बिमानस्थलको गेटबाट
कृष्ण कट्टेल , (काठमाडौं)
शीरको टोपी झिकेर आँशु पुछ्दै
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल छि¥यो हरिलाल
आज मध्यान्ह बाह्र बजे ।
भएको एक टुक्रा बारी
बन्धकी राखेर
रातो माटो र कमेरो पोतिएको
एक तले महल
नयाँ खरले छाएर
तोते बोलीले बोलाउदै गरेको छोरो
श्रीमती र बुढा बा आमा छाडेर
हिड्नुपरेको पीँडा ले हुनुपर्छ
अझै नथामिएका उसका आँशु ।
निरन्तर फर्किदै
विदाइका हात हल्लाउदै
मकै भटमास र गुन्द्रुक पोको पारेको झोला भिरेर
भौतारिदै थियो ऊ
विमानस्थलको गेटमा ।
प्रचण्ड घाम
चर्को काम
सहन नसकेर प्राण त्यागेको एउटा शव
काठको बाकसमा बाधिँएर
उसकै नजिकबाट नेपाल भित्रिदाँपनि
जत्तिसक्दो चाँडो समुन्द्र तर्न चाहन्छ हरिलाल ।
पूर्व क्षितिज उघ्रिन नपाउदै
भालेको पहिलो डाक सँगै
हरेक जिल्ला प्रशासन
र राहदानी विभागअघि जम्मा भएका
हजारौँ हरिलालहरुको भाग्य कोरिदिन्छ सरकार
हजारौँ हजारको पसिना कुम्ल्याएर ।
गुन्द्रुक र ढिडोको तागत बजारेर
मरुभूमि भिजाइदिन्छ पसिनाले हरिलाल
यता, तिनै हजारौँ हरिलालको पसिनामा
पौडी खेल्छ सरकार
हजारौँ हरिलालको बिजोग हेर्दै ।।