हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बाबु हुनुको मूल्य

बासु श्रेष्ठ, (भर्जिनिया)

बिहे गरेको ५-७ वर्ष भईसक्दा पनि बाबु नभएकोमा आफुलाई भन्दा आफन्तहरुलाई पीर पर्दों रहेछ भन्ने कुरा तपाईंहरुले बुझ्नु भएको छ कि छैन कुन्नी तर मैले भने बुझेको छु । नाती- नातीनी हेर्ने रहर मेरो बा आमालाई त भयो भयो । त्यसको साथै मेरा अभिन्न मित्रहरु लगायत मावली देखी ससुराली, गाउँको उकाली देखी ओरालीका छिमेकहरुसम्मलाई म बाबु नबनेकोमा उदेक मानेको देखेर म आफैं उदेक भई सकें । तपाई भन्नु होला "तँ त भाग्यमानी रहेछस् । यत्तिका शुभचिन्तकहरु भएकोमा पनि उदेक मान्छन् र ?"  तर यो शुभचिन्तकहरुको मन राखी बाबु बनेपछि कसरी बाबुको बिहे देखिंदो रहेछ भन्ने कुरा चाहिं शायद मैलेमात्र बुझेको छुं ।  
  
जे होस उपरोक्त शुभचिन्तक मित्रहरुलगायत मावली र ससुरालीहरुका साथै अझ सबैभन्दा बढी माता पिताको ईक्षा पुरा गरीदिने धोको मनमा जाग्यो । त्यसमाथी उमेरमा कान्छो, बिहे गराईमा कान्छोहरुपनि पटापट बाबु बनेको देखेर आफुमा अलिकति इर्ष्या अलिकति ईख र अलिकति भुकुल्ले ढुनुमुनु काखमा खेलाउने रहर जाग्यो । यी बिहे गराईमा र उमेरका कान्छाहरु तिनका स्याउला काखमा खेलाउंदै मतिर हेरेर ङिच्च हांस्दा मेरो पुरुषार्थलाई चुनौती दिए झैं पनि लाग्न थाल्यो । त्यसउसले मपनि बाबु बन्ने निधो गरें । श्रीमतिसंग छलफल गरेपछि कहाँ कसलाई कहिले जचाउन जाने कि फुकाउन जाने निधो गरियो ।   
  
काकताली भनौं या के भनौं नभन्दै श्रीमति त केही महिनापछि दुई जीउकी भईन् । गन्हाउनेदेखि वान्तागर्नेसम्मको रोग तिनैलाई लाग्यो । घर टोल, छर छिमेकी, मावली, ससुराली, चौध अंचल, पचहत्तर जिल्ला चारैतिर आगो फैलिए सरी यो समाचार फैलियो । कसैले 'मोज गर' भने कसैले 'बधाई छ' भने त कोही 'भोज ख्वा' भन्दै पछि लागे । मुसुक्क हांस्दै बधाई स्विकार्दै हिंडेँ । तर बाबुहुने दिन जतिजति नजिकिँदै गयो उति उति आफ्नो दुख बढ्दै गएको आफुले महशुस गर्न थालें ।  
  
दुई जीउकी भएपछि धेरै चलहल नगर्नु आराम बढी गर्नुपर्छ भन्ने सर सल्लाह दिने डाक्टरहरु धेरै निस्किए । त्यसै मुताबिक श्रीमतिको राज बढ्यो । अब उनी बसी बसी खाने र आराम गर्ने भईन् भने बिहान बेलुकाको चुल्हो चौका मैले नै गर्नु पर्ने भयो । चिसो दाउरा चुल्होमा ठोस्दा पतपत निस्किने धुंवाले आफुलाई राले र सिंगाने बनायो । जागीर, किनमेल, भात भान्छा गरी राती ओछ्यानमा डंग्रगं पल्टिंदा पो कति स्वादले खाईमात लागेको रहेछ मलाई भन्ने थाहा हुन थाल्यो । जागीर खाई, घर आई बुढीले ठिक्क पारेर राखेको भात खाई, मीठो नभए श्रीमति उपर आंखा तराई , अझ बेलुका खुट्टा मिचाई, सब हरण भयो । बाबु बनू भन्नेहरुको सल्लाह अब अभिशाप लाग्न थाल्यो । यिनका कुरा किन सुनेछुं नि भनी आफैंलाई सरापें । शायद यिनीहरुले आफुले खाएको गोता मैले पनि खाओस् भनि उचालेका रहेछन् क्यारे !
  
अहिले नै त यो गति पछि झन् के गति हुने हो भन्ने आतङ्कले आँङ जिरिंङ्ग भयो । तर पनि मनमा अरुप्रति जागेको ईष्र्याले भने 'हिंड  बाबु, हिंड  बाबु बन्न' भनी घचेटि पनि रहेको हुन्थ्यो । दिन पर दिन श्रीमति भकुण्डो जस्तो देखिन थालिन् । उसै त भण्टाको बोटमा झटारो हान्ने खाले तिनी त्यसमाथी यो दोजियाले झन बाउन्ने देखिन थालिन् । उपरी माथि थुपरी भने झैं तिनको एइया र आत्थाको नखराले मेरो झन् होस् हरायो । होस् हराएको डरले होईन कि रीसले । एक त आफ्नो सुख चयन लुटियो त्यसका साथै बचत पनि लुटियो । अनि श्रीमतिको स्याहार सुसारमा आफ्नो मोज लुटियो । कहिले श्रीमति सुत्करी होलिन् र ससुराली धपाउं भन्ने आतुरले सताउन थाल्यो ।   
  
बल्ल बल्ल श्रीमतिको महिना पुगेछ क्या रे आधा रातमा पेट मुसार्दै पानी विनाको माछा झैं एक कुनाबाट अर्को कुना गर्न थालिन् । डाक्टरले भनेको सम्झें र दिन गनेको त अस्पताल लानुपर्ने बेला भएछ । हतार हतार पीडाको कांडा मार्न अरुले भने बमोजिम काँडा बनाएर खान दिएँ र ट्याक्सी लिन दगुरें । जांदा जादै पल्लो कोठाको भाउजुलाई हेर्दै गर्नु भनि बाहिरिएं । झण्डै एक डेढ घण्टा ट्याक्सी कुर्दा कुर्दा आतुरले आफैंलाइ ब्यथा लागे जस्तो भईसकेछ । उता श्रीमतिको अर्कै ब्यथा, यता आफ्नो अर्कै ब्यथा ।   
  
एक डेढ घण्टाको कुराई पछि बल्लबल्ल एउटा ट्याक्सी भगवान सरी आईपुग्यो । रोकेर समस्या सुनाएं । 'अस्पतालबाट खाली फर्कनु पर्छ ,सुत्केरीको मामला डबल नदिए नि डेढी त लिन्छु' भन्न थाल्यो । श्रीमान श्रीमतिलाई फरक फरक ब्यथा लागेको बेलामा कताको डेढी कताको डबल 'जाउँ' भनें र बसें । एकै सासमा भाउजुलाई ट्याक्सी आई पुगेको भनें तर भित्रबाट 'अब पर्दैन' भन्ने सुनियो । के भो भन्ने प्रश्नको उत्तरमा छोरा भो भन्ने सुनियो । मन खुशीले बुरुक्क उफ्रियो।   
  
खास्सै त सुत्केरी स्याहार्ने भनेको अब  पो रहेछ । घिउचाकु र भात अनि ज्वानोको झोल दिनको चार पटक पकाएर खुवाउनु पर्ने रहेछ । सुत्केरी स्याहार्ने विदा नपाउने भएकोले बेतलवी विदा भए पनि लिएर श्रीमति स्याहार्न थालें । दिनको चार पटक भान्छामा टुपी ठाडो पार्नुपर्दा सांच्चै नै ताईं देखियो । न्वारनसम्म जसोतसो श्रीमति स्याहारे पछि उनी माईत गईन । त्यसपछिमात्र टाउकोबाट पहाड झिके जस्तो महशुस भयो । अब फेरी बाबु नबन्ने भन्ने मनमनै मैले निधो गरें भने श्रीमतिपनि प्रशव पीड़ा सम्झेर अब आमा नबन्ने भन्दै आँखा तर्दै मलाई गाली गर्दै थिईन् ।   
  
तपाईले यस्तो भोगाई भोग्नु भएको छैन भने तपाईं भाग्यमानी हुनुहुंदो रहेछ । यदि भोग्नु भएको रहेछ र बिर्सनु भएको रहेछ भने एक पटक फेरी बावु बनी हेर्नु होला । हुन त तपाईंको श्रीमति मेरो श्रीमति जस्तै नखरा पार्ने छैनन् होला । यदि पार्ने रहिछन् भने मलाई खुसुक्क भन्नु होला है ?  
  
 

Comments

Sulav Bastola

lekh nikai ramro ra ramailo chha..tara yo babu bhayeko pahilo phase ho...janmeko 
santan hurkau da ko anubhav pani arko lekhma padna paiyos...

Basuji,<br /> Haina, kasko anubhav ho yo? Aafnai ki aru ko ki wa matra dimagko sirjana? Je hos lekh bado ramro chha. Very funny!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |