कैलाशको यात्रा
बासु श्रेष्ठ, (उडब्रिज, भर्जिनीया)
समथर मैदानमा जन्मिएको म
यात्राको थालनीसँगै बुझ्दै गएँ
मेरो यात्रा कैलाशतर्फ हो
बिस्तारै हिमखण्डिततर्फ बढेको
मेरो यो यात्रा जारी छ,
कैलाश नजिक पुग्नै लागेको छ
कैलाशको डाँडो देखिन थालेको छ
यसको अर्थ म अहिले वारीको डाँडामा छु
अनि त
मनमा एक प्रकारको उल्लासपनि छ ।
यहाँसम्म पुग्न मैले
कहिले ठाडो उकालो उक्लेँ
गर्मी, पसिना र थकाईले उखुम भएँ
विश्रामको विचार नै भएन
अलिकति घाँटि भिजाउँदै
उकालोपछि ओह्रालो लागेँ
बाटो न हो, कहिले मोडिई दिन्छ
कहिले उक्लिई दिन्छ
कहिले ओर्लिई दिन्छ
यो बिचमा कहिले
चीसो बतास र आँधि भेटेँ
जाडो र हिउँपनि खपेँ
अँध्यारो र उज्यालोपनि भोगेँ
तर म हिँड्दै गरेँ अनवरत ।
समथरको उख्खुम तातो नभोगेको कहाँ हो र?
र हिमालको जम्ने चीसोपनि भोगेकै हो
कति रात भोकै सुतेँ
कति दिन तिर्खाउँदै बिते
कहिले ढुँगामा त कहिले
कपासमा सुतेँ
तर श्वान निद्रामा हुन्थेँ
किनकि मेरो यात्रा थाल्नु थियो नरोकिई
यस बिच
कहिले रोदिमा नाचेँ
कहिले मसानमा रोएँ
कहिले बथानमा बसेँ
कहिले एक्लै भएँ
तर म हिँड्दै गरेँ ।
कैलाश पुग्न
आँधिहुरी, जाडोगर्मी, उकालो ओरालो हुँदै
अहिले डाँडाको यस टुप्पामा छु म
कैलाश पुग्न एकपटक फेरी डाँडा ओर्लिनु छ
र एकपटक डाँडा फेरी उक्लिनु छ
अनि त्यस कैलाशमा मेरो यात्रा रोकिने छ
ठप्प, जीवन रोकिएसरी
हराउने छन् सारा पिर, दुखसुख र विडम्वनाहरु
यात्रा नै रोकिएपछि यो भन्दा चीर आनन्द केमा होला र?