हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तीज पर्वमा प्रवेश पाएका नयाँ मूल्य र मान्यताहरू

शर्मिला खडका (दाहाल), (काठमाडौं)

हरितालिका तीज नेपाली महिलाहरूको महान पर्व हो । धार्मिकरूपले स्थापित यो पर्वको आफ्नै सांस्कृतिक महत्त्व रहँदै आएको छ । परापूर्वकालमा हिमालयकी पुत्री पार्वतीले श्रीमहादेव पति पाउ भनी निराहार व्रत लिएको धार्मिक महत्त्वमा यसलाई संस्कृतिसँग जोडिएको छ । तीजमा लगाइने गरगहना र मनाउने तरीकाको आफ्नै परम्परा छ । गाउँघरमा छोरीचेलीहरूलाई वर्षाको धान रोप्तरोप्ता गरेर थाकेको शरीरलाई माइत बोलाइ दुइचार छाक मीठो, मसिनो खुवाउने चलनसँगै छोरी वा चेलीलाई उसको घर लिनजान पर्ने र मीठो  मसिनो खुवाउनुपर्ने परम्परासँगै यो प्रचलन बढदै गएको हो ।  माइत आएर साथीभाइसँग दुःखसुखका कुराहरू गर्ने,  आफ्ना सासूआमाजू र नन्दले दिएको बुहार्तन गीत मार्फत गाएर आफ्नो पीडा भुलाउने गरिन्थ्यो । यसरी मनाइँदै आइएको तीज केही वर्षदेखि पृथकरूपमा मनाउन थालिएको छ । अहिले तीज पर्व देशविदेशमा कुटनैतिक  नियोगहरूमा पाँच तारै होटलदेखि सडकसम्म भव्यरूपले मनाउन थालिएको छ । एउटा सांस्कृतिक पर्वलाई यति ठूलो असर पार्नुमा देशको राजनैतिक अवस्था र सामाजिक अवस्थाले ठूलो असर पारेको हुन्छ । हिजो माओवादी जनयुद्धमा समाजमा एउटा त्रास थियो । सरकारी पक्ष र विद्रोही पक्ष दुवैबाट नागरिकलाई शान्ति सुरक्षामा ठूलो खतरा थियो । समाज एउटा संकुचित, कुण्ठित र ग्रसित अवस्थामा थियो । अझ धेरै नारीहरू कुण्ठित र पीडित थिए । यो अवस्थाबाट गुज्रेर अहिले समाजमा शान्ति स्थापना भएको छ । विभिन्न जातजातिमा जागरणको लहर आउनाका साथै नारीका मुक्तिका आवाजहरू उठिरहेका छन्  । आज नारीहरू घरदैलोको सधार काटेर मुक्तिका गीत गाउन चाहन्छन् । हिजोसम्म श्रीमानसँग सारी किन्ने, जुत्ता किन्ने पैसा माग्नुपर्ने नारीहरू स्वतन्त्रा र स्वलम्वनका कुरा गर्न चाहन्छन् । वर्षौ पुरुषवादी हैकमबाट थिचिएर पिल्सिएर रहेका नारीहरू उन्मुक्तिको पखेटा लगाउन चाहन्छन् ।  तीज पर्व मनाउने लहर त्यही अंकुशता पराधिनताबाट विमुक्त भई आज निसंकोच र निर्धक्क बाटाबाटामा गुन्जिरहेको छ  । तीज पर्वले आज नारीहरूलाई एउटा राजनैतिक चेतना र सामाजिक चेतना बिस्तार गर्ने प्लेटर्फाम बनाएको छ । त्यसैले आज धेरैभन्दा धेरै सरकारी कार्यलयहरू र गैरसरकारी सस्थाहरूले हिजो आफ्नो नारी सशक्तिकरणका कार्यक्रम र जनचेतनामूलक कार्यक्रम बिस्तार गर्न नसकेको अवस्थामा आज यही तीज पर्वमार्फत्  आफ्ना नारी चेतनामूलक कार्यक्रम बिस्तार गर्ने प्लेटर्फमको रूपमा प्रयोग गरेको देखिन्छ । यसै प्लेटर्फामबाट आज नारीहरूले चेतनामूलक कुराहरू सिक्दै जानुपर्ने देखिन्छ । हिजोसम्म घरको संघार नकाटेका नारीहरू पनि निर्धक्क परपुरुषसँग बोल्ने र कम्मर मर्काइमर्काइ नाच्न सहज मान्न थालेका छन् । आफ्नै पतिको दीर्घायू  र सुस्वास्थ्यको लागि मनाइने व्रतमा श्रीमान् र समाजबाट पनि कुनै विरोध हँुदैन भनी उनीहरू निर्धक्क लागेका छन् । यसरी तीज पर्वले नयाँ रूप लिइरहेको अवस्थामा यसलाई भड्किलो र खर्चिलो बनाउन हुँदैन भन्ने अर्को पक्षको कुरा आँउछ । किनभने विशेषत तीज पर्वमा मीठो खाने र राम्रो लाउनैपर्ने भएको हुनाले कतै यो भडकिलो भई समाजमा विचलन आउने त होइन भन्ने आशंका गर्न सकिन्छ । नेपाली समाजमा धनीवर्ग र गरीव वर्गको विभेदको खाडल प्रतिदिन गहिरिँदै गएको छ । यस पर्वले यस्ता विभेदलाई कमगर्न सक्नुपर्छ । गरगहनाले झकिझकाउ भई प्रतिस्पर्धाको रूपमा हेर्न थालियो भने यस पर्वभित्र भोलि थुप्रै विकृतिहरू उव्जन सक्छन् । यसबाट समाजमा अपराधिक कार्य र अनैतिक कार्यहरू हुने सम्भावना हुन्छ । यस पर्वलाई सहज र सरलरुपले मनाउने र मनोरञ्जन का साथसाथै नारी चेतनाका कुरालाई अघि ल्याउन सबै पक्षले ध्यान दिनुपर्ने देखिन्छ । नारीभित्र गुम्सेका पीडा र कुण्ठाहरू व्यक्त हुने यस पर्वलाई नकरात्मक रूपले हेरिनुको बदलामा यसलाई समसामयिक आफ्नो गच्छेअनुसारको मनाउनुपर्छ । कतिपय नारीवादीले यसलाई विरोधको रूपमा लिएको देखिन्छ । नारीले पुरुषको दीघार्यूको लागि व्रत लिनुपर्ने तर पुरुषले चाहिँ खोई लिन्छन् भन्ने भनिन्छ । यस पर्वलाई भडकिलो र तडकभडक भएको भनी आरोप लाग्ने गरेको देखिन्छ । तर हिन्दुधर्मको परम्परागत रुपमा मानिने यो पर्व हिन्दुनारीको मात्र नभई मुस्लिम, बौद्ध सबै धर्मावलम्बी नारीहरूको एकता थलो बनेको छ । यसलाई अब धार्मिक र साँस्कृतिक पर्वको रुपमा मात्र नलिई राष्ट्रिय एकताको रूपमा लिनुपर्ने देखिन्छ । सम्पूर्ण जातजाति, धर्मसंस्कृतिका नारीहरूको एकताको पर्वको रूपमा लिनुपर्ने देखिन्छ । पहाड, हिमाल, तराई जुनसुकै ठाउँको भए पनि नारीका पीडा र वेदना एउटै हुन्छन् । तराईको दाइजो प्रथा, हिमालको बहुपति प्रथा, पश्चिमको छाउपडी प्रथा सबै प्रथाहरु नारीका अभिशाप हुन् । यी प्रथामा पिल्सिएका नारीका पीडा र वेदना एउटै हुन् । तसर्थ सबै प्रदेश र जातजातिका नारीहरुले यस पर्वलाई नारी उन्मुक्ति र उन्नतिको रूपमा अघि सार्न सके समाजमा ठूलो क्रान्तिकारी परिवर्तन हुनसक्थ्यो । तर यसतर्फ नारीचेतनाका अग्रजहरुले खासै ध्यान नदिएको पाइन्छ । यस पर्वलाई मीठो खाने र राम्रो लगाउने पर्वको रुपमा मात्र सीमित राखेको देखिन्छ ।

तीज पर्वको प्रत्येक वर्ष बढ्दै गएको रौनकताले यसको महत्त्व र सार्थकतालाई अझै बढाउँदै लगेको देखिन्छ । यसबाट सम्पूर्ण नेपाली नारीहरू एकबद्ध भई आफ्ना पीडा, वेदना, नयाँ चेतनालाई अघि ल्याउने एउटा सामाजिक थलोको रूपमा विकास गर्नु समय सान्दर्भिक हुनेछ । यस पर्वलाई नाचगानमा मात्र सीमित नराखी अन्य बौद्धिक,राजैनैतिक, सिर्जनात्मक र सामाजिक क्षेत्रमा जागरुक भई आफ्नो हक अधिकारको लागि एकजुट भई लाग्नसके यो तीज पर्वले सार्थकता पाउनेछ भन्ने कुरामा हामी दुई मत हुन सक्दैनौँ 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |