हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सहमति

बासु श्रेष्ठ, (उडव्रिज, भर्जिनीया)

हास्यव्यँग्य

अहिले नेपालको राजनैतिक वातावरणको नारा बनेको छ सहमति । दाँया फर्क सहमति, बाँया फर्क सहमति, माथि हेर्यो सहमति, तल हेर्यो सहमति । उसँग उसको सहमति, अर्काको अर्कैसँग सहमति । दल दल विचको सहमति, अनि दलभित्रै गुट गुट विचको सहमति । तर सबैको विग्रेको मति । अर्थात असहमति । मति नमिलेपछि केहिलेपनि गति लिन्न । त्यसैले देशलेपनि गति लिएको छैन । जति कराएपनि यी नेताहरुलाई देशले गति नलिएकोमा अति महसुस हुन्न । बरु जनता लाजले भुतुक्क भैसके । यिनको घरमा रहेको श्रीमति आजित भैसके । तर यिनको न मति फिर्छ न देशले गति लिन्छ । मलाई त बरु श्रीमति भेट्न या बनाउन सजिलो होला तर यो सहमति भेट्न यिनकालागी असाध्य कठिन रहेछ जस्तो पो लाग्न थाल्यो ।

 

होईन यि नेताका मतिमा साँच्चै किरा परेको हो ? सहमति त गर्दा रहेछन् तर सहमति कस्तो रे भन्दा सहमति खोज्ने सहमति रे । त्योपनि सात दिनको म्यादभित्र । अनि सात दिनमा नभए तिन दिनको म्याद अरे, अनि त्यसमा पनि नभए दुई दिनको म्याद अरे, अनि त्यसमापनि नभए एकदिनको म्याद अनि त्यसमापनि नभए फेरी अर्को उपाय खोज्ने सहमति रे । ए बाबा ठाकुरे, होईन कस्तो हो यो भेटनै नसकिने सहमति ? अनि भएको सहमति चै त्यस्तो रे ।

 

धन्न यो सहमति राजतन्त्र फाल्ने बेलामा अहिलेको जस्तो दुर्लभ भएन । नत्र त हेर्थे यिनलेपनि बाउका बिहे । त्यतिबेला सजिलै भेटिएको सहमति कसरी एकाएक श्यालको सिँग हराए झैँ भएछ ए बाबा । कसैले बुझ्या छ कुरा ? मलाई चै कताकता यिनिहरुको मति अर्काको मतिको भरमा चलेका छन् कि क्या हो जस्तो लाग्छ । कहिले यिनले अर्कासंग मागेको मति त कहिले अर्काले कोचिदिएको मतिको भरमा । त्यसैले त त्यसरी पैँचोको मति नपाएसम्म यिनिहरु आपसमा गरिरहन्छन् विमति । अनि जब अर्काको मति पाउँछन् सबै चटक गरे झैँ एकाएक सबैले गति पाउँछन् ।

 

सहमति गर्न नसक्नेले हामीले सहमति गर्न सकेनौँ भन्ने सहमति गरे नि त हुन्थ्यो नि । त्यति गर्नेपनि मति छैन यिनका । त्यतिपनि गर्न नसक्ने अगति परेका नेताहरु परेछन् जस्तो छ । जति गरेपनि सहमतिको नाममा देशले गति लिन नसकेपछि रत्ति लाज नमानी अगति पर्नु अगाडि नै छोडे हुन्न ? देशले कति कति खति भोगीसक्यो । जनताले जिउज्यान अनि धनसम्पतिको सुरक्षामा कति क्षति भोगीसक्यो । भन्नलाई हाम्रो देश यतिको भन्छन् । तर यत्तिका समयमापनि कुनै गतिको लक्षण देखिन्न । सतिले सरापेको देशै हो रहेछ त ? अब सरापको मात्रा त्यतिलेपनि नपुगेको हो कि हाम्रा नेताहरुलाई ?

 

अहिले आफ्नो मनमुटावका सबै कुरालाई थाति राखेर हाम्रो राष्ट्र्  हाम्रो जनता, प्राणभन्दा प्यारो छभन्ने नाराकासाथ सहमति गरे पो हुन्थ्यो । देश र जनताकोलागी सहमति विना नै सहमति गरे पो जनताले बत्ति काती काती आरती गर्थे होलान् । तर यिनको पुर्पूरोमा आरती खाने लेख्या छैन जस्तो छ । नत्र त किन यिनले हामीलाई ढाँटी ढाँटी कुरा गरिरहेका छन् त ? त्यसो नभएको भए कति जाती हुन्थ्यो होला हगी ? म बेला कुबेला मनको लड्डु घ्यूसँग खाएर यिनलाई भिमसेनपाती चढाएको सपना देख्छु । तर यस्सो विचार गर्छु ज्या, मेरोपनि मति विग्रिए जस्तो छ । धत् ।

 

कहिले कहिले त यिनको मतिसँग वाक्क लागेर रीसले मनमा यिनलाई तातो तेलमा पत्पति डुबाउने हो कि जस्तो लाग्छ । या कहिले मरुभूमिको तातो बालुवामा खुट्टा भतभति पोल्ने गरी हिँडाउने हो कि जस्तो लाग्छ । कहिले पत्पति उठेको कालो धुँवाको मूस्लोमा हतपति निस्कन नसक्ने गरी कोचिदिउँ झैँ लाग्छ । त कहिले सितिमिति निको नहुने घाउ हुनेगरी टाउकोमा टड्याँग हान्दिउँ कि जस्तो लाग्छ । तपाईलाई चाहिँ यिनको माया लागेको हुनसक्छ । मलाई भने यिनिहरुसँग यति जँग चलेको छ कि यिनिहरुलाई जे भएपनि, भुत्रैसिति भन्ने सूरमा छुँ । किनभने यिनको ताल नै यस्तै छ । हिजोसम्म सडकमा लतपती हिँडेकाहरु आज महलमा बस्ने लखपति बनेका छन् । हिजोको रोडपति अहिलेको करोडपति बनेका छन् । हिजोसम्म श्रीमतिको पतिमात्र भएका यिनिहरु कसरी रातारात सम्पतिकोपनि पति भए ? अनि कसरी आउँथ्यो होला यिनको सहमतिकोलागी मति । घरमा श्रीमति भएपछि त सजिलै मति फिर्नुपर्ने हो नि । यस्तालाई सास्ती नदिए कस्तालाई दिने होला त ? तपाई नै भन्नोस् त ।

 

सडकमा छउन्जेल यिनीहरु अति जाति थिए । मन लोभ्याउने भाँति भाँतिका कुरा गर्थे । बेमेलका सप्पै कुराहरुलाई थपक्क थाति राख्थे । एकार्काका मन साटी दिन्थे । तर त्यसको ठिक उल्टो माथि पुग्नेवित्तिकै जाती जातीको कुरा गर्न थाले । जातिपिच्छे भाँति भाँतिका कुरा गर्न थाले । जनताको दिमाग यिनले चाटि चाटि सक्न थाले । देश र जनताकोलागी खाँटि कुरा त भुसुक्कै विर्सिसके र त हामी जनता आतिई सकेका छौँ । तर यिनको सौभाग्य के हो भने जनता अझै पात्ति सकेको छैन । कुनैदिन जनता पात्तिए भने यिनले आत्तिएर भाग्ने ठाउँ नै पाउने छैनन् । त्यसैले सहमतिकोलागी यिनको मति खुल्ने गति कति ढिलो नगरी बढोस् भन्ने चाहना छ । अर्काको नक्कली मति होईन आफ्नै सक्कली मतिको भरमा सहमति गरोस् भन्ने हाम्रो चाहना छ । यसो भयो भने भिमसेनपाती लिएर हतपति धुपबत्ति गर्नेमा म नै पहिलो हुनेछुँ । यसमा रति शँका छैन ।

 

Comments

Shiva Prakash

सहमति

शिव प्रकाश

सहमतिका लागि
सहमतिबाट
सहमति सुरु हुन्छ
र, सहमति पछि
सहमति तोड्ने अर्को सहमति बन्छ ।
सहमति -
एउटा निरन्तर क्रम पनि हो
र, सहमति -
एउटा निरन्तर भ्रम पनि हो ।
सहमति-
सरकार बनाउन /चलाउन
सरकार बचाउन/ गिराउँन
र, देश टुक्र्याउन पनि चाहिन्छ
सहमति-
साधुसाधुबीच हुन्छ
चोरचोरबीच हुन्छ
र, सहमति-
चोर र साधुबीच पनि हुन्छ ।
सहमति-
नेतानेताबीच हुन्छ
वेश्यावेश्यबीच हुन्छ
सहमति वेश्या र नेता हुन्छ,
र, सहमति,
वेश्या र महात्माबीच पनि हुन्छ ।
चलेको छ -
मान्छे, संसार र समय
पेशा, संस्कार र सहवास
सम्पूर्ण सहमतिमा !

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |