हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जन्मिन नपाएका नानीहरू

निलम निहारिका, (नर्थ क्यारोलाइना )


हतार
हतार घरबाट बाहिरिन्छु, केही दिन भयो शोधकार्यमा व्यस्त छु । मेरो शोधकार्यएक नवीन तथ्यको खोजीः नवज्ञानोन्मुख क्रियाकलाप ।

 

बौद्धिक खोजपूर्ण क्रियाकलाप । मभित्र अटेसमटेस प्रश्न छन् । अन्तर्वार्ताप्रश्न, अवलोकन फाराममा प्रश्न छन् । प्रश्नको ठेली बोकेर केही दिनको नियमित दिनचर्याझैँ पुग्छु उही क्लिनिकमा । एक विख्यात स्त्रीरोग विशेषज्ञको क्लिनिक ।

 

मेरो शोधप्रश्नको विषय जन्मन नपाएका नानीहरू

 

मेरो शोधको प्रयोजन उपाधि हासिल गर्नु

 

शोधको क्षेत्र भ्रूणहत्याको अध्ययन र विश्लेषण

 

शोधशीर्षक चयनका आधार मेरो रुचि, सामग्रीको उपलब्धता, आजको आवश्यकता, अनि स्वयम् मेरै व्यावहारिक ज्ञान, अनुभव र दक्षता ।

 

शोधको औचित्य वास्तवमै भन्ने हो भने आत्मसन्तुष्टि ।

 

म शोधार्थी, आफैसँग र ती आमासँग ।

 

ममा धैर्य छैन तर तृष्णा छ । लगनशील छु । पूर्वाग्रह हुन्छ हुन्न, म भन्न सक्दिनँ । ममा ज्ञान छ, अभ्यास छ ।

 

रातो फाइल बोकेर दिनहुँजस्तै, म आज पनि उपस्थित हुन्छु क्लिनिकमा । म पुग्दा क्रमबद्ध मिलेर लस्करै कुर्सीमा बसेका छन् आमाहरू, सन्तानको हत्या गर्ने पालो पर्खेर । आतुर छन् आमाहरू बेचैनी छ, पालो कहिले आउने हो मेरो ? पलपलको हतारो छ । पटकपटक सोध्छन्, अब मेरो पालो कहिले ? मेरो बेला भएन ? छिट्टै गरिदिनुस् न ! ऊभित्रको नानी पनि पर्खेर बसेको हुन सक्छ कहिले पूरा हुने नौ महिना अनि च्याँच्याँ गर्दै यो धर्तीमा सफल अवतरण गर्ने ? सपना देख्दा हुन् सुन्दर संसारको ।

 

आमाको पेटभित्र पाठेघर, पाठेघरभित्र तरलपानी, पानीभित्र सुरक्षाको जाली, जालीभित्र ऊ । प्रकृतिले कति सुरक्षा दिएकी नानीका लागि न्यानो सुरक्षा । सुरक्षामा मस्त सुतेको ऊ । ऊ, आफ्नो हत्याको तयारीबाट कति अनभिज्ञ ! शङ्का छैन कुनै । आफ्नै आमामाथि शङ्का ऊ कसरी गर्न सक्छ ? ऊ मस्त छ । नौ महिना गनिरहेछ । सबैसँग अपरिचित उसले चिनेकोजानेको छ त आफ्नै आमाको तातो रगत जानेको छ । अरू नातासम्बन्धसँग अहिले के सरोकार ?

 

ऊ जन्मँदा पहिलो बोली च्याँ गरी रुनुपर्छ । रोएपछि जीवनको सुरुवात हुन्छ । अब ऊ रुन नपाउने त ?

 

भ्रूण सोच्दो होमेरी आमाले प्रसववेदना सहेर यस धर्तीमा टेकाउनेछिन् । धन्य आमा धन्य, तिमी पूजनीय छौ ।

 

आमाहरू क्रमबद्ध बसेका छन् आफ्नो सन्तानको हत्या गर्ने पालो पर्खेर । भित्री कोठाको एक कुनाा बसेर म झ्यालबाट चियाइरहेकी छु । अवलोकन गरिरहेछु । मेरो पालो आयो । अब प्रतीक्षा सकिएकोमा दङ्ग पर्दछन् पालो आउनेहरू । प्रत्येक आमाले आफ्नो गर्भ मिल्काउनुअगाडि मलाई भेटेर छोटो वार्तालाप गर्ने चाँजोपाँजो मिलाइएको छ । म त्यहीँको कर्मचारीजस्तै भएर बसेकी छु पोसाक परिवर्तन गरेर । मैले जम्मा लिने सेम्पल सय । म क्रमशः अन्तर्वार्ता लिन्छु ।

 

१. नाम रीता सिम्खडा

 

वर्ष ३५

 

ठेगाना ललितपुर, इमाडोल

 

पेसा नोकरी

 

गर्भपतन गराउनुको कारण दुइटा छँदै छन्, अब नपाउने, पुग्यो । नराख्ने भन्दाभन्दै बसिहाल्यो ।

 

२. नाम अञ्जना थापा

 

वर्ष ३२

 

ठेगाना कैलाली, टीकापुर

 

पेसा गृहिणी

 

कारण तीनवटी छोरी छन्, अहिले पनि छोरी नै छ रे ।

 

३. नाम प्रिया पोखरेल

 

वर्ष २२

 

ठेगाना झापा

 

पेसा कुखुरापालन

 

कारण – (मौन) । उसले अर्की स्वास्नी लिएर भाग्यो । (अनुहारमा घृणा र रीस छ ।)

 

४. नाम नम्रता जोशी

 

वर्ष २२

 

ठेगाना सिन्धुलीमाढी

 

पेसा अध्ययन

 

कारण – (मौनमौनमौन) विवाह भएको छैन हो ? केही छैन मसँग लुकाउनु पर्दैन । म उसको हात सुमसुम्याउँछु, नम्रता आँसु चुहाउँछे ।

 

कसरी भयो ?’

 

मैले ठूलो विश्वास गरेँ, उसले धोका दियो । बिहे गरेन ।

 

५. नाम कोपिला श्रेष्ठ

 

वर्ष २९

 

ठेगाना तानसेन, पाल्पा

 

पेसा व्यवसाय (ब्युटीपार्लर)

 

कारण एउटा छ, धेरै पाएर के गर्नु ? शिक्षादीक्षा, खानलाउन राम्रो दिन सकिँदैन ।

 

६. नाम कुमारी चौधरी

 

वर्ष ३५

 

ठेगाना कपिलवस्तु

 

पेसा कृषि

 

कारण पाँच जना छन् । फेरि... ना बाबा ना... अब पुग्यो ।

 

पुग्यो त किन ? बन्द गर्नु पर्दैन ?’

 

मान्दैनन् । मान्दै मान्दैनन् लाहानीका बाबुले ।

 

७. नाम कमला प्रसाईं

 

वर्ष १९

 

ठेगाना धरान

 

पेसा अध्ययन

 

कारण बिहे गरेको तीन महिना मात्र भएको थियो । घरमा भिœयाएका पनि छैनन्, श्रीमान्लाई गोली लागेर हुनु हुन्न । राख्न चाहन्थेँ । पाउन चाहन्थेँ तर के गर्नु ?

 

८. नाम सम्झना ओझा

 

वर्ष २८

 

ठेगाना विराटनगर

 

पेसा गृहिणी

 

कारण – ‘श्रीमान् तीन वर्ष भयो विदेश गएको आइस्या छैन । लाज मान्दै भन्छे ।

 

९. नाम रीता गुरुङ

 

वर्ष २४

 

पेसा होटल व्यवसाय

 

ठेगाना पर्सा

 

कारण यसलाई कसले स्वीकार्छ ? को बाबु बन्छ ?

 

१०. नाम सविना नेपाली

 

वर्ष १६

 

ठेगाना पोखरा

 

पेसा कृषि

 

कारण चार महिनाअघि सामूहिक बलात्कार, बलात्कारी निर्दोष साबित ।

 

११. नाम डोल्मा शेर्पा

 

वर्ष ४६

 

ठेगाना काभ्रे

 

पेसा अध्ययन

 

कारण चालीस वर्ष काटिसकेँ नातिनातिना जन्मिसके, अब समाजले के भन्छ ?

 

पालोमा परेकाहरूलाई प्रश्न गर्दै जान्छु ।

 

यो क्रम चलिरहेछ केही दिनदेखि ।

 

हत्याको प्रत्यक्षदर्शी म ! हत्यामा संलग्न छन् डाक्टर, नर्स । सहयोगी छन् नानीका बाबुआमा, आफन्त जो सबैभन्दा नजिकका छन् ।

 

प्रत्यक्षदर्शी म तर यो हत्याको न मलाई कहीँ बयान दिनु छ, न कहीँ सुनुवाइ नै हुन्छ । हत्या भइरहेछ धमाधम ।

 

अर्को दिन, म त्यही ठाउँमा पुग्छु, ठीक त्यही समयमा ।

 

आपूmसँग भएको अवलोकन फाराम भर्छु । अन्तर्वार्ता पथमादर्शिका भर्छु । मेरो काम शोधकार्य पूरा गर्नु मात्र न हो ।

 

गर्भपतन गराउनु या नानीहरूको अकाल हत्याको कारण आज जे मैले सुनेँ यस्तो छ, प्रस्तुत गर्छु

 

विदेश जान लागेकी छु त्यसैले ।

 

मेरो पढाइ पूरा भएको छैन, पढाइमा बाधा पार्छ ।

 

श्रीमान्को पहिलाकी श्रीमतीपट्टिबाट नै छोराबुहारी, छोरीज्वाइँ सबै छन् । मैले नपाउने सर्तमा बिहे भाको रे । मेरै बुवासँग त्यही दिन कुरा भाथ्यो भन्छन् ।

 

मालिक्नीले थाहा पाए बित्यास परिहाल्छ नि ! कहाँ मालिक कहाँ म ?

 

बल्ल एघार पढ्छु, ऊ बाह्रमा । हाम्रो अहिले बिहे गर्ने बेला पनि त भा छैन ।

 

पाल्न सकिँदैन हजुर । रहरथ्यो नि ! श्रीमान् सधैँको बिरामी । आज मजदुरी नगरे भरे मुखमा माड लाग्दैन ।

 

हामीलाई निको नहुने सरुवा रोग लागेको छ ।

 

बन्दुकको कुन्दाले हिर्कायो, बच्चा भित्रै मरिसकेछ ।

 

कलाकारको बिहे हुँदैमा त दर्शकको क्रेज घट्दो रहेछ । केही वर्ष नपाउने, अझै केही गर्नु छ, अहिले क्रिएसनको बेला हो, कसरी आफ्नो क्यारियर बिगार्नु ?

 

हाम्रो धन्दामा बच्चा भए फाल्नुपर्छ, जन्माउन कहाँ पाइन्छ र ?

 

उसले भूmटो माया गरेको रहेछ, मैले त चोखो सम्झेँ । जन्माउन त इच्छा थियो तर... ।

 

आफ्नै नाताभित्रको, हाडनाताको सम्बन्ध ।

 

हातको सेता पन्जा रगतले लतपतिएको छ । डाक्टरले एउटा भ्रूणलाई वकेटमा मिल्काएपछि, अर्को मिल्काउने तयारीमा नयाँ पन्जा फेर्छ । रगत नलागेको कीटाणुरहित पन्जा ।

 

ऐया !

 

कुनै बेला सुनिन्छ आमाको चीत्कार । ऐया ! मैले सुनेँ, अरूले पनि सुने आवाज, आमाको । तीखो औजारले छेडीछेडी टुक्राटुक्रा पार्दा नानी पनि ऐया गर्दा हुन् । आमाकै गर्भमा चिच्याउँदा हुन् नानी । स्वयम् आमासँग पनि पुग्न पाउँदैन उनीहरूको चीत्कार । उनीहरू टुक्राटुक्रा भएर फोहोरको डङ्गुरभित्र बाल्टीमा मिल्कन्छन् ।

 

दिनहुँ, दर्जनौँ भ्रूणहरूको एकै अवशेष ।

 

नानीहरूको हत्यामा मृत्युगीत गाइदिने कोही छैन । हत्याविरुद्ध जुलुस छैन, नारा छैन, तोडफोड केही छैन । मात्र हत्यामा संलग्न रहनेहरू पैसाको लेनदेख गर्छन् र बाटो साट्छन् ।

 

मेरो कोख दुख्छ चसक्क ।

 

मेरो तथ्याङ्क सङ्कलनको अन्तिम दिन ।

 

मेरो तथ्याङ्कभित्र परेका सय नानीहरू एकै चिहानमा जलिसकेका छन्, फोहर जलाउने मेसिनभित्र चर्को रापमा दनदनी ।

 

यतिबेला शोकधुन कुनै बज्दैन, यतिबेला शोकको आँसु कतै झर्दैन । मातृहृदयसमेत चस्कन्न चसक्क ।

 

नानीहरू खरानी भइसके । मसँग अवशेष छ सङ्कलित खेस्रा सामग्री ।

 

मैले त्यसको अध्ययन, प्रशोधन, व्यवस्थापन, सम्पादन गर्नु छ कागजको पानामा ।

 

सय नानी हत्याको वर्गीकरण, तालिकीकरण गर्नु छ । चित्रात्मक प्रस्तुति गर्नु छ डन्डारेखामा बाँड्नु छ, वृत्तरेखामा कोर्नु छ, प्रतिशतमा बागडोर गरेर रेखाचित्रमा ढाल्नु छ ।

 

नानीहरूको हत्याको व्याख्या, विश्लेषण गर्नु छ, खण्डनमण्डन, संशोधन गरी निष्कर्ष निकाल्नु पनि छ ।

 

सम्पूर्ण सय नानीहरूको हत्याविवरण बोकेर म फर्किरहेकी छु घरतिर ।

 

मैले अब टङ्कन गरेर सुन्दर गाताबन्दीमा पेस गर्नुपर्छ जन्मन नपाएका नानीहरूको कथा ।

 

सुन्दर गाता नानीहरूका लागि सुन्दर नाना ।

 

मेरो अघिल्तिर नानीहरू छुनमुनछुनमुन गर्दै हिँडेका छन् । ता... ताते... ताते..., बामे सरेका छन् । पूmलजस्ता कोमल पुष्प । सुनौला हातहरू, सुनकेस्रा कपाल, गुलाबी छाला, सुन्दर आँखा । खेल्छन्, कुद्छन्, छरपस्ट बाटोमा म बाटो मोडिन्छु ।

 

अर्को घुम्तीमा भेट्छु स्कुलको पोसाकमा लामबद्ध नानीहरू, मलाई बिदाइको हात हल्लाउँदै, बाटो मेरै अघिल्तिरबाट ।

 

म गन्दै जान्छु एक दुई तीन... अन्ठानब्बे, उनान्सय, सय र एक सय एक । एक सय एकले मलाई फर्कीफर्की हेर्छ दुरुस्त म, मेरो बचपनको फोटोजस्तै । म हेरिरहन्छु ।

 

मेरो कोख दुख्छ चसक्क ।

 

म भुइँमा बस्छु थचक्क । टाउको उठाउँछु बिस्तारै । त्यहाँ केही छैन, उदाङ्ग सडक र सडकछेउमा पुनःनिर्माणका लागि भत्काउँदै गरिएको पुरानो घरबाहेक ।

 

मेरो कोख दुखिरहन्छ मन्दमन्द ।

Comments

Shiva Prakash

छोटा र मीठा शब्दको बान्कीमा बुनिएको कथा . आज बल्ल फुर्सद मिलाएर पढें . 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |