हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

प्रियतमाको नाममा – यौटा कविता

शेखर विकल्प, (काठमाडौँ)

साँच्चि बिश्वासै नहुँदो त यो संसार र

दुनिया कसरी चल्दो हो हँ ?

 

बाटोको किनारै किनार भएर बगेको छ नदी,

र चुर्लुम्म डुबेरै गंगास्नान गरेका छन मान्छेहरु..

के पानीले मान्छेलाई मुक्ति दिलाउँछ ?

 

छ गाउँमा सबैको गुनासो उस्तै-

सखाप भईसक्यो सहर - पाश्चात्यको डढेलोले !

के ठेगान त्यो हुरी भोलि यहि पो आईपुग्ने हो कि ?

आमा, बा भन्दै थिए - तँ सहरिया नबन्नु है बा..

 

महिना नपुग्दै गिध्दका झैँ आँखा तेर्साएर

घर बहालको घण्टि बजाउँछन घरबेटि ।

नुन, चामलको पैसो नतिरेको महिनौ भइसकेछ,

उफ.. कुन गल्लि छिरेर बाहिर निस्कनु ?

 

सोध्न मन थियो एकदिन

मास्टरसापलाई -

क्याम्पस, पाठशाला हो या प्रदर्शनीगृह ?

बिद्यार्थीहरु आउँछन प्रतिस्पर्धा गर्न बिद्याको या धनको ?

र मास्टरहरु बेच्छन शिक्षा या बिज्ञापन ?

 

सहर त - अभावहरुको संग्रहालय पो !

देशमा सत्ता बद्लिन्छ मौसम जस्तै कैले घाम त कैले पानी,

बिचरा जनता आश गरुन सत्ताको

वा खोजुन ओत - छहारी ।

 

हुलाकी दाइले अस्ति मात्रै पत्र थमाएथे,

लेख्दै थिईन प्रियतमा निष्ठूरी,

माया भन्ने त थोपो छैन है तिम्लाई !

माया नै नभएको कोहि मान्छे होला र,

के जवाफ दिउँ खै,

कुन बिश्वास खोपेर प्यारमा !

सपना, आश्वासन या बिवशता ?

 

सोच्दा हुन दलानबाट लामो सास फेर्दै,

बाटो भरी आँखा ओछ्याएर

अब त छोराले पनि घर खर्च चलाउनु पर्ने ?

तर , बा लाई कस्ले भन्दिओस

छोराको सर्टिफिकेट पैसा छाप्ने मेसिन हैन भनेर !

 

कालो बादल थियो आकाशै ढाकिने गरी,

कतिपल्ट हेरीरहुँ लाग्ने नचाहेर पनि !

हराउने हुन खै कत्तिखेर ?

न बर्षिन्छ पानी बनेर - न उघ्रिन्छ आकाश छाडेर,

मान्छे भित्रको बेदना जस्तै ।

तै.. कहिलेकाहि देखिने काला बादलका सेता घेरा हेरेर,

प्रियतमालाई यौटा पत्र कोरौं लाग्थ्यो ,

स्वर्णिम सपना भित्र सुनौलो गुलाफ फुलाएर,

र बा आमाका अलिना सपना कोरेर ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |