हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

सिर्जनामा सार्थक मस्तिष्क र मन-औंलाहरुको संयोजन

गीता त्रिपाठी, (बालुवाटार, काठमाडौँ)


"परिवर्तनको नाममा
तिमीहरुले नाउँ बदल्यौ
अर्थ त बदल्नै सकेनौ "


सुकोमल गीतहरु लेखुन् अथवा हाडे ओखरजस्ता बलिया कविता कवि प्रकाश सायमीका भावनाहरुमा मानवताको प्रिय खोजको प्रारम्भ पहिलो हरफबाटै भएको पाइन्छ । उनी शब्दसँग जिस्किने रहरले साहित्य गदैनन् न त शब्दहरुको घेरामा सीमान्तकृत अस्तित्वको अपेक्षा राख्छन् उनलाई शरीरको केन्द्रीयतामा भावहरुको बुलन्दी चाहिन्छ र त अर्थविनाको परिवर्तन उनका सूक्ष्मदर्शी चेतनाले स्वीकार्नै सक्दैन । थोरै लेख्ने तर सार्थक लेख्ने मस्तिष्क र मन-औंलाहरुको संयोजन नै प्रकाश सायमीको साहित्यिक चिनारी हो । ज्ञान नै मानवीय चेतनाको पहिलो धर्म हो भन्ने कुरालाई सैद्धान्तिकरुपमा थाहा नपाउने उमेरदेखि नै पारिवारिक बन्देजहरुसमेतलाई परास्त गर्दै पुस्तकप्रेमले आकर्षित उनी नेवारी साहित्यबाट साहित्य-अध्ययनको खाता खोलेँ भन्छन् । पहिलो समयमा अध्ययन र लेखनलाई सँगसँगै लगेका उनले मुक्तकबाट २०४१ सालमै प्रकाशित कृतिका कृतिकारका दर्जा पाएका हुन् । र  नेपाली साहित्यको विकासनशील यात्रामा बहुमार्गी कदम एकसाथ बढाउँदै र सफल हुँदै अग्रगामी बाटो पहिल्याइरहेका छन् । गीत र कविताका पथबाट डोरिएको साहित्यिक यात्रालाई निबन्धकार र कथाकारसम्म पुर्याएका छन् उनले । स्पष्ट र सशक्त समालोचक प्रकाश सायमीको अर्को एकछत्र व्यक्तित्व छ- नेपाली चलचित्रका वरिष्ठ निर्देशकका रुपमा । सँचारको क्षेत्रमा फेरि उनको अद्वितीय स्थान त छँदैछ उनको उद्घोषणकलाका पारखीहरु विगतको इतिहासलाई लामो अन्तरालपछि पनि अत्यन्त अविस्मरणीय क्षणका रुपमा सम्झी रहन्छन् । यति धेरै बाटोबाट निर्देशित उनका जीवनका समयहरु केस्रा-केस्रामा विभाजित भएको देखिन्छ र त समयक्रममा कहिले प्राध्यापनमा संलग्न हुनपुग्छन् त कहिले दक्ष प्रशिक्षकका रुपमा एफ.एम. केन्द्रहरुमा सहभागी भइरहेका हुन्छन् । आफूमा निहित अजस्र ज्ञानका बावजुद अत्यन्त सरल व्यक्तित्व छ उनको । त्यसैले उनी ज्यादा कवि हुन् भन्ने निष्कर्ष छ यो पंक्तिकारको ।

सडक कविता क्रान्ति र विद्यार्थी आन्दोलन हुँदै देशका अनेक राजनीतिक बिडम्वनाहरुलाई भोग्दै उठेको उनको काव्यिक चेतना मानवीय संवेदनाको धरातलमा निकैमाथि चुलिएको छ । उनी कवितामा नयाँ प्रयोग रुचाउने मात्र होइन जीवनका स-साना क्षणहरुलाई महवकासाथ उजागर गर्न चाहन्छन् । अनन्त यात्रा मुक्तक सङ्ग्रह२०४१ मा प्रकाशित मुक्तकहरु उनको कवितायात्राको प्रारम्भकालमा लेखिएका हरफहरु हुन् जहाँ उनको शिल्पपक्ष औसतको रहेपनि विचार चिन्तन र अनुभूतिका तहमा उनको प्रौढलेखनका सूत्रसमेत प्रशस्त ´ल्किएको पाइन्छ । सङ्कलित ९० थान मुक्तकभित्र उनले प्रेम र बाधा राजनीति र विसङ्गती प्रकृति र प्रदूषण समाज र अन्धविश्वास जस्ता विविध विषयमा चोटिलो लेखन गरेका छन् । पकेट साइजमा प्रकाशित उनको मुक्तक सङ्ग्रहले उनमा रहेको सामाजिक परिवर्तनको कामनाको जिउँदो अभिव्यक्ति दिएको पाइन्छ अब त यो कृति दुर्लभप्रायः भइसकेको छ भन्दा पनि फरक परोइन । नागरिक चेतनाका सर्वकालीन-संवाहक उनको 'हाहाकार' शीर्षकको यो मुक्तक हेरौँ-

कतै पनि टेक्न नहुने गरी जताततै साँध लागेको छ
उम्किन नसकिने गरी बन्धन र बाँध लागेको छ
भाग्न पनि नमिल्ने समय छ हामीसँग
यतिबेला देशले हाम्रो काँध मागेको छ
- (अनन्त यात्रा पृ.३५)

'ई सलाईका काँटीहरु' उनको कृतिक्रमको पाँचौ कृति हो भने सङ्कलनका रुपमा पहिलो कविता सङ्ग्रह हो । फुटकररुपमा प्रकाशनको लामो अन्तराल बेहोरिसकेपछि भावक मित्रहरुको अनुरोध र जीवन-सङ्गीनी अँजलीको शुभेच्छाले प्रकाशित यो कविता सङग्रहमा प्रकाशित ४७ थान कविताहरु कवि सायमीको कवि हुनुको जीवन्त प्रमाण मात्र होइन नेपाली कविताका सच्चा पाठकलाई उही समयानुभूतिको नवीनतम् प्राप्ति पनि हो । मूलतः देशको समसामयिक परिस्थिति सामूहिक र व्यक्तिगत भोगाइका समन्वयबाट निश्रित यसभित्रका कविताहरु प्रेम र घृणाका सीमित घेराबाट बाहिरिएर एक अनन्त मानवताको खोजतिर अभिलक्षित भएको देखिन्छ-

तिमीहरु मलाई उज्यालोमा सुम्पिनु
अँध्यारोमा खोज्नु
म तिमीहरुलाई पर्खिरहेको हुनेछु
- (स्वतन्त्रता पृ. ८१)

क्रान्ति र परिवर्तन कविको स्वमा जन्मजात चेतनाका रुपमा आएको भान हुन्छ । बाल्यकालदेखि नै आफ्नो स्वभाव सामान्य बालकको भन्दा फरक अनुभव गर्ने कविमा सत्यतापूर्वक आत्ममूल्याङ्ककन गर्नसक्ने सक्षमता विद्यमान छ । मानवीय स्वभावका कवि घरसँगको नातामा अत्यन्त तृषितबोध हुन्छन् केही महत्वपूर्ण कवितामा । त्यसैले त उनलाई देश पनि उत्तिकै प्यारो छ । निशस्त्र हुँदैमा कवि कहिल्यै कमजोर हुँदैन सच्चा कविभित्र हुने आत्मसम्मान उसको ठूलो पूँजी हो । अन्ततः त्यही पूँजी नै मानव सभ्यताको मानक पनि हो । यसअर्थमा कवि सायमीका कविताले बोकेका भावहरु गुणका कारणले अर्थपूर्ण छन् र अर्थका कारणले गुणात्मक छन् । काठमाडौँको भीडमा जन्मिएका कविमा प्रकृतितिरको आकर्षणले पाठकलाई अनौठो गरी छुन पुग्छ -

गोरेटो हुँ म
कहिलेकाहीँ गाउँ गाउँ भएर
खोलातिर ´र्छु
खोलाकै गीतसँग हराइदिन्छु गीत भएर
………मलाई मान्छेहरु अचेल
जेलभित्र खोज्छन्
म त्यहाँ बस्नै सक्दिन
बाटो हुँ म
। (कविता भएर अक्षरहरु पृ.८५)

निश्चय नै बाटो हन् उनी । हिँड्न सिक्नेहरुका लागि पनि र यात्रामा रहेकाहरुका लागि पनि । उनको उदारतामा वर्तमान र भविष्य मात्र होइन इतिहासले पनि डोरिने मौका पाएको छ । कति शंकर लामिछानेहरु अझै उनको बाटो हेरिरहेका होलान् अलिमियाँ र ´लकमानहरु गोरेटोमा पर्खिरहेका होलान् । वर्तमानले उनलाई आफ्नै समयको केन्द्रमा व्यस्त बनाएको छ विगतले पनि उनलाई कहिल्यै अवकाश दिएको देखिँदैन र त भविष्य न उनको अनुयायी बन्ने कामनाले संकल्पित देखिन्छ । मेरो लेखन पचास बर्ष पछिलाई हो भन्ने शङ्कर लामिछानेको अग्रतर चिन्तनलाई सम्मान गर्ने उनी भारतीय कवि शम्शेरबहादुरका लेखनमा मंगलेश डबरालले उल्लेख गरेको समान उक्तिलाई २० वर्ष पहिल्यै श्रोतामा धकेलेर ल्याउनसक्ने साहित्यसेवी हुन् । उनका निबन्ध र कथाका शैली पाठकका लागि बेग्लै स्वादका बनेका छन् र त्यहाँ उनकै निजत्वको प्रकाशन भएको पाइन्छ ।

यो सानो लेखमा उनका सम्बन्धमा बृहत् आँकलन गर्नु सम्भव देखिँदैन । देश र परिस्थिति अनुकूल हुँदो हो त उनमा गुल्जारीय बहुशिल्पको समन्वय पाइने कुरा अवश्यंभावी छ ।

अहिले प्रत्यक्षतः मूल कर्मथलो बनेको छ कालिका एफ.एम. चितवन  कालिका एफ.एमले उनीजस्ता युगद्रष्टा कवि एवं चिन्तकलाई आफ्नो महत्वपूर्ण जिम्मेवारी सुम्पन पाउनु निश्चय नै त्यस संस्थाको अहोभाग्य हो भन्ने लागेको छ ।

समग्रमा प्रकाश सायमीको जीवन कला र साहित्यकै मर्मले बनेको छ । सेवा र उत्प्रेरणाहरुले नै भरिएको छ । उनका सहज संयोजनमा कति नवलेखकहरुको पृष्ठभूमि बलियो बन्दै गएको छ भने अध्ययनशील स्वभावका कारण र उदार मानवीय चरित्रका कारण उनी निशुल्क पुस्तकालय नै भएका छन् देशको उत्तरोत्तर प्रगतिमा उनको चौतर्फी सहाभागिता एउटा बलियो स्तम्भ बन्दै जानु अरुका लागि पनि अनुकरणीय कार्य हो उनको साहित्यिक लेखन अझै माथिमाथि चुलियोस् तिनले अरु थप लाखौँ हृदयान्तरमा प्रवेश पाऊन् । अनेक अनेक शुभकामना ।

१ असोज २०६५

Comments

Susmita Nepal

मैले आभासको खसखस सुनेँ । राम्रो लाग्यो । गीत सङ्गीतको बारेमा सुन्न पाउँदा रमाइलो लाग्यो ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |