हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

आवृत्तिको क्यानभासमा

शर्मिला खड्का (दाहाल), (इटहरी, सङ्गीत चोक)


कथाकार दिवाकर नेपालीज्यू
, भर्खर  एउटा पात्रसँग मेरो भेट भएको छ । ऊ मलाई हातमा समाएर जोडले तान्दै छ । हेरौँ कहाँ लान्छ ? मलाई थाहा छैन कहाँ लाँदै छ  भन्ने कुरा । ऊ हष्ट पुष्ट यौवनले भरिपूर्ण भएको पच्चीसछब्बीस वर्षको जवान ढिटो छ । उसँग म कहाँ दौडनु सक्छु र ? तर पनि उसले तानेपछि मरे छोड्नेवाला छैंन । त्यसैले हुत्तिदै, मुन्टिदै उसको पछि लाग्न बाध्य छु । यो पात्र अरूजस्तो होइन रहेछ । अरूको भावनाको, इच्छाको सम्मान नै नगर्ने ! कस्तो अव्यवहारिक केटो रहेछ ! उसले मलाई केही भन्ने मौका पनि दिएको छैन, हेरौँ मलाई कहाँ लादो रहेछ । म उसलाई पछ्याउँदै छु । अहिले मलाई अनौठो लागिरहेछ । मेरो कथायात्रामा कतिपय ठाउँमा मैले पात्रलाई पछ्याउनु पर्ने हुन्थ्यो तर अहिले त पात्रले नै मलाई जबरजस्ती तानेर लाँदै छ । मलाई अचम्म लाग्दै छ तर पनि म जाँदै छु । दिवाकर नेपालीज्यू, ल अब म त्यो ठाउमा आइपुगेको छु, हेरौँ यो कस्तो ठाउँ रहेछ !

सन् २०१० को न्यु इयर इभ मनाइरहेको ठाउँ, नेपालको धेरै गाउँ मध्ये चाँडै नै सहरको रूपमा विकसित भएको सहरइटहरी । न्यु इयर इभमा देशको प्रसिद्ध गायक गीत गाउन मस्त छ । मेरो पात्र मलाई लिएर ऊ प्रोग्रामको लागि भित्र छिरिसकेको  छ । मैले वरिपरि नजर घुमाएँ । धेरै जसो ढिटाढिटी र युगल जोडी देखिन्थ्ये । केटाकेटी र बूढाबूढीको सङख्या कतै चामलमा विया मिसिएका हुनकि जस्ता थिए । इटहरीको चिन्तन चौतारी, कला र सँस्कृतिको अनुपम उदाहरण भएको रेष्टुरेन्ट । मौलिक र प्राकृतिक कलाकृतिले सजिएको विभिन्न जातजातिको सँस्कृति झल्कने नमूनाहरू सायद नेपालकै उत्कृष्ट कलाकृति हो यो । यो मनोरम दृश्य देखाउने मेरो पात्रप्रति म अनुगृहित थिएँ । रेष्टुरेन्ट पस्नुअघि नै यसको कलाको अनुपम प्रस्तुति ढोकामा बनाइएको थरुनीको विशाल मूर्तिले मलाई आकर्षित गरेको थियो । थारु समुदायको बाहुल्यता रहेको इटहरीमा यो मूर्ति थारु कलाको एउटा प्रतिनिधित्वको रूपमा उभिएको अद्भुत कला थियो । भित्रपस्नेबित्तिकै बाँसको चोयाँले बुनिएको ठूलो कछुवा अनि विभिन्न देवीदेवताको मूर्तिले मेरो आँखालाई लोभ्याएको थियो । यस कलाकृतिलाई धितमरुन्जेल हेरेर आँखालाई विश्राम दिइ सक्दा नसक्दा भित्रको रोमाञ्चक माहौलले मलाई तानिहाल्यो । उक्त पात्र मसँगै छ । हामी टेबुलमा बसिसकेका थियौँ । एकछिनपछि एउटी थारु जातकी जस्ती ठिटी टाइट जिन्स पाइन्ट र फूलवाहुला भएको भेष्ट लगाएर हाम्रै टेबलको मेच बसी । चिसो निकै बढेको थियो । तराईको मध्यहिउँदको जाडो मस्त जवानीमा थियो । तराईको चिसो नपत्याउदो हुन्छ मुटु नै छेडिनेजस्तो । अझ कार्यक्रम खुला मैदानमा गरिएको हुनाले टाउकोबाट चिसो पस्दा सियो रोपिएझैँ भएको थियो । अलिक पर आगो बालिएको थियो । तर त्यो धिपधिपे आगोले हामीलाई तताउनुको सट्टा हाम्रै तातो उधारोमा लिईरहे झैँ लाग्थ्यो । माहौल निकै तातिएको थियो । छेउछेउमा वियरका बोतलहरू लडिरहेका थिए । गायकसँगै गीत गाउने र उफ्रिनेको कुनै कमी थिएन । मलाई लाग्यो मेरो पात्रको उक्त ठिटीसँग पहिले नै चिनजान भएको हुनुपर्दछ, र त आएर यसरी बसेकी छे । अब दुवै जनाको वार्तालाप सुरु हुने अवस्थामा छ । मेरो पात्र भन्छ

मलाई कसरी देख्यौ ?”

एजेन्टले देखाइ दियो ।

ए.. ऽ..ऽ. निकै लामो सास फेरेर ऊ रोकियो । यस अघि मेरो पात्र एउटा व्यक्तिसँग हात मिलाउदै गफ गरेको थियो । सायद उक्त व्यक्ति एजेन्ट थियो क्यार !

कस्तो एजेन्ट ? को एजेन्टमेरो मस्तिष्कमा चिसोसँगै जिज्ञासा रोपियो । म उनीहरूको संवाद चोर कानले सुन्छु । उक्त केटी मलाई हेर्दै संकोच र लाज मानिरहेकी हुन्छे । म थाहा नपाएझैँ हुन्छु ।

मेरो पात्र भन्छ  – “डराउनु पर्दैन उ मेरो कथाकार हो ।  उसले तिमीलाई केही हानी गर्दैन ।

      म उनीहरूको वार्तालाप नसुनेझैँ र नदेखेझैँ गर्छु । दर्शकहरू जोडजोडले ताली बजाउँदै उफ्रदै गरेका छन् । म उनीहरूको कतिपय वार्तालाप बुझ्दिनँ । बाहिर चिसो स्याँठ चलेझैँ मेरो मनमा धेरै उत्सुकताको स्याँठ चलिरहन्छ । तर पनि म सौभ्य र धैर्य बनेर सब हेरिरहेको छु चिन्तन चौतारीको कलामय र चर्चित गायकको संगीतमय वातावरण । सायद युवायुवती युगल जोडीहरू सबै आफैलाई भुलेर आनन्द लिनमा ब्यस्त छन् । पुरानो वर्षको सबै दिक्कलाग्दा, कुरा बिर्सिएर नयाँ वर्षलाई रोमाञ्चकारी बनाउँदै स्वागत गर्न तल्लीन देखिन्थे । देशको राजनैतिक अवस्था कहाँ पुग्यो ? संविधानसभा बन्ला कि नबन्ला ? ठूला पार्टीहरूले कस्तो रणनीती खेल्ने हुन ? परराष्ट्र नीति कस्तो हुने हो ? कसैलाई कुनै मतलब नभएझदेखिन्थे । धेरैजसो जोडीमा देखिन्थे । कतिपय बिना जोडीका पनि देखिन्थे । जोडी हुनेहरू अरूका आँखा छलेर एक आपसमा अँगालोमा बाधिँदै चुम्बन साटासाट गर्दै थिए । मैले सोचे सायद नेपालमा पनि पश्चिमी सभ्यता भित्रिसकेछ । बिना भन्सार महसुल छिर्ने यस्ता कुरालाई कुनै कठिनाइ थिएन । कम्युनिष्ट शासन भएको चाइनाले त खुला नीति लिइसकेको अवस्थामा नेपालमा कुनै शासन नै नभएको ठाउँमा कुन भारी कुरा हो र ? यो त बर्ड फ्लुझैँ हावामा उडेर आइपुग्न सक्छ । अझ यति मात्र होइन भविष्यमा अरू कति खाले फ्लु भित्रिने हुन् कुनै अनुमान छैन । मैले विचारको धारो खोलेँ फ्रायडको मनोविज्ञान अब पुरानो भर्सनको कम्प्युटरझैँ भइसक्यो । अब कसैले पनि यौनमनोविज्ञानलाई कुण्ठित पारेर बाँच्नु पर्दैन । अब यौनविज्ञानको नयाँ भर्सन आउनुपर्छ तर यो सिद्धान्त पनि आयतित नै हुनुपर्ने होला किनभने यताको सबै सिद्धान्तहरू खोलामा गीत गाएझैँ हुन् । ब्रान्डेडको अगाडि लोकलको उभिने के हुर्मत ? यो आधुनिक नेपाली उखानबाट मैले मेरो विचारको धारो बन्द गरे

सबैको हातहातमा मोबाइल छ । कोही जोडी नहुनेहरू आफ्नो जोडीलाई सम्झँदै यौनकुण्ठा मोबाइलबाट यसरी व्यक्त गर्दै थिए

     डार्लिङ, आइ लभ यु  !, आइ किस यु ! आइ मिस्ड यु मेरी मच !

     कोहीकोही लठ्ठारिँदै छेउछाउ किनारिँदै छन् । म यो सब थोक हेरिरहेको छु । मलाई एक्लै बसेको देखेर कतिपय आँखा मै यौन प्यास बुझाउँलाझैँ गरी हेदै छन् । कतिपय मलाइ हेर्दै भालेले पोथीको अगाडि पखेटा फिजाएर भुनभुनाएझैँ भुनभुनाउँदै थिए । पुरुषहरू स्त्रीहरूलाई यौनवासनाको रूपमा मात्र  किन हेर्छन ? यो भन्दा पर उनीहरूको सोचाइले सीमाना नाध्न सकेको नै छैन । म मनमनै उद्वेलित बन्छु । तर यहाँ त वातारणले पनि ठूलो भूमिका खेलेको छ । एउटा कथाको प्रमुख नायकलेझैँ । जे होस उद्वेलित मनलाई नियन्त्रणमा लिन्छु । म त्यहाँ उपस्थित धेरै जसो स्त्रीहरूको लवाइ, हिँडाइ, बोलाइमा कामुकता पाउँछु । मलाई किन हो यो माहौल ठीक लागिरहेको थिएन । उठेर हिँडि जाउजस्तो लागिरहेको थियो । तर एक्लै कता जाने होला ? मलाई दिक्क लाग्यो । म त यहाँ पात्रसँग कथा लेख्न पो आएकी थिए त ! तर खोई विषयवस्तु ? पात्र आफ्नो प्रेमिकासँग गप्फिन मस्त छ । ऊ मलाई मेरो उपस्थितिको कुनै सरोकार नभएझैँ व्यवहार गरिरहेछ । अब मैले के कथा लेख्नु ? मैले सोचेकी थिए पात्रले मलाई यहा ल्याएर कुनै रोमाञ्चक कथा सुनाउने छ । तर अहिले उसको मुड नै अर्को छ । मैले पात्रलाई पुलुक्क हेरेँ । ऊ आफ्नी प्रेमिकासँग निकै घुलमिल भइसकेको थियो । टेबलमा केही खानेकुरा  आएको थियो । मेरो पात्रले मलाई इशाराले खान अनुरोध ग¥यो । मैले पनि आँखा र हातको इशाराले जुसमात्र खाने संकेत गरे । कतै उसको प्रेमिकासँगको प्रेमिल वातावरणमा खलल पुग्ला भन्ने कुराले म सतर्क थिएँ । अहिले म मेरो पात्रको मनोविज्ञान बुझ्ने प्रयासमा थिएँ । ऊ रोमान्टिक मुड भएको कामुक पुरुष रहेछ । ऊ नयाँनयाँ ठाउँमा यस्तै केटीको खोजीमा हिँडदो रहेछ । म उनीहरूको वार्तालापलाई यसरी सारांशमा खिचेर जुम गरेर देखाउन चाहन्छु मेरो पात्र लाहुरे परिवारमा जन्मिएको एकदमै पुलपुलिएको ठिटो रहेछ । ऊ भोगाविलास र आनन्दमा दिन बिताउने गर्दो रहेछ । बुवाको पेन्सन र घर भाँडाले घर खर्च गरेर अरू पैसा कहाँ फ्याकौ भन्ने अवस्था रहेछ उसको । साथीहरूसँग बाइकमा घुमफिर गरेर दिन बिताउनु उसको दैनिकी रहेछ । बाउआमाको करकापमा एउटा पिसिओ पसल खोलेको रहेछ । पिसिओ पसलमा दिनभर कोठामा बाधिएर बस्न उसलाई गारो भइसकेको थियो । उसले पिसिओ साथीको भरमा छोड्ने गर्न थाल्यो । पिसिओबाट कमाइ हुनुको बदला उल्टो घरबाट पैसा तिर्नु परेपछि बुवा आमाले पिसिओ पसल बन्द गर्न लगाएछन् । त्यसपछि उसको काम यस्तै नयाँनयाँ ठाउँमा नयाँनयाँ रेष्टुरेन्टमा नयाँनयाँ भेज, ननभेज चाख्तै हिँड्नु उसको आदत बसेको रहेछ । इटहरीको विराटनगर जाने र पश्चिम जाने राजमार्गमा दुई किनारमा यस्ता खालका रेष्टुरेन्टहरू संचालित थिए । त्यहाँ गाउँमा अभावमा तडपिएका सोहसत्र वर्षका केटीहरू वेटरको रूपमा काम गर्दथे । सोझासिधा गाउँका अबोध बालिकाहरूलाई फकाइफुल्याइ पैसा र अन्य कुराको प्रलोभन देखाइ रेष्टुरेन्टका मालिकहरू रेष्टुरेन्ट चलाउँथे । यौन के हो भन्ने कुरा पनि नबुझेका ती बालिकाहरू कोही स्कुल पढ्दा पढ्दै बाबुआमाको आँखा छलेर साथीहरूको लहलहैमा आउने गर्दथे । दुई चार सयको लोभमा परेर अझ कति त एक छाक मासुभात खानको लागि आफ्नो अस्तित्व नै गुमाएर जाने गर्दथे । यौनले उन्मुक्त भएकाहरू उनीहरू लाई कसरी गुडिया नचाएझैँ नचाएर आफ्नो यौन तृप्ति लिन्थे भन्नेकुरा ती रेष्टुरेन्टका छेउछाउका घरवालाबाट मैले सुनेकी थिएँ । अझै पत्रपत्रिकाले यसबारे खुलेर लेख्ने गरेकोले पनि थाहा पाएकी थिएँ । त्यहाँ अश्लील कार्य कसरी गरिन्छ र केटीहरूको यौन शोषण होटल मालिक, एजेन्ट र ग्राहकले कसरी गर्छन भन्ने कुरा जिम्मेवार पत्रिकाहरूले लेख्ने गरेका पनि थिए । एकातिर ती केटीहरू लकीछिपी यो पेशा अपनाउन बाध्य छन् भने अर्कोतिर ती होटल मालिक, एजेन्ट र ग्राहकहरू उनीहरूको विवशता र बाध्यताको भरपुर फाइदा उठाउन कटिबद्ध थिए । उनींहरू अपमानित र घृणित भएर बाँच्नु पर्दा उनीहरूको मानसिकता कस्तो होला भन्ने कुराको विश्लेषण गर्न मन लाग्यो मलाई ।

एकछिनपछि मेरो पात्रले भन्यो– ‘मनसरा

       मेरो कान चनाखो भयो । म छक्क परेँ । उक्त केटी त मेरो तराईकथा पुनर्निणयकथाकी नायिका पात्र मनसरा पो रहिछे । ऊ अहिले यो पेशामा खुलेर लागेकी रहिछे । मैले उसलाई गहिरिएर हेरेँ । पक्कै ऊ मनसरा नै रहिछे । मलाई उसँग धेरैकुरा गर्न मन लाग्यो । मलाई सोध्न मन लाग्यो – ‘मनसरा ! तिमीलाई माया गर्छु भनेर तिम्रो अस्तित्व धनाढ्यको सामु लिलाम गर्ने तिम्रो प्रेमी बुधराम खोई ?’ उसलाई मैले पर्नुर्निणय कथामा यसरी प्रवेश गराएकी थिए“ —.. .....वसन्त ऋतुले उराठलाग्दो बनाएको तराईको परिवेश, खरले छाएका दुईचारवटा झोपडीहरू, सबै झोपडीबाट एकनासले धूवा आइरहेको छ ।

                भर्खरै हुरीबतासले गोधुलि साझसगै बिदा लिएको आभास पाइन्छ त्यहा । घरका आगन वरिपरि छरिएका सुकेका पातहरू नहल्लिदा वातावरण शान्त र स्निग्ध छ भन्ने थाहा हु्न्छ । शहरको चहलपहलभन्दा निकै टाढा त्यस वस्तीमा आधुनिकताको कुनै सङ्केत पाइदैन । जताततै गरिबी बाँचेको पाइन्छ , विवशता र बाध्यता हासेको पाइन्छ । मनसरा भारी पाइला लिएर घरभित्र पस्छे । उसको मन पनि सुकेका पातझैभौतारिएको थियो । अहिले शान्त भएको छ । उसले सोच्तै नसोचेको र कल्पना नै नगरेको कुरा भयो  । आज उसलाई बैसको हुरीले खोक्र्याएको छ, रित्याएको छ । घरभित्र उसका पाइलासगै ठूलो साँझ भित्रिन्छ.........

 

         अनि यसरी अन्त्य गरेकी थिए– .......अचानक एक दिन उसको बाबु अन्तिम स्थितिमा आइपुग्छ । मनसरालाई उसको बाबुले रोग या भुखसे मोरै से त जेन के भी जियैले ठीकभनेको कुरा कानमा गुन्जिरहन्छ । बाबुको असक्त र निसहाय अनुहारले मनसराको सङ्कल्पलाई चुनौती दिइरहेको आभाष हुन्छ । मनसरा बाबुको अगाडि हार खान्छे । आफ्नो सङ्कल्पलाई तोडिदिन्छे  । उसले बाबुको जीवनको अगाडि आफ्नो अस्तित्वको आहुति दिन्छे । आमाको च्यातिएको धोतीले उसको अस्तित्वलाई नङ्गाइराखेको अनुभूति हुन्छ उसलाई । समाजको प्रत्येक व्यक्तिलाई ऊ नाङ्गो देख्छे । ऊ गरिबी र अभावका पर्दा च्यातेर समाजलाई देखाउन चाहन्छे । ऊ नङ्गाउन चाहन्छे समाजका ती वर्गलाई जो सम्पन्नताका पारदर्शी पहिरनमा आफ्नो इज्जत ढाक्न असफल प्रयास गरिरहेका हुन्छन् । ऊ बुधराम भएठाउजान्छे , पुनः उसग विश्वास जोड्न ।

 

       यो कथामा मनसराको कति दारुणीक कथा थियो । लाचार र विवश मनसराले बाच्नको लागि यो पेशा अपनाउनु परेको थियो ।

       मलाई केही बोल्न सकसक लागेको थियो । तर मेरो पात्रको त्यो रोमान्टिक मुड डिस्टर्व होला भनेर मैले केही भन्न सकिनँ । अहिले उनीहरू मच्चीमच्ची हाँस्दै गफ गर्दै थिए । अहिले मेरो हृदय कताकता, इष्याँ, आक्रोश र सहानुभूतिले ढकमक्क भएर भरिएर आयो । अहिले पनि केही बोल्न नसक्ने अवस्थामा थिएँ म । मनसराको त्यो निरीह र विवश आँखामा धेरै कुरा लेखिएको पाएँ मैले । तर मनसरा पहिलाकोभन्दा निकै परिपक्क र वयस्क देखिन्थी । सायद उसलाई यो पेशामा कामले नै परिपक्क बनाइसकेको हुनु पर्दछ । अहिले ऊ थारु लवजमा नेपाली भाषा राम्रोसँग बोल्न सक्ने भइसकेकी रहिछे । उसको बुवाको मृत्युपश्चात बाध्य भएर ऊ यो पेशामा लागेकी थिई । उसबेला कथा लेख्दा मनसराको निकै माया लागेको थियो मलाई । अहिले ऊ पेशेवर भइसकेपछि पनि उप्रति मेरो सहनुभूति पटक्कै घटेको थिएन । अभाव र गरिबीमा बाँचेको उसको जीवनले यो भन्दा बढी पाउने आशा पनि थिएन उसलाई । ऊ सँग जे थियो उसले त्यसकै सदुपयोग गरी । ऊ समाजमा आफूमात्र बाचेकी छैन धेरैलाई बचाएकी छे । समाजले तिरस्कार र घृणितरूपमा हेर्ने यस पेंशाका तमाम पेशेवरको प्रतिनिधि मनसराप्रति मेरो संवेदना मूल फुटेर बग्यो । आज यिनै पेशेवर नारीले समाजलाई यौन सन्तुलन राख्न मद्दत गरेका छन् । यदि यिनीहरूले यौनवाट विक्षिप्त बनेका पुरुषहरूलाई यौनतृप्ति नदिने हो भने समाजमा कति बलात्कार र हिंसाका घटनाहरू घटिसक्थ्यो । विदेशमा यही पेशामा लागेका नारीहरूले समाजमा आवाज उठाएर, अदालतको ढोका ढकढकाएर आफूलाई सम्मानित जीवन बाँच्न सरकारबाट कानून प्राप्त गरेका छन् । उनीहरू पेशामा लागेपनि स्वतन्त्ररूपले बाँच्न पाएका छन् । कतिपय एसियाली मुलुकले आफ्नो अर्थतन्त्रको मेरुदण्ड नै वेश्यावृतिलाई मानेका छन् । तर हाम्रो देशमा मनसराजस्ता पेशामा लागेकाहरू समाजबाट अपमानित र तिरस्कृत मात्र नभई होटल, ग्राहक र एजेन्टबाट पनि ठगिँदै आएका छन् । उनीहरूको आवाज कसले उठाइ दिने ? मनसरा तिमीले उठ्नुपर्छ ! आफ्नो हक अधिकारका लागि लड्नु पर्छ ! तिमीले सम्मानित जीवन बाँच्न पाउनु पर्छ । तिम्रो साथमा छु म । तिम्रा धेरै कथाहरू मैले लेख्नु छ । मेरो घाँटी यिनै कुराले भरिपूर्ण भएर गाँठो अडकिएझैँ भयो   । कहिले ओकलूँ यी कुरा ? मनसरालाई एक्लै पाएँ भने यी सबैकुरा भन्नेछु । तर कहिले ? अहिले ऊ मेरो पात्रसँग सम्पूर्ण पीडा भुलेर वर्तमानमा रमाउन तल्लीन छे । मैले उसलाई गहिरिएर हेरेँ । के मैले भनेका कुरा मनसरा बुझछे ? उसले यस्ता कुरा कसरी लिन्छे ? अशिक्षाको गुँइठाले उसलाई भित्रभित्र जलाइसकेको छ । उसका सोचाइले यी कुराको भार थाम्न सक्ला र ? मनमा अनेकौँ प्रश्नको चाङ थुप्रिदै गयो । यहीबेला मेरो पात्रले मलाई जौभन्ने इशारा ग¥यो । म उसको पछिपछि लागे । मलाई भित्रभित्रै नमीठो लागेर आयो । उसले मलाई किन यहाँ ल्याएको होला ? के देखाउन ल्याएको होला ? मनमा कैयौँ जिज्ञासा उम्रिए । म उसको पछिपछि थिएँ । ऊ मनसराको हात समाउदै हिँड्दै थियो । घरीघरी उनीहरू एकआपसमा टाँस्सिएर हिँड्थे । मलाई लाज लागेर आयो । मैले सोचे साँच्चै यो पात्र सारै बेसोमती रहेछ । मेरो अगाडि यस्तो केटीसँग आफ्नो उच्छङ्खता देखाइरहेछ । मेरा मनमा ऊप्रति पुरै नकरात्मक धारणाले डेरा जमायो । म आफू पनि यसरी आउँदा पछुतो मानिरहेकी थिएँ । उनीहरू गाला जोड्दै, हाँस्दै हिँड्दै थिए । मध्यरातमा सुनसानबाटोले पनि उनीहरूको पक्षमा वकालत गरेझैँ लाग्दथ्यो । म चुपचाप उनीहरूको पछिपछि हिँड्न बाध्य थिएँ । कार्यक्रम भएको ठाउँदेखि होटलसम्म आइपुग्न झण्डै सात मिनेट जति लाग्यो । उसले पहिला नै दुइवटा कोठा बुक गराइसकेको रहेछ । एउटा कोठाको चाबी उसले मलाई दियो । अर्को कोठामा मनसरालाई लिएर ऊ भित्र पस्यो । मलाई अनुमान लगाउन कुनै बेर भएन कि उसले आजको रात मनसरालाई बुक गरेको रहेछ भन्ने  कुरा  । झण्डै रातिको एक बज्न लागिसकेको थियो । मनसरासँग कुरा गर्ने मन थियो तर वातावरण अझै सहज भएन । म आफ्नो कोठामा नयाँ वर्षलाई स्वागत गर्दै नयाँ बिहानीको प्रतीक्षामा निन्द्रादेवीलाई अगाल्न पुगेँ ।

      बिहान चाडैँ उठेर हात मुख धोएर नित्यकर्म सकेँ । अब मैले मेरो पात्रलाई मलाई यहाँ ल्याउनुको रहस्य सोध्नुपर्नेछ र मनसरासँग पनि कुरा गर्नुछयति सोचेर म मेरो पात्रको कोठातिर लागेँ ।  तर अचम्म ! उसको कोठामा त चाबी झुण्डाइएको छ ! मैले मेनेजरसँग सोधपुछ गरेँ । मेरो पात्र र मनसराले एकबिहानै होटेल छोडेको खबर पाएपछि म एकाएक स्तब्धित र अचम्मित बन्न पुगे । अझ बढी अचम्म त उसले होटलको सबै खर्च मैले दिन्छु भनेर हिँडेको रहेछ ।

      कथाकार दिवाकर नेपालीज्यु, म आफ्नै पात्रबाट ठगिएकी थिएँ । उसले मलाई जबरजस्ती ल्याएर अलपत्र पारेर कुनै प्रतिक्रिया पनि नजनाई हिडेको थियो । कहिलेकाहीँ कस्तो अव्यवहारिक पात्र भेटिदो रहेछ । अझ भनू गलाको पासो हुँदा रहेछन् । के गर्ने ? त्यसपछि होटलको सम्पूर्ण बिल चुक्ता गरेँ । मन त्यसै खिन्न भयो । होटलको बाहिरको लबीमा तातो कफी पिउँदै यिनै कुरा सोचिरहेकी थिएँ । मैले अब के कथा लेख्नु ? पात्र र मनसरा नै छैनन् भने । मन त्यसै विचलित जस्तो भयो । केही समय रेष्ट गरेर घर फर्कने मनसायमा थिएँ म । एकछिनपछि एउटा वेटर आएर पत्रसहितको खाम दिएर गयो । पत्र मेरै नाममा थियो । खोलेर हेरेँ । पत्रभित्र लेखिएको थियो

       कथाकार अनमिकाज्यू

       तपार्इँलाई मैले यहाँ यसरी छोडेर हिँड्दा निकै नरमाइलो मान्नु भयो होला । कस्तो फटाहा पात्र रहेछ भन्ने सोच्नु भयो होला । तर यथार्थ कुरा सबै मैले यस पत्रमा खोलेको छु । हो म लाहुरे परिवारको बिग्रेको केटो हुँ । हाम्रो लाहुरे समाजका धेरै छोराहरू साँच्चै बिग्रेका छन् । कतिपय दुव्र्यसनी पनि भएका छन् । हामीले बुवाआमाबाट जुन मार्गदर्शन पाउनु पथ्र्यो  त्यो पाउन सकेनौ । त्यसैले हामीजस्ता धेरै युवाले बाटो बिरायौँ । हाम्रो बारेमा धेरैले यस्तै लेखेका छन् । यसमा हाम्रो कुनै गुनासो छैन । तर हामी भित्र पनि मानवीयता छ, संवेदना छ । मलाई कथा, कविता निकै मन पथ्र्य। अहिले पनि मनपर्छ । एकदिन मैले तपाईको कथा पुननिर्णयभन्ने कथा एउटा लोकल पत्रिकामा पढेँ । म निकै भावुक भएँ । त्यस कथाकी पात्र मनसराप्रति मलाई निकै सहानुभूति जागेर आएको थियो । म पनि रेष्टुरेन्ट जाने गर्दथे । म धनी बाबुको छोरा, धनको उन्मात्त भएर  रेष्टुरेन्ट जान्थे भने गरिब परिवारकी मनसरा भोको पेटको लागि जान्थी । हामीबीच कति ठूलो दुरी थियो । तर पनि हाम्रो उद्देश्य रेस्टुरेन्ट जानु थियो ।  म यो कुराले निकै भावुक भए । एकदिन मनसरा सँग त भेटहोला नि भन्ने लागेको थियो ।

एक दिन एउटा रेष्टुरेन्टमा साथीहरूसँग गएको थिएँ । त्यहाँ एउटी नर्तकी नाच्तै थिई । धेरै युवाहरू उसलाई अश्लील शब्द प्रयोग गर्दै बेलाउँदै थिए । रोमाञ्चक गीतको ताल ऊ अझ उत्तेजित बन्दै नाच्तै थिई ।

        उसको नृत्य सकिएपछि एकजना धनाढ्य जस्तो देखिने अर्धवैश पुरुषले उसलाई जबरजस्ती तानेर लान खोज्यो । यसरी कसैको इच्छा विपरीत काम गर्नु अपराध हो भन्ने मैले ठानेँ । मैले उक्त धनाढ्यलाई उक्त नर्तकीलाई छोड्न अनुरोध गरे । यो शरीरको व्यापार हो इच्छाले हुनुपर्छ जबरजस्ती होइन भनेर उसलाई सम्झाउन खोज्दा उ मसँग निकै कड्कियो । मैले पनि आफ्नो युवा फौलादी जोश देखाइदिए । ऊ हुत्तिएर पर पछारियो अरू आएर हामी दुवैलाई समाएर झगडालाई साम्य पार्न प्रयास गरे । त्यसदिनको कुरा त्यसै सकियो । साथीहरूले मलाई घर ल्याए । भोलिपल्ट म फेरि त्यो रेष्टुरेन्ट पुगेँ। हिजोको झगडामा मुछिएकी केटीसँग मेरो चिनजान भयो । उसँग मेरो गफ भयो । मलाई अचम्म लाग्यो, ऊ मनसरा रहिछे । त्यसपछि उप्रति मेरो मन संवेदनशीलता बढ्दै गयो  । म दैनिक जसो रेष्टुरेन्ट जान थाले ।

       मनसरा र मबीच प्रेम बसिसकेको थियो । मैले मनसरालाई विहेको प्रस्ताव राखेँ । उसले सजिलै स्वीकारी । तर हाम्रो बिहेलाई हाम्रा बुवाआमाले पटक्कै स्वीकार गर्ने छैनन् भन्ने कुरा हामीलाई विश्वास थियो । त्यसपछि हामी भागेर जाने योजना बनाउन थाल्यौँ । पोखरामा भएको मेरो एउटा साथीले मलाई होटलमा मेनेजरको काम दिने बचन पनि दिइसकेको छ । अपरिचित ठाउँमा हामीलाई दाम्पत्य जीवन बाँच्न पनि सजिलो हुनेछ भन्ने सोच्यौँ । तर हाम्रो यो कथा कसैले त पक्कै लेखिदिनुपर्छ भन्ने मैले सोचेँ । किनभने समाजले हामी दुवैको जीवनलाई नकरात्मक सोचाइ राखेका हुन्छन् । त्यसैले हाम्रो कथा लेखिदिन मैले तपाईँलाई जोर जबरजस्ती तानेर यहाँ सम्म ल्याए अनि यति धेरै दुख दिएँ । म क्षमा चाहन्छु मेरो गैरजिम्मेवार कार्यप्रति । तपाईँ मन र धन, दुवैकी धनी हुनुहुन्छ भन्ने सुनेको छु । तसर्थ तपाईँलाई होटलको बिल पनि चुक्ता गराउने बोझ दिएँ । पछि कुनै बेला म फर्काइदिनेछु । तपाईँलाई प्रत्यक्ष मैले मनसरालाई बिहे गरेको देखाउन पनि मैले यो सब गर्नुप¥यो । मलाई माफ गरिदिनुहोला ।

तपाईँलाई प्रत्यक्ष भेटेर यी सब कुरा गरेर जान मन थियो । तर उज्यालो भइसक्ता मेरो घर परिवारबाट मलाई थाहा पाएर लिन आउने सम्भावना भएकोले हामी यहाँबाट राम्रो उज्यालो नभइकन मोटरबाइकमा पोखरा जाँदै छौँ । मसँग पोखरासम्म पुग्ने खर्च छ । सकेसम्म मेरो यो कथा सार्वजनिक गरिदिनु होला । तपाईँले हामीलाई विश्वास गर्नु हुन्न की भनेर मनसराले मलाई प्रतिप्रश्न गरेकी थिई । त्यसैले मैले यहाँ उसको हस्ताक्षरमा केही कुरा लेख्न लगाएको छु

कथाकार अनामिकाज्यू, माथिका सबै कुरा सही हुन् । म तपार्इँकी पात्र मनसरा हुँ । आज मैले सुरेश जस्तो पवित्र र आर्दश हृदय भएको पुरुष पाएकी छु । हामीले सुखदुखमा सँगै मर्ने र सँगै बाँच्ने कसम खाएका छाँ । म धेरै खुसी छु । हाम्रो कथा सार्वजनिक गरिदिनु होला सबै पुरुषले सुरेशलेझैँ समाजमा नयाँ कथा लेखाउन म यही भन्न चाहन्छु र समाजले हामीलाई सम्मानित जीवन बाँच्न प्रेरित गरुन ।

तपाईँका पात्र

सुरेश+ मनसरा

 

पत्र पढिसकेपछि म अन्यमयस्क बनेँ । कुनै ठूलो गहिरो तलाउबाट एकाएक किनारमा आइपुगेँ । एकाएक भुइकुहिराले ढाकेको मेरो मनमा छर्लङ्ग भएर घाम लागेझैँ भयो । मेरो पात्रको नाम सुरेश रहेछ । कथाको विषयवस्तु उसको पत्रले नै छर्र्लङ्ग पारेको थियो । उसप्रतिको मेरो फोहरी धारणा सबै पखालिएर सफा भयो । ऊ कति महान र आदर्श पुरुष रहेछ । उसले मनसराजस्ती केटीलाई आफ्नी जीवनसाथी बनाएर समाजमा नया संदेश दिएको छ । मनसराको उज्वल भविष्यको दह्रो आधारशीला बनेको छ । अनि मनसराले पनि यस्तो घृणित कार्य त्यागी सुरेशलाई सुख दुखमा साथ दिने पवित्र निर्णय गरेकी छ ।

      कथाकार दिवाकर नेपालीज्यू, मैले मेरा दुवै पात्रलाई उनीहरूको पवित्र भावनाको हृदयदेखि नै अभिवादन गरेँ र सफल दाम्पत्य जीवनको लागि शुभकामना पनि दिए  । मैले सोचे यो कथा पक्कै सार्वजनिक हुनै पर्छ किनभने यो कथा समाजमा अनुकरणीय हुनेछ र समाजलाई नयासन्देश पनि दिनेछ । यस्ता पात्रहरूलाई समाजले पक्कै सम्मानित जीवन बाँच्न प्रेरित गर्नेछ । मैले मनमनै उनीहरूलाई यो पनि आश्वसान दिए कि तिमीहरूको आर्दश जीवनको कथा समाजले आवृत्ति गरिरहनेछ प्रिय मनसरा . ..अनि....सुरेश........ ।

sakhada4@yahoo.com

www.shakhadasahitya.blogspot.com

 

Posted Date: 2010/06/19

Comments

Rakesh

Sharmila ji tapaiko lekh sachikai samaya ra paristhiti anukul sacho ra utkrista pani chha.Dhanyabad tapailai bastabma yi bikritiharu jasle hamro samajlai bistarai bistarai ujaddai chha yesko neunikaran garnalai sayad tapaiko lekhle kehi sahayog abashya garne chha.Hope you are doing good job for our socity

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |