हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

पक्षपात

श्याम तमोट, (भोजपुर)

 

हिजो अस्ति जस्तै देवी आँगन बढाएर पधेंरा लागिन । पानीको गाग्री विसाएर घाँस काट्न जान खाजा थाप्तै गर्दा उनको दाजु रमेश उठेकै थिएन । एक  डोको घाँस पालीमा राखेर घर भित्र देवी पसेकी मात्र थिइन रमेश स्कुलतिर लाग्यो ।

साँझ जब देवी गाईको थलोमा सोत्तरको भारी बिसाउँदै थिइन रमेश स्कुलबाट घर भित्रियो ।

देवी भात खान लाग्दा बत्ती बोकेर तलामा चढेको रमेश देवीले जुठो भाँडा माझी सकेर तलामा गई किताव झिक्ता नझिक्ता निदाई सकेको थियो ।

आमाले "दिउँसो स्कुलमा पो पढ्नु पर्छ महँगो तेल बालेर पनि सकिन्छ ?" भन्दा देवी भर्खर किताव खोलेर पढ्न थालेकी मात्र थिइन् ।

"छोरी नाथेले पढेर के लछार्नु छ र ?" भन्ने बाबुको भनाई सुने ता पनि 'छोरीले पनि पढ्नु पर्छ । आफ्नै खुट्टामा उभिन सक्नु पर्छ । छोरा र छोरी भनेका मानिसका दुई आँखा जत्तिकै हुन' भनेर स्कुलमा सरले भन्नु भएको कुरा देवीको मनमा ढुंगाका अक्षर भएर कुंदिएको थियो ।

एकदिन दुइदिन गर्दै दशै आयो । नयाँ लुगा लगाएर रमेश पिङ खेल्न गई सकेको थियो ।

आमाले 'ला तंलाई' भनेर एक जोर लुगा दिनु भयो । देवी रमाउँदै लुगा फेर्न लागिन । सर्ट लगाई सकेर जव मिडि लगाउन खोलेकी मात्र थिइन् उनको मन एक तमासले दुख्यो । यत्ति दुख्यो कि यस अघि कहिल्यै यसरी दुखेको थिएन । उनलाई आफू संसारमा सवैभन्दा अपहेलित प्राणी लाग्यो । थ्याच्च भुईँमा बसेर उनी क्वां-क्वां रुन लागिन ।

'किन डाको छाडेकी हँ यस्तरी' भनेर आमाले सोध्दा पनि देवी एकनास रोई नै रहिन ।

उनको छेउमा रमेशको पुरानो पेन्ट उल्टाएर बनाएको मिडि असरल्ल परेको थियो ।

Comments

Prativa

Nice one sir!! Short but very well expressed. Hope to see more in future.

puspa raj giri

कथा छोटो मिठो र मर्म स्पर्शी छ | अरु पनि लेख्दै गर्नु है ? तर एउटा कुरा भनु लेखक ज्यु लाइ ???? रिसानी भए माफ है ?  यस्ता कथा हरु आज भन्दा २० वर्ष पहिले का होलान है ??? जमाना धेरै फेरीइसक्यो, छोरी लाइ वावा आमाले त के बुहारी लाइ पनि सासु ससुराले एस्तो पक्षपात गर्ने जमाना छैन है | हजुर कै गाउ घर तिर भए माफ |

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |