हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

एकचालिस दिनपछि

दीपक जडित , (हवाई, अमेरिका )


'उसले आजपनि केहि लेखेन ।.......'  निक्कै दिनदेखि कम्प्युटर खोल्ने बित्तिकै जब उसको फेसबुक प्रोफाइल शून्य देख्छु म मनमा यहि कुरा दोहोर्याउँछु ।

सँधैंजस्तै आजपनि उ कम्प्युटर अगाडि निर्मिमेष टोलाएर बसेको छ सायद ।

दिमागभरि गन्जागोल हुनसक्छ । जिन्दगी नै गञ्जागोल सिवाय के छ र? यो गञ्जागोल जिन्दगीलाई त्यान्द्रा त्यान्द्रा संगालेर केहि गजब लेख्ने कोसिसमा धेरै रात भैसक्यो रे उ कम्प्युटर अगाडि अबेर अबेर सम्म टोलाएको । तर उसले लेख्न खोजेको के हो? अझै स्वयं अस्पस्ट छु भन्ने उसको स्विकारोक्ती सुनेको छु मैले । त्यसो त स्पस्ट भैसकेका धेरै कुराहरु लेखिसकेको हो उसले । धेरै कुराहरु लेखिरहेको पनि होला र धेरै कुराहरु लेख्न थाति पनि होला । र पनि उसले केहि गजब लेख्न चाहेको कुरा मसँग ओकलेको एक जमाना भैसक्यो ।

मैले जानेसम्म उ साधारण होइन । साधारण कुराहरु बाहेक उ कहिल्यै सोच्दैन र त्यसैमा असाधारण लेख्न सक्छ । यहि खुबी हो मलाई उसको चासो राख्न मनपर्ने । उसको चियो गर्न मनपर्ने ।

निक्कै पहिले एकदिन दिउँसो मैले उसलाई बबरमहलको बाटोमा भेटेको थिएँ । उ बडेमानको शिरिषको नाङ्गो हाँगाहरुको फोटो खिच्दैथियो ।

मैले सोधें, 'यतिबेला त कसैले पनि यो शिरिषको बोटको फोटो खिच्दैन । फुल्ने सिजन पनि गै सक्यो ।'

उ मुस्कुरायो । त्याहाँ पनि उसले आफ्नो खुबी देखायो मलाई । केवल मुस्कुराउँदा पनि यति अलग्ग र आनन्दपूर्ण ढंगले धेरै कम मान्छेहरु मुस्कुराउँछन् ।

'हाँगामा फूल हुँदा त त्यो फूलेको छँदैछ नि, त्यसै सुन्दर हुन्छ होइन र?' कुनै रहस्यमयि कुरा गोपनियता कायम गर्दै भनेझैं उसले सानो आवाजमा भन्यो ।

'हो त । र फोटो खिच्दा त्यहि सुन्दरतालाई खिच्छन् होइन र फोटोग्राफरहरुले ?' मैले भनें ।

आफ्नो सुन्दर मुस्कुराहट कायम राख्दै भन्यो उसले, 'मलाई कैलेदेखि फोटोग्राफर सम्झियौ तिमीले? मैले त त्यसै खिचेको । फोटोग्राफर होइन म त्यसैले फूल नलागेको शिरिषको हाँगामा फूल लागेको जस्तै निकाल्न सकिन्छ कि सकिंदैन हेर्न खोजेको ।'

मसँग उसलाई भन्न केहि रहेन । फिस्स हाँसेर बाटो लाग्न खोज्दै गर्दा उसले ईशाराले आफुले खिचेको फोटो हेर भन्यो । रुचिसाथ म उसको हातको ठुलो डिजिटल एसएल आर क्यामराको एलसिडी स्क्रिनमा भर्खरै उसले खिचेको शिरिषको नाङ्गो हाँगाको फोटो हेर्न पुगें । हात थर्थर कमाउँदै उसले मलाई भखरै खिचेका तीनवटा तस्वीरहरु देखाउँदै भन्यो, 'हेरत, फूलेको जस्तै देखिएन?'

उसको रक्सीमिश्रित श्वास सिधा मेरो नाकमा ठोकिन आयो । मैले तस्वीर भन्दा पहिले एकपटक पुलुक्क उसलाई हेरें । उ अझै सुन्दर मुस्कुराईरहेकै थियो ।

उसले जूम गरेर नजिक पार्दै खिचेका तीनवटै फोटोहरु साँच्चै फूलभएका शिरिषको हाँगाकै फोटो खिचेको जस्तै देखिन्थ्यो । कता कता त्यो क्यामराले खिचेको नभएर पेण्टिङ्ग बनाएको जस्तै पनि देखिन्थ्यो । अलि ध्यान दिएर हेर्दा क्यामरा हल्लिएर खिचिएको जस्तो पनि देखिन्थ्यो ।

'हो, यो त साँच्चै फूल लागेको बेला खिचेको जस्तै देखियो त । कसरि भयो यस्तो?' मैले जिज्ञासा राखें ।

उसले मलाई ठाडो घाँटि गरेर आकाश तिर त्यहि नाङ्गो शिरिषको हाँगा हेर्न भन्यो । मैले त्यसै गरें ।

'बाक्लो हाँगाहरुबाट मध्यान्ह सूर्यको किरणहरु जो छिरिरहेको छ त्यसैलाई मैले क्यामरा थोरै हल्लाएर फूलजस्तो बनाएको हो ।' स्पस्ट पार्यो उसले ।

भर्खरै मैले उसले मातेको हुनाले फोटो खिच्दा क्यामरा हल्लाएछ भन्ने धारणा बनाएको थिएँ । ठाउँको ठाउँ म गलत साबित भएँ ।

'तर मलाई फोटोग्राफर हो भन्ने गलत धारणा नपाल्नु है?' फेरि उस्तै मिठो मुस्कान पोखेर बाटो लाग्यो उ ।

पुरै दिनभरि उसैलाई सम्झिरहें मैले । कस्तो अनौठो मान्छे, सम्मोहनकारी जस्तो ।

साँझ फेसबुक लग इन हुनेबित्तिकै उसैको प्रोफाइलमा गएँ । केहि लेखेको छैन । फेसबुकमा केहिदिनदेखि नै उसको गतिविधी देखिएको छैन । म निराश भएँ । फेसबुकमा म उसको सुन्दर लेखाईको पनि फ्यान हुँ । जे पनि लेख्छ उसले साह्रै सुन्दर लेख्छ । तर लेख्छ आफ्नै लागिमात्र लेखे जस्तो । मिठा मिठा रचनाहरु लेखेर राख्छ । कसैलाई ट्याग गर्दैन । उसका रचनाहरुमा उति धेरै कमेण्टहरु पनि हुँदैनन् । उ पनि अरुका रचनामा कमेण्ट गर्न हम्मेसी पुग्दैन । मलाई यति धेरै मनपर्ने लेख्ने मान्छेको रचनामा किन प्रतिक्रियाहरु हुँदैनन् भन्ने पिरोलो परेर मैले निक्कै अनुसन्धान पनि गरेको थिएँ एकताका । नतिजामा मेरो दृष्टिकोण यस्तो बनेको थियो कि उ कसैलाई आफ्ना रचना ट्याग गर्दैन त्यसैले उसका रचनामा कमेण्ट हुँदैन पहिलो कुरा । दोश्रोकुरा उ पनि कसैको रचनामा कमेण्ट लेख्दैन । हुनपनि फेसबुकमा लेखिने धेरै प्रतिक्रियाहरु कि त नचाहेर पनि पुरा गरिने रीतिरिवाज जस्तै ट्याग गरेकै कारण गरिएको हुन्छ कि त गाउँघरमा लगाईने अर्मपर्म जस्तै, अरुले आफ्नोमा कमेण्ट गरेको कारण हुन्छ । कि त मनोरञ्जन कै निमित्त लेखेझैं केटिहरुको रचनामा या वालमा लेखिएको हुन्छ ।

सँधै कम्प्युटर खोलेर फेसबुकमा पस्दा सबभन्दा पहिले उसैले केहि लेखेको छ कि भनेर खोज्ने एकप्रकारको आदत बनेको छ मेरो । दिन दिन गरेर महिना बित्यो अहँ उसले केहि लेखेको छैन । उसको वालमा नयाँकुरा केहि नभएपनि म त्यसै उसकै पुराना स्टाटसमा तथा नोटमा भएका कुराहरुमा हरेकपल्ट नजर पुर्याउँन छोड्दिंनथिएँ, मानौ कि यो पनि मेरो दैनिकी मध्ये एक हो ।

एकदिन राती अबेर उ अनलाईन देखियो । देख्नेबित्तिकै झम्टिए जस्तै उसलाई बोलाउँ कि नबोलाउँ म दोधार भएँ । यस अघि पनि कति पटक अनलाईन देखेर बोल्दा उ मरिगए बोलेको थिएन तर उसँग बोल्ने तिब्र ईच्छा भैरहेथ्यो । त्यसो त कैलेकाहिँ बोल्छ पनि । तर बोल्ने के भनेर ?

'अस्तिनैको शिरिषको फोटो राख्नुस् न वालफोटोमा ।' मैले सिधै माग राखें ।

'नमस्कार भाइ', केहिबेर पछि उ औपचारिक तवरले बोल्न थाल्यो, 'त्यो फोटोहरु त मैले डिलिट गरिसकें ।'

म छक्क परें । त्यत्रो मेहनत गरेर खिचेको फोटो कसरि डिलिट गर्यो उसले?

सोधें, 'किन र? राम्रो थियो त, तपाईंलाई मनपरेको थिएन र?'

'होइन, मनपरेको हो । आफुले खिच्न खोजेजस्तै भएको प्रमाण तपाईंले उतिखेरै मनपराएर पाईहालें अनि डिलिट गरेको ।' मैले फेरि भन्ने कुरा हराएँ र वाल्ल परिरहें । कस्तो मान्छे होला । उसले खिचेको फोटो मैले राम्रो भनेर डिलिट गरेको रे ।

'मैले राम्रो भएन भनेको भा'?' सोधें ।

'राख्थें होला । अरुलाई पनि देखाउँथें होला । अथवा फेरि खिच्थें होला ।' उसले तीन किसिमका सम्भावित जवाफ दियो ।

केहिबेर बोलेनौं हामी । फेरि मैले नै सोधें, 'खै अचेल त केहि पनि लेख्नुहुन्न? अनि अचेल त देखिनुपनि हुन्न ?'

'मैले काठ्माण्डु छोडीसकें भाइ, काठ्माण्डुमा साह्रै निसासिएँ म । अनि कैले के लेख्थें र मैले?'  यस्तो जवाफ लेख्यो उसले । एकछिन् त मलाई घमण्ड देखाए जस्तो अथवा मेरो सोधाईले झिँजिए जस्तो महसुस भयो तर उसको स्वभावगत कुराहरुले गर्दा त्यस्तो होइन भन्नेमा ढुक्क भएँ ।

'कथा, कविता, गीत, गजल जे पनि । मलाई साह्रै मनपर्छ तपाईंले लेख्नुभएको । म सँधै तपाईंको वालमा हेर्ने गर्छु केहि लेख्नुभएको छ कि भनेर ।' मैले भनें र सोधें, 'अनि अचेल कहाँ हुनुहुन्छ त?'

'लेख्छु त्यो अर्कै कुरा हो । मैले लेखेको तपाईंलाई मन पर्छ त्यो पनि अर्कै कुरा हो तर मलाई लेखक कै कोटिमा राख्नु चैं भूल हो है तपाईंको ।' उहि दिनकै जस्तै कुरा गर्यो उसले । मलाई फोटोग्राफर नभन्नु भनेझैं मलाई लेखक पनि नसम्झनु भन्नेछ उसले । त्यसैले म केहिबेर बोलिंन । उ त झन कुरा खोतलेर बोल्दैबोल्दैन मलाई थाहा थियो । केहिबेर पछि मैले नै सोधें, 'भनेपछि म जस्तो तपाईंको पाठकले तपाईंलाई के भनेर चिन्ने त?

'अँ, यो डरलाग्दो प्रश्न हो मेरो लागी । डरलाग्दो किनभने म आफ्नै नजरमा दिन का दिन परिचय हराउँदै गैरहेको मान्छे हुँ । त्यसैले जब म आफैं आफुलाई यो हुँ भन्न सक्दिंन भने के खाएर मैले अरुलाई मलाई यो भनेर चिन्नु है भन्न सक्छु?' निक्कैबेर च्याटको कुनामा उसले टाईप गर्दैछ है भनेर देखाएपछि उसको कुरा आयो ।

म उसको कुरामा घोत्लिरहँदा च्याटको कुनामा उसले अझै लेख्दैछ भन्ने देख्दैथिएँ । त्यसैले म उसको बाँकि कुरा पनि सुन्न पर्खेर बसें ।

उसले टाईप गर्दैछ है भनेर च्याटकुनाले जानकारी दिएको अवधिको आधारमा म उसले निक्कै लामै कुरा बताउला भन्नेमा थिएं तर च्याट बक्समा फुत्त छोटो कुरा आयो, 'मलाई सकेसम्म नचिन्ने । म कोहि पनि होइन, केहि पनि होइन ।'

सन्नाटा माझ निक्कैबेर सम्म एउटा गहीरो छाँया आवाज रनन्न भैरह्यो । उ कहाँ, म कहाँ ? फेसबुकको च्याट बक्समा उसले मलाई दिएको जवाफले सायद पृथ्वीलाई नै तुरुन्त एकफन्का मार्यो ।

'यो त हामी, तपाईंको लेखाई मनपराउने माथि अन्याय भएन र?....' पुन प्रश्न सोध्न मैले टाईप गर्दैगर्दा उ अफलाईन भयो । उ गैसकेपछि सोध्नुको के औचित्य? मैले ब्याकस्पेस बटनमा सबै अक्षर मेटिउन्जेल औँला राखिरहें । र थपक्क यौटा चुरोट झिकेर छतमा निस्किएँ । तीनतले घरको सबै भन्दा माथिल्लो तलामा बस्नुको यहि यौटा फाईदा थियो मलाई कि म चुरोट सेवन गर्न चाहँदा जुनसुकै समयमा छतमा उक्लन सक्थें । अझ यो तलामा म एक्लै बस्ने हुँदा आधा रात, अबेर रात अथवा दिनमै कहिल्यै कसैलाई बाधा पुग्ला भन्नेमा चिन्ता थिएन ।

सहर शान्त निदाएको देखिन्थ्यो मानौं कि यो सहरमा कोलाहल कहिल्यै हुँदैन । म चुरोटको सर्कोसँगै छतको उ कुना र यो कुना गर्दैथिएँ । पश्चिमपट्टि नजिकैको स्वयम्भू डाँडा अन्यत्र भन्दा चहकिलो उज्यालोले जगमगाईरहेको थियो । तीनचार महिना अघिसम्म यो घरको छतबाट स्वयम्भू स्तूपा छर्लङ्गै देखिन्थ्यो । कैलेकाहिँ म सम्झन्थें यो सहरमा स्वयम्भू स्तूपामात्र नहुन्थ्यो भने अथवा भएपनि त्यसै गरेर डाँडाको शिरमा नहुन्थ्यो भने म यो सहरमा बस्न सक्दिंन थिएँहुँला । अचेल स्वयम्भूलाई ड्याम्म छेक्ने गरेर बिचमा यौटा अजँगको घर बनेको छ । म छतको कुनै कुनामा गएर पनि स्वयम्भू देख्न सक्दिंन तर स्वयम्भूको उज्यालो कस्तै अजँगको घरले पनि छेक्न सकेको छैन, जो अहिले पनि मसम्म आइरहेकै छ ।

चुरोटको ठुटोलाई छतकै एककुनामा किचिपिचि पारी फर्केर कम्प्युटरमा आइपुग्दा कसैले मेरो फेसबुकको वालमा दुइवटा फोक्सोको चित्र टाँगीदिएको रहेछ । यौटा चुरोट नपिउने ब्यक्तिको सारसौंदो र अर्को चुरोट पिउने ब्याक्तिको कोईलामा पकाएर प्लेटमा राखिएको सेकुवाझैं जलेको । साथमा आफ्नो स्वास्थ्यको निमित चुरोट नपिउनुहोला र यो फोटोलाई सक्दो सेयर गरिदिनुहोला भन्ने अनुरोध पनि थियो ।

फोटोमा केहिबेर घोरिएँ । आफ्नो फोक्सो पनि पोलेको सेकुवाझैं भैसकेको कल्पनाले एकछिन कहालिएँ र त्यसलाई आफ्नो वालबाट हटाएँ । आफु चुरोट सेवन गर्ने ब्याक्ति भएकोले असल कुरा भएर पनि सेयर गर्न चैं नैतिकताले धिक्कार्ला कि? सायद यहि थियो मनको तर्क ।

त्यसो त मेरो ध्यानको प्रमुखतामा उहि थियो जो केहि छिन् अघिसम्म च्याटमा मलाई सकेसम्म नचिन्ने भनेर मेरो आशाको विपरित जवाफ दिँदैथियो ।

यतिबेला म आफ्नो गजलहरुको दोश्रो संग्रह प्रकाशनको तयारीमा थिएं । दोश्रो संग्रहको निमित्त भूमिका लेखाउन मनले देखेको एउटा उपयुक्त पात्र थियो उ मेरो आँखामा । उसका पुराना नोटहरुमा संख्यामा कम भएपनि गूणवत्तामा अब्बल गजलहरु र गजलहरुका सम्बन्धमा उसको समालोचकीय धारणा सहितका प्रभावशाली लेखहरु पढेर मैले उसलाई आफ्नो दोश्रो संग्रहमा भूमिका लेखाउन योग्य पात्र ठहर गरेको थिएं । त्यसैले उसलाई म्यासेजमै भएपनि लेखेर आफ्नो ईच्छा राखें । र एकप्रकारले सन्तोषको स्वास लिएँ ।

त्यसपछि अनेकौं दिनसम्म मैले उसको जवाफको बाटो हेरें । हरेकपल्ट कम्प्युटर खोल्दा फेसबुकमा उसको म्यासेज छ कि भन्ने आशा लिन्थें तर महिना बितिसक्दा पनि उ बेपत्ता रह्यो । मेरो गजल संग्रहमा भूमिका नलेख्ने भए लेख्दिन भने पनि भैहल्थ्यो यसरी बेपत्ता नै हुने कारण के होला? म उसको तर्फबाट जवाफ पाउने कुरामै नीराश भैसकेको थिएँ ।

मैले म्यासेज पठाएको ठीक एकचालीस दिनपछि तर मैले उसको म्यासेज पाएँ । म्यासेज के भन्ने यौटा लामो चिठ्ठीनै लेखेको थियो उसले -


प्रिय भाइ
,

आज बल्ल मेसो मिलेको छ तपाईंलाई जवाफ लेख्न र म तपाईंको गजल संग्रहमा भूमिका लेख्ने कुरामै केन्द्रित हुन चाहन्छु । मलाई तपाईंले त्यस योग्य सम्झनु मेरो अहो भाग्यको कुरा पक्का हो तर त्यो एकातिरको कुरा भयो अर्कोतिर सायदै तपाईंलाई नमीठो लाग्न सक्छ तर सत्य यो हो कि मलाई कुनै गजलले छुन सकेको छैन भने म त्यसबारेमा के आधारमा र कसरी बोलुँ?

त्यसो त, फेसबुकले नेपाली गजलको विकाशमा योगदान दिइरहेको समय हो यो । गजल लेखनमा थुप्रै नयाँ पुराना गजलकारहरु फेसबुककै सुविधाका कारण समर्पित छन् तर चिन्तनीय कुरा त यो छ कि तुलनात्मक रुपमा ज्यादै थोरैले मात्र गजललाई गहीराईबाट आत्मसात गरेर लेख्ने गरेका छन् । दैनिक आठ दशवटा गजलहरु म आफ्नो प्रोफाईलमा ट्याग भएको पाउँछु । र म्यासेजमा दैनिक चार पाँचवटा अनुरोध मेरो गजलमा केहि कमि कमजोरी छ भने औंल्याईदिनुहोला भनेको पाउँछु तर त्यसरी कमजोरी औंल्याईदिन अनुरोध गरिएको रचनाहरुमा पनि आफुले देखेको कमि बतायो भने यो रचना मेरो फलानो संग्रहबाट लिएको हुँ । मैले धेरै ठाउँमा यो रचना वाचन गरेर सुनाएको छु र फलाना फलाना वरिष्ठहरुबाट वाह! पाएको छु भनेर उल्टो खबर आइपुग्छ ।

तपाईंको गजलहरु पनि पढेको छु फेसबुकमा । एकाध पटक प्रतिक्रिया पनि लेखेको छु । दोहोर्याएर हेर्नुहोला मैले के लेखेको छु । र दोश्रो संग्रहमा संग्रहीत हुने गजलहरुलाई एकफेर आफैं समीक्षा गर्नुहोला । मेरो सुझाव यहि हुनेछ तपाईंलाई । फेसबुकमा लैबरीको तालमा लेख्दै गजलको संख्या बढाएर संग्रह निकाल्नु पूर्व एकफेर आँखा चिम्लेर आफैंलाई यो सोध्नुस् कि तपाईंले थप्न लाग्नुभएको कृतिले के गजलको साहित्यिक उचाई बढाउला?

मैले भन्नुपर्दा त मैले पढे मध्ये तपाईंको कुनै पनि गजलले मलाई छुन सकेको छैन ।

तब म कसरी अथवा त्यसकारण म तपाईंको संग्रहमा भूमिका लेख्न सक्दिंन । फेरि पनि संग्रह निकाल्ने तपाईंको अठोट हो भने भूमिका लेख्ने हस्तीहरुको लामै लर्को भेट्नुहुन्छ जस्ले ब्याक्तित्वको हिसाबमा मैले भन्दा कयौं गूणा धेरै प्रभाव पार्नेछन् तपाईंको कृतिमा ।


शुभकामना !


हो
, यहि एकचालीस दिनपछि म कहिं छाँगाबाट खसे जस्तो भएको छु । कहिँ हिमाली तलाउको एकदम चिसो पानीमा डुबेर निस्के जस्तो भएको छु । कतै बल्ल फुलबाट कोरलिएको चल्लाको आँखा उघ्रिए जस्तो भएको छु । के के भएको छु के के कि उसलाई ह्रदय पोखेर धन्यवाद भन्न समेत नसक्ने भएको छु ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |