हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

मेरो यो कथा सुनाइदिनु

विश्वराज अधिकारी, (अमेरिका)

साथी हेमन्त,
म चालिस वर्ष पहिलेको वीरगंजमा पर्कंदैं छु ।
    हामी दुईजना  म र जुनैद अंसारी वीरगंजको श्रीपुरस्थित हाई स्कूलमा पढ्थ्यौं । दुवैजनाले एउटै वर्ष एसएलसी दियौं । म प्रथम श्रेणीमा पास भएँ तर जुनैद फेल भयो । म ठाकुरराम कलेजमा आइएस्सी पढन थालें भने जुनैदले आफ्नो पिताले गर्दै आएको धुनिया पेशा अँगाल्यो । रूओ धुन्ने र सिरक, डस्ना बनाउने पेशामा लाग्यो ।
    जुनैद पढ्नमा निकै कमजोर थियो । मैले उसलाई अलजेब्रा र जोमेट्री नसिकाएको भए  टेस्ट परीक्षामा नै फेल भएर एसएलसीको मुख देख्न पाउने थिएन होला । र उनलाई त्यसरी हिसाब सिकाउने क्रममा हामीबिच निकै घनिष्ठता बढेको थियो । घनिष्ठता बढ्नुको एक अर्को तर ज्यादै बलियो कारण थियोहामी दुवै ज्यादै गरीब परिवारका सदस्य थियौ।

वीरगंजमा घर हुने हाम्रो एक गाउँले व्यापारीको छोरा र छोरीलाई ट्युसन पढाइ दिने शर्तमा उनको घरमा मैले निशुल्क खाने र बस्ने मौका पाएको थिएँ । पिताजीको जजमानीबाट आएको दाल, चामल र केही पैसाले हाम्रो परिवारको बडो मुश्किलले गुजारा हुन्थ्यो।
    जहिले पनि म क्याम्पसबाट फर्कंदा जुनैदलाई रेल्वे स्टेशनको रेलको लिकमा बसेर पितासँग रूओ धुन्दै गरेको देख्थें । म उनको नजिक पुग्थें र केही कुराकानी गथें । हामीबिच कुराकानी हुँदा जुनैदको सँधै एउटै गुनासो हुनथ्यो के गर्ने यार, पढ्न सकिएन । तिमीजस्तो किताब बोकेर क्याम्पस जाने भाग्य पाउन सकिएन । अब बाँकी जिन्दगी रूओबाट धूलो निकालेर बित्छ । थाहा छैन, रूओको धूलो झारेको हो वा आफ्नै दिमागमा भरिएको धूलो झारेको हो ।प्राय: म जुनैदको कुरा सुन्थें मात्र, ज्यादै कम प्रतिक्रिया व्यक्त गर्थें ।
    वीरगंज  ठाकुरराम क्याम्पसमा पढुन्जेल जुनैदसँग भेट्ने क्रम टुटेन, बाक्लो किसिमले नै चलि नै रहयो। उसको घरमा म रमजान, इद मनाउन जाने क्रम पनि कलेजमा पढ्दासम्म कायम नै रहयो।
    म पटना डाक्टरी पढ्न गएपछि भने जुनेदलाई भेट्ने क्रम निकै पातलो भएर गयो । तैपनि वीरगंज गएको बेला या त उसको घरमा या कार्यस्थलमा पुगेर भेट्थे । कार्यस्थलमा पुग्दा जुनैद जहिले पनि त्यही भन्थ्यो–‘के गर्ने यार, पढ्न सकिएन । तिमीजस्तो किताब बोकेर क्याम्पस जाने भाग्य पाउन सकिएन । अब बाँकी जिन्दगी रूओबाट धूलो निकालेर बित्छ । थाहा छैन रूओको धूलो झारेको हो वा आफ्नै दिमागमा भरिएको धूलो झारेको हो ।

   
पटनाको पढाइ सकिएपछि म डाक्टर भएँ । वीरगंजमा बस्न मन लागेन, काठमाडौ तिर सुरिएँ । काठमाडौंमा दुई चार वर्षको प्रेक्टिस पछि सोचेजति पैसा कमाएँ, नाम पनि कमाएँ । अब भने पैसाको पटक्कै समस्या थिएन । काठमाडौंमा अन्तर्जातीय विवाह गरें । पटनाबाट फर्केपछि काठमाडौं करिब दस वर्षजति बसें । काठमाडौंमा हुँदासम्म वीरगंज गएको बेला जुनैदलाई भेटथें । रूओ धुनेर सिरक बनाइरहेको अवस्थामा ऊसँग प्राय: सडकको छेउमा भेट हुन्थ्यो। भेट हुँदा उसले त्यही दोहोर्‍याउँथ्यो–‘आफ्नै दिमागमा भरिएको धूलो झारेको हो...। तर अब भने मैले पनि म र जुनैदबिच आर्थिक अवस्थाको हिसाबले आकाश जमिनको भिन्नता रहेको बोध गर्न थालें । मेरो यो सोचलाई बल दिन मेरा भौतिक सुविधाहरूले पनि निकै मदत पुर्‍याए ।
    पत्नीको दबाब, इच्छा, आग्रह सम्मिलित जेटले मलाई हुत्याएर जर्मनी पुर्‍यायो । जर्मनीमा करिब पाँच वर्ष बसें तर विदेश बस्न मन नलागेर नेपाल फर्कें । हुनत मैले ड्रिंक गर्न पटनाबाट काठमाडौं फर्केपछि नै शुरु गरिसकेको थिएँ । तर जर्मनीबाट फर्केपछि भने ड्रिंक गर्ने क्रम बाक्लो भएर गयो । राम्रो आम्दानी र बलियो आर्थिक स्थितिले मलाई अति महँगामहँगा रक्सी खाने बानी लगाइदियो ।
    जर्मनीबाट फर्केपछि करिब पाँच वर्ष जति काम गरें । र यो पाँच वर्ष भित्र एउटा राम्रो निजी अस्पतालको स्थापना गरें । मैले स्थापना गरेको अस्पताल निजी क्षेत्रका अस्पतालहरूबिच निकै लोकप्रिय र लाभदायक पनि हुन पुग्यो । आफूले क्लिनिकल कार्य नगरेर अब केवल व्यवस्थापकीय कार्य मात्र गर्न थालें । यस्तो गर्न पाएकोले मेरो रक्सी खाने क्रम झनै बाक्लो भएर गयो । अब हरेक दिनजसो अनि किसिम किसिमका महँगा ब्रान्डका रक्सीहरू खान थालें ।
    रक्सी खाएको विषयलाई लिएर पत्नीसँग प्रत्येक दिन झगडा हुन थाल्यो । पछि त्यो झगडामा छोराछोरीहरू पनि संलग्न हुन थाले ।  दिनका दिन र बढी परिमाणमा रक्सी खाने मेरो त्यो बानीमा भने सुधार आएन । म रक्सीको लतमा नराम्ररी फसें । अल्कोहोलिक नै भएँ । भन्ने हो भने परिवारभित्र नै रहेर पनि एक किसिमले परिवारबाट धेरै टाढा हुन पुगें । परिवारका सदस्यहरूले प्रेम, आदर र श्रद्धा होइन केवल कर्तव्यको हिसाबले मात्र मलाई हेर्न थाले ।
    अल्कोहोलिकले शरीर बिग्रिएको कारणले अहिले म ओछ्यान परेको छ महिना भयो । म बाँच्ने भनेको अर्को छ महिना मात्र हो । मेरो लिभर पूर्णतया खराब भइसकेको छ । साथमा ब्लडप्रेसर र डाएबेटिज पनि छ । यस्तो अवस्थाको मान्छे धेरै दिन बाँच्दैन भन्ने म आफैं डाक्टर भएकोले पनि प्रष्ट थाहा छ ।
       मैले उच्च शिक्षा हासिल नगरेको भए, डाक्टर न बनेको भए, थुप्रै पैसा नकमाएको भए, म पनि जुनैदले जस्तै आफ्नो पिताले गर्दै आएको धुनियाको काम गरेझै, ब्राह्मणको सन्तान म, गाउँ गाउँमा पुगेर जजमानी गर्थें होला । आर्थिक अभावमा सादा जीवन बिताउँथे होला । तर मेरो स्थिति जुनैदको भन्दा विपरीत भइदियो । मैले धेरै पढेंधेरै कमाएँ पनि । तर के त्यो धेरै पढाइ र धेरै कमाइले मेरो जीवन सुखी तुल्यायो ? सकेन । बरु उच्च शिक्षा हासिल नगरेको भए मेरो जीवन पनि जुनैदको जस्तो अभावमा नै भए पनि एक किसिमले सुखमय नै हुन्थ्यो ।

मैले यो पत्र तिमीलाई आफ्नै हातले लेखेको पनि होइन । मेरो हातखुट्टा राम्ररी चल्दैन । एक सहयोगीको भरमा यो पत्र लेख्न र पोस्ट गर्न लगाएको हुँ । 
   
यो पत्र लेख्नुको प्रमुख उद्देश्य के हो भने मेरो अति बलियो आर्थिक स्थितिले गर्दा जुनैदलाई पत्याउन गार्‍हो होला । जुनैद तिम्रो पनि साथी भएकोले तिमीले भनेको उसले पत्याउने छ । र शायद तिमीलाई पनि कुनै किसिमको भ्रम छ भने त्यो भ्रम निवारण हुनेछ ।
 
म वीरगंज पुगेर जुनेदलाई यो कुरा भन्नु सम्भव छैन । त्यस कारण तिमी वीरगंज गएको बेला जुनैदलाई भेटेर के भन्नु भने 'तिमीले संसारकै भाग्यमानी र सुखी ठानेको तिम्रो घनिष्ठ साथी शिवशंकर झा ज्यादै बिरामी छ । डाक्टरले उ छ-सात महिना मात्र बाँच्छ भनेको छ ।' मेरो जिन्दगीको कथा पनि जुनैदलाई छोटकरीमा अवश्य सुनाइदिनु । अनि जुनैदलाई यो पनि भन्नु कि गरिब हुँदैमा मान्छे सुखी हुँदैन भन्ने छैन र धनी हुँदैमा मान्छे खुशी हुन्छ भन्ने पनि छैन । साथै जुनैदलाई यो भन्न पनि नबिर्सनु कि अबदेखि उसले रूओको धुलाई गर्दा आफ्नो भाग्यलाई गाली नगरोस् । आफ्नो भाग्यलाई, रूओलाई लाठीले पिटेझैं न पिट्नु । बाँकी मेरोबारे जुनैदलाई तिमीले जे भन्न मन लागेको छ त्यो भन्नु। तर यति यो मेरो काम भने अवश्य गरिदिनु । यो मेरो अन्तिम इच्छाहरू मध्येको एक प्रबल इच्छा अवश्य पूरा गरिदिनु ।
तिम्रो साथी


शिवशंकर झा
घट्टेकुलो, काठमाडौ।

(समाप्त)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |