हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

जलेको कपिलवस्तु र लुटिएकी म

सुबिसुधा आचार्य, ()

बाँची बाँची मर्नु र मरेर बाँच्नुमा कति अन्तर हुँदो रहेछ । तीन दिनपछि मृत्युको मुखबाट फर्केर तिमीलाई सम्झने र सम्बोधन गर्ने मौका पाइरहेकी छु मलाई लाग्छ यो सम्बोधन सम्झना हाम्रो भेटघाट पश्चात् लामो अन्तरालमा भएको छ । टेलिफोनमा गरिएको वार्ता इमेलमा लेखिएको हाइ हेलो र मोबाइलमा गरेको एस.एम.एस. भन्दा नितान्त पृथक छ यो लेखाइ ।

जीवन ! बितेको समय मुठीमा कसेर राख्न मिल्ने भए म एक जुनीको लागि मात्र हैन सयौं जुनीको लागि साँचेर राख्ने थिएँ तर के गर्नु। ! बितेका ती दिनहरु मेरो टाउकोमाथि लगातार एकपछि अर्को गर्दै खसेर विभिन्न किसिम र आकारमा ठूला किर्कौला गहिरो र भर्खर बन्न आँटेका भड्खालाहरुमा आकृत हुँदै थोपरिदैछन्, थप्प थप्प कृष्णभिरबाट पहिरो खसेजस्तो ।

वास्तविक भोगाइबाट एक कदम फर्केर पछाडि हेर्दा म देख्छु टाढा क्षितिजमा टाँसिएझैँ विगतका तमाम दृश्यलाई पूर्णरुपले ढाक्दै एउटा कालो नीलो ज्वालामुखी बिस्फोट भएको छ जसबाट छरिएका म्याग्मा र लाभा पोतिएका छन् मेरो मुहारभरि एउटा युवतीले महङ्गो क्रिम पोतेझैँ लत्तपत्त ।

अनुहारको मात्र के कुरा सिङ्गो शरीरको कुनै कुना बाँकी नराखी मेरा बितेका दिनहरुले कुन्नि कहिलेदेखि हो विरुप र कुरुप बनाइराखेका छन् । जसको कुरुपता म सुमसुम्याउनसम्म सक्दिन, भ्याउन्न वा चाहन्न । मान्छे सुन्दरतामा नै रमाउँछ कुरुपतासँग ग्लानि हुन्छ टाढा भगाउने ।

दिन प्रतिदिन म भाँसिदै छु अतितका गहिरा भड्खालाहरुमा जहाँ कुनै भड्खालो यति गहिरो अँध्यारो अत्यासिलो र निसासिँदो लाग्छ कि म त्यहाँको कुनै वस्तुलाई स्पर्श गर्न नसकेर बाहिर निस्कन्छु निरीह भै सिकार नभेटेर गुफामा फर्केको चितुवा जस्तो ।

मेरा आँखा अँध्यारामा कैद बन्छन् उज्यालामा पुनः फर्कन नसक्ने तरिकाबाट आखिर यो सबै किन भैरहेछ ! एउटै प्रश्न चिन्ह खडा छ मेरो रौँ-रौँमा । के आँखा सधैँ अँध्यारो नियाल्नका लागि नै बनेका हुन् र  यदि त्यसो हो भने किन आउँछन् बिहानीहरु ? किन उदाउँछ सूर्य ?

जीवन ! मलाई थाहा छ गोसाइकुण्ड जस्तो गहिरो यो भूमिका तिमीले बुझेका छैनौ । जब यो पत्र सबै पढ्ने छौ अनि देख्ने छौ भड्खालाहरु भित्रको अँध्यारो । यो अँध्यारोले तिमीलाई नसुम्सुम्याओस्, नगिजोलोस् र नपच्छ्याओस् पनि | किनकि म मात्र एउटी अतीत हुँ । समयले चपाएर ओकलेको तीतो अतीत । समयको नजरमा त म ओकलिइसकेकी छु तर उसको गिजाहरुमा पिसिएर अड्किनुको पीडा मसँग प्रशस्त छ जुन म सहन मात्र सक्छु देखाउन हैन ।

सपना देख्ने आँखाहरु भ्रमित पनि हैनन् किनभने सपना देख्न विपनाको आधार चाहिन्छ । तर आज मेरो सपनाको आधार भत्किएको छ इँट्टाहरु एकाएक खसेर म कति लाचार……… ! आफ्नो आधार भत्कदा एउटा मूक दर्शक बनेर टुडिखेलमा गाईजात्रा हेरेझैँ हेरिरहेँ निर्लज्ज ।

तिमीलाई मैले पहिले पनि भनेकी थिएँ हामी दुई बीचको मायाको सम्बन्ध गाँसिनु, हुर्किनु, मौलाउनु भनेकै गर्लम्म ढल्नु हो तर तिमी मेरो मुख थुनेर यी शब्द ओकल्नबाट वञ्चित गराउँथ्यौ हैन ? हामी दुईको मिलन दैवको खातामा रातो मसीले लेखिएको थिएन | हो जीवन ! ईश्वरले लेख्न कन्जुस्याइँ गरेछन् मलाई आज यही प्रतीत भैरहेछ ।

म आज बुटवल स्थित लुम्बिनी अंचल अस्पतालको शैयाबाट सकी नसकी यो पत्र लेख्दैछु तिम्रो नाममा । मलाई थाहा छैन यो पत्र तिम्रो हातमा परुन्जेल म अस्पतालको शैयामा हुन्छु या धर्तीबाट धेरै टाढा………। यो समयले बताउने कुरा हो । हुन त यी सब लेखेर तिमीलाई दुःखी बनाउने चाहना त थिएन तर हाम्रो मायामा गरेका सम्झौता र कसमले लेख्न विवश बनायो ।

मलाई थाहा छ विभिन्न सञ्चार माध्यमबाट कपिलवस्तु जिल्लाको निन्दनीय अकल्पनीय घटना तिमी सामु आइसकेको छ एउटा अर्को सुनामी बनेर । घटनाले कपिलवस्तु पूरै जलेको छ । त्यहाँ भएको क्षति, क्षति गराइएको प्रक्रिया र त्यसपछि उत्पन्न अन्त्यहीन प्रभावबारे कसैले सोच्न भ्याएको पनि देखिदैन । कहालियो, आत्तियो होला तिम्रो मन, छट्पटियो होला मेरो सम्झनामा, फोनको नम्बर धेरै थिचे होलान् ती स्नेही औलाहरुले परिणाम हात लाग्यो शून्य ।  

लेख्न त सुरु गरेँ तिम्रो नाममा यो पत्र तर लम्ब्याउन कठिन भैरहेछ । लेखौँ या नलेखौँ दोधारले रेटिरैछ भित्रभित्रै । शब्दाङ्कुरको अँध्यारो गुफा जतिसुकै गहिरो भएपनि तल पुगेपछि कुन्नि किन स्मृति लोकबाट टुक्रिएर आएको प्रकाशले उद्भाषित भएको छ मेरो मानसपटल | मेरो विस्मृतिको पर्दा पन्छिन्छ र म यर्थाथको गहिरो खाडलमा नराम्रोसँग जाकिन्छु । जहाँबाट उत्रनु कल्पनामा पनि असम्भव छ मेरा लागि ।

दुःख सबैले मानेका छन्, तिमीलाई पनि लाग्यो होला । दुःख मान्नु, दुःख लाग्नु र दुःख पाउनुमा कति फरक छ एक पटक तिमी आफै कल्पना गर त । काट्ने खुकुरी उसको कामै काट्नु तर चोट अचानोलाई नै लाग्छ । अचानोको चोट जो सुकैले कल्पना गर्न सक्दैन | यदि जानकारी हुँदो हो त खुकुरी उजाएर हान्ने नै थिएन । जबसम्म कसैले खुकुरी चलाउँदैन ऊ आफैँ चल्ने वस्तु हैन ।

भदौ तीस गते एउटा कालरात्री भएर उदायो मेरा लागि । म संसारबाट लखेटिएँ, खोसिएँ, हराएँ एउटा बिरानो संसारमा । गुम्यो मेरो आफ्नो पहिचान, भएँ नालीमा मिल्केको फूलजस्तो । के अर्थ रह्यो र एकमुठी प्राण रहनुको ? खेद छ दैवसँग प्राण लानमा कन्जुस्याइँ गरेको देख्दा । नखेल्नु भाग्यसँग खेलिसके पछि किन तमासा हेर्दै छ ईश्वर ?

जीवन ! म त यसै उसै प्वाल परेको माटोको आरी भएँ नै । दोबाटोमा हुत्याई टुक्रा टुक्रा बनाउन बाँकी रहेकी | तर कसरी लेखौं त्यो घटना | एउटा पर्दा पछाडिको नाटक जस्तो विश्वास गर्न कठिन । हजुरआमाले भन्ने गरेको दन्त्य कथा जस्तो अपाच्य । मैले आफैले नभोगेको भए सायद म पनि विश्वास गर्ने थिइन कि ? यस्तै लाग्छ मेरो सोचाइमा ।

भदौ उन्नतीस गते कपिलवस्तु वीरपुरका लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता अब्दुल खाँको हत्या अज्ञात समूहबाट भएपछि एकाएक आँधीबेरी आयो । हुरी बतास मडारियो | बस्ती उडाउने गरी डडेलो फैलियो घर जलाउने गरी । होश समालुन्जेलको घटनाक्रम हेर्दा सम्झँदा लाग्थ्यो साँच्चिकै टेलिभिजनमा हेरिने अंग्रेजी फिल्मी दृश्य जस्तो अकल्पनीय । यदि टिभीको पर्दामा देखिएको भए म पनि रमाइलो मानेर हेर्ने थिएँ | तर वास्तविक जीवनमा आफैँले भोग्नु पर्दा निकै गाह्रो हुँदो रहेछ । सर्पको मुखमा परेर छट्पटिएको भ्यागुतोलाई जस्तो असाध्यै कठिन, सकस ।

बिहानको सबा नौ बजेको हुनुपर्छ मेरो अनुमानमा हातको घडीलाई नियाल्ने क्षमता ममा पटक्कै थिएन । बुबा सधै झैँ पसलमा ग्राहक रुङ्दै हुनुहुन्थ्यो । अघि पछिको दिनको तुलनामा सडक अलि व्यस्तै देखिन्थ्यो | आमा भान्छामा खाना बनाउनै व्यस्त । भाइ सडकमा आफ्नै सुरले उसको फुच्चे साइकल चलाउँदै थियो । म कोठामा कपडा सिउँदै थिएँ । तिजको मुखमा आएका सबै कपडा भ्याइसकेका थिएनन् । मनभरि तिम्रो सम्झना उर्लिरहेको थियो मर्स्याङ्दी बनेर । छालले कहिले किनारा पुर्याउँथ्यो त कहिले लैजान्थ्यो भूमरीमा नै । जसको नतिजा एकापट्टि जोड्नु पर्ने कपडा म अन्तै जोड्थेँ । जब होशमा आउँथेँ सराप्थेँ आफैँलाई र तिम्रो सम्झनालाई । यदि सम्झनामा तिमी त्यसरी नआउँदा हौ त मेरो काम बिथोलिने थिएन भन्दै ।

कति नाजुक मन | सम्झनामै पङ्ख फिंजाई टाढा, धेरै टाढा तिम्रो सामीप्यता र आलिङ्गनको प्यासमा छट्पटिदै उड्थ्यो । मलाई थाहा छ तिमी नौडाँडा पारि छौ | तर सम्झनाहरु एकदम नजिकबाट चुमिरहन्थे | अङ्ग-अङ्ग सुमसुम्याउँथ्यो सम्झना र त आन्दोलित बन्थेँ तिम्रो उपस्थितिबिना नै ।  

कलको पाङ्ग्रोसँगै घुम्थे सम्झना, सोचाइ र यादहरु । म त्यसैमा कुतकुतिएर रमाउँथे, हाँस्थेँ आफैसँग | अनि गुनगुनाउँथे एक्लै जपेर तिम्रो नाम गाउँदै मिलनको गीत । सम्झनामा हराउँदा कति मीठो हुन्छ संसार जहाँ तिमी र म बाहेक हुदैनन् कोही पनि ।

दुर्भाग्य ! मेरो एकाग्रपन बिथोल्यायो बाहिरी वातावरणको चिच्याहटले, कोलाहलले र हल्ली खल्लीले । सिलाउँदै गरेको कपडाको मेलो बीचमै रोकेर चियाएँ झ्यालबाट बाहिर । चन्द्रौटा बजार आगो ओकल्दै रैछ धुवाँको कालो मुस्लोले ख्वाप्प निलीसकेछ एक गाँसमा । मान्छेहरु कराउँदै चिच्याउँदै भागिरहेका थिए, मान्छेबाटै लखेटिएर | मलाई पत्याउन मुस्किल भयो त्यो घटना ।  

घरहरु आगोको मुस्लोमा बिलाउँदै रहेछन् | सुस्तरी सडकका सवारी साधनहरु एउटा पनि अछुत थिएन आगोबाट । चैत मासको डढेलोले खरबारी सल्किएझैँ चन्द्रौटा बजार सल्किदै रहेछ । एकहुल मान्छे घरघरमा लुटपाट र आगजनी मच्चाई रहेका थिए भने अर्को हुल आफ्नो जिउ जोगाउन भागिरहेका ।  

आँखा जब घरअगाडि सडकमा दुई टुक्रा भएको भाइको लासमा गएर ठक्कर लाग्यो तब मलाई एकाएक आकाश खसेर थिच्यो नराम्रोसँग । च्यापिएँ किचिक्क हुँदै आँखा तिरमिराए अँध्यारो देख्ने गरी । म उसै विव्हल भएँ । एकै फड्कोमा तल ओर्लदा त्यहाँ झन भयावह दृश्य ताडण्व नृत्य देखाउँदै रैछन् । हाम्रो लगायत वरपरको पसलको सामान केही गाडीमा लोड हुँदै थियो त कोही सडकमा घोप्टो मुन्टो लगाएर असरल्ल छरिएका ।  एक जत्था मान्छे धमाधम बाहिर निकालेको सामानमा आगो सल्काउँदै थिए ।  

बाबाको दुवै हातमा डोरीले बाँधेर गाडीको पछाडि झुण्ड्याई घिसार्दै गरेका बाबाको मुहार रक्ताम्मे भैसकेको थियो | उहाँ कराइरहनु भएको थियो 'बचाऊ' 'बचाऊ' भन्दै तर ती राक्षसहरु चिच्याइको कुनै पर्वाह नगरी गाडी हाँक्दै थिए मान्छेलाई मुढो बनाएर । आमा भान्छामा हुनुहुन्न थियो । मलाई थाहा भएन कि उहाँ कुन संसारमा हुनुहुन्थ्यो धर्ती वा आकाश ।

केही राक्षसहरु खनिए मैमाथि | उनीहरुको पंजाबाट बाँच्न म भागेँ बजारैबजार | मेरो पछाडि उनीहरु कुद्दै थिए सिकारी कुकुरले हरिण लखेटेजस्तो । बजारका अधिकांश घरहरु आगोको मुस्लोमा हराउँदै थिए भने मान्छे भागाभाग । सपनाको दुनियाँमा हो वा काल्पनिक विपनामा, म अनुमान लगाउन नसक्दै लखेटिएँ । जब म बजार छोडेर उखुबारीमा फाल हालेँ प्राण जोगाउने बहानामा मेरो नौनाडी गलिसकेको थियो ।  

हजारौँ लासहरु छरपस्ट थिए उखुवारी र खोलामा मेरा पैतालाले ति मानव शरीरहरुलाई कुल्चिदै बढें । म जति दौडनु पर्ने थियो, जति भाग्नु पर्ने थियो, त्यति दौडन भाग्न सकिन । एक त मान्छेको रगतपच्छे लासहरु देखेर रिँगटा लाग्यो | अर्को डर, त्रास र थकाइले लखतरान भएँ म उसै ।

थाकेका गलेका र लर्वरिएका पाइला उखुको ओखतामा अल्झेर पछारिन पुगेँ | उखुबारी भित्र ती नरभक्षी जो मलाई लखेट्दै थिए भेटाए उनीहरुले सजिलै आखिर ओथारा बसेको कुखुरीलाई समात्न अप्ठेरो पर्दैन स्याललाई । मेरो आङमा लगाएको कपडा सबै च्याते | एकपछि अर्को गर्दै नङ्ग्याए मेरो शरीर चिलले चल्लो नङ्ग्याए झैँ । म जति प्रतिकार गर्न खोज्थेँ उति बर्सिन्थ्यो खुकुरी तिघ्रा र पाखुरामा | एकातिर खुकुरीको चोटले चुस्दै थियो भने अर्को तर्फ ती सर्पहरुले मलाई पालै पालो डसे । चितुवाको खिचातानीमा जरायो छटपटाएझैँ छटपटाइरहेँ म चोटै चोटको विषले होशमा हुन्जेल ।  

बेहोशीमा थाहा भएन कति साँपको डसाइ ओइरियो मेरो शरीरमा र कति विष ओकलियो । हुन सक्छ उनीहरुले मलाई मरी भनेर छोडेका । तर जीवन ! अभागीलाई हत्तपत्त कहाँ काल आउँथ्यो र ? यसो भनौँ अभागीलाई स्वर्गमा पनि बस्ने स्थान पुग्दैन | सायद यसै भयो र म मर्न सकिन | जब ममा होश आयो म अस्पतालको शैयामा रहेछु | सलाइन पानी र ब्लडसँग सम्झौता गरेर मृत्युसँग पौठेजोरी खेलिरहेकी । अस्पताल घाइतेले खचाखच भरिएको रहेछ | ओल्लो पल्लो शैयामा नजर हुत्याएँ बाबा र आमालाई भेट्छु कि भनी तर उहाँहरु त्यहाँ हुनुहुन्न थियो ।

मन्त्रीदेखि पार्टी कार्यकर्तासम्म पालैपालो आएर हामीलाई हेरेर गए | हेर्नु के थियो र सान्त्वना प्रदान गर्नु न हो ? उनीहरुले दिएको खोक्रो सान्त्वनाले हराएका फर्कने, मारिएका बिउँझने र म जस्ता लुटिएकाको अस्तित्व फिर्ता हुने थिएन । उनीहरुको आगमन पनि मलाई रङ्गमञ्चमा कलाकारले अभिनय गरे झैँ लाग्यो ।

जीवन ! म किन बाँचे होला ? मृत्युले गिजोलेर किन छाड्यो मलाई । शरीरभरि टाँका र ब्यान्डेज गरिएको छ | शैयाबाट उठेर एकपाइलासम्म हिड्न सक्दिन म | कति अभागी रहेछु । आफ्नो सर्वस्व लुटियो, घर जल्यो परिवारका सदस्य कहाँ छन् ? मरे वा जिउँदै छन् ? त्यो पनि थाहा छैन भाइको लास त आफैंलाई देखेको हुँ | त्यसैले आश छैन | तर बाबा आमाको आश छ र यादले सताइरहेछ यो अस्पतालको शैयामा ।

होशमा आएको पल त लागेको थियो वैरी चन्द्रौटा बजारमा मात्र लाग्यो | तर म गलत रहेछु | चन्द्रौटा बजारमा लागेको आगो कृष्णनगर, देवीनगर, वीरपुर, बालपुर, उज्ज्वलपुर, गुगौली, पथ्थरदैयासम्म सल्किन भ्याएछ र खरानी बनेछन् सबका सब बस्तीहरु ।

ह्वात्तै सल्कियो आगो | अग्लियो अपराधिक गतिविधि | कपिलवस्तु भासियो तलतल । गाउँ, सहर, मेलापात, कलकारखाना, घर, पसल, युवायुवती, बाल, वृद्ध केही हेरिएन | कोही भनिएन । सीमापारीबाट आएका केही व्यक्ति समेतको उच्छृंखल जत्था हेलियो बस्ती बस्तीमा धमिलो बाढी बनेर । मान्छे मूला काटेझैँ काटिए भने कति जिउँदै जले | घरभित्र धर्तीमा तातो रगतको भुल्का कति छुट्यो जसको लेखाजोखा रहेन ।  

जनमत सङ्ग्रहमा नमरेको मानिस, छ्यालीस सालको आन्दोलनमा बगेको भन्दा बढी रगत र जनआन्दोलन भाग-२ को लडाइँमा नढलेका मान्छेहरु ढले धर्तीको छातीमा भदौ तीस गते । यसो भन्दा फरक नपर्ला कि अर्को एउटा कोतपर्व मच्चियो कपिलवस्तुमा । बुद्ध जन्मेको जिल्ला, शान्ति अहिंसाको बिगुल फुकेको माटो, शान्तिदूतको मझेरी पोतियो रगतले नराम्रोसँग अर्को एउटा इतिहासमा कालो दिन बनेर ।

रगतको खोलामा पौडेर स्वाँठहरु धर्ती थर्काएर लुटपाट मच्चाइरहे | तर प्रशासन कानमा तेल हालेर बस्यो । जतिखेर राक्षसहरुले लखेटेर देवताहरु त्राहिमाम त्राहिमाम भन्दै भागेथे ठीक त्यति बेला नै मान्छेले मान्छेलाई लखेट्दा मान्छेले सुनेनन् । जब हुने हुनामी भइसक्यो तब कफ्र्यु लाग्यो कपिलवस्तुका ती सम्बन्धित क्षेत्रहरुमा । जलेको घर बलेको सवारी साधन र मरेको लासलाई कफ्र्युले कत्तिको असर पार्छ त्यो प्रशासन आफै अनुसन्धान गरोस् ।

यसको मतलव प्रशासनले आफ्नो जिम्मेवारी बहन गरेन | हुन पनि लगनपछिको पोते अनि मृत्यु पछिको औषधिको के काम ? जङ्गलै जङ्गल खाली खुट्टा दूधे नानी च्यापेर फुस्किएको फरिया स्याहार्न नभ्याई भागे मान्छेहरु जिउ जोगाउन । घरवार कता, छिमेकी कहाँ, के खाने केही टुङ्गो नभएका हजारौं हजार मान्छेको जत्था आइपुग्यो बुटवल । धन्य हुन् ती बाँच्नेहरु, जिउ जोगाउन सक्नेहरु किनकि बाँच्न पाउनु अहो भाग्य हो मर्नेहरुको तुलनामा ।

जीवन ! कपिलवस्तु जलिरह्यो आफूभित्र बेस्सरी खरानी बनेर | तर त्यहाँको धुवाँको मुस्लो देखेन राजधानीले र हेर्न पनि चाहेन । घर जलिरह्यो, मान्छे मरिरहे, कैयौं चेलीको अस्मिता लुटियो चुपचाप सहे मैले झैँ । उता काठमाडौंको मन्त्रिमण्डल मुसा र बिरालाको खेलमा मस्त रमायो । कोही सरकार छोड्ने, कोही फकाउने र कोही मिलापत्रको कागजमा सही छाप गरे झैँ गर्ने कस्तो बिडम्वना । थुक्क ! नेपालको प्रशासन नेता मन्त्रीहरु ।

जीवन ! अहिले सुन्दैछु बाँचेकाहरु शिविर खडा गरेर बसेका छन् अरे सकुशल छैनन् रे | जुनै परिवारको पनि सदस्य कोही न कोही हराएका छन् | बिलाएका छन् | सायद संसारैबाट । सरकारले राहत त दियो रे बाँच्नेलाई | साथमा परिवारका सदस्य मर्नेलाई पैसा देला । के पैसाले परिवारको सदस्यको क्षति पूर्ति हुन सक्छ   

'नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो ।' पृथ्वीनारायण शाहको भनाइ थियो | तर खै त जातित्वमा समानता ? पहाडी र मधेसी बीचमा किन उब्जियो पर्खाल ? के हो हिन्दु अनि कुन हो मुसलमान ? कुन हो ईश्वर र के हो अल्लाह ? किन भयो विभेद ?  छानी छानी पहाडीलाई उठीबास लगाउनुको पछाडि के रहस्य छ ? आखिर के का लागि ?  

सबैले आ-आफ्नै पाखुरी बजारेर पसिनाको मूल्य नै खाएका थिए । त्यसमा पक्षधरले र्याल चुहाउनु पर्ने कारण किन ? मानवत्व, भातृत्व साथित्व सबै लिलाम गरेर जाति र धर्मको नाममा हिँसा फैलाउँदा फाइदा कसलाई ? लुट्ने पक्षलाई न भयो । साँढेको जुधाइमा निर्धा बाच्छा पेलिनुको पीडा कसैलाई थाहा छैन | न नेतालाई न त सरकारलाई नै । उल्फाको धनमा फुपूको सराद्धे गरेर पिण्ड खाए होलान् पापीहरुले निमुखाको रगतमा मुछिएको ।

यदि यो घटना मुठीभरका शासकको इसाराबाट गरिएको भए के फाइदा ? सोझा निमुखा जनताको उठीबास लगाएर जुन पक्षको मारमा पनि पेलिने हामी नै हौँ । अझै बढी चेप्पिने त नारी जाति । आखीर कहिले सम्म ? आफूलाई उज्यालोमा उभ्याए पनि मन कालै भएको पत्तोफाँट नपाउनेहरुले कहिल्यै पाउन्नन् उज्यालोको किरण । उज्यालो त्यहाँ झुल्कन्छ जहाँ मन चाँदीजस्तो सफा हुन्छ ।

जीवन ! विचारहरुको विकास हुनको लागि पहिला वातावरणको विकास हुनुपर्छ तर हाम्रो देशमा वातावरण संधै एउटा कन्टेनरमा थुपारिएको फोहोर झै भयो | जताबाट बतास चलेपनि दुर्गन्धको हस्को नै बोकेर ल्याउने । फोहोरी वातावरण, फोहोरी मन, फोहोरी विचार अनि कहाँ हुन्छ सभ्यताको उदय अमन चैन र शान्ति ?

जीवन ! जे जति मनका उकुसमुकुस लेख्नु थियो लेखेँ | केही होसमा त केही बेहोसमा | तिमीलाई पत्र लेख्नुको कारण सम्बोधन गर्नुको औचित्य यतिमै खत्तम भएको छैन | मन गाँठो परिरैछ । आँसुले कागज भिजेको छ लफलफ्ती । सोचिरहेछु कलम बन्द गरौँ वा अगाडि बढाउँ । दोमनले रेटिरैछ भित्रभित्रै श्वास एउटै मुस्लोमा निस्कन खोज्छ अचेटिएर नाकबाट ।

हुन त कपिलवस्तुको घटनामा म मात्र लुटिएकी हैन | मेरो मात्र घर जलेको छैन | मेरो मात्र मरेको हैन भाइ र बेपत्ता छैनन् मेरा बाबुआमा मात्र । तर मानिस स्वभावैले स्वार्थी प्राणी | उसले देख्दैन अरुमाथि पहाड खसेको बरु सुमसुम्याउँछ आफ्नै शिर ।

म यति भन्न खोज्दैछु जीवन ! आजभोलि म तिमीलाई लिएर सोच्ने गर्छु धेरैधेरै । आफ्नोभन्दा मलाई चिन्ता छ तिम्रो | कुन संयोगले भेटियौँ हामी | कसरी साटियो मुटु र गाँसियो मन ? हाम्रो सुन्दर घर बसाल्ने सपना सपनामै सिमीत रह्यो | न तिम्रो चाहना पूरा भयो न मेरो इच्छा ।

तिमीलाई भनेर साँचेको मन मात्र चोखो छ अहिले मसँग । पापी असुरहरुले जुठ्याए | तन साँच्न सकिनं सकुशल मैले तिम्रो लागि यो यौवन । मलाई माफ गर जीवन, तिमीलाई दिएको वाचा काँच जस्तो टुक्रियो, सिसा जस्तो फुट्यो । लुटियो मेरो अस्तित्व, खोसियो भाग्य र मेटाइयो बाँच्ने चाहना, बिटुलिएँ म । कसैले पहिरिएर मिल्काएको माला जस्तो, भोजमा खाएर फ्याकेको जुठो टपरी हुँ म | अब कसैले हेर्ने छैन नजिकबाट, सुमसुम्याउनु त परैको कुरा ।

तिमी त मायाले स्वीकार्न तम्सौला | तर के विश्वास अन्तर्यामी मर्यादा पुरुषोत्तम रामले त सीतामाथि विश्वास नगरेर अग्निपरीक्षा दिन लगाएका थिए भने तिमी पनि एउटा पुरुष हौ | जीवन, तिम्रो समाज छ, आफन्त छन् परिवार छ । यो समाजमा नारीलाई जहिले पनि हेयको भावमा हेरिन्छ | ऊ जबरजस्ती बलात्कार हुन्छे | तर बिटुलोको पगरी गुथाइन्छ उसैलाई । बुझ्दैनन् उसको विवशता र बाध्यता | नियतिले मसँग कौडा खेलेर जितिसक्यो । अब मसँग कुनै त्यस्तो बस्तु छैन जुन दाउमा थापेर समाजसँग अर्को जुवा खेलौँ ।

सामूहिक दुर्व्यवहार र निर्ममताको सिकार भएर जिउँदै ह्दयमा आगो सल्केर पनि जीवनप्रति अटुट मोह हुँदा-हुँदै सास फेर्ने ठाउँ कतै नदेखेर झ्वाम्म नदीमा हाम फालेका कति नारीहरुको दुखान्त जीवन कथाहरु पढेकी छु | नजिकबाट पढ्नु र भोग्नुमा आकाश धर्तीको फरक हुन्छ त्यो तिमी बुझ्दैनौ जीवन ! अहँ पटक्कै बुझ्दैनौ ।

नारी हुनुको दुर्भाग्य आज म भोगिरहेछु, चपाइरहेछु | आफूले आफैलाई निल्नु न ओकल्नुसँग । कपिलवस्तुको दङ्गाग्रस्त क्षेत्रमा शान्त भएपछि सबै विस्थापितहरु फर्कन्छन् अरे | आफन्त हुनेहरु त फर्कलान् | इज्जत बचाउन सक्नेहरु पनि फर्कलान् | तर म जस्तो निरीह व्यक्तिको लागि कुनै ठाउँ छैन कतै पनि ।  

जीवन ! जे हुनु थियो भैसक्यो | अब त्यो बितेको दिन फर्केर पनि आउन्न र समयले मेरो घाउमा मलम पनि लगाउन सक्दैन । हाम्रो प्रेम अधुरो नै रह्यो केही छैन् । म बर्बाद भए पनि तिमी तिम्रो सहरमा इज्जतका साथ जीवन गुजारी रहेका छौ | तिमी एक राजकुमार हौ | तिम्रो लागि एक से एक राजकुमारी भिड लाग्छन् | विगतमा हामीले बिताएको समय एउटा मीठो सपना सम्झेर भुलिदिनु र बसाउनु घरजम । मानिसहरु पुनर्जन्ममा विश्वास गर्छन् | यदि साँच्चै पुनर्जन्म हुन्छ भने पुनः हामी भेटौँला बाँचौंला सँगै र सुम्पौँला चोखो यौवन | नत्र यो जुनीमा म तिमीबाट टाढा हुनेछु । सम्झनू कपिलवस्तुको अग्निकुण्डमा अर्को एउटा सतीदेवीको पतन भयो । अब धेरै लेख्न चाहन्न | सायद धेरै दिन बाँच्नु पनि छैन यस्तो ठाउँमा | यस चोलाबाट सदाको लागि विदा ।

 

 

 

 

Comments

Narendra

Dherai ramro lekha rahecha man lai nai ruwaune.

sanjaya

Ma dherai nai stabdha bhaya tapaile lekheka partek sabdale afaile socheko,dekheko ra bhogeko jindagima farak hunchha bhanne kurale man chhoyo feri pani tapaile jeewan bhanne patralai lekheko .............ko antyama  afule yasa sansarma banchana nachaheko kura firtalinuhos ra banchne sahas garnuhos jaha tapaile bhogeko jindagile euta naya jindagi srijan gareko chha.tapailai kasaile lutyo tapai aafai lut hoina tapaiko jeewan chokho chha pawitra nadi jastai samjhinus aafulai duniyalae nafalne chij nadima faldaima nadi apawitra hune ra manisale tyo nadiko pani nkhane bhanne hudaina ho tapaiko jiwanma euta thulo tufan aayo tapai tukra tukra bhayara bhanchinu bho tapai feri palauna saknu hunechha tapaiko jeewan tapaile soche jasto nabhaya pani tapaile soche bhanda pani aru badhi tara farak dhangabat moulauna sakchha matara tapaile jindagilai feri sahas bokera hernuhos yado bhagwan chha kahi bhane tapailai fursad nikalera help garnechha aasha badi hunuhos ta ma vandina viswas garnuhos tapai bhitra thulo urja chha jasle tapailai euta manawa samajma ek khas manawa bhayara banchna sahayoga garne chha. 

siddha sharu

i like................. thanks

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |