अंशबन्डा
उत्तम पुरुष , (हाल योकोहामा, जापान)
रामजी बाजेले आफ्ना चारजना छोराहरुलाई हुर्काइ, बढाई, पढाई गरि जुँगा मुठे बनाए। सबैले डोली चढी सकेर एउटा एउटा सानो तिनो इलममा लागेका थिए।
एकदिन चारै भाई जम्मा भए र भने 'बा, बाँसलाई फरक फरक ठाउँमा सार्यो भने मौलाउँछ भन्छन' |
रामजी बाजेले जुँगा चल्यो कुरा बुझी हाले र जवाफ फर्काए 'लौ ठिकै छ, म मास लिन जानु भन्दा पै'ले तिमरुलाई बाक्लो दाल खान मन लाग्या हो भने भद्र भलादमीलाई बोला'ओ।'
गाउँका गण्यमान्य भनाउँदाहरु आँगनमा भेला भए। जमदार बाले कुरो सुरु गरे 'ल अन्नपात, जिन्सी सबै बरोबर गरदिउँ। खेतबारी चाहिने जो कुरोले आधा जिउनी र बाँकी आधा चार भाग गर दिउँ। कि कसो?'
जमदार बा बोले पछि सितिमिति कसैले पनि कुरो काट्ने साहास गर्दैनथ्यो।
रामजी बाजेको कानैमा आएर कान्छो छोराले भन्यो ' मेरा त भानट्याङ भुनटुंग पनि सानै छन् । हेरी नछाडनुस है बा।'
कान्छो उठ्नासाथ जेठो उपियाँ उछिटिए झैँ उछिटिएर आई खुसुक्क भन्यो 'बा आमा त मैसँग बस्न पर्छ हई। मेरी जहान पनि रोगी छे।'
यसै गरि माईलो र साईलोले पनि आआफ्नो मुख बुबाको कानमा जोरे।
रामजी बाजेले मुख खोले 'जमदार बा, यो जिउनी भनेको झगडाको बीउ हो। यसलाई नराखौं र जति छ बराबर चार भाग लगाई दिउँ।'
जमदार बाले झोक्किदै भने 'लौ जो इच्छा। तर तुलसाको मठमा राख्नु अघि छोराहरुले हेरेनन् भनेर चाहिने जो कुराले नभन्नु नि।'
रामजी बाजेले दुई पाउको जिब्रो चलाउनुको सट्टा एक धार्नीको टाउको हल्लाएर सहमति जनाए। बाहिर बच्चा च्याप्ने मात्र नभएर भित्र बच्चा राख्ने रमितेहरुको समेत भीड बाक्लिंदै गयो। अन्नपात र जिन्सी बराबर भाग लगाई सकेपछि जमदार बाले छोराहरु तिर आँखा डुलाउँदै सोधे 'चाहिने जो कुरोले लौ भन अब, बाबु आमा पाल्ने को?'
चारै जना छोराहरु एकले अर्काको मुख ताक्न थाले। ढिकी नजिकै बसेका बुहारीहरू आआफ्ना जोडीहरुलाई आँखा सन्काएर ईशारा गर्न थाले। एकछिन सन्नाटा छायो।
आमाले कोट्याउँदै सोधिन् 'ए बुढा, हामी को सँग बस्ने?'
'म तँसँग बस्नी, तँ मसँग बस्नी बुझिस।' रामजी बाजेले बुढी माउलाई रिस पोखे।
Comments
शिव प्रकाश
छोटो मीठो ।