हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

भनौं कि नभनौं

श्रीओम श्रेष्ठ ‘रोदन’, (काठमाडौँ)

औंसीको रातमा ठूलो ठूलो असिनाले सिसाको झ्यालमा हानेजस्तै दुःख लाग्यो सुनेर । सम्बद्धका लागि माङ्गालिक होला भलै तर मलाई रामोराम अमङ्गल नै लाग्यो । कसैको बारेमा खबर सुन्नु सुनाउनु प्रत्यक्षमार्फत जे भए पनि केही राम्रो र केही नराम्रो अनुभूत पक्कै हुन्छ । अभिव्यक्त नहोला कुरा अकै हो त्यो ।

मिति गुज्रिन लागेको साँझ, कालो कालो धमरधुस छ । बिहानी बन्ने प्रयत्नमा देखिदैनन् कोही पनि । साँझजस्तै थकित र हतारोमा छन् देखिएका जति सबै । सर्वत्र ओढिएको र ओछ्याइएको पनि साँझ नै साँझ छ ।  यही साँझसाँझ जस्तै थकाइ लाग्दो समाचार सुनायो सानिध्य मित्रले । नौलो बन्यो मेरो लागि तर भइसकेको थियो पुरानो सयौं दिन पुरानो । मूल्य र तौल कतिको थियो त्यो खबरको त्यसको पर्वाह नै नगरी अत्यन्त गहुङ्गो बनें म । सम्पूर्ण शरीरलाई ऊर्जा दिइरहने मन भारी भएपछि देखिने जति सबै गह्रौँ नै लाग्दो रैछ । आफू आफूद्वारा नियन्त्रित हुन नसक्नुको अर्थ मनको भार बढ्नु हो । यही निक्र्यौल गरें मैले त्यो साँझ ।

कसैले मनाएको खुशी उत्सवमा पिरिनु स्वयम् बाहेक कसैका लागि पनि अर्थपूर्ण हुँदैन । जसले जस्तो चाहन्छ उसले उस्तै गर्न पाउने अधिकार प्राकृतिक र मानवअधिकार पनि हो । यसलाई उलङ्घन गर्ने अभिप्राय नभएरै पनि उलङ्घन गरें मैले । ऊ एउटा व्यक्ति हो  । सुखमा नभई दुःखले नजिक्याएको । दुःखले कमाएको मित्र । भावना र हार्दिकताले पाएको मित्र । पानी पर्दा हामी सँगै रुझ्थ्यौ, सँगै भिज्थ्यौं । आकाश जस्तै निर्वस्त्र थियौं एकापसमा हामी । उसको घाउमा म दुख्थें, मेरो दुखाइमा ऊ मर्माहित हुन्थ्यो । शालिग्राम जस्तो सम्बन्ध थियो हाम्रो । पहाडमा कोचिएर, चोइटिएर, नदीमा पखालिएर पवित्र बनेको । तर अहिले उसको इच्छालाई दुःख मानेर, प्राप्तिलाई अन्याय ठानेर, सन्तुष्टिलाई भाले नठानेर, स्वीकारोक्तिलाई बहिस्कार गरें मैले हिम्मत आफैसँग ।

उसले बालेको दियोमा पुतली बनेर झुम्मिन सकिनँ त्यो साँझ म । विगतमा झैं एउटै पोखरीमा डुबुल्की मार्न सकिनँ । इच्छा अनुरुपको रङ्गीन बनाएर एउटै रङमा पोतिन सकिनँ । पूर्वका दिनमा झैंं एक्लो र एकान्तले मलाई असजिलो पार्न सकेन । यतिन्जेल मैेले ओडारमा निदाउनु परेको छैन । प्रदर्शनका निम्ति धरहरासँग मितेरी पनि लाउनु परेको छैन । आफैलाई बिर्सने गरी विश्वासको आत्महत्या गर्न खोजेको पनि छैन । मैले जानेको ज्ञान पनि यत्ति हो । आफूसँग जति घात गरे पनि अरुलाई दिएको विश्वासमा कस्तै परिस्थितिमा घात नगर्नु । यसैलाई मन्त्र ठानेको छु । त्यसैले धेरै पटक रातलाई एक्लो बनाएर झ्याउँकीरी झैं किरी किरी आफैलाई रेटेको छु । आफ्नो छाती खोलेर मुटु, कलेजो हत्केलामा राखेर हेरेको छु । आँखा कोतरेर आफैसँग बन्दी बनेको छु । हात खुट्टाहरुमा किला ठोकेर पटक पटक मूर्छा परेको छु । तर कहिले कहिले आफ्नो घाउलाई सार्वजनिक गर्न खोजेको छैन मैले,सत्य सत्य ।

यो प्रतिज्ञा हो मेरो बाँचुन्जेलसम्मको । सक्दा सबैसँग खुशी गोडमेल गर्ने, निफन्ने र नसक्दा दुःखजति महादेवले जस्तै बनेर घटघट पिउने । शास्त्रमा लेखिएको छधैर्यवान पुरुषहरु एकचोटि अठोट गरिसकेको कार्य दोहार्याउँदैनन् । जीवनका हरेक क्षणहरु एकपटक भोग्नका लागि बनेका हुन्छन् । सङ्कल्प बारम्बार गर्नुको कुनै औचित्य रहँदैन । बन्दुक बोकेपछि धेरै लामो खेल खेल्नु पर्दैन । समयले यही भनिरहेको छ हिजो र आज पनि । रङ्गीन आभूषण पहिरिँदैमा मान्छेहरु रगतको रातो रंग परिवर्तन गर्न सक्दैनन् । मान्छे बनेपछि नारीपुरुष वर्ण, उचाइले रगत र मनमा कुनै प्रभाव पार्न सक्दैन ।

जहाँ गए नि, जे भए नि, जे गरे नि, मान्छेकालागि मान्छे भन्दा ठूलो सहयोगी र हतियार अर्को बन्न सक्दैन । मान्छेको भर मान्छे, मान्छेको डर मान्छे । सबै प्रकृया समान भएर पनि अन्तर प्रवृत्तिमा किन बाँच्छन् मान्छेहरु ? जन्मदेखि मृत्युसम्मको यथार्थलाई किन रङ्गमञ्च बनाउन खोज्छन् ? मान्छेले मान्छेलाई मान्छेजस्तो व्यवहार गर्न किन कन्जुस्याई गरिरहेका छन् ? मेले बुझ्न नसकेको जटिलतम प्रश्न नै यही हो ।

स्वार्थको पनि एउटा सीमा हुन्छ ,पालना गरे । अन्धो हुनेहरुका जति पनि उपचार छन् तर अन्धो बन्नेहरुका लागि कुनै उपचार गर्ने औषधि बनेको छैन । आफूलाई सप्ठेरो पार्न अर्कोलाई भड्केलामा हाल्ने र आफू उक्लिनलाई आफ्नालाई भीरमा पुर्याउने, आफू नाच्नलाई आफ्नैे आँखा निचोरी चिचोरी आँसुको रङ्गमञ्च बनाउनेजस्तो नमीठो गन्ध अरु केही हुन सक्दैन । असमानताको भर्याङ उक्लेर समानताको बिगुल फुकेजस्तो अमिलो कहिले बिहान बन्न सक्दैन । यस्तै लाग्छ मलाई ।

मन ठेगानामा नभएका मान्छेहरु खुशी भए पनि खतरनाक हुँदारहेछन् । पहिले जानिएन अहिले नजानी धरै पाइएन । त्यसै हालेका रैनछन् उखानहरु बाबुबाजेहरुले । हामी जे गर्दा पनि हतारले गर्छौं र फुर्सदले पछुताउँछौं । फुर्सदलाई हामी कहिल्यै हतार गर्दैनौ । हतारिएर हुने कुरा पनि होइन यो ।  अहिलेको समयले हरेक मान्छेलाई व्यस्त बनाएको छ । लाग्छ त्यो साँझको समाचारका नायकले अझै थकाई मार्न पाएको छैन । थकाई मार्न नपाउनु र फुर्सदै नपाउनुले झन् खुशी बनाइरहेका होलान् त्यो साँझवालाहरुलाई ।

जीवनचक्रमा कहिले नरोकिने महसुसीले घुमिरहेका होलान् । आगो पानी र वायुको परम्परागत संस्कारलाई उलङ्घन गर्दै सामाजिक समयलाई तनतनी पिइरहेका होलान् । आस्था र विश्वासलाई तलुवा बनाएर टकटक हिंडिरहेका होलान् । प्रणयका तमसुकहरु अरुका आँखामा पर्दा लगाएर काउकुती लाउँदै आफै अट्टहास हाँसो हाँसिरहेका होलान् ।

त्यो साँझ, कस्तो विरक्त लाग्दो साँझ बन्यो । दाँतमा दर्शनढुंगाले हानेजस्तो, हुचिलहरु कनि कनि चिच्याएजस्तै, न्याउलीले रनवन विरक्ताए जस्तो । यस्तो किन लाग्यो होला मलाई ? लाग्नु परेर लागेको होला कि लाग्नु नपरेर पनि लागेको होला ? भनुँ कसलाई ? सोधुँ कसलाई ? आफूले राहत पाइसकेपछि अरुको आहत बुझिदिने को पो होलान् र अहिले ? बुझक्कडहरुले बुझ पचाएपछि कसको के लाग्छ र । कोठामा गौंथलीले गुँड बनाएको मन नपराउने धेरै होलान् तर गौथलीको रिसले कोठामा आगै लगाएर मादल लिएर नाच्नेहरुलाई के भन्ने ?

यौवनको फल लाग्न थालेपछि उधारिन नचाहनेहरु कमै हुन्छन् । तर रहरको नाममा सीमा फड्कार्ने काम सितिमिति गरिहाल्न कसले सक्छ र ? यौवनलाई खोपामा राखेर टुकीजस्तो धिपधिप बलेर बस्ने यौवनका ढुकढुकीलाई अलिकति मनन किन गर्न सक्दैनौं हामी बहादुरहरु ? यो मामलामा हामी पुरुष किन यति धेरै स्वार्थी बन्ने गरेका छौं । बहादुर बनेर अरुका लागि दिनरात जसको जे हतियार चल्छ त्यसले लड्छौं । इमान्दार भएर नुनको सोझा गर्छौं । तर मारे पाप पाले पुण्य भनेर दासी बन्न स्वीकारेर आइसकेका सिउँदो र सिन्दूरहरुको च्याँखे थाप्न किन धक मान्दैनौं ? मौसममा फुलिसकेका फूलको पत्रपत्रबाट बास्ना लिइसकेपछि किन बेमौसममा पनि फूल उमार्न चाहन्छौं हामी ? स्नेहको भकारीमा भरिसकेपछि केका लागि पराया आँगनको घाममा थकाइ मार्न रहर गर्छौं हामी ? सहनेलाई अन्यायको कैदी बनाएर पुरुषार्थ गरिरहेका छौं हामीहरु ।

अमङ्गल कृत्य भोगीनीहरु कति थेग्न सक्छन् मनभरि साङ्लाले बाँधिएर बस्न । दुइटै आँखा त हो विरह बढारेर साध्य चल्न नसकेपछि रुखमा फल्छन्, नदीसँग बग्छन्, भीरसँग साइना गाँस्छन् । सबैलाई ज्ञातै छ सुखको जस्तो खुशी दुःखमा बाँडिन्न । आफ्नो मलामीका लागि निम्तो बाँडेर कसले मृत्यु वरण गर्न सकेको छ र ?

आश्चर्यले घोत्लाउन बाध्य पारेको छ त्यो साँझले मलाई । आफैले राँडी बनाउनुपर्नेहरुले निधारमा टीका लगाएर सौभाग्यवतीको आर्शीवाद नदिए हुन्थ्यो नि ? आफ्नो छातीमाथि हात राखेर बक्न नसक्नेले किन मुटु निचोर्न खोज्छन् अर्काको ? कर्तव्यपथमा एकछिन पनि डोरिन नसक्ने भ्रष्टहरु किन समाजमा आदर्शका डिङ मार्छन् । संयमताको जप गर्न नसक्ने सामर्थहीनहरु गुम्बामा किन छिर्छन् ?

यस्तै संस्कारको विजयीमाला पहि¥याएको थियो त्यो साँझले । कति निठुरी बनेका थिए होलान् ती साँझ पूर्वका साँझहरु । सूर्य उदाएपछि रात बनाउनेहरुले गुन्यूचोलीमा सजिएर जूठो बार्नुपर्ने नारीहरु बाँचेर कसरी मर्छन् छिनछिन भनी जान्नेहरुले किन जिउँदै चित्ता उठाउँदैनन् । आफ्नै नाडीको चारवटा चुराको आवाजले तर्सिनुपर्नेहरुको अपसकुन बुझ्नेहरु कसैले इन्द्रेणी बनेर सिंगारिन चाहँदैनन् । सिँउदोभरि सिन्दूर बोकेर पतिको आसोचमा विधवी जस्तो भयावह नियति भोग्नुपर्नेहरुलाई एकपल मात्र आँखा चिम्लेर हेर्न खोज्नेहरु भए कसैले आयुको डम्फू बजाउने थिएनन् ।

होस् जे भए नि । सहानुभूतिको समुन्द्र भरिए नि, घृणाको सगरमाथा अग्लिए नि । गर्नसक्ने सामथ्र्य केही छैन ममा, मात्र हुँडिलिएको छ मन र अन्तर्मन । कतै प्रकट गर्न सक्दिन । त्यो साँझको मित्र र खबरले इमान्दारलाई बेइमानीले हरायो कि बेइमानीलाई इमान्दारीले ? सोध्ने उत्साह अलिकति पनि बाँकी छैन मसंग । असमन्जस्यताको साङ्लाले बाँधिएको छु तसर्थ औपचारिकताको पनि बीउ छर्न नकसुँला । अँध्यारो मन र उज्यालो मनमा असमान भएर समान देखिरहेको छु । समान भएर असमान देखिरहेको छआँखा भित्रका आँखाहरुले । भन्न सक्दिन म जय र पराजय । सत्य र असत्यमा अन्तर के के छन् भनेर । साँच्चै ढाँटेको होइन मैले । त्यो साँझले मेरा विश्वासका भण्डारमा नराम्रोसँग डढेलो लागेको छ । अरुका त के कुरा आफैलाई पनि विश्वास गर्न छोडेको छु मैले ।

अहिले पनि म देखिरहेको छु, एकातिर रातो सिन्दूर सन्त्रासको र अर्कोतिर कालो सिन्दूर छ मोहिनीको ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |