हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

मन बाढी हो, बाढी मन हैन

दीपक जडित, (एंकरेज, अलास्का)


मनेकि आमा चिच्याउँदैथिई, 'ए मनेका बा, उठन भन्या । बाख्राको कटेरो त बगाईसक्न ला'गो । हन कति सुत्न सकेका हौ तिमी त?', र छाप्राको यौटा प्वालबाट बाख्राको कटेरोतिर पनि चियाउँदैथिई जो उनिहरुको झुप्रो देखि अलि मुन्तिर दक्षिणतिर थियो । त्यसदेखि दक्षिणतिर पूर्वबाट पश्चिमतिर बगेको जोगीखोला थियो । त्यसो त अरु जस्तै यो खोलापनि उत्तरबाट आएर दक्षिणतिर नै गएको थियो, केवल मनेको घर मुनिमात्र झण्डै तीनसय मीटर जति पूर्व पश्चिम बगेको थियो ।

 

यहि जोगीखोलाको किनारैमा उत्तरपट्टि मनेको बाउले आफ्नो बारीको सबैभन्दा अग्लो थुम्को परेको साँघुरो भागमा बाँसका खाँवाखुट्टी गाढेर सानो चिटिक्क परेको प्राचिन ऋषिमुनिहरुको कुटी जस्तो छाप्रो उभ्याएको थियो ।

 

उसको घरदेखि मुन्तिरको अर्को पाखामा मनेकि आमाले साह्रै कचकच गरेकिले उसले बाख्रा पाल्न मिल्ने सानो कटेरो उभ्याएर त्यसभित्र यौटा टाट्नो पनि गाडेको थियो । त्यहि कटेरो भएको पाखामा मनेकि आमाले स-साना ड्याङहरु बनाएर कसैमा सुठुनी, पीँडालु, कसैमा भिण्डी, घिरौंला, कसैमा तरुल ईत्यादि रोपेकि थिई । त्यसदेखि तल क्रमश होचो हुँदै खोलाकै बगरसम्म तीनचार तह अरु जमिन थियो जहाँ यसपाली आकाशबाट प्रसस्त पानी परेकोले बेलैमा धान रोपेर रहर लाग्दो पारेका थिए उनिहरुले । सालको मुश्किलले पाँच सात मन धान भित्र्याउने उनिहरुले यो साल कम्तिमा पनि बाह्र पन्ध्र मन धान भित्रिने आशा राखेका थिए ।

 

झण्डै दुईहप्ता जति अगाडी करेसोमा सुठुनी रोप्दा मनेकि आमाले उँधो धानबारीतिर आशापूर्ण नजर लगाउँदै भनेकि थिई, 'अब एस्पाली चैं धान काट्ने बेलाँ हाजिराले चारानी सम्मको झुमुक बनाउनु पर्ला ।'

 

सुठुनीका बेला टुक्र्याईदिँदै गरेको मनेको बाउले स्वास्नी तर्फ हेर्दै नहेरी भनेथ्यो, 'त्यसोभए यो ट्याक्रो चैं किन बनाउन ला'कि नि? कि तैं बस्छेस याँ छुट्टेर?' मनेको बाउले बाख्राको कटेरोलाई सम्बोधन गरेकोथियो ट्याक्रो भनेर । त्यहाँ जसरी भएपनि यसपाली हिउँदमा एकमाउ बाख्रा किनेर पाल्छु भनेकि थिई मनेकि आमाले कुनैदिन ।

 

लोग्नेलाई जवाफ दिँदै उसले भनिथि, 'तेसो त तिम्ले पनि गर्देलाउ नि अलि अलि थै'थाप त ।'

 

मनेको बाउ केहि नबोली सुठुनीको बेला टुक्र्याईसकेर रोप्दैगरेको ड्याङ्गमाथी राखिदिएर हिंडेथ्यो । मनेकि आमाले मनमनै सोचिथि, 'नथप्देर त काँ मान्छु र म? कत्ति भो कानमा लाउने रहर गरेको । ब्ये गर्दा नि ईसङ भाग्ने भ'र लाउँन पाईंन । एस्पाली चैं जसरी भए नि लाउँछु ।'

 

तर तीनचार दिनदेखि अविरल भैरहेको वर्षाले उनिहरुको सपना क्रमश जोगीखोलाको भेलसँगै बगाउँदैथियो । उनिहरुको धानबारी आधाउधो त बाढि शुरु हुँदै धाद्रो लागिसकेकोथियो यतिखेर खोला बढेर घरैसम्म आउला जस्तो भैरहेथ्यो ।

 

'ईन्लाई त केई को चिन्ता छैन गाँठे!, ऐले त्यो कटेरो सटेरो बगाउँछ अनि था'पाउँछन् ।' लोग्नेलाई उठाउने प्रयत्नमा लागीरहि मनेकि आमा ।

 

'कति कराउँदिर'छे यो आइमाई । तेत्रो खेत जम्मै धाद्रोले लग्यो, भएन पानीले डुबेको छ त्यो जाबो कटेरो जोगार के गर्नु? त्यो कटेरोले भात ख्वाउने हैन चुपलाग ।' ओच्छ्यानबाटै फतफतायो मनेको बाउ ।

 

'खेत धाद्रोले लग्यो, पानीले डुब्यो भनेर चुपलागीर'नु त? खेत त फेरी आघुँ बिराउँला न, त्यै खोलाको बगर त हो नि त्यो खेत । तर यो कटेरो त जोगाउन सकिन्थ्यो । बिर्ष्यौ यो कटेरो बनाउन बाँस माग्न जाँदा नेउपान्नीले बचन ला'कि ?' मनेकि आमा कराउन पनि छोडिन छाप्राको दुलोबाट बाहिर हेर्न पनि छोडिन । लोग्ने उठ्ला र केहि गर्ला भन्दै निक्कै बेर मुख ताक्दा पनि हल न चल भएर सुतिरहेपछि उसले आफैं निस्केर कटेरोतिर जाने विचार गरी र छाप्रोको ढोका खोली ।

 

लुँडिएर पानीको बाछिटा सहितको एक झट्का स्याँठ घरभित्र पस्यो र मने र मनेको बाउलाई उठायो । पहिलेनै ब्युँझेपनि डरले थरहरी भएर गुँडुल्किरहेको मने उठेर कुनातिर घुस्रियो ।

 

'हैन तँलाई कालले धजो हालेर काँ'लान खोजेको हो राती र हुँदो?' मनेको बाउ उठिसक्दा मनेकि आमा फरिया सुर्केर अलि दह्रोसँग बाँधिवरी बाहिर निस्किसकेकि थिई । बाहिरबाटै बोली उ, 'तिमीलाई भनेको लागेन त । म कटेरामा भ'को एउटा गुन्द्री भा'नि झिक्छु नि अब ।'

 

'तँ धेरै बा'दुरनी हुन नखोज है । ऐले बालुवा खाँद्छ खोलाले अनि था'पाउँछेस् ।' मनेको बाउ स्वास्नीलाई हपार्दै छाप्रोको दैलोमा पुगेर अलिकति खोलेर बाहिर चिहाउन थाल्यो ।

 

घनघोर वर्षाले निष्पट्ट अँध्यारो पारेको थियो बाहिर । उसले अनुमान लगायो रातको त्यस्तै नौ, साँढे नौ बजेको होला । घरिघरि मेघको गड्याङगुडुङ गर्जनसँगै विजुली चम्कँदाको उज्यालोले एकैपल सबै कुराहरु देखिने र फेरी अन्धकारमा सबै लुप्त हुने क्रम चल्दैथियो ।

 

त्यसैगरी झिलिक्क विजुली चम्केको उज्यालोमा मनेको बाउले देख्यो उसकि स्वास्नी कटेरोमा पुगेर घुँडामाथीसम्म पानीमा डुबेर गुन्द्री तान्दैथिई । उसले फेरी हपार्यो, 'हैन तँ किन मुण्टेकि होस् त्याँ? भोलीबिहानसम्म यो घरै नछोडी सुख छैन । फर्की छिट्टो ।'

 

त्यो अन्धकार रातमा मनेकि आमालाई वास्तवमै कालले कुत्कुत्याएर त्याँहा लगेको थियो । आकाश गर्जिदैं दर्किरहेथ्यो । त्यसमाथी जोगीखोलाको गर्जनाले त्यो कालो रातलाई अझ डरलाग्दो बनाएको थियो । काखीमा गुन्द्री च्यापेकि मनेकि आमा कटेरोबाट निस्किँदै गर्दा 'आमा!' भन्दै चिच्याएर पानीमा उत्तानो पल्टिएको पनि मनेको बाउले अर्कोपटक मिलिक्क विजुली चम्कँदा देख्यो ।

 

अँध्यारोमै फेरी उ करायो, 'तँलाई भनेको थेँ नि मैले । उठ् उठ्, उठेर एता आईज ।' तर तेज रफ्तारमा बगिरहेको जोगीखोलाले मनेकि आमालाई उठ्ने मौका नदिई डुबाउँदै उतार्दै अलि तल पुर्याईसकेको हुँदो हो । यता मनेको बाउले भने स्वास्नी बोल्ली, उठेर आउली भनेर निक्कैबेर बाटो हेर्यो । यसबिचमा पनि निक्कैचोटी विजुली चम्कियो । प्रत्येक पटक विजुली चम्किँदाको उज्यालोमा उसले स्वस्नीलाई देख्ने प्रयत्नमा आँखा तिखार्यो । दुईचार पटक उसले स्वास्नीलाई बोलायो पनि तर खोलामा बगिसकेकि मनेकि आमा किन बोल्थि र?

 

विजुली चम्केकै उज्यालोमा कटेरोको छानो बग्दै गरेको देखेपछि भने उसलाई उसकी स्वास्नीलाई खोलाले लगिसक्यो भन्नेमा द्विविधा रहेन । उसको आङ्ग जिरिङ्ग भएर आयो । कुनताको अन्धकार त्यसमाथीपनि झन अन्धकार थपिएझैं भयो उसलाई । उसको आँखामा अँध्यारो जगत फन्फन्ति घुम्न लाग्यो ।

 

अँध्यारो कुनामा चुपचाप परिस्थिती नियाँलीरहेको मने लुसुक्क बाउको छेउमा पुगेर सोध्यो, 'ए बाउ, आमा खै नि?' लगभग उसले पनि अन्दाज लगाईसकेको थियो आमालाई खोलाले बगायो होला भनेर । छोराको प्रश्नले निन्द्राबाट ब्युँझेझैं झसँग भएर मनेको बाउले भन्यो, 'नजा भन्दा मानिन, लग्यो तेरी आमालाई खोलाले । हामीलाई पनि लान्छ आजै राती भागेन भने ।' मने डाँको छोडेर रुँदै आमालाई बोलाउन थाल्यो । मनेको बाउले पनि आफुलाई सम्हाल्न सकेन । दुबै अँध्यारोमा रुँदै चिच्याउँदै गाउँलेलाई गुहार्न थाले ।

 

त्यो निष्पट्ट अन्धकारमा खोला र आकाशको गर्जना चिर्दै उनिहरुको आर्तनाद गाउँसम्म पुगेपछि केहि गाउँलेहरु हातहातमा टर्चलाईट बोकेर आइपुगे मनेको घरसम्म । मनेको बाउले रुँदै आफ्नी स्वास्नी खोलाले बगाएको बिलौना सुनायो । केहि गाउँलेहरु हातमा टर्च लाईट बोकेर जोगीखोलाको किनारै किनार अलि तलसम्म कुदेर गए पनि । छेउछाउका रुखविरुवा, खेत, बाली केहि नभनि सबै सोहोर्दै काल नै बनेर बगेको त्यो भयंकर बाढिमा मनेकि आमा फेलापर्ने त रत्तिभर गुञ्जायस थिएन ।

 

गाउँलेले मने र मनेको बाउलाई बेलैमा घर छोडेको भए स्वास्नी बाँच्ने थिई भन्दै कराउँदै राति नै घर छोडाए । उसका बचेखुचेका झिटिगुन्टा पनि गाउँलेले नै ओसारीदिए । घर छोडेर गाउँमा शरण लिन पुग्नु मनेको बाउको लागी ठुलो कुरा थिएन । उसले जानेदेखि नै यस्तै जिन्दगी भोग्दै आएको हो तर यसपटक मनेकि आमा साथमा नहुनु ठुलो कुरा भएको थियो उसलाई ।

 

भोलीपल्ट बिहान पनि गाउँलेहरु मनेकि आमालाई कतै खोलाले किनारतिर मिल्काएको छ कि भनेर खोज्न निस्के । निक्कै तलसम्म खोज्दापनि मनेकि आमा फेला परिन । मने र मनेको बाउ मणी हराएको सर्पझैं बनेका थिए । यौटा पत्निवियोगमा अर्को मातृ वियोगमा परेर बेसुरा बनेका उनिहरुलाई कसैले कर गरेर केहि खुवाउन समेत सकेनन् । त्यसैदिन गाबिस अध्यक्ष आएर उनलाई सान्तवना दिँदै घरबासको जसरी भएपनि बन्दोवस्त मिलाईदिने वचन दिएर गए । गाबिस अध्यक्षले गाँसबासको चाँजो मिलाईदिने कुरा गरेको बेला मनेको बाउ ग्लानीले फतक्क गलेको थियो । चुनावताका उसले तिनै अध्यक्षलाई विपक्षि उमेद्वारले दिएको दुईचारसयको प्रलोभनमा परेर तथानाम गाली गरेको थियो । भोट माग्न आउँदा उसले तिनलाई आफ्नो आँगनमा टेक्नधरी दिएको थिएन ।

 

त्यसैबेला उसले चुनावमा आफुले सघाएको उमेद्वारलाई भेट्ने अठोट गरेको थियो । गाउँको अध्यक्षमा उनले हारेका भएपनि उसले भोट दिएको उनकै पार्टीका अर्का झन ठुला नेता यसबेला मंत्री बनेका थिए । चुनावताका तिन्ले उसलाई अर्थोक केहि गर्न नसके पनि जितेँ भने सरकारको तर्फबाट बैदेशिक रोजगारीमा पठाईदिन्छु भनेर वचन दिएका थिए ।

 

एकातिर गाउँमा धमाधम जोगीखोलाले बगाएकि मनेकि आमाको खोजी भैरहेथ्यो र कतै फेला परिरहेकि थिइन अर्कातिर मनेको बाउ भित्रभित्रै छट्पटीईरहेको थियो कि सारा गाउँको अघिल्तिर गाली बेईजत गर्दै हुर्मत काढेको अध्यक्षको दयापात्र भएर उसैले जुटाईदिएको गाँसबासमा कसरी बस्नु ? गाउँलेले भोली के भन्लान भन्ने तापले भित्रभित्रै जलेको मनेको बाउ लुरुलुरु तिनै उमेद्वारको घरमा पुग्यो जस्ले सिकाएर उसले हालका अध्यक्षलाई तथानाम भनेको थियो ।

 

बाटोभरी उसले भोलीको सपना देख्दै गयो । यदि उसले चुनावमा सघाएका नेताले उसलाई विदेश पठाउन मद्दत गरेभने उसले पनि गाउँको अरबे बस्नेतले जस्तै खोलाले नलग्ने ठाउँमा खेतबारी किन्नेछ । अझ कतारे साईंलोले जस्तै एकतले पक्काको घर बनाउनेछ । उसको मनेपनि स्कूल पढ्ने हुन्छ । 'जे भएपनि मैले भोट हालेको मान्छे पो हुन् त केहि त पक्कै पनि गर्छन्', दह्रो विश्वास बोकेर पुग्यो उ नेताको घरमा र आफ्नो दुखेसो पोख्यो ।

 

मनेको बाउको कुरा सुनिसकेपछि अध्यक्षमा पराजित नेताले भने, 'अहिले दुख परेका बेला सम्झियौ मलाई ? भोट हाल्ने बेलामा सम्झेनौ, मलाई भोट दिएका भए हार्थें र म? भोट चैं अरुलाई नै हालेर जितायौ । खुब मन्त्रीलाई भन्दिनु पर्ने तिम्रा कुरा । मन्त्री त देशको समस्या पो हेर्छन् तिम्रो घरको समस्या पनि कहिँ मन्त्रीले हेर्छन्? जाउ न तिमीले भोट हालेर जिता'को अध्यक्षकोमा । भोट त उसैलाई हालेका थियौ होला त हैन?' आफ्नो ठानेको नेताको कुरा सुनेर मनेको बाउको मन त्यसैगरी करक्कै भाँचियो जसरी खाडीमा पाकेको तितेपाटा धुँदा किसानले फेद भाँच्छ ।

 

एकछिन अघिसम्म उसले देखेको सपना पनि हुरीबतासले रुखको हाँगो भाँचेझैं भाँचियो । उसको मन उडेर धेरै टाढाको रमाईलो संसारमा पुगेको थियो तर नेताको घरबाट खिस्रिक्क परेर फर्किंदाको यथार्थ साह्रै तितो भयो उसलाई ।

 

उसलाई लाग्यो 'एकैछिनमा कहाँ कहाँ पुग्ने मान्छेको मन त बाढी पो रहेछ !' बाढी सम्झंदा फेरी उ भित्रको बेदना सग्लो भएर आयो । 'मन जसरी बाढी हो बाढी पनि त्यसैगरी मन भैदिए ?' उ सोच्दै गयो, 'बाढी पनि पनि यदि मन हुँदो हो त मन टाढा टाढा पुगेर फर्किएजस्तै अस्ति रातीको बाढी पनि फर्केर आउँथ्यो होला अनि मनेकि आमापनि फर्किन्थि होली । त्यसो भैदिए उसले आफ्नो ठानेको नेताको वचन पनि सुन्नु पर्ने थिएन । आफुले तथानाम भनेको अध्यक्षको दयापात्र पनि बन्नुपर्ने थिएन तर बाढी त मन होइन रहेछ । अब उसकि मनेकि आमा फर्केर आउँदिन आईछे नै भनेपनि लाश बनेर आउनेछे ।' अझ सोच्दै गयो उ, 'मन चैं भने पक्कै बाढी नै रहेछ उर्लिएर जहाँ पुगेपनि क्षणमै फर्केर आफ्नै हालतमा आईपुग्ने । जसरी उसको मन बाढीझैं उर्लेर कहाँ कहाँ पुगेर फेरी तुरुन्तै फर्किंदैथियो उसकै हालतमा । आफुले तथानाम गाली बेईजती गरेको अध्यक्षको दयापात्र बन्न ।'

 

उसलाई त्यतैबाट नौ डाँडा काटेर कसैले नदेख्ने गरी मुग्लान भासिने विचार पनि उठ्यो मनमा तर बाढी घटेपछि कतै बगरमा पुरिएकि उसकि स्वास्नी फेलापरि भने । त्यसको काजक्रिया पनि त उसैले गर्नुपर्छ । उसलाई स्वास्नीको नभेटिएको लाशको मायाले गाउँतिरै डोहोर्याउँदै लग्यो । मनमा भने उसको लागी यो गाउँको मानो सकिएको पक्कपक्की थियो ।

 

***

 

 

झापा, गौरादहबाट

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |