हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

लेख्नुको मूड

सुषमा मानन्धर, (ललितपुर)

 

त्यसो त कति नै रचनाहरु छापिसकेका हुन् र तैपनि फाट्ट फुट्ट देखिने आफ्ना रचनाहरुमा समेत पनि अल्पविराम देखिएकोले होलाहालै मात्र एकजना शुभचिन्तकले भेट्ने वित्तिकै सोधिहाले "लेख्न छाड्नु भयो कि के हो अचेल पत्रिकातिर देखिनु हुन्न ।"
हिसाब गरें, हुन पनि नयाँनौलो नलेखेको पनि महिनौं भएछ । लेखिएका पुराना रचनाका केही स्टकहरु कतै कुनै पत्रिकाको सम्पादकज्यूहरुकहाँ पालो कुर्दै होलान् । एकदुइ पल्ट वहाँहरुलाई रचनावारे सम्झाएकी पनि हुँ । 'हो आएको छ । हेर्दैछु ।' भन्नेखालको आश्वासन पाउँदै आएकी हुँदा कुनै दिनवहाँहरुले हेर्न छाडेर छाप्नु पनि होला भन्ने सुखद पखाईमा बसेकी छु ।

धेरै नभए पनि औंलामा गन्न सकिने पाठकहरुले मात्र भए पनि मेरा लेखाइको हेक्का राख्दा रहेछन् भन्ने कुराले हर्षित मात्र तुल्याएन अपितु नयाँ लेख्नको लागि उर्जा पनि थपिदियो । शायद धेरै दिनपछि लेख्न खोजेकीले होला लेख्नको लागि गतिलो विषयवस्तु नै भेटिँन । कहाँ कुन कुनावाट कसरी लेख्न थाल्ने निधो नै गर्न सकिँन । पत्रपत्रिकातिर नियमित लेखिरहनु हुने लेखकहरुको क्षमता भाव प्रवाह समय र मूडको सामजस्यता देख्दा आफूलाई लेखकको कोटीभित्र कतै पनि राख्न नसुहाउने पाउँछु । मेरो समय र मूडको क्रनै तालमेल नै मिल्दैन ।

मसँग समय नै फाल्तु नबच्ने हो वा बचेको समयलाई प्रयोग गर्न नजानेकी हुँ यस्तो समयाभावको गुनासो मेरो हमेशा रहेकै हुन्छ । 'नाच्न नजान्ने आँगन टेढो' भन्ने कुरा पनि होला तर 'लेखिनौ' भन्नेहरुलाई मैले प्रायः सवैमा यो गुनासो गरेकै हुन्छु । हुन त अफिसभित्र छिरेर दशदेखि पाँचको समय सीमामा काम, कम्प्युटर र कुराकानीका भारीमुनि आफ्नो व्यक्तिगत अभिरुचिका कुराहरु लेख्नको निमित्त उपयुक्त समय खोज्नु आफ्नो पेशासँग अन्याय हुन्छ या हुँदैन त्यो अर्कै विषय हुनसक्छ । लेख्नको लागि हमेशा समयमात्र भएर पनि पुग्दैन । धेरैपल्ट अनुभव गरेकी छु मूड ननिस्केसम्म मनग्गे समय पाउँदा पनि कलमवाट 'क' पनि लेखिँदैन । यो आश्चर्यजनक सत्य हो शायद अधिकाँशको लागि । मूड र समयवीच शायद पूर्वजन्मदेखि नै वैरभाव रहँदै आएको हो एउटा साथमा हुँदा अर्को ठ्याम्मै देखा पर्दैन । मूड अन हुँदा दिमागमा छताछुल्ल भावहरु भरिएका हुन्छन, कहिले लेखुँ भन्ने हतार हुँदाहुँदै पनि उपयुक्त समय नभेटिँदा ती भावनाहरु बाफिएर पानी सुकेसरि सुक्छन हात लाग्छ भागनास्ति सुन्ना । बाटोबजारमा हिँडिरहँदा र कैलेकाहीँ मिटिङ्ग बसिरहेको समय समेतमा पनि लेख्ने विषय र भावनाहरु धाराप्रवाह उम्लिरहेका हुन्छन् जसलाई शब्दमा उतार्नु त्यो बेला असहज मात्र हैन अनुचित पनि हुन्छ । क्रनैबेला निस्फिक्री समय पाउँदा भने मूड बनिरहेकै हुँदैन ।

कम्प्युटरमा काम गर्दागर्दे दिमागमा एउटा हैन बग्रेल्ती विचार फुर्यो । फुर्ने वित्तिकै तिनलाई कतै नउतारे त्यो एकैछिनमा स्यालको सिङ्ग झैं हराउँछ । मूड बन्दै थियो लेख्न अझ गहिरीएर सोच्दै थिएँ । अफिसकी बहिनी एउटा चिठी लिएर कोठामा आइपुगिन् । बन्नै लागेको मूड बिग्रयो त्यो दिन लेख्न सकिँन । भोलिपल्ट पनि विहानैदेखि लेख्ने जाँगर चलिरहेको थियो । घरमा लेख्नु भनेको त्यस्तै हो । हाम्फालेर अफिस पुगॆं । स्टाफ आइसकेका थिएन,  कापी अगाडि राखेर सोचाइमा तल्लिन भएँ । हिजोकै बहिनी ढोकामा देखा परी "के हो म्याडम अचेल जत्तिबेला पनि तपाईलाई टोलाइ रहेको देख्छु ।" उसले फेरि अन्यथा सोचेर बखान लाउली भनेर उसलाई स्पष्टिकरण दिउन्जेल आफ्नो भने बनिसकेको मूड पनि फेरि उड्यो ।

अफिसमा ढोका खुल्लै राखेर लेख्न नसकिने रहेछ । ढोका बन्द गरे । एकान्त र झयाल वाहिरको हरियाली लेख्नको लागि उपयुक्त वातावरण र समय थियो । सिर्फ मूडै मात्र निकाल्न बाँकी रह्यो । केही फुर्न फुर्न थालेकोथ्यो ढोका ढक्ढकाउँदै दुइतीन जना साथीहरु जुलुस बाँधेर धावा बोल्न आए । 'यस्तो चिसोमा गुफा बसेसरि के धुमधुमती बसिराखेकी जाउँ हिँड चिया खान' उनीहरुले क्यान्टिनतिर उठाईछाडे । म एउटा झकास लेख लेख्न खोज्दैछु भन्दा पनि कसैले पत्याएनन् । आफ्नो अफिसमा बसी लेख्न नसकिने छाँट देखेर लाइब्रेरीतिर लागें । स्टडीरुमको पछिल्लो बेन्चमा बसेर लेख्ने सुरसार गर्न थालें । शिर्षकहरु थुप्रै दिमागमा भुन्भुनाइरहेका थिए । सोच्दा सोच्दै सोचें यही लाइब्रेरीको वारेमा किन नलेख्ने ? थरीथरीका र विभिन्न तहका कर्मचारी आउँछन् । के सवैजना यहाँ लेखपढ कै निमित्त आउँछन् त ? कतै यो गफ गर्ने एउटा राम्रो अखडा त बनिरहेको छैन ? मूड पनि बिस्तारै बन्दै थियो । जोशिएर यही विषयमा लेख्न थालें । दुइचार लाइन छिचोल्न पाएकी थिइँन आफ्नै खल्तीभित्रको मोबाइल घन्कियो । लेख्ने मूडमा लाइबेरी बस्दा मोबाइल साइलेन्टमा राख्नै बिर्सेछु । दुइतीन जोडी आँखाहरु आफूतिर घुर्न थालेपछि मोबाइल समाइ म बाहिरतिर हुर्रिएँ । धेरैदिनपछि साथी अफिसमा भेट्न आएकी रहिछ । आज लेख्ने मूड चलेकै बेला साथीलाई भेट्न आउनु थियो कस्तो संयोग । साथी फर्केपछि तुरुन्तै प्रगति विवरण तयार गरी पठाउनु पर्ने भयो । लेख्नुपर्ने कुराका खाका दिमागभित्र केही बाँकी त थिए तर यताउताको अल्मलमा लेख्ने मूड वीचैमा हरायो । लेख्न बोकेकी कापी टेबुलमाथि आधा अधुरै रह्यो ।

अर्को दिन शनिवार छुटिटको दिन । लेख्ने समय कसो नजुर्ला ! हत्पत विहानको काम सकाई कलम कापी लिएर पारिलो घाममा बसें । अघिल्ला दिन थालेकी कुनै पनि विषयमा सिलसिला जोड्न नसकेपछि नौलो विषय सोच्न थालें । कुनै कथा कविता लेख केही न केही त लेख्नु नै थियो मलाई । निलो आकाश हेरें एक टुक्रै बादल थिएन । यताउता हेरें छेउमा परेवाहरु गुटगुट गर्दैथिए । हेरिरहें तर दिमागमा केही सोच नै आएन । सोचें शायद रेडियो सुनेमा कुनै आइडिया आइहाल्छ कि ? घाममा बसेर मीठा गानाहरु सुन्दै थिएँ, झपक्क निद्रा लागेछ । ब्युँझदा घडी हेरें, एकघण्टा त मजाले निदाएछु । यस्तो पाराले लेखिएला जस्तो लागेन चिया खाएँ । त्यसपछि भएभरका आफ्ना पुराना अधकल्चा रचनाहरु निकालें । कुनैको फेद कुनैको टुप्पो मिलाएर नयाँ रचना बनाउन पनि खोजें तर गतिलो लेख्ने खालको मूडको भने नामनिसाना नै भेटिँन । सुनेकी थिएँ फूलपातमा गोडमेल गर्दा मूड बन्दछ, सानो कुटो लिएर भएका सवै गमलाहरु गोडिसकें । मूड बनेन, थाकें र भोक पनि लाग्यो ।

लेख्नको लागि रातको समय पनि कम्ती रोम्यान्टिक हुन्छ र चिसो रातताराहरुको माझमा लेख्नलाई थप मूड खोजिरहनु नै नपर्ला । राती खानापछि बरन्डामा निस्किएँ । ताराहरु थिए, जून थियो र चकमन्न रात । सिर्फ थिएन त लेख्न घच्घच्याउने मूड । यता तान्दा, उता तान्दा पनि मूड तान्नै सकिरहेकी थिइँन । हाई हाई आयो, बरु मूड आएन । लेख्नकै लागि मूड बनाउन शनिवारको धेरै काम मैले थाती राखेकी थिएँ समय उबारेकी थिएँ । साँच्ची भन्ने हो भने यो सिँगो शनिवार मैले फुर्सदै फुर्सदमा डुबाएकी थिएँ । शायद म फुर्सदमा देखेर हो मेरो मूड अगाडि आउन अन्कनाएको । बरन्डामा उभिँदा उभिँदा अल्छी लाग्दै निद्रा पनि लाग्न थाल्यो । जाडोले थर्रर काम्न थालेकीले कोठामा सिरकभित्र घुस्रीएँ । हातगोडा चिसा हुन थालेका थिए । यो जाडोमा चिसोले आफै जमिसक्दा पनि मेरो लेख्ने मूड भने अझै जमिसकेको थिएन । पानाहरु रित्तै थिए खै के पो लेख्ने हो?

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |