हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गिनिज बुकमा नेपाल !

रामजी बलामी, ( )

सुन्दैमा अनौठो र अपत्यारिलो लाग्छ । हुन पनि कुनै व्यक्ति विशेषको कार्यक्षमता र प्रतिभालाई मध्यनजर गर्दै रेकर्ड राख्ने गिनिज वुकमा नेपाल राष्ट्रकै नाम रहन सक्ने भए पछि त्यो भन्दा अपत्यारीला अरु हुनै सक्दैन् । तर पनि नेपाली जनता मख्ख नपरे हुन्छ किनभने राम्रो प्रतिभा र चर्तिकलाकासाथ नेपालले गिनिज वुकमा नाम लेखाउँन सक्ने हुंदै होइन । उल्टै बदनाम कमाउँने खालको नाम लेखाउँन सक्ने तागत भएको हुंदा नामको अगाडी बद थपेर बदनाम कमाउँने मात्रै हो । नेपालसंग गिनिजवुकमा नाम लेखाउन सक्ने तागत, योग्यता, क्षमता र आधार प्रशस्तै छ । गिनिज बुकमा नाम लेखाउन विश्वलाई आश्चर्यजनक र अपत्यारिला कुरालाई यथार्थमा उतार्न सक्नु पर्छ । नेपाल आमाकै कयौ सन्तानले यस्तो आश्चर्य गरेर नाम लेखाउन सफल भएका पनि छन् । यो समग्र नेपालकैलागि गर्वको कुरा पनि हो । हामीले भर्खरै एउटा दुःखद समाचार पनि सुन्नु परेको छ । विश्वकै होचा व्यक्तिको रुपमा चित्रित खगेन्द्र थापा मगर भर्खरै गिनिजवुकबाट बाहिरिएको छ । यसलाई यसरी सोचौ कि खगेन्द्र पनि होचा हैन ठुला भईसकेछन् । विर गोर्खालीको शिर उच्च भए झै । कुनै नेपालीले गिनिज वुकमा नाम लेखाउँदा समग्र नेपालकैलागि गर्वको कुरा हो भने स्वयं नेपाल मुलुककै नाम लेखाउने हो भने त अझ चमत्कारी कुरा हुने नै भो नी होइन र ?
नाम कमाउन मान्छेले अनेकौ नाटक रच्छन्, राम्रो मात्र होइन नराम्रो काम गरेर समेत चर्चामा आउन खोज्नेहरुको जमात कमिलाको ताँती झै उभिएको छ । बद्नाम भएर नाम कमाउनु भन्दा सज्जन भएर नाम कमाउनु कयौ गुण ठुलो कुरा हो । तर नेपाललाई नाम कमाउन यस्तो बहाना गरिरहनै पर्दैन । धेरै आधार छन नेपालसंग गिनिज बुकमा नाम लेखाउँने । कोही लामो समय पढेर नाम लेखाएका छन्, कोही धेरैवटा टेनिस बल लामो समयसम्म हातमा राखेर रेकर्ड बनाउँछन् । कयौ अझै प्रयासरत छन् । त्यसैले तपाई पनि सोचिहाल्नुस कतै संसारमा कोही कसैले नग¥या आश्चर्यचकित काम पो फेला परिहाल्छ कि । यसरी फेला प¥यो भने त नाम लेखाउने काइदाको आइडिया भै गो नि ।
     पत्रिकामा नाम निकाल्न त कत्रो कत्रो जुक्ती लाउने मानवजातीलाई गिनिज बुकमा नाम लेखाउन पाए कसैले छोड्छ ? असंभव । तर कता कता मलाई भने नाम लेखाउने मनै छैन । किन भनेर सोधिरहनै पर्दैन किनकी मलाई बिना कारण ९१ लाख पैसा फिर्ता गरें भन्न आउँदैन । हडी नभएको जिव्रो लत्पतिए पनि यस्तो कुराले रेकर्ड राख्दैन । कता कता गिनिज बुकवालाको नजर नेपालतिर नपुगे जस्तो लागो मलाई त । नत्र नेपालाँ त्यस्तो चमत्कारी घटनाहरु दिन दुगुना रात चौगुना बढि रा छन तर किन राख्दैन यस्तो ऐतिहासिक चमत्कारी कुराको रेकर्ड ? हुन पनि नेपाल जस्तो गणतन्त्रको नाममा मनपरितन्त्र चल्ने देशले रेकर्ड राख्ने भए पो यस्तो कुुराको ख्याल राख्नु त होइन ?
कंहि न भा को जात्रा हांडीगाँउमा भन्या जस्तो लामो समयसम्म कामचलाउ सरकार, लामो समयसम्म मन्त्रिविहिन मन्त्रालय, बिना विभागिय मन्त्रिमण्डल, सरकारै पिच्छे नौलो कर्मचारी, सेनैसेनाको देश हेर्नुस त गिनिजबुकमा नाम लेखाउने आधार, कति छन कति । गनेर र भनेर त साध्य छैन यो त केही समय वजीः उदाहरण पो त । जताततै सेनाकै खैलावैला, जनमुक्ती सेना, नेपाली सेना, शिव सेना, अव संघीयतासंगै मधेसी सेना, नेवार सेना, ताम्सालीङ सेना जम्मै सेना बनेपछि भएन न त सेनामय मुलुक । अर्काे अझ महत्वपूर्ण आधार छ, रक्षक नै भक्षक । सवैको सुरक्षार्थ भनेर खटिएको प्रहरी प्रशासनमै अख्तियारले भोटे ताल्चा लगाए पछि भएन त अचम्म ? त्यस्तै एउटै पार्टी भित्र गुट, उप गुट, गुटहरुको छुट्टाछुट्टै भेला, भेलै पिच्छे चेला, राजनीतिको यस्तो चमत्कारी झेला । हेर्नुस त गिनिज वुकका खुराकहरु ।
    जलश्रोतमा बिश्वको दोश्रो धनी मुलुकका वासिन्दा हामी दिनहु लोडसेडिङ सहेर वस्नु पर्छ । वर्षायाम शुरु हुन लाग्या थे, मन्त्रीज्यूले भनिहाले लोडसेडिङ घट्छ,  अनि हुरुक्क हुन्छौ हामी जनता पनि । पानी परेर हो की युवामन्त्री ऊर्जा मन्त्री भएर हो केही दिनदेखि त लोडसेडिङ पनि हुन छाड्यो फेरी । १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना बुन्ने सरकारको आयु नै १० महिना टिक्दैन भने विकास कसरी हुन्छ ? यास्तो कुरा विश्वमा सायदै होला त्यसैले यो पनि गिनिज बुककालागि खुराक बन्न सक्छ । अरु देशका जनता चन्द्रमा ताक्या बेलाँ हाम्रा देशका जनता कतार, मलेशिया, कोरिया, अमेरिका ताक्छन् । हुन पनि हाम्रो दाजुभाईले त्यहां गई पसिना नबगाइ दिएको भए उनिहरुलाई अनुसन्धान गर्ने फुर्सद कहाँबाट आउनु । त्यसैले आफु जोतेर भए नि अरुलाई आकाशाँ उडाउन खप्पिस हामी नेपाली जनता गिनिज बुकमा नाम लेखाउनकालागि योग्य कि अयोग्य ? लौ हेर्नुस त अरु देशका त यदाकदा एक दुइजना रेकर्ड राख्छन हाम्रो त मुलुक नै गिनिज बुकका लागि योग्य जस्तो लाग्यो कसो महोदय ? यसो नाम लेखाउन प्रयास पो थाल्ने कि ?

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |