हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

घर नम्बर ७८

कुमारी लामा, (हाल: बेलायत )

 

उलविच (Woolwich) दक्षिण पुर्वी लण्डको सडकभरि शरदका पहेला पातहरु छपक्क बिछिएका छन् । बिगतमा टेलिभिजनमा देखिएका राता पहेला पातहरुले भरिएका रुखहरु आज आँखा अगाडि नै उभिरहेका छन् । मनमा केही हलचल र रोमान्चकता जस्तो पैदा भइरहेको छ । बेतमासले चल्ने यो लण्डनको शरदीय चिसो बतासले सफा सडक र पार्कहरु कुनै चित्रकारको क्यान्भासम झैं एकैछिनमा भरिरहेछन् 

आजकल देख्छु मेरी छिमेकी मरियमको सानो बगैचा पनि उसै गरी पात पतिड.गरले भरिँदै छ । केही समय अघि मात्रै रंगीचंगी साना ठुला फुलहरुले भरिएको उनको मायालु बगैचा......

सेत्तामे कपाल बोकेकी ८० बर्षिया बृद्धा मरियम । प्रत्येक बिहान सबेरै उनलाई उनकै सानो बगैचा छेउ चुरोट तान्दै गरेको भेटछु । उनी हात हल्लाउँछिन् मलाइ देख्नेबित्तिकै । प्रतिउत्तरमा म पनि उसै गर्छु । हामी मौका जुरेसम्म भलाकुसारी गर्छौ । एक्लि छिन् मरियम । उनको एउटा सुसारे अधबैसे महिला र स्काई, उनको बिरालो नै उनका साथीहरु हुन् । निकै पटक उनी बिरालोसंग बोल्दै गरेको भेट्छु । एउटा जनाबर र मानिस बिचको सामिप्यता म राम्ररी नियाल्छु । मानिसहरु भन्दा इमान्दार र समिप छ स्काइ उनको लागि । उनी कराउँछिन् घरि घरि त्यो बिरालोलाई अनि निकै पटक मसंग गुनासो पनि गरेकी छिन् त्यसको बारेमा । उनी भन्थिन् यो अतिनै अभद्र र अलि जंगली छ" । मसंग गुनासो गर्दै गर्दा त्यो बिरालोले केही बुझे जस्तो 'म्याऊ..' गर्दै पुच्छर लुकाएर घरभित्र लुसुक्क पसेको पनि मैले ख्याल गरेकी छु । आफ्नो मालिकको भाषा सजिलै बुझ्छन् क्यार जनावरले पनि ।

त्यो बिरालोको नाम स्काइ राख्नुको कारण पनि उनले मलाई भनेकि थिइन् । केही बर्ष अघि मध्य रातमा झ्यालमा खर्याड.खुरुड. आवाज आएपछि उठेर हेर्दा सानो बिरालो बल्ल बल्ल थामिएर बसेको भेटिन् रे मरियमले । भगाउन खोज्दा अडिन नसकेर तल्लो तलाको भुइमा भ्यात्त पछारिएछ । त्यो थरथर काम्दै गरेको सानो जीवलाई देखेपछि मरियमलाई माया लागेर आफुसंगै राखेकि रहेछिन् । त्यो बिरालो आकाशबाट फुत्त खसेर उनको झ्यालमा आइपुगेको जस्तो लागेकाले उनले त्यसको नाम स्काइ राखेकि रहेछिन् ।

स्काइ र मरियमको सम्बन्ध बिलकुल साथी साथी जस्तो देख्छु । उनले घरि घरि कति मज्जाले स्काइलाई म्याडमभनेको सुन्छु अनि बिराले पनि म्याऊ गर्छ । मरियम कहिलेकाही रिसाउँछिन् पनि अनि त्यो बिरालो मरियम रिसाएको बुझ्छ सायद, लुसुक्क घरभित्र पसेर किचनको टेबलमा हलचल नगरी बस्छ । कस्तो अनौठो नाता .....

मरियम सधैं एक्लै हुन्छिन् । त्यो बृद्धा अबस्थामा एक्लोपनाले कति गाँज्दो होला उनलाई भनेर म घरि घरि कल्पिन्छु । उनलाई कस्तो लाग्दो हो त्यो खाली घर, खाली खाली बैठक अनि छबछन्न उनको सानो भान्सा र बगैंचा..... तर एक्लि मरियमलाई मैले कहिल्यै दुःखी देखेकि छुइन । उनी एक्लोपनामा नै रमाएझैं भेट्छु । प्रत्येक बिहान सबेरै उठेर भान्सामा यता उती गर्छिन् । केही  समय पछि बगैचामा निस्किएर चुरोट पिउँदै केही सोचमा डुबेजस्तो हुन्छिन् अनि मलाई देख्ने बित्तिकै सदाजस्तै आफ्ना बृद्ध हातहरु हल्लाउछिन् ।

एकपटक भने अलि दुखेसो जस्तो पोखिन् उनले । पछिल्लो पटक उनी आफ्नी दिदीलाई भेट्न जाँदा उनलाई चिनिनन् अरे । अल्जाइमरले गाँज्दै गएपछि कसैलाई चिन्न नसक्ने भएकी रहेछिन् उनकी दिदी । उनले आफ्ना कम्जोर आँखाहरु टिलपिल पार्दै अब देखि कहिल्यै आफ्नी दिदीलाई भेट्न नजाने कुरा बताइन् । उनको कुराले मलाई अलि भाबुक बनायो । सँगै हास्दै खेल्दै हुर्किएका दिदीबहिनी अनि मरियमलाई निकै माया गर्ने दिदी आज आफ्नी प्यारी बहिनीलाई नै चिन्न नसक्ने अबस्थामा छिन् । कति नमिठो हुदो हो उनको मन । आखिर समय न रहेछ कसैलाई वारी कसैलाइै पारि पुर्याउने ।

मरियमलाई बेलाबखत उनकी त्यही बिरामी दिदीकी छोरीहरु र केही बृद्ध साथीहरु बाहेक अरु कोही पनि भेट्न आउनेहरु छैनन् । रोयल मेलका बिभिन्न हुलाकीहरु भने उनलाई र उनको घर नम्बर ७८ लाई कहिल्यै नबिर्सने शुभचिन्तकहरु हुन् जसले प्रत्येक दिन जसो उनको ढोकामा केही पत्रहरु खसालेर जान्छन् । ती पत्रहरु कि त बत्ती, ग्यास, टेलिफोनका बिलहरु हुन्छन् कि त टाढा रहेका कोही आफन्ती र पुराना साथीहरुले उनको जन्मदिन याद गरेर पठाएका शुभकामना कार्डहरु या क्रिसमस र नयाँ बर्षका कार्डहरु । त्यही कार्डहरुमा कुँदिएका अक्षरहरु मात्रै हुन् उनीहरुबीचको सामिप्यता र सम्बन्ध ।

सेप्टेम्बर १४ मा उनको जन्मदिनको शुभकामना दिन पहिलो पटक उनको घर नम्बर ७८ मा छिरेकी थिएँ । शायद उनले कल्पना गरेकी थिइनन् मेरो उपस्थितिको त्यसैले निकै खुसी भइन् मैले लगिदिएको फुलको गुच्छा र कार्ड देखेर । उनको खुसीले मलाई झन् धेरै खुसी बनायो । मेरो केही बेरको बसाइमा  उनले आफ्ना केही बिगतहरु पल्टाइन् । लण्डनको यातायात बिभागमा काम गर्दाका केही पलहरु सुनाइन् ।

उनको सानो कोठालाई नियालेँ । एउटा सानो उनी सुत्ने खाट, सोफा, दराज, बडेमानको टेलिभिजन, अनि टेबलमा सजिएका फुल र केही सामानहरु । मरियमको संसार यही सानो कोठा हो आजकल । उनले उनको भान्सामा पनि लगिन् अनि उनको जन्मदिनको शुभकामनाका कार्डहरु देखाइन् । निकै धेरै कार्डहरु रहेछन् । अनि अरु केही खोल्न बाँकी चिट्ठीहरु पनि रहेछन् । मेरै अगाडि खोलिन् । साथी भाइले पठाएका अरु कार्डहरु रहेछन् । ती कार्डहरु हेर्दैगर्दा उनको अनुहारमा छुट्टै कान्ति फैलिदै थियो । उनको अनुहारभरि छरिएका अनगिन्ति बुढयौलीका रेखाहरु पनि बेफिक्रि मुस्कुराए र्झै लाग्यो ।

उनको जन्मदिन मनाउन कोही आएको देखिन । देखे निकै धेरैं कार्डहरु, रातो ज्याकेट लगाएका रोयल मेलका हुलाकीले ल्याइदिएका केबल शुभकामनाका कार्डहरु । यहाको जीवनशैली बिलकुल अजिब लाग्छ । सम्बन्ध र खुसीहरु ती कागजका टुक्राहरुमा अडिएका छन् । मरियमलाई कस्तो लाग्दो हो यी कार्डहरु पढ्दा । धेरै पुराना साथीहरुले पठाएका रहेछन् । त्यही बस्दै गर्दा एकछिन कल्पिएँ, ती कार्डहरुसंगै मरियम बिगतमा ती साथीभाइहरुसंग बिताएका पलहरु छेउ पुगिन् होला । सम्झना र कल्पनाहरुको आफ्नो छुट्छै संसार छ,  उमेर र समयभन्दा निकै माथि.......

म निस्किने बेलामा भित्ताभरि टाँगिएका मेरा लागि अपरिचित फोटोहरुसित परिचय गराउने चेष्टा गरिन् उनले । धेरै फोटोहरुको माझमा एउटा फोटो आँखैमा अल्झिरह्यो । सुन्दर बैसालु मरियम । मरियमको कलकलाउँदो रुप र ती नशालु नजरहरु एकछिन् नियालेँ । केहीसमय पछि मनमा उथलपुथल जस्तो भयो । हेरेँ त्यो सुन्दर फोटोलाई अनि अहिलेकी सेत्ताम्मे कपाल भएकी, अलि भद्दा अनि लट्ठी टेक्दै हिड्ने मरियमलाई......उफ् यो समय... कति कु्रर छ.............................

हुन त हरदम पोखिरहने समयलाई बुझाउन मरियमकै सानो बगैचा पनि काफि छ । केही समय अघि मात्रै पनि फुलैफुलले ढकमक्क थियो त्यो बगैंचा । बेलाबखत उनले मलाई त्यहीबाट टिपेर केही फुलहरु दिने पनि गर्थिन् । उनको मायालु उपहारलाई मैले जतनकासाथ निकै दिनसम्म टेबलमा सजाएकी पनि हुँ ।

तर आज वाताबरण शरदमय भएको छ । उनका ती बैसालु फुलहरु बिस्तारै बिस्तारै ओइलाउदै झर्दै जाँदै छन् । अरु बिरुबाहरु पनि पात झार्दै अलि खाली खाली हुदै छन् । ती फुलहरु र मरियम उस्तै लाग्छन् मलाई । उनका बसन्ती दिनहरु अब सकिएका छन् । उनको सम्झनाभरि बसन्त ढकमक्क फुले पनि बास्तवमा त्यो समय अब उनका ती फोटाहरुमामात्र कैद भएका छन् ।

अब बिस्तारै शिशिरको कठोरताले संसारलाई छोप्नेछ । मरियमको बगैचाका मायालु बिरुवाहरु पनि कठोर शिशिरको तुसारो र हिउँको फन्दामा पर्नेे छन् । तर बाहिर हिउँले पुरिएर पनि ती बिरुबाहरु धर्तीको न्यानो गर्भमा बसन्तको आशमा बसिरहनेछन् । केही समयको शिशिको साम्राज्य पछि फेरि बिस्तारै बसन्तको आगमनसँगैसँगै पालुबा, कोपिला हुँदै उनीहरु बैसले भरिभराउ हुनेछन् ।

कति फरक रहेछ प्रकृति र हामी मनिसमा । प्रकृतिमा नयाँ जीवन पलाउछ । तर हामी एक पटक भोगेको समय फेरि फिर्ता पाउन सक्दैनौ । मरियमको बिगत अब फेरि फर्कने छैन । फर्कने छन् केबल कल्पनामा, उनको आफ्नै मन र मस्तिष्कमा । ती धुमिल सम्मmनाका लहरहरुले उनको मनमा कस्तो तरंग पैदा गर्दो हो । उनलाई ती स्वर्णीम दिनहरु नफर्कने गरी डाँडो काटेकोमा बिस्मात होला की जीवनका ती मीठा पलहरु सम्झना बनी आफुसँगै सधैं रहिरहेकोमा खुसी । उनलाई देख्दा म यस्तै कुरहरु मनमा खेलाउन पुग्छु ।

यो शरदको बाक्लो उपस्थिति र शिशिरको पुर्व संकेतस्वरुप बसन्तमा पलाएका हरिया मुनाहरु क्रमिकरुपमा पहेलिदै गएको देख्दा मरियमको मायालाग्दो बृद्ध अनुहार, शहरभरिका सडक पार्कहरुमा असरल्ल छरिएका राता पहेला पातहरु र दिन दिनै नाड.गिदै गएका रुखहरु अचानकै आँखामा आइपुग्छन् ।
आजकल निकै सोच्छु
, मरियमको कम्जोर हुदै गएका आँखाहरुले कत्तिनजेलसम्म ती शुभकामनाका अक्षरहरु पढ्दा हुन् । उनको प्रतिक्षामा भान्साको टेबलमा टुक्रुक्क बसिरहने स्काइले कहिलेसम्म उनको साथ पाउने होला । अनि उनको सानो बगैचामा कत्तिन्जेल उनका बृद्ध हातहरुले खनी खोर्सी गर्लान् ।

शायद एकदिन त्यस्तो आउला हुलाकीले खसालेका चिठीहरु उनको ढोका भरि चाड. लाग्लान्, स्काइ सदा जस्तै गरी मारियमले दिने दुधको प्रतिक्षा गरेर टेबलमा बसिरहला अनि त्यो बगैंचाका साना बोटबुट्यानहरु पानीको प्रतिक्षा गरिरहलान् तर मरियम.........

 

 

 

Comments

maya

saralta, sahajta,gambhirta ani wastbiktalay  rachiyeko yo lekha sarai man chunay chha 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |