मेरो कविताको कथा
बिकाश बिष्ट, (न्युयोर्क, अमेरिका)
कहिले मिलनका मीठा शव्द बोक्यो कविताले
कहिले बिछोडका तीता भाव बोक्यो कविताले
कहिले दरिद्रका तालुमा नाम्लोको कथा लेख्यो
कहिले ठालुका ठाटको फाँट लगायो
कहिले राष्ट्रप्रेमले भुतुकै बनेर
सिमानामा युद्द गर्न तम्सेको हो कविता
कैयों चोटी बहिराहरुलाई जगाउन
मुर्दा शान्तिले छाएको ठाउँमा मेघझैँ गर्जिएको हो कविता
असहाय निमुखाको सहारा बनेर
कापीका पानामा लेख्दैहिंड्यो कविता
वोलीमा ताला लगाउन खोज्नेसंग
पौठेजोरी खेल्दै लडिरह्यो कविता
कहिले क्रान्तिकालागी आब्हान गर्यो कविताले
कहिले शान्तिका बिगुल फुक्यो उसले
कुर्चीमा आसिन अन्धाहरुलाई
औंलो उठायो आँखा उघार्नलाई
कथै कथाको रचनागर्ने मेरो कविताको
कथा बुझ्ने कोही भेटिएनन यहाँ
बेसहारा मेरो कविता खाली पानामा टासिएकोछ
न उसको शब्द पढ्ने कोही सुरो भेटिएको छ न भाव बुझ्ने भाबुक छ
कहिले पहाडलाई सुनाउन खोज्छ
हुरी आइ स्वर उडाइदिन्छ
कहिले मधेशलाइ पोख्न खोज्छ
तातो हावा बनि उडाइदिन्छ
कानै नसुन्नेले सुन्न खोज्छ बिचरा सुन्नै सक्दैन
कान हुनेलाई सुनाउन खोज्छ उ बहिरो बनि नाटक गर्छ
जे भए पनि कसैले मेरो कविताको कथा नबुझेपनि
मेरो कविता अविरल बग्दछ नदी सरी, रोकिन्न केही गरे पनी
सबै जति बहिराको नाटक गरेपनी
कापीका पाना मेरा कविताका स्रोता अनि कलम साक्षी छदैछ साथी