हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

आमाको तिर्सना

नवराज सुब्बा, (विराटनगर)

बाल्यस्मृतिपटलभित्र
अझै झल्झल्ती आइरहने
जीवनमा पहिलो पटक
ँखाले नियालेका
दुइ आकृति हुन्
क्षितिज छोएर लहरै
उभिएका डाँडाहरू
र सुसाउँदै कसैलाई भेट्न
हतारहतार उँधो बग्ने
तम्बर !
कोक्रामा निदाएर उठ्दा
मेरी आमा नदेखेपछि
रुँदै थाक्दै फेरि रुँदै
आमालाई पहिल्याएँथेँ
आँखाले परपरसम्म पछ्याएथेँ
उसैबेला आमा खोज्ने आँखामा ठोक्किएथेँ
उही डाँ
डा र बग्ने खोलामा ।

सायद
अलिकति भोकले
अलिकति तिर्खाले रोए
ँ उसबेला
त्यो भन्दा पनि
आमाले मलाई एक्लै छाड्नु भो कि
भनेर रोएँ, कहालिदै रोएँ
साँच्चै दिलै दुख्ने गरी रोएँ
बिपनामा अनि सपनामा घरीघरी धुरुधुरु रोएँथेँ
मेरी आमालाई नदेखी आमाका सट्टा उभिएका
डाँडा र बगेका खोला देखेर सारै रोएँथेँ,
घाँटी सुकेको आवाज कोक्रामा सुनेर
तीनधारे पधेँराबाट आएर डोको बिसाउँदै
हतारहतार मेरी आमा तिमीले
चुल्हो छोएर हातमा थुःथुः गर्दै मलाई
'आम्बी' भन्दै काखमा लियौ
तिम्रो काख र छातीमा टाँस्यौ
मैले संसार पाएँथेँ
एकैछिनमा सबै दुःख, डर सबै भुलेँथेँ !
शिरमा उन्यूका पात सिउरेर
तिम्रो पैतालाको धूलो निधारमा दलिदियौ
र हामी चिप्लेटी डाँडा काटेर
गोधूलि साँझमा
मावल पनि गयौँ

आज
खोलासितै बग्ने पानीमा
बगेर गएका ती दिन
अनि डुबेर हराएका सन्तान नियाल्दै
मेरी आमा जब आ
ँखामै तम्बर उमार्छिन्
डाँडामा अस्ताउन लागेका
घामजूनका पछिपछि हिँड्न तम्सिन्छिन्
एक्लै कतै चौताराको फलैँचामा बसेर टोलाउँछिन्
तब मेरी आमाका अनुहारमा
ठोक्किन्छु, कतै बग्छु र बल्झिन्छु म पनि !
आमा !
आऊ फेरि एक पटक यी मेरा हातमा
आज दिउँसै हराएको सातो डाकिदेऊ
छोइदेऊ मेरो शिर
र फेरि एकपटक उन्यू सिउरी देऊ
'आम्बी' भन्दै थुःथुः गरिदेऊ यी हातमा
तिम्रो पैतालाको माटो लगाइदेऊ
यो मेरो निधारमा
आमा π म अझै कोक्रामै झुन्डिएको छु
म तिम्रो थुन्सेमै बर्कोमा गुटुमुटिएको छु
यो मन कुल्चेर कतै नगइदेऊ
मेरी आमा !
तिमी कतै नछेल्लिदेऊ
कतै नहराइदेऊ !
ए डाँडा र खोला !

के तिमीहरूलाई म यसरी नै दुखेको मन पर्छ ?
उसोभए नछेकिदेओ, नलुकाइदेओ मेरी आमालाई
म मेरा सारा उमेर उधारेर उनैलाई नै डाकिरहेछु
छाती जताततै खोस्रेर आमालाई नै खोजिरहेछु ।

हिँड्दा-हिँड्दै
खेल्दा-खेल्दै
हराएँ सातो मैले
साँझ पर्न लाग्यो आमा !
मलाई किन किन डर लाग्छ
भुइँमा खसेका पातपतिङ्गर बर्कामा सोहोरेर
'बोरोम् बोरोम्' भन्दै आऊ आमा !
खोइ ! कस्तो भोकतिर्खा माया हो वा के लाग्छ
हरेक साँ
झ तिम्रो सारै पीर लाग्छ
आमा मलाई तिम्रो तिर्सना लाग्छ ।

 

(नोट-'आम्बी' भन्नाले लिम्बू भाषामा आस्चर्यबोधक शब्द 'आम्मै' भनेझै । 'बोरोम् बोरोम्' लिम्बू भाषामा केटाकेटी खेल्दा हिँड्दा हराएको सातो (आत्मा) बोलाउँदा अभिभावकले उच्चारण गर्ने शब्दावली।)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |