हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

रियो ग्राण्दे

बासु श्रेष्ठ, (उडब्रिज, भर्जिनीया)

रियो,
तिमी चुपचाप मनभित्र करौँति बोकेर
सतहमा शान्त र सुमन भएर
बगेकी छौ दुई देशको बिच
दक्षिणबाट आउन चाहनेहरुको बाटोमा
लमतन्न तेर्सिएर
पन्छाउनै नसक्ने बाधक भएर
बसिदिएकी छौ
अजिँगर भएर ।
 
जहाँबाट तिम्रो उद्गम हुन्छ
शायद त्यहिप्रति तिम्रो
यो कत्र्तव्य निर्वाह हो
बनेर सुशील र शान्त
अनि लमतन्न परेर
रखवारी गरेकी छौ
आफ्नो उद्गमस्थलको ।

तिम्रो उद्गम स्थललाई
अनेकौँ रँगीन सपना बोकेर,
आफन्तलाई धेरै पछाडि छोडेर
तिर्थ ठानी आउँछन् जताततैबाट
मरुभूमीको तातो, झरी, वर्षा
आँधि, हुरी केहि नभनि
अनि
अनेकौँ हण्डर र गोता खाई
सहस्र दिन र अनगिन्ती पिडा बोकी
अन्जान तिम्रो उपस्थितिबाट
बढाउँदै पाईला हौसलाका
अन्तिम चौतारीमा बसेर
जब लिन्छन् सन्तोषको सास
बिर्सन्छन् ति सारा यात्रामा भोगेका दुखहरु
एक मन्द मुस्कान ओठमा छरेर
बनाउँछन् सपनाहरु अझ गाढा
सम्झँदै छुटेका माया र प्रितिहरु ।

तर अचानक जब देख्छन्
तिमीलाई एक अजिँगरको रुपमा
एक दुरुह बाधकको रुपमा
अनि अनायास नैराश्य र दुखका पहाडको
सामना गर्न पुग्छन् र
हुन्छन् किँकर्तव्यविमुढ ।

तर,
देखेर तिम्रा सतही शान्त स्वरुप
कोहि बाँध्छन् हिम्मतका फेटा
र हाम्फाल्छन् तिम्रो गर्तमा
के थाहा तिनलाई
तिमीले बोकेकी छौ धार भित्रभित्र
अनि पार्छाै निमेषमै तिनलाई समाहित आफुभित्रै
रेटेर आफ्ना धारले
झुटा बनाउँछौ
तिनका सपना क्षणभरमै
तिनले गरेका वाचा आफन्तलाई
सुख र समुन्नतीका
मेहनत र पसिनाका
यसरी निमोठेका छौ कैँयौका सपना,
यसरी हराएका छन् कैयौ सपना तिमीभित्र ।
के जिवनमा उल्लास र समृद्धिको सपना देख्नु अपराध हो?

यसरी,
रियो तिमी,
चुपचाप मनभित्र करौँति बोकेर
सतहमा शान्त र सुमन भएर
लमतन्न तेर्सिएर
पन्छाउनै नसक्ने बाधक भएर
अनेकौ सपना चपाएर
पचाएर
बसिदिएकी छौ
अजिँगर भएर ।


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |