एब्स्ट्रयाक्ट शान्ति
नरेन्द्रकुमार नगरकोटी, ( )
बुद्ध पूर्णिमाको मध्यरातमा
बिलय भयो जून
शान्तिको एब्स्ट्रयाक्ट आकाशमा
मौन छ समयको वाचाल ओठ
बन्द छन् तराजु बोक्ने आँखाहरु
रोकेको छ कसैले हावाको वेग
न फर्फराउँछ राष्ट्रिय झण्डा
न सुनिन्छ ‘ॐ माने पेमे हुँ’
मानिसहरू सम्झन्छन्–
शान्ति पोतिएको छ
देशको आकाशे पेन्टिङमा
चुपचाप घर फर्किएको छ हतियारधारी
ध्यानमग्न छन् बन्दुकहरु
खुइलिँदैछ जीवनबाट बुद्धत्वको रङ
भइरहेछ तयारी अर्को मुक्तिको
चोरेको छ कसैले फूलको सुवास
न मुस्कुराउँछ बालक
न खिल्खिलाउँछ प्रेमी भँवरा
मानिसहरु विश्वास गर्छन् –
एब्स्ट्रयाक्ट हुँनेरहेछ शान्तिको पौभाचित्र
स्वतन्त्रता लेखिएको छ व्यानरमा
र काटिँदैछ पखेटा चराहरुको
थाहा छैन कुनकुन पाइतालाले टेके
देशको छातीमा
छेकेको छ कसैले नदीको बहावलाई
न कल्कलाउँछ जीन्दगीको सङ्गीत
न रमाउँछ सीमानाछेउको माटो
मानिसहरु सुनाइरहेछन् –
शान्तिको अमूर्त कविता
बुद्धपूर्णिमाको मध्यरातमा
फेरियो शान्तिको परिभाषा ।