लेख्दा आगो लेखौं
अमृत सुबेदी ‘गुराँस’, (तनहुँ, हाल–पोखरा)
शीर्षक–वर्षौं देखिको चिसो चुलो छेउ बसेर
जूनतारा देखिने घरको धुरी हेर्दै
तिमीलाई के खवर लेखुँ सोचिरहेछु ।
तिमी जुन लेख भन्छ्यौ
भन्छ्यौ, पठाउँदा खवरमा गुलाब पठाउ
भञ्ज्याङ्ग र देउरालीलाई पस्किदेऊ
ठिकैछ, लेखौंला जुन
तर, समानताको प्रकाश मागेर
पठाउँला गुलाब
सारा मान्छेको प्रेम कल्पेर
देशसँगै दुखेको स्वाभिमान
सडकजस्तै तातेको आस्था र गौरव
अस्तित्वहिन, अर्धकद शालिककै
जीवन बाँचेर
मात्र, जूनतारा र गुलाब
लेख्न सकिदों रहेनछ ।।
तिमीले पुरा चन्द्रमा ओड्दा,
तिमीसँगै रमाउँदा घाम
म वषौंदेखि अध्याँरो बङ्ककरमा छु
अनि, खवरमा जुन कसरी लेखुँ
कसरी लेखुँ घाम
तिमीले पुरा धरती ओछ्याउँदा
म सँग पाइला टेक्ने सम्म
एक टुक्रा जमिन छैन्, भने
अनि कसरी फुल्छन् गुलाव
र पठाउँदा खवरमा गुलाब पठाउँ
बरु पत्रभरी मैले भोगेको जीवन
स्पर्श गराइदिउँला
त्यसपछी तिमीले कहिल्यै भन्ने छैनौ
यो शहर, त्यो गाउँ
पर..सार्दै वर्तमानलाई
पत्रमा मात्र जून लेख, गुलाब लेख
बरु भन्नेछौ
क्रियाशिलता लेख
समानता, असमानता लेख
लेख भन्नेछौ अलिकता भएपनि बाँच्ने परिवेश
तिमी आँफै आग्रह गर्नेछौ
लेख्दा हामी आगो लेख्न सक्यौं
जलाओस् असमानताका पहाडहरु
अनि जलाओस्,
हाम्रो भ्रूण सपनाहरुको हत्या गर्ने
हत्याराहरुलाई पनि ।।.....