हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ना....टक

बासु श्रेष्ठ , (उडब्रिज, भर्जिनीया)

लघुकथाः

 

पार्टिबाट चुनावकोलागी उसले रोईकराई गरेर टिकट पायो । चुनाव प्रचारकोलागी केहि उद्यमी तथा व्यापारीलाई तर्साएर हुन्छ कि फकाएर हुन्छ केहि पैसा जोहो गर्यो । नपुग रकमकोलागी घरजग्गा धितो राख्यो र चुनाव प्रचार गर्दै घरघर भोट माग्न थाल्यो ।

जस्तोजस्तो घरमा पुग्थ्यो उस्तैउस्तै वचन दिन्थ्यो । मतदाताको अनुहार आशा र सपनाले उज्यालो हुन्थ्यो र उ मनमनै ठान्थ्यो तीर निशानामा लागेकै हो ।तर यसको सट्टा प्रत्यक्षतः मुसुक्क हाँसेर नमस्कार गर्दै विजयको कल्पना गर्दै अघि बढ्थ्यो । मनमनै फेरि भन्थ्यो माग्न चाहिँ कसैले आफ्नोलागी भोट मागेका छैनन् । बरु सबैले सामुहिक टोलकै विकास मागेका छन् । मान्छेपनि.....।

बाटोबाट अलि हटेर बसेको दलितहरुको बस्ती देख्यो । अलिक दोमन गर्यो । तर, झट्ट के विचार आयो कुन्नी, सरासर बस्ती पस्यो र दाई भाई साईनो लगाउँदै बोलाएर भोट माग्न थाल्यो ।

टोलको माझमा पर्ने घर ताकेर त्यस घरधनीसँग पानी माग्यो । दलित घरधनी एकछिन विश्वास गर्न नसकेर अलमलमा पर्यो । उसले मनमनै तीर निशानमा लागेको बुझेर दोहोर्याएर पानी माग्यो र कलकल गर्दै पियो । चिउँडो, ओठमा दौडिएको पानी हत्केला र बाहुलाले पुछ्दै भन्यो ल दाई, पानी दिए जस्तै भोटपनि दिनुहोला हैभन्दै आगडि बढ्यो ।

बबुरा ति अधवैँशे दलित अझै विस्मृत मुद्रामा थिए तर, ओठमा खुशीको मुस्कानपनि छरिएको थियो । सोच्यो, आज पर्यन्त मेरो हातबाट कसैले पानी खाने आँट गरेको थिएन । बरु दुरदुर गर्थे । यो काजीले मेरो हातको पानी खाएपछि मैले भोट नदिएर भयो र? पक्कै मैले भोट दिने भएँ भन्ने मनमनै गम्दै घरभित्र पस्यो ।

उता दिनभरको चुनाव प्रचारपछि घरको आँगनभन्दा परैबाट एक गिलास सुनपानी मागेर दलितको घरमा पानी खाएकोमा पछुतो मानेर सुध्याउँदै मनमनै भन्दै थियो हैट, कस्तो नाटक गर्नुपर्यो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |