नयाँ वर्ष
रमेश खकुरेल , (काठमान्डौ )
नयाँ वर्ष आयो पुरानो गएछ
म यो हर्ष मानूँ कि त्यो दु:ख मानूँ
भएँ सत्तरीको जवानी गलेछ
म यो हर्ष-----
नयाँ आश यौटा सुनौला पलायो
उता आश यौटा अधूरै बिलायो
थियो त्यो जरूरी छ यो झन् जरूरी
म यो हर्ष----
नयाँ सूर्य झल्की उदायो अगाडि
अँध्यारो तमिस्रा कुनामा पछारी
मिठो माधवी यामिनी सिद्धिएछ
म यो हर्ष------
उता ओढनी तीन हाते छ मेरो
घटी एक बित्ता नपुग्ने छ फेरो
छ भन्दा छ राम्रो छ छोटो नराम्रो
म यो हर्ष-----