यो स्पर्शले मनमा एउटा हलचल नै मच्चियो | कस्तो मीठो अनुभूति,  यस्तो लाग्यो,  त्यो झरनासंग लपक्कै टाँसिएर बसेकी छु अनि उनि मलाई मेरो केश सुमसुम्याएर  केहि भनि रहेकी छे | यकोहोरीएर उनको बोलिहरु सुन्नमा मग्न भएँ | 
रितेन, सायद उसलाई लाग्यो उसले मेरो केशको बारेमा कुरा निकालेर गल्ति गर्यो, त्यसैले  पनि चुपचाप  जस्तै टोलाई रह्यो | सुस्तरी सुस्तरी बन कुइरो सर्दै सर्दै आयो, बन कुइरोसंगै झरनाको पानीको झन धेरै बाछिटाको स्पर्श महसुस गर्न थालेँ, कुइरोले ओरिपरिको सम्पूर्ण वाताबरण छोपी सकेको पत्तै भएन |   कुइरो भित्र लुकी सकेकी थिएँ अनि अनायास फेरी त्यहि आवाज "तिमिलाई सम्झना छ, तिम्रो केशहरुलाई आफ्नो चित्रहरुमा कोर्न चाहन्थेँ ? मुर्तिहरुमा तिम्रो आँखालाई खोपी सकेको थिएँ अनि तिम्रो केशलाई पनि खोप्न चाहन्थेँ ?  तिम्रो केशलाई  मेरो क्यामेराहरुमा पनि कैद गर्न चाहन्थेँ ...तिमीले तिम्रो केश काट्न नहुने ..|"
अनायासै बडबडाउन थालेँ " त्यसैले मैले मेरो जम्मै केश फालेकी,  तिमि स्वयम जिम्मेवार छौ, मेरो यो रुपको लागि..|"
"किन ?"
" तिमि नै नभए पछि ..?"
"................."
"  मेरो कल्पनामापनि तिमि मेरो केशसंग खेली रहेको महसुस गर्ने गर्दथेँ | अनि स्यांगबोचेमा तिमीले नियतपूर्बक मेरो केश आकास भरि फिँजाई दिएका थियौ,  मेरो नजिकै हेलीकोप्टर ल्याएर ..याद ? मेरो सिङ्गो आकास फुटाई दियौ तिमीले ? तिमि निष्ठुरी रहेछौ ..|"
त्यो पलको चित्र आँखामा ल्याएर कति बेर उभिएँ कुन्नि बनकुइरो सबै हराई सकेको मलाई पत्तै भएन |   त्यहाँ रितेनसंगै उभिई रहेकी थिएँ | आफ्नै दुनियामा हराई रहेको भेटें | हाम्रो कुरा मेरो केशमै पुगेर रोकिएको थियो खै किन हो कुन्नि, उसलाई पनि मेरो यो रुपले तर्साए जस्तो लाग्यो |  मैले आफ्नो परेलीहरुमा बसेका शीत हो कि आँसुका थोपाहरु बिस्तारै पुछेँ  सुस्तरी रितेनलाई नियालेँ |
"तपाइको यो मौनता झन् कहाली लाग्दो थियो " उसले मतिर नहेरिकन भन्यो | मैले उसलाई पुलुक्क हेरेँ | मलाई नै  एकोहोरो नियाली रहेको थियो त्यहि प्रश्न आँखामा राखेर | 
"यहि सोच्नुस कि आफ्नो प्रेमको बरखी बसेकी छु अनि यहि नै मेरो बाँच्नुको परिभाषापनि भएको  | " मैले केहि अबरुद्ध आवाजमा अनि केहि भावाबेशमा भनि दिएँ | अनि यस्तो मौनता छायो कि मलाई आफ्नै उपस्थितिको आभाससम्म पनि भएन | रितेनले, रित्तो गिलास हातमा खेलाउँदै आफुलाई सम्हाल्ने कोसिस गरिरहेको मैले थाहापाएँ   |
"तपाइको गिलास ....?"
अर्थपूर्ण नियाल्यो उसले आफ्नो रित्तो गिलासलाई  फेरी पर, झन् पर टाढा कता कता पुर्यायो आफ्नो दृस्टीलाई |
भने चट्टानहरुमा पछारिएर झरनाको पानीहरुले आफैँ आफ्नो निकास खोजेर बगी रहेको दृश्यमा एकोहोरिन पुगेँ |पानी  हो | बग्नै पर्छ, रोकिएर बस्नै सक्दिनन यस्तो  लाग्छ, मेरा सबै सपनाहरु झरनाका ति पानीहरु जस्तै सैयौं फिट तल खसेर पत्थरहरुमा पछारिएका छन  निकास खोज्न नजानेर या नसकेर त्यहिं जमेका छन् | जस्तो कि अहिले पनि   पत्थर जस्तै उभिएकी छु, मुर्छनाबाट बिउँझिन सकिरहेकै छुईन | बग्नुको  कुरै छाडी दिउँ | 
मैले फेरी आफ्नो छोटो छोटो केशहरु सुमसुम्याएँ | शीत जस्तै लपक्क बसेका पानीका थोपाहरुको  स्पर्शले मनमा एक किसिमको तरंग ल्यायो | कल्पनामै बांफको त्यो रेस्टुरेन्टभित्र पुगेँ | भ्यालेन्टाईन डे को त्यो साँझ, टुंगना डम्फु बजाउँदै आउने त्यो मानिससितको मेरो जम्काभेट | मेरो आँखाको प्रशंसामा उसले बोलेका शब्दहरु, दुइ हरफ शब्दहरु मात्रै हो वास्तविकता |  बाँकी सबै मेरो मनको कल्पना | झरनाको पानी पछारिए पछि उठेका बाछिटाका बादल जस्तै,  जस्तो कि यहाँ बन कुइरो भएर घरि घरि छोप्न आउँछ,  जुन यथार्थमा बादल हुँदै  होइन |
दोस्रो बर्ष भ्याँग्कुभरमा मैले उसलाई एउटा मुर्तिकारको रुपमा कल्पना गरें  मन लागुन्जेल आफ्नो केशहरु संग खेल्न दिएँ  | एउटा मानिस जीवनमा आओस  मेरो केशहरुसंग त्यसरी नै खेलोस, रहर मात्रै | 
कोहि मेरो नजिकै भएको भान भयो "मैले दिएको जी मालालाई सम्हालेर राखेकी छ्यौ ?" उही पहिलेको आवाज मेरो कानमा बडबडायो | मेरो हातहरु अनायास छातीमा पुग्यो | जी मालाको स्पर्शले सिरिंग भएँ मैले फेरी सुनेँ " तिमीलाई अर्को जुनीमा भेट्ने छु, तिमि पुनर्जीवनमा विश्वास  गर्छौ  भने |"
"अर्को जुनीमा ...?" आफै पनि  बडबडाएँ |
" हो अर्को जुनीमा ..तर तिम्रो अघि सिंगै जीवन बाँकि , तिमि त्यो झरना जस्तै स्वतन्त्र बग  | जमेर बस्ने तिम्रो रहरसंग मेरो सहमति छैन |"
" त्यो झरना जस्तै ..?" फेरी बडबडाएँ |
" हो, उनको उन्मादलाई हेर , उनको बेगलाई आत्मसात गर  " 
"यो तिम्रो पबित्र मायाको नासो हो, यो मेरो छातीसंगै टाँसिएर बस्ने  |" मेरो बडबडाउने क्रम  रोकिएन |
" फ्याँकी देउ त्यस्लाई, त्यो झुठो बन्धन हो .."  फेरी त्यो आवाज |
मैले आफ्नो छातीसंग टाँसिएको त्यो जी मालालाई बलियो समातेँ | निक्कै बेर समातेँ | अनि शीत हो कि आँसु, आँखा निथ्रुक्क रुझ्यो | त्यो झरना हेरेर कहिले पनि नथाक्ने भएछु, यस्तरी यकोहोरीएछु कि मैले रितेनको उपस्थितिलाई पनि बिर्सीएछुँ |   आफ्नो हातको रित्तो गिलास  मलाई पालै पालो नियाली रहेको थियो |
"तपाइँको  गिलास  ..|फेरी पनि मैले उसलाई उसको  रित्तिएको गिलासको याद दिलाएँ | निक्कै अर्थपूर्ण हेर्यो उस्ले आफ्नो हातको रित्तो  गिलासलाई भन्यो " रित्तो गिलास,  रित्तो आकास, रित्तो जिन्दगी, मन पर्छ मलाई यो रित्तो पन | अभ्यस्त जस्तै भै सकेको छुँ |उसको बोलीमा  गजबको वेदना मिसिएको थियो |  केहि बोल्नै सकिनँ | यस्तो लाग्यो,  पनि अनन्त बेदनामा डुबेको मानिस हो | अनि अनायास मेरो कानमा अघि उसले बजाई रहेको धुन खेल्न थाल्यो  अचम्मसंग त्यो गीतको अर्को अन्तरा मेरो ओठमा सल्बलायो :
" पानी भए सुकाई दिन्थेँ, आंसुनै हो बहाई दिएँ
ढुंगा भए फुटाई दिन्थेँ, मान्छे नै हो माया गरें "

अनि मेरो आँखामा त्यो दृश्य पनि सल्बलायो, बांफमा त्यो रेस्टुरेन्टतिर झर्नु अघि मैले उसलाई उसको बरन्डामा यसरि नै त्यहाँको प्रकृतिसंग हराई रहेको देखेकी थिएँ | चार बर्ष बिती सक्यो तर  अझै ..? किन मन परेको होला उसलाई रित्तोपन ?  मलाई आफ्नै रित्तोपनले चिथरी रहेको बेला मैले उसलाई सोध्ने आंटनै गर्न सकिन |
फेरी बन कुईरोले हाम्रो परिबेशलाई ढपक्कै ढाक्यो अनि फेरी पानीका हल्का बाछिटाहरुको स्पर्श महसुस गर्न थालेँ | बन कुइरो, झरना, कहाली लाग्दो जंगल अनि  हामी बिचको मौनता ? यो मुर्दा  शान्तिको गर्भमा कता हराएँ हराएँ |
"  तल जाऊँ ? " अचानक  उसले रित्तो ग्लास देखाउँदै भन्यो मेरो प्रतिक्रियाको प्रतीक्षा नै नगरी हिँडी पनि हाल्यो |
संगसंगै तल ओर्लिएँ | इमिल्लीना उनको नयाँ साथीसंग बारमा बसेर पिई रहेकी थिई | उनको सामुन्ने  एउटा गिलासमा  रातो गुलाफको फुल देखेर मैले कुरा बुझीहालेँ | निक्कै प्रसन्न देखिन्थी | हामी सरासरी उनीहरु भएको ठाउँमै पुग्यौँ | रितेनले उसको साथीको काँधमा यसरी धाप मार्यो, त्यस्को अर्थ बुझ्न मलाई कुनै समय लागेन | आफ्नो गिलास भरेर  पियानो भएतिर लम्कियो, मानौ पियानोसंग छुट्टिएर  बस्नै सक्दैन |  इमिलीको कुरा सुन्दै थिएँ पियानोको कि बोर्डबाट संगीतको तरंग उठ्न सुरु गर्यो मेरो आश्चर्यको सिमा नै रहेन,  मैले सुन्न चाहेको अर्थात् मेरो गलामा अड्कि रहेको गीत नै गजबसंग गाउन सुरु गर्यो |
"कति बुझाउ यो दुनियालाई, कति रुझाउ यो आँखालाई......|"
त्यो गीतको शब्द शब्दमा हराउन थालेँ मेरो सम्पूर्ण बेदना ब्यक्त भै रहे झैँ लाग्ने त्यो गीत, कहिल्यै नसकियोस जस्तो | अनि मैले पनि एउटा रित्तो गिलास समातेँ बाठी इमिलीले त्यसमा रेड वाईन खन्याई हाली | त्यो गीत सकेर उसले पियानोको माथि राखेको आफ्नो गिलास हातमा लियो  एउटा लामो घुट्को पियो | सबैले ताली बजाएर उसलाई झन् प्रोत्साहित गरिदिए |
" यस्तो लाग्छ प्रेममा घायल भएको मानिस हो तिम्रो साथी " इमिल्लीनाले उसको नयाँ साथीलाई  सोधी |
"कसरि थाहा पायौ ?" उसले सोध्यो |
" हेर   कस्तो गम्भीर अनि दुखि देखिन्छ, यो धुन सुन्दा कुनै असफल प्रेमको कथा सुनेको जस्तो लागेन तिमीलाई ?" उनले भनि |" वास्तबमा तिमीले ठिक अन्दाज गर्यौ | रितेन एउटा निर्दोष प्रेमको शिकार हो |"
"निर्दोष ?" इमिल्लीनाले आश्चर्य ब्यक्त गरिन | चुप चाप सुनी रहें |
" एउटा निर्दोष भूलको सजाय भोगी रहेको | आफ्नो पहिलो प्रेमलाई बिर्सिनै सक्दिन भन्छ  |"
"वास्तबमा भयो के ? तिमीलाई भनेको उसले ?" इमिल्लीना झन् उत्सुक बनिन |
"  आफ्नो साथीको अनुरोधमा उसको श्रीमती  बच्चासंग हस्पिटल गएको थियो रे, त्यति हो उसको भुल |"
"पहेली नबुझाउ, हस्पिटल जानु पनि भुल हुन्छ  ?" इमिल्लीना मस्कीई |
" दुर्भाग्यबस उसको प्रेमिका त्यहीं हस्पिटलको एउटा छेउमा उभिएर उनीहरु गाडीबाट ओर्ली रहेको दृश्य नियाली रहेकी रहिछिन, अनि यस्तरी गईन रे त्यो दिन देखि उसले उनको छायाँ पनि भेट्टाउन सकेको छैन रे |"
"मुर्ख मानिस, दुनियामा अरु कोहि भेटेन उसले ?"  इमिल्लीनाले कुरा बुझी गजबले हाँस्दै भनि | मलाई पनि अलिकति हाँसो उठ्यो त्यो अन्जान केटीको मुर्खताप्रति | भएकी भए भेटेर सोध्ने थिएँ
मैले रितेनलाई नियालेँ | केहि पल घोरियो, शायद कुन धुन बजाउने भनि सोची रहेको होला | मलाई भने उसले फेरी पनि त्यहि गीत गाई दिए हुन्थ्यो जस्तो भै रहेको बेला उसले अर्कै गीतको धुन निकाल्न सुरु गर्यो | निक्कै बेर त्यो धुनसंग अल्मलियो उ, कुमार सुब्बाकै अर्को एउटा गीत गाउन सुरु गर्यो | हामी भने बारबाट उठेर डिनरको लागि अलि पर गयौँ | दुइ चार खुड्किलामाथि उक्लिनु पर्ने त्यो ठाउँ पूर्णत: परम्परागत इटालिएन शैलीबाट सजिएको  थियो |  झ्याल बाहिर त्यहि झरनाको अर्को अंश उस्तै मोहक देखि रहेकी थिई तर मलाई भने भित्ताहरुमा टाँगिएका  तेल चित्रहरुले आकर्षित गर्यो त्यसमा हराउन थालेँ | त्यहाँ  घोडाका चित्रहरु पनि थिए तर एउटा अर्कै चित्रले मेरो आँखालाई चुम्बकले झैँ तान्यो | त्यतैतिर लसकिएँ बिशाल तालको छेउमा एउटा सानो डुंगा अनि त्यस्मा खुट्टा राखुँ कि नराखुँ को दोधारमा परेकी एउटी अर्धनग्न युवतीको शरीर, जसको लामो केशले  झन्डै पानी छोएको , म त्यो चित्रमा हराई रहेकी बेला रितेनले गाईरहेको गीतको बोल कानमा ठोक्किन थाल्यो: 
"त्यो  डुंगाले पुर्याउँछ तिमीलाई, तिमीले देखेको सपनासम्म
त्यो  डुंगाले लैजान्छ तिमीलाई, तिमीले गरेको कल्पनासम्म
संग एउटा डुंगा हृदयको, यसलाई एउटा सागर देउ ......"
यस्तरी लट्ठिएँ चित्र अनि संगीतमा मानौ त्यो चित्र नभएर वास्तविकता हो | अनि नै त्यो युवती हुँ, जो दोधारमा परेकी छे | डुंगामा पाइला राखुँ कि राखुँ ?
मेरो मन उडेर फेरी बांफनै पुग्यो, चार बर्ष अघि, त्यो नै पहिलो भ्यालेंटाईन डे थियो जति बेला मैले पहिलो पल्ट रातो गुलाफको चाहना गरेकी थिएँ | कल्पनामा बहकिनु सम्म बहकिएकी थिएँ अचम्मको संयोग, त्यो रातको मेरो कल्पना जस्तै एउटा चित्रको सामुन्ने नै उभिएकी छुँ यतिबेला    त्यति बेलाको  मेरो सपनाको राजकुमार जस्तै पनि संगीतमा मग्न | फरक यति हो कि पियानो बजाई रहेको | मैले आँखा अन्तै मोडेँ | इमि उनको नया प्रेमीसंग अंगालोमा बाँधिएर चुम्बनमा लिप्त थिईन | बिस्तारै मैले आफ्ना पाईलाहरु अर्को भित्ता तिर बढाएँ जहाँ अर्को चित्रको ठुलो क्यानभास झुन्डिएको थियो |  एउटा नाङ्गो मैदानमा थुप्रै उत्ताउला घोडाहरुको चित्र | भागेर फेरी उही पहिलेको चित्र सामु उभिन पुगेँ |
मेरो हात खुट्टा सबै कांपी रहेको थियो छातीको जी मालालाई बलियोसंग समाएर सम्हालिने प्रयास गरि रहेकी बेला कोहि मेरो बिल्कुल नजिकै उभिन आएको आभास पाएँ | त्यो भ्रम थिएन, रितेन मेरो नजिकै उभिएको थियो आफ्ना दुवै हातहरु शरीरको पछाडी बाँधेर  | एकनास त्यहि चित्रलाई नियाली रहेको थियो |
आत्तिएर मैले भनेँ "बिल्कुल तपाइँको गीतको मर्म समातेको रहेछ यो चित्रले, उनि त्यो डुंगामा पाइला राख्ने कि नराख्ने दोधारमा परेकी जस्ती देखिन्छिन | "
प्रतिउत्तरमा रितेनले आफ्नो शरीरको पछिल्लो भागबाट आफ्ना दुवै हातहरु अगाडी ल्यायो मेरो अघि बढायो | मैले सपनामा पनि नसोचेको कुरा, उसको हातमा रातो गुलाफको फूल थियो | पहिलो पल्ट, उसको आँखाको बाटोबाट उसको मुटु सम्म पुगेँ अनि उसको हातबाट रातो गुलाफको फुल समातेर माथि बरन्डा तिर भागेँ | एउटा उन्मुक्त हासो संगै त्यो रातो फूल हल्लाई, हल्लाई त्यो झरनालाई देखाई रहेकी थिएँ | रितेन मलाई पछ्याउँदै मेरो नजिक उभिन आइ सकेको थियो | एकै छिनमा, झरनाका बाछिटाहरुले  बनकुइरो भएर हामीलाई आफ्नो अंगालोमा बाँधी सकेको थियो |     

 

पछिल्ला भागहरु: 
टुंगना   डम्फु-पहिलो भाग
टुंगना   डम्फु-दोश्रो भाग
टुंगना   डम्फु-तेश्रो भाग

 

 

 

 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |