हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

न्वारान

संप्रस पौडेल ‘दिवस’, (हेटौंडा )


तपाइको न्वारान पक्कै भएको होला । मेरै पनि धर्तिमा अवतरण भएकै दश दिनमा पहिलो चोटी न्वारान भएको रे । जातजाती र धर्म अनुसार सबैले आ
आफ्नै तरिकाले न्वारान गर्दछन् । हिन्दुहरु पूजा, पण्डित, पाठ, पूराण, पानी, पञ्चामृत, पलाँस, पिप्ला आदिको प्रयोग गरी न्वारान गर्दछन् । बौद्धको आफ्नै संस्कृति, क्रिश्चियन र शिखको आआफ्नै । कसैले जाँडरक्सी चढाएर, खुवाएर त कसैले देवी देवता भाकेर, पण्डित राखेर, नराखेर, लामा राखेर विभिन्न तरिकाले न्वारान गर्दछन् ।

मान्छेको न्वारान पनि पटक पटक हुँदो रहेछ । जन्मेपछि पण्डित बाजेले एउटा नाम राखी दिए । बाले बोलाउने बेग्लै नाम, आमाले बोलाउने बेग्लै नाम । हजुरबा हजुरमाले बेग्लै नामले बोलाउने, अंकल आन्टी, टोलछिमेककाले बेग्लै नाम राखी दिने । अलि मोटो भयो भने धोक्रे, मोटे, कोदे, दुब्लो भए फिस्टे, सुकुटे, च्याँसे, मरन्च्याँसे, रुन्चे अनेक नाम रहने । बाबुलाई रीस उठ्यो भने जनावरको नाममा बोलाउने, गधा, कुकुर, साँढे इत्यादि । आमाले पुल्पुल्याएर बोलाउनु पर्दा बाबु, कान्छु, फुच्चु इत्यादि । अंकल नाम राखिदिन्छन् माइकल, अन्टिले राख्ने नाम रोमियो । अंकलको नाम सुन्नेले भन्छ, माइकल कहिले चढ्ने साइकल ? अन्टिको नाम सुन्नेले भन्छ रोमियो खान हिँड् पोलियो । आपूm परियो सानैदेखि लुरे, पोलियो त पटकैपिच्छे खाएको खै हातगोडा सिन्का जस्ता, जस्ताको तस्तै ।

गाउँमा राम नाम हुनेलाई सबैले भन्छन् रामे, श्यामलाई श्यामे, हरिलाई हरे, सीतालाई सीते, गीतालाई गीते, रोजिनालाई रोजिने, पार्वतीलाई पारे, सोमबहादुरलाई सोमे, होमबहादुरलाई होमे । त्यसैले सानामा पण्डितले मात्र न्वारान गरेर नपुग्ने, बाबा आमा, अंकल अन्टी र हजुरबा हजुरमाले मात्र न्वारान गरेर नपुग्ने भएपछि समाजले नै न्वारान गरिदिंदो रहेछ । स्कूल भर्ना भएपछि त्यहाँ गुरुले बोलाउने नाम बेग्लै, साथीहरुले बोलाउने नाम बेग्लै । त्यसो त हेडसरले चश्मा लाएर बोलाउने एउटा नाम, चश्मा भुल्दा बोलाउने अर्कै ।

के के न लछार्छु भन्दै यस्तो देशाँ जन्मिनुभन्दा त तुहिएको भए बेश भन्ने हाम्रा गाउँको काइँला दाई विदेश गएका मात्रै थिए, देशको मायाँले लडिबुडी नै गर्न थालेछन् । देशको साह्रै याद आउँछ रे काइँली भाउजुको भन्दा पनि बढी । सत्तामा हुनेले किन राजनीति गर्न नजान्या रे ? पो भन्छन्, यिनी । यिनै त हुन् नि संविधान सभाको चुनाउमा भोट हाल्न नजानी बदर गराउने । विदेशमा उनको पनि संंगठन छ रेस लभ इन नेपाल एशोशियन । यो सबैभन्दा कान्छो संगठन रे त्यहाँको । हाम्रा देशका त छिनमै संगठनका विर्यदान हुन्छन्, चाहे गर्भासयमा, चाहे टेस्ट्युब, चाहे पिपल चौतारीमा, चाहे चिया खाँदा वा बदाम खाँदा जतिखेर मनलाग्यो त्यतिखेर संगठन जन्मन्छन्, छिनमै तुहिन्छन्, छिनमै हुर्कन्छन् । यहाँ त मानिसका मात्र हैन संगठनका पनि न्वारान हुन्छन् । राजनैतिक पार्टि आज मूल पार्टि हुन्छ, भोली बिहान उठ्दा पञ्चमुलमा भएको पार्टि शंखमुलमा सर्छ । पार्टिको झण्डा हुन्छ पाँच टुक्रा अनि बन्छ धोती जस्तो टालो, त्यहि टालोमा हुन्छ पन्ध्र दिन खिचलो । बल्लबल्ल निर्वाचन आयोगले चिन्ह र झण्डा निर्धारण गराएपछि फेरि पाँच संगठनको लडाँई पर्छ अनि हुन्छ पाँच तीयाँ पन्ध्र संगठन । पन्ध्र संगठनको साँढे सोह्र उपसंगठन । पन्ध्रको त पन्ध्र भैगयो, आधा रहनेले एउटा फुटकर संगठनको उपाध्यक्ष, अर्को फुटकर संगठनको सचिव, अर्कोको सल्लाहकार, अर्कोको सभापति । त्यहाँ पनि पार्टिको र पदाधिकारीको न्वारान राख्ने काम हुन्छ ।

सरकारमा पुग्यो, तथानाम गाली शुरु हुन्छ । एउटै पार्टिका तीन खेमा । एउटा जग्गा कब्जा गर्ने सामन्तीको राजा कहलिन्छ, अर्को हुन्छ तानाशाह, अर्को हुन्छ जनमारा ।  गरी खानेको लुट्नेको नाम हुन्छ ढिंडे । आफ्नो ढिपीं नछोड्नेको नाम रहन्छ लिंडे । राता पिरा भएर जनता उचाल्नेको नाम हुन्छ गोलभेंडे, पेलेरै जान्छु भन्नेको नाम रहन्छ साँढे । न कसैको इज्जत रहन्छ, नकसैको हुर्मत । हिजो हाम्रो मान्छे राम्रो मान्छे भन्नेले आज गाली गर्छ, निमक हराम, पार्टि र नीतिको विरोधी, षडयन्त्रकारी, भड्कालोकारी लोकतन्त्रको ढाड भाँच्ने चण्डाल इत्यादि ।

सबैको राजनितिज्ञको न्वारान भई सकेपछि जनताले राजनीतिज्ञको न्वारान गर्ने पालो आउँछ । बेशीका माइली काकी उफ्रिन्छिन् सुन्यौ तिम्रा नेतालाई त षडयन्त्रकारी भन्यो नि ।टायल घरे सानिमा उफ्रिन्छिन्, “तिम्रा नेतालाई पनि त भड्खालोकारी भनेनी ।अब लोसे अप्ठ्यारे काका भन्छन्, “तिम्रा नेता त निमक हराम, चोरको बाउ चण्डाल ।झाँक्री काका भन्छन्, “चाइनेजो तिम्रा नेतृ त चण्डालको हजुरआमा ।आफ्ना फर्माइसका नामबाट न्वारान भएपछि गाउँलेहरुको न्वारान गर्ने पालो आउँछ । एउटाले भन्छन्, भुसतिघ्रे, अर्कोले भन्छ टिबीको आहारा, अर्की कराउँछिन् सोड्के काजी, अर्की उफ्रन्छिन् भन्दै कोदे पाजी । अब देशै न्वारानमय बन्छ ।

खाडी मुलुक गएको काइँलो फोनमा भन्दै थियो, नेपालकी माइली उता म्याडोना हुन्छे रे, बिजुलीमायाँ ब्रिट्नी, स्याङ्ताननी कान्छी साकिरा, मुसे काकाकी नातिनी उता माइली साइरस । जस्ताघरे पण्डितका छोरा बिर्खे त्यहाँ पुगेपछि बुश, यहाँका ओमबहादुर त्यहाँ ओबामा, काइँली दिदी कोण्डालिजा, माथ्लोघरका लुतेखोरे काका त्यहाँ पुग्दा लर्डखोर्ड अंकल । हाम्रामा चै फ्रान्सेली आए अमेरिकी, अफ्रिकी आए बिहारी भन्ने चलन छ । सेता आए अम्रिकाने, काला आए बिहारी भनी न्वारान गर्न हामी खुबै सिपालु छौं । आज हामीलाई विदेशीको न्वारान गर्ने फुर्सद छैन, काठमाण्डौं बसी मधेसको आन्दोलन गरेका भन्नेदेखि चार चार आना भएनि संघिय हुनुपर्छ भन्नेहरु संसदभित्र कोकोहोलो गर्दैछन्, सबै आआफ्ना न्वारान गर्दैछन् । डाक्टर प्रधानमन्त्रीदेखि प्रचण्ड, बादलदेखि धुवाँ, किरणदेखि अँध्यारो, पम्फादेखि चम्पा, नेपालदेखि लेपाल, वलीदेखि गोली, कोइरालादेखि सोइसाला सबैको न्वारान हुँदैछन् । छेकिएर हिँड्नोस्, लुकेर हिँड्नोस्, जहाँ जस्को पनि न्वारान भएको हुन्छ । यति पढ्दा पढ्दै तपाईले पनि मेरो न्वारान गरिसक्नु भो होला । अरुले के के नाम राखेर न्वारान गरे त थाहा भएन, मलाई मेरै न्वारानको नाम कण्ठ गर्न धौधौ छ, नाम के भनेनी, तिलकमाधवरत्नहिराप्रसादपुष्पनाथदिलकान्तइन्द्रजीतकिरणकृण्णबाबुरामबंशद्वीपशुशिलबाबुनारायण शर्मा अधिकारी । हामी आफ्नो त याद गर्न नसक्दा हामी दुनियाँका न्वारानका नाम पुकारेर व्यर्थका गन्थन गर्दैछौं । संविधान सभाको मात्रै पटकपटक न्वारान र ब्रतबन्ध भएको छ । भर्खरै मात्र एघारौं पटक न्वारान भएको अन्तरिम संविधानको जुंगा आउने बेला भई सक्यो । थाहा छैन अझै कति न्वारान हुने हो । न्वारान हुँदा हुँदै मलामी जानु त परोइन ? अस्तु ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |