मलाई परदेशले छोडेको छैन
नगेन्द्र ईङनाम "आठराईली”, (न्यृ योर्क)
मेरो शुभ यात्राको कामना गर्दै
आफ्नो गहभित्रै आँसु लुकाएर
रुन्चे स्वरमा बिदा गर्ने
मेरी दू:खी आमा
अनि रोगी बुढा बाको
आशिर्वाद र न्यानो मायाँलाई
मेरो छाँतिभित्र सुटुक्क लुकाई
बषौं अघिदेखि परदेशिएर
सबैसँग टाढिई एक्लै बाँचेको छु म
भन्छन,
मेरी आमा सुन्न र देख्न सक्तिनन रे
मेरो बालाई आफ्नो होसले छोडि सक्यो रे
तर मलाई यो परदेशले छोडेको छैन
गाउँघरमा मेलाहाट लाग्न छोडे रे
घाटू र धान नाचहरु लोप हुंदै छन रे
पालाम र सोरठीका स्वरहरु गुन्जंदैनन् रे
छोडेको थिएँ सोल्टिनीहरुलाई
चिठी पत्रमा भेट्दै गरौंला भनी
ती क्षणहरु युगमा बदलि सके
महीना दिन र सालहरु गनी
भन्छन,
जेठी, माईली र साईंली हुंदै
मेरी कान्छी सोल्टिनीले पनि
आफ्नो घरबार जोडि सकिन रे
तर मलाई यो परदेशले छोडेको छैन
चुहुने घरको छानोलाई टिनको फेर्ने
मेरी बुढी आमाको त्यो रहर
अनि पुरानो एक तले घरलाई
दुई तलाको उचो बनाउने
मेरो बुढा बाको सपनालाई
पुरा गरिदिने अठोट लिएर
वर्षौं अघिदेखि आफ्नो देश छोडी
जीवनको शून्यताभित्र बाँच्दैछु म परदेशमा
भन्छन,
एकबेलामा त
वाद्हरुको रापले गाउँ वस्ति खाक् बने रे
देशमा शिशु प्रजातन्त्र गलहत्तिएको थियो रे
मानवाधिकारको घाटी निमोठिईएको थियो रे
त्यसैले प्रजातन्त्र र मानव अधिकारको रक्षार्थ
फेरि गणतन्त्रको लडाईं लडेर
आफ्ना शहीद अग्रजहरुको बिडो थाम्दै
नव जवानहरु पनि शहीद बनि सके रे
मलाई भने यो पापी परदेशले छोडेको छैन
Comments
Nagendra Ingnam "Atharaili"
Ashis ji, Thank you for your comment. Just sharing thoughts of the nostalgia, how we are suffering in abroad leaving away own country, society, friends &; family.
Ashis Maharjan
Nice poem it can touch by family, age & situation of Country in Nepal keep it up.
I wish to read your poem always becauae you write simply best.
-Ashish