हे, एमआरपी!
बासु श्रेष्ठ, (उडब्रिज,भर्जिनीया)
हे एमआरपी!
हे पालनकर्ता!
हे उद्धारक!
तिमी अहिलेसम्म कहाँ छौ?
कहिले आउँछौ ?
र
मेरो उद्धार गर्छाै ?
म,
विदेशमा अड्किएको छु
तिमीविना छटपटिएको छु
उड्न खोज्छु कतै
तर,
तिमीबिना यतै अल्झिएको छु ।
तिम्रो अभाव साह्रै खट्किएको छ
मनपनि साह्रै भट्किएको छ
पलपलको तिम्रो प्रतिक्षामा
यो छाती साह्रै अमिलिएको छ ।
चाहेको थिएँ तिम्रो
पुरानो हटाई नयाँ रुप पाउन
पासपोर्ट भन्ने शब्दमा मेशीन रिडेबल थप्न
तर, तिम्रो ब्रम्हाले नाक नक्शै फेरेछन्
कुन्नी के खाएको बेलामा कोरेछन्
हुनुपर्ने एउटा, अर्कै हालेछन्
नाम, मिति र लिँग नै फेरीदिएछन्
अकारमा उकार हालेछन्
उकारमा अकार हालेछन्
त्यतिमात्र हो र,
म जन्मेको देश नै फेरिदिएछन्
अनि
फेरी आवेदन हाल्नुपर्ने बनाएछन्
हालेको छु पुनः आवेदन मनमा चूक छरेर
के गर्नु,
पठाएकै हो शुद्ध फाराम भरेर ।
विदेशमा तिमी नै त हौ मेरो चिनारी
नेपाली हुँ भन्ने तिमी नै हौ आधार
विदेश डुल्ने तिमी नै त आधार
त्यसैले अहिले,
तिमीबिना म परिचयविहिन भएको छु
आफुलाई अस्तित्वहिन पाएको छु
प्वाँख काटिएको चरा झैँ
छटपटाएको छु ।
सुन्छु ब्रम्हाको कारखानामा
तिमीजस्ता सैयौँ असरल्ल परेका छन् रे
भित्ता, भुई र र्याकहरुमा छरिएका छन् रे
ब्रम्हाको उदात्त मनमा
तिमीजस्ताको रेखा कोरिन्छ रे
तिम्रो रेखाबाट हाम्रो पहिचान बन्छ रे
हाम्रो पहिचानबाट विदेशमा भाग्य खुल्छ रे
तर ति ब्रम्हाको ब्रम्ह कहिले खुल्ने हो?
तन्द्रा र मनपरीको काममा कहिलेसम्म झुल्ने हो?
यता तिमी नआएर म छटपट
कठै,
उता ब्रम्हालाई भने छैन कुनै झटपट ।
त्यसैले
हे एमआरपी!
हे पालनकर्ता!
हे उद्धारक!
तिमी अहिलेसम्म कहाँ छौ?
कहिले आउँछौ ?
र
मेरो उद्धार गर्छौ ?