हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

सांकृत्यायन दम्पती तथा महाकवि देवकोटा

अलका आत्रेय चूडाल, (भियना विश्वविद्यालय, अष्ट्रिया)



यस वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी मनाउँदा देवकोटालाई स-सम्मान नेपाल बाहिरको भूमिमा चिनाउने र कविको उत्कृष्ट मध्येको एक "पागल" कविता लेख्ने  वातावरणमा कारक बनेका महापण्डित राहुल सांकृत्यायनकी धर्मपत्नी कमला परियार सांकृत्यायनको निधनको खबर विश्वका दक्षिण एशियाली अध्ययनमा समर्पित विद्वान् -हरूलाई स्तब्ध बनाउने गरी फैलियो । कमला सांकृत्यायन (सन् १९२०-२००९) राहुल सांकृत्यायनकी धर्मपत्नी मात्र नभएर आफ्नो अलग अस्तित्व बनाउन सफल एक महिला हुन् । धेरै जसो त ठूला रूखहरूको ओसमा परेर साना बिरुवाहरू तन्किन र मौलाउन पाउँदैनन् तर कमला सांकृत्यायन राहुल सांकृत्यायनरूपी महावृक्षको छेउमा एउटा अलग चौतारो बन्न सफल भइन् ।

 

सन् २००७ को दिसम्बर महिनाको ठिहिर्याउँदो जाडोमा दमकी रोगी डा. कमला सांकृत्यायन रोगलाई चुनैती दिँदै आफ्ना पतिको बारेमा आयोजित दुई दिने कार्यशालामा भाग लिन भियना आएको बेला मैले पनि उनलाई नजीकबाट चिन्ने अवसर पाएँ । उनको कार्यपत्र कति भावुक थियो र त्यसले त्यहाँ उपस्थित श्रोतालाई समेत कति भावविभोर बनायो ! त्यो दृश्य अचम्म थियो । पतिको मृत्युको चौवालीस बर्स पछि पनि उनको सम्झनामा भक्कानिनु, आफ्नो सम्पूर्ण बौद्धिक उन्नतिको श्रेय उनैलाई दिनु, उनका स्मृतिमा आफै लेखेका पङ्तिहरू पनि पढ्न नसक्नु ! यो भावुक दृष्य मजस्ता धेरैका हृदयमा आँसुले भिजेर लपक्क टाँस्सिए ।

 

दार्जिलिङ्को कालेबुङ्-मा परियार परिवारमा जन्मिएकी कमलाको जीवन बाल्यकाल, युवावस्था र वृद्धावस्था सँधै सङ्घर्षमय नै रह्यो । सिलाइ-बुनाइको पुर्ख्यौली पेशालाई छोडेर किशोरावस्थामै टाइपिष्टको पेशा अँगाल्नु उनको जीवनको पहिलो विद्रोह थियो । यसै विद्रोहले उनलाई कालेबुङ्-को गल्लीमा बिलाउनबाट जोगाएर विश्वमा आदरका साथ सम्झनयोग्य डा. कमला सांकृत्यायन बनायो ।

 

महिलाको जीवन दक्षिण एशियाको परिप्रेक्षमा पुरुषको तुलनामा अझै पनि बढी संघर्षपूर्ण छ भन्ने कुरा नकार्न सकिन्न । आज पनि आत्मोन्नति चाहने महिलाले बडो सावधानीपूर्वक पाइला चाल्नुपरेको छ समाज र परिवारको चाहनाको भेलमा आफूस्वयंको रहरलाई डुब्नबाट बचाउन ।    हामी सहजै अनुमान गर्न सक्छौं, आज भन्दा उनान्साठी बर्स अगाडिको (सन्- १९५०) त्यो अवस्था कति कहालीलाग्दो थियो होला जब कमला परियारले राहुल सांकृत्यायनसँग विवाह बन्धनमा बाँधिएर जीवनको नयाँ अध्यायको शुरुवात गरिन् ।

 

 

हाम्रो पुरुषप्रधान समाजले महिलाका कुनै पनि उन्नतिमा सहजै विश्वास गर्न सक्दैन । लेखन जगतमा त झन् यो व्यापक छ । कति महिला लेखिकाहरूको लेखनलाई पुरुष-लेखनीको उपज बताउन रुचाउने हाम्रो समाज यहीँ छ । यो सरुवा रोग भारतमा पनि फैलिएको थियो र कमलाका शुरुवाती कथा र लेखहरू उनका श्रीमान्-ले लेखिदिएको भन्ने आक्षेप पनि लगाइए । तर कमलाले यस आक्षेपलाई पतिको निधनपछि पनि साहित्य साधनामा निरन्तरता दिएर झूटो साबित गरिन् । पतिको जीवनकालमै तुलसीदास र भानुभक्तको रामायणको तुलनात्मक अध्ययन गरेर विद्यावारिधि उपाधि हासिल गरेकी कमलाले त्यसपछि पनि नेपाली समालोचनात्मक कृति "विचार र विवेचना" (१९८१), नेपाली साहित्य (१९८६), लगायत अनूदित र मौलिक गरी चौध पुस्तकहरू लेखेकी छिन् ।

 

आदिकवि भानुभक्तको विषयमा अध्ययन गरेकी र महाकवि देवकोटासँग साक्षात्कार गरेकी कमला सांकृत्यायनले उनका बारेमा "रूपरेखा" "भानु" "सुस्केरा" र "गोरखापत्र" मा समेत धेरै लेखहरू प्रकाशित गरेकी छिन् । देवकोटाको साँचो मूल्याङ्कन हुन नसकेकोमा दुःख व्यक्त गर्ने प्रवासी नेपाली कमला, विद्वान् पतिसँगको सान्निध्यपूर्व नै साहित्यिक क्षेत्रमा झुकाउ भएकी हुन् भन्ने कुराको प्रमाण उनको भानुमा[1] प्रकाशित लेखबाट स्पष्ट हुन्छ जब उनी (पच्चीस बर्सको उमेरमा) देवकोटाको दर्शनार्थ सन् १९४५ मा कालिम्पोङ्-को भीडलाई चिर्दै पुगेकी थिइन् । त्यसबेला घुम्रिएको बाक्लो लामो कपाल,  बाक्लो दाह्री र सौम्य आकृतिसहित लामो कालो कोटमा सजिएका महाकवि देवकोटाले सुनाएको सिलिगढी देखि कालोम्पोङ्-सम्मको पद्यमय यात्रा वर्णनबाट उनी धेरै प्रभावित भएकी थिइन् । त्यसपछि पतिसँगको नेपाल यात्रामा सन् १९५३को नेपाल भ्रमणका बेला चुरोटको सर्को तान्दै आफ्नै दैलो अगाडि उभिएका महाकविलाई उनले चिन्न सकिनन् जो त्यसबेला कपाल काटेको र दाह्री खौरिएको भेषमा थिए तर लामो कालो कोट भने उस्तै थियो । कविता लेख्न्नु बौलट्ठीको संकेत मान्ने समाजले देवकोटाको उचित सम्मान गर्न नसकेकोमा र उनका अमूल्य रचना च्यातिएर वा अपहेलित भएर माट्टिएको घटनाबाट दुःखित हुने कमलाले प्रवासमा बसेर भए पनि आफ्नो प्रिय नेपाली साहित्यको सेवा विवेचनात्मक तथा अनूदित पुस्तकहरू लेखेर गरिन् ।

 

 

देवकोटाबाट प्रभावित तथा भानुभक्तको रामायण छिचोलेकी कमलाले भने कहिल्यै कविता रचना गरिनन् । जयवागेश्वरीको पुस्तकालयमा देवकोटाकै सभापतित्वमा आयोजित साहित्य सम्मेलनमा एक्कासि देवकोटाले कविता-वाचनका लागि उनको नाम बोलाइदिएकोमा लाजले गोष्ठीबाट दौडेर अलिपर रहेको मोटरमा लुक्न गएको प्रसङ्ग पनि कमलाको जीवनको रोमाञ्चक घटना हो । यस घटनाबाट देवकोटालाई रमाइलो, ख्याल-ठट्टा गर्ने लेखकको रूपमा कमलाले अझ राम्रोसँग चिन्न पाइन् । कहिल्यै कविता नलेखेकी उनलाई महाकविले त्यसरी "रसिलो बोलीमा कविता वाचनका लागि" एक्कासि मञ्चमा बोलाइदिंदा उनी लाजले भुतुक्क भइन् । तर हुनसक्छ देवकोटाले यो जानी-जानी गरेका हुनन् किनभने कमलाको स्वर साह्रै मीठो थियो र उनी आफ्नो सुमधुर स्वरमा कहिले काहिँ नेपाली गीत गाउँथिन् उनका पतिले उनको स्वरको प्रशंसा आफ्नो जीवन वृत्तान्तमा पनि गरेका छन् ।

 

नेपाली भूमिमा नबसे पनि र नेपाली समाजबाट टाढा रहे पनि कमला सांकृत्यायनले आफ्ना छोराछोरीलाई नेपाली सिकाइन्, र आफूलाई आजीवन भारतीय भन्दा नेपाली भनाउन रुचाइन् । नेपालीभाषी भेट्नासाथ नेपालीमा नै बोल्न रुचाउने कमला सांकृत्यायन राहुल सांकृत्यायनकी कान्छी वा तेस्री श्रीमती भए पनि उनको भूमिका र उनले पतिका प्रति गरेको जीवनकाल र जीवनोपरान्तको योगदानको तेजमा राहुल सांकृत्यायनका अन्य पत्नीहरू निस्तेज र यथार्थमै नाममात्रका पत्नी भएका छन् । दुई बर्सको स्मृतिहीनताको दशामा पतिको सेवा, जीवनकालमा मधुमेहका रोगी र निरन्तर लेखनमा लागिरहने पतिका सम्पूर्ण आवश्यकता पूरा गर्दै कुशल गृहिणीको भूमिका निर्वाह गरेर कमला सांकृत्ययनले आफ्ना विद्वान् पतिलाई मात्र नभएर सारा विद्वत्-समाजलाई नै तिरिनसक्ने गुन लगाएकी छिन् । पहिला र अहिले पनि केही साम्यवादीहरू राहुलकी रूसी पत्नीको प्रशंसा गर्दै कमलाको अस्तित्वलाई बेवास्ता गर्ने प्रयास गर्छन् र तिनलाई राहुलको लेखन र सिर्जनशिलताको बाधक तत्वको रूपमा पनि उभ्याउन पछि पर्दैनन्; तर यो तिनको ठूलो भूल हो । कमलालाई नजीकबाट चिन्ने जो कोहीले पनि यस्तो मिथ्या आरोप पत्याउँदैन ।

 

कमला सांकृत्यायनको जीवनी र उनका संघर्षका आत्मसंस्मरणहरू लेखी सकिएका छैनन्  तर उनका जीवनको पूर्वार्धको अनुमान उनका पतिको उनी आफैद्वारा सम्पादित जीवनीबाट सहजै लगाउन सकिन्छ जसको अन्तिम खण्ड उनी आफैले लेखेकी छिन् राहुलको दुई बर्सको अचेत अवस्थाको दिनचर्याको वर्णन गर्दै । उनले लेखकीयमा लेखेकी छिन्- " मेरो यो अंश लेख्नुको उद्देश्य पण्डितजीलाई माया गर्ने र उनको जीवनको अन्त कसरी भयो भन्ने जिज्ञासा राख्ने पाठकको जिज्ञासा मेटाउनु हो ।" राहुल सांकृत्यायनको जीवन-कथामात्र होइन उनले राहुल सांकृत्यायनको वास्तविक जीवन पनि उजिल्याएकी छिन् र त्यसलाई पूर्णता प्रदान गरेकी छिन् । हुन सक्छ उनको सान्निध्य न पाएको भए राहुलको जीवनको अन्तिम समय अझ कष्टकर हुने थियो ।  जीवनको उत्तरार्धमा नै राहुलले आफ्नो धेरै जसो समय रचनामा खर्चेका छन् ।

 

एउटा पतिव्रता महिलामा हुने सम्पूर्ण गुण भएकी हाम्रो समाजका सम्पूर्ण महिलाहरुका लागि  संघर्षको  आदर्श बनेकी कमला अब हामी माझ रहिनन् । उनी उनासी वर्षको  उमेरमा बाउन्न वर्षको  कष्टमय वैधव्य जीवन बिताएर गत २०६६ कार्तिक नौ गते आफ्नै जन्मभूमि दार्जिलिङ् तर कर्मगृह राहुल निवासमा थकित पार्थिव शरीरबाट बिदा भइन् । देवकोटा आफ्नो पीर बिर्सन आफैले उडाएको चुरोटको धुँवामा हराएजस्तै कमला पनि आफ्नै शरीरको धुँवामा आकाशमार्गमा विलीन भइन् । यदि यो जीवनपछि पनि पुग्ने कुनै अर्को थलो छ भने अवश्य त्यहाँ कमलाको सुखद भेट उनका प्रिय पति महापण्डित राहुल र महाकवि देवकोटासँग भयो होला; तर म भने यहीँबाट ती तीन महान् आत्माको तस्वीर सम्झदैँ ती तीनैलाई हार्दिक श्रध्दान्जलि अर्पण गर्दछु ।

 



[1] भानु त्रैमासिक, सम्पा. भवानीप्रसाद घिमिरे, वर्ष ५, किरण १२

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |