हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सर्वनाम युद्ध

कृष्ण प्रसाई, (काठमाण्डौ)


अभाव र ओजले उमारिएका उर्जाहरु  

उस्ताका  

आगो भएर बल्थे अगेनामा -

उनै अगेनामा अन्मिन्थे

आफन्तका ओतहरु

अिन

अगेनामै उनिन्थे  

आगतका अभिलासाहरु ।

अलिपर आगनछेउ उभिएका

आरु अम्बक र अमलाका ऒतहरुले -

अगम्य आगो ओकलिरहेका हुन्थे

जो मेरी आमाको आफ्नै सासका अँशलिएर हुर्किएका थिए ।

 

केही वर्षमै  

हामी मान्छे भन्दा पनि ठूला भएर  

आकासतिर उचालिएका थिए तिनीहरु -

त्यसैबेला मैले देखेको हुँ

पहाडहरुको माझमा

नदी तिर्खा लिएर बग्दथ्यो उधोतिर

सपना वटुलिरहेका थुप्रै कमला मनहरु

चील उड्ने आकासतिर बाटो हेरिरहेका हुन्थे -

चौवन्दीभित्र मायाँ साट्नेहरु

वादलले घुम्टो हालेको हिमाल हेरेर -

अजम्बरी  माया रोपिरहेका हुन्थे

म सोच्दथे -

जन्मदै सगरमाथा जस्तैउचाई लिएर

कतै कोही मान्छे पनि आएन

एउटै उचाइ भएर मान्छे -

सधैभरि बाँच्न पनि सकेन  

जन्मदै मलामी बोकेर जन्मिएको छ मान्छे -

मृत्युको व्यापार

सर्वनाम सत्य छ  

मान्छेको सहरमा ।

चाहेर पनि जान नसकिने  

भन्दैमा गएर आउन पनि नपाइने -

सर्वनाम नियतिसँग

सताब्दी सताब्दी देखि-

निरीह मान्छे

सूर्यलाइ साक्षी राखेर -

सहस्र इमानी समयहरुसँग

सर्वनाम युद्ध

लडिरहेछ !

लडिरहेछ ! !

लडिनै रहेछ ! ! !

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |