हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

हम्मे पर्ला !

कमल दीक्षित, (ललितपुर)


 
सन् २००५मा 'लिङ्ग्विष्टिक सोसाइटी अफ नेपाल' भन्ने संस्थाले नमेम्बर २६-२७मा एउटा केहीको सेमिनार गरेको रहेछ र म पनि त्यसमा सहभागी भएको रहेछु। त्यहाँ के कसो भयो, के के कल्ले कल्ले बोल्यो मलाई कुनै सम्झना छैन। तर त्यस 'कन्फरेन्स'मा टिप्पणी लेख्न बाँडिएको एउटा नोट-प्याड कसरी हो मेरो डेस्कमा अझ बसीराखेको रहेछ । कतै केही लेखिएको रै'नछ त्यसभित्र पनि । भाषाशास्त्रमा आफ्नो कुनै गति नभएर होला मैले केही टिप्नै परेनछ भन्ठानूं । म यस्तो मान्छेलाई त्यस सभामा किन आमन्त्रित गरियो होला, म ऐले पनि अचम्म मान्दैछु, यो टिपोट कापी अकस्मात हात परेपछि ।
 

मदन पुरस्कार गुठी र पुस्तकालयसंग जोडिएको नाताले म यस्ता सभा सेमिनारमा बोलाइन्छु यदाकदा । तर गुठी या पुस्तकालयको अध्यक्ष हुनु एउटा संयोग हो । त्यहाँ सम्म पुग्नलाई विद्वान् या विशेषज्ञ हुनु जरूरी छैन । त्यसैले विद्वत्ता नबखानीकन  एक दुई ओटा कुरा उठाऊँ कि भन्दै छु ऐले म भाषाकै विषयमा ।
 

गएको मे-जुनमा दुई दिनलाई म वाशिङटन डीसी सम्म पुगेको थिएँ । त्यहाँ 'खसखस' डटकम'का वासु श्रेष्ठले मसंग एउटा अन्तर्वार्ता लिनुभएको थियो । त्यसमा मेरो आफ्नै विषयमा धेरै कुरा भएपछि उहाले अलिकति प्रश्न ऐले नेपालमा चलिराखेको भाषा-विषयक खिचलोका बारेमा पनि राख्नु भएको थियो । मैले भनेको थिएँ- नेपाली भाषाले ऐले देशमा जे काम गरिराखेको छ त्यसको हामी सबैले प्रशंसा गर्नुपर्छ । त्यसको व्याख्या गर्न आग्रह गर्नु भएथ्यो वासुजीले । अनि मैले त्यस विषयमा दुईचार वाक्य-व्यय गर्नु परेको सम्झन्छु । शायद त्यसबेला मैले आफ्नो आसय स्पष्ट पार्न सकेको थिइन । त्यो ऐले गरूँ कि भन्दैछु ।
 

नेपालमा नेपाली भाषाको प्रचलन गराउने शाह राजाहरू होइनन् । मल्लकालमै जयप्रताप मल्लको रानीपोखरी शिलापत्र (विक्रम संवत् १७२७, अर्थात् सन् १६७०)मा यो भाषालाई प्रमुखता दिएर पुरै शिलालेख नेपालीमा लेखिएको छ । सबभन्दा तल एउटा वाक्य मात्र स्थानीय (नेवार) भाषा प्रयोग गरिएको छ ।
 

नेपालभर नेपाली भाषाको चलनचल्ती गराएको पनि शाह राजाहरू या पहाडका बाहुन छेत्रीले होइन यो हामीले बुझ्नु जरूरी छ। सरकारी कामकाजको भाषा अवश्य नेपाली थियो (त्यसलाई पर्वते भन्नुस् या खस भाषा) तर यो भाषालाई 'लिङ्ग्विफ्राङ्का' बनाएको सरकारि आदेशले होइन । 'हुकुम'ले होइन । सबैले बोल्ने र बुझ्ने भाषा भएको हुँदा सबैतिर चल्न थालेको हो यो । उदाहरणार्थ भनूँ: मुस्ताङका थकाली मुखिया बलवीर (शेरचन)ले विक्रम संवत् १९१५ तिर नै लिखित आदेश निकालेका थिए आफ्नो बिरादरीमा । "थाक खोलाका थकालीले आफूआफूमा सबैतित, घरभित्र पनि पर्वतेमै बोल्नू" भनेर ऊर्दी फिजाइएको थियो । त्यो उनले यस भाषाको प्रेमले होइन, आफूहरूको व्यापारी स्वार्थ हेरेर गरेका थिए । थाक खोलाभन्दा बाहिर जानु पर्‍यो, व्यापार गर्नु पर्‍यो उनीहरूले । तर त्यता आफूले पर्वते भाषा राम्रो नजान्दा आफूहरू ठगिएको उनले बुझे । अनि मात्र त्यस्तो निर्णय लिन  परेको हो उनीहरूलाई भन्ने बुझ्न गार्‍हो छैन ।
 

यता त्यस्तै वाध्यता परेको थियो इष्ट-इण्डिया कम्पनीका अंग्रेजी व्यापारीलाई समेत । उनीहरूले पनि नेपालसंग सम्बन्ध बढाउने हो भने नेपाली भाषा जान्नै पर्ने देखे । अझ ठूलो स्वार्थले काम गर्‍यो उनीहरूमा त नेपालबाट आएर भर्ना भएका हजारौका संङख्याका तर बहुभाषी गोर्खा फौजका जवानहरूसंग कसरी कुरा गर्ने भन्ने समस्या पर्‍यो । कुनकुन भाषामा कुरा गर्नु? साच्चै समस्या थियो । अनि उनीहरूले नेपालीलाई रोजे सन् १८२०मा । पूर्वका राई लिम्बू र पश्चिमका मगर र गुरूङ अनि तामाङ र डोटेलीहरूसंग बोल्न एउटै भाषा काम लाग्यो- नेपाली । 'साहेब'ले आफूहरूसित बोल्ने भाषामै सिपाइहरूले पनि आपसमा कुरा गर्नथाले । यही भाषा उनीहरूको साझे भाषा भयो । अनि त विदामा घर आएका बेला आफ्ना परिवार र छरछिमेकमा समेत उनीहरूले 'साहेब'सँग बोलेकै भाषामा कुरा गर्न थाले ! नेपाली भाषा नेपालको पहाडका कुना कन्दरासम्म फैलियो, बोलियो र सर्वव्यापी भयो ।
 

नेपालीलाई नेपालको राष्ट्रभाषा हो भनेर औपचारिक रूपमा २०१५ सालमा मात्र मान्यता प्राप्त भएको थियो । लौकिक रूपमा भने यो आफैनै राष्ट्रभाषा या लोकभाषा भएर मौलाएको हो । त्यसरी आफै हल्केको र  बढेको वस्तुलाई कसैले त्यसै विस्थापित गर्न सक्तैन । सक्तैन किनभने ऐलेलाई यसको विकल्प छैन अरू । यो भाषालाई गाली गर्न पनि यही भाषा प्रयोग गर्नु पर्छ ! अर्को भाषामा गाली गरेर कल्ले बुझ्ने ? नबुझ्ने भाषामा गरेको गाली के गाली ? त्यो त प्रशंसा पो भैदिन्छ !
 

त्यसो त अर्को कारणले पनि ऐले नेपाली भाषालाई विस्थापित गर्न गार्‍हो छ । किनभने अब त यो 'कमाउने' भाषा भैसकेको छ ! गैरनेपाली भाषाभाषीहरूले पनि आफ्नो मातृभाषालाई माया गर्दागर्दै पनि कमाउनलाई भने यो भाषा प्रयोग गर्नु अनिवार्य भएको छ । त्यो आसनबाट ऐलेनै नेपाली भाषालाई हटाउन निकै मेहनत गर्नुपर्छ । हम्मे नै पर्ला !
 

५ साउन २०६६

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |