हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

चरिअमिलो

दिपक जडित , (हवाई, अमेरिका )


सँधैं झैं त्यो बिहान पनि एउटा नियमित बिहान थियो । उसैगरी घाम झलमल्ल लागेको थियो
। पश्चिमतिरबाट मन्द तर बाफिलो समुद्री हावा चलिरहेको थियो । बाह्रै महिना एकै मौसम रहने हवाईमा हरेक दिन नै बोटवृक्षहरु एकैतमाशले हरियापरिया भएर हाँसिरहेका हुन्छन् । फूलबुट्यानहरु सँधै उसैगरि खिल्खिलाईरहेका हुन्छन् । चराचुरुङ्गीहरु सँधै आफ्नै आफ्नै लयमा मग्नमस्त चिर्बिर गाईरहेका हुन्छन् । अन्यत्र विविध परिवर्तित मौसममा रमाएर आउनेहरुलाई सुरुसुरुमा हवाई मनोरम र उत्तम स्थल लागेपनि रहँदै बस्दै जाँदा यहाँको एकतमासको वातावरण कटु हुँदै जानेरहेछ । कदाचित् म यस्तै महसुस गर्न थालिसकेको थिएँ ।

बाह्रै महिना फुलिरहने रातो शिरिषले, बाह्रै महिना फलिरहने आँपले, बाह्रै महिना उपलब्ध भईरहने भुईँकटहरले, बाह्रै महिना पाईरहिने नरिवलले र बाह्रै महिना रहिरहने हरियालीले मात्र मान्छेको तिर्सना कहाँ मेटिंदो रहेछ र? कताकति दिग्दारीले मेरो मन पनि भुट्भुटिन थालेको थियो ।

एकोहोरो दिनचर्याको दिग्दारीबाट उन्मुक्त भई त्यसदिन विहान शर्मिलासँग टाढा कतै जंगल पर्वततिर गएर ताजा स्फुर्ति प्राप्त गर्ने ध्येय थियो मेरो । आँङ्ग चिर्चिराउने गरि चरक्क घाम लागेको बाहिरफेर भर्खर उठेको आँखाले हेर्न नसकिने गरि धपक्क थियो ।

'कस्तो होला, आज त थोपो छिटो हावा पनि नचलेको ' पार्किङ्ग लटमा नपुग्दै शर्मिलाले वातावरण प्रति गुनासो पोखिन् ।

Global Promotion Alliance

'हावाको न थोपो हुन्छ न छिटो, अनि कसरी चल्छ त थोपोछिटो हावा?' मैले मनमनमा मात्र भनें प्रकटमा केहि बोलिनं । म स्वयं वातावरणको एकोहोरोपनाले दिग्दारिएको थिएँ

स्फूर्तिविहिन मैले गाडी स्टार्ट गरें । पार्किङ्ग लटबाट निस्कँदा स-सानो सभाकै निमित्त भेला भएझैं पार्किङ्ग लटभरि जम्मा भएका केहि बथान ढुकुरहरु केहि उडेर तितरबितर भए केहि हिँडेरै छेउ लागे ।

हाईवे समातिसकेपछि शर्मिलाले सोधिन्, 'आजको हाम्रो गन्तब्य चैं कहाँ हो?'

मैले पुलुक्क उनलाई हेरें । उनि पर पर सम्म फैलिएको भुईँकटहरको खेतलाई एकतमाश हेर्दै थिइन् ।

'हामी हाना जाँदैछौं । भनिनं र मैले?' संक्षिप्त जवाफ दिएर सोधें ।

एक अफसोस् पूर्ण नजर टेकाईन् उनले म माथि । बोलिनन् केहि तर मैले उनको मुहारको भावाब्यक्ति पढ्न सकें 'कहिले के कुरा भैसक्नु भन्दा अघि नै भन्नुहुन्छ र मलाई?'

'सही हो । म सँगै रहनुबस्नु पर्दा जो कोहि सहयात्रीलाई पनि अप्ठ्यारो छु । म भित्रको यस प्रकृतिको घानमा सबै भन्दा धेरै पर्ने त पक्का तिमी नै हौ । सरी है ' मनैमनमा आफ्नो आलोचना गरें र माफी पनि मागें । तर प्रकटमा फेरि पनि सरी सम्म भनिंन । म धेरैसँग यसरी नै मनले सरी भनेर माफि मागिरहेको हुन्छु तर सम्बन्धितले बुझ्छन् कि बुझ्दैनन् खै?

उनका दृष्टिहरु अझै पनि भुँईकटहरको खेतमै एकोहोरिएका थिए । 'मैले पाईनापलको यत्रो ठुलो खेति कैले पनि देखेको थिईंन ।' झ्यालबाट उसैगरि परपर हेर्दै उनले भनिन् ।

'हो कि? मैले पनि देखेको थिएन ।' सहमती थपें मैले ।

'त्यसो त हामीले संसार नै कति देखेका छौं र?' एकछिन बिसाएर फेरि भनें मैले ।

'हो नि है?' यता उनको सहमती आयो

मावि टापूको पूर्वी खण्डमा पर्ने हाना रोड प्रविष्ट भैसकेका थियौं हामी । अनन्त फैलिएको प्रशान्त महासागरलाई देब्रे पारेर भीमकाय पहाडको पेटैपेट हिँडेको हाना रोडमा ड्राइभ गर्नु मात्रै पनि यात्राको भरपूर आनन्द उठाउनु सिद्ध हुन्थ्यो । एकै थेग्लो बादल समेत नभएको सफा नीलो आकाश, उस्तै गहीरो नीलो समुद्र, हरियालीले भरिपूर्ण पहाड र घना जंगलको संगतमा पुग्दा मलाई संसारमा कतै छल, कपट, ईर्ष्या, ईवि भन्नै कुरा नै छैन झैं अपूर्व मंगलको अनुभुति हुँदैथियो । धेरै घुमाउरा घुम्तिहरु र एउटा मात्र गाडी छिर्न सक्ने थुप्रै साँघुरा पूलहरु पार गर्दै हामी सम्भव भएसम्म दृश्यावलोकनको निम्ति उपयुक्त तय गरिएर सडक छेउमा चिन्ह राखिएका हरेक स्थलमा रोकिंदै अघि बढ्दै गयौं ।

नयाँ स्फूर्ति प्राप्त गरिसकेको शरिरले प्रकृतिको मनोरम छटासँग खेल्दै हामी वाईलुवा फल्स पुगेका थियौं । खास केहि थिएन वाईलुवा फल्स । सडक भन्दा केहि भित्र निक्कै अग्लो डाँडाबाट झरेको पातलो झरना र फेदमा सानो तलाउ । नेपालमा भएको भए यसको नाउँ पक्का पात्ले छाँगो हुन्थ्यो होला । यस्तै विचार आयो मनमा त्यहाँ पुग्दा । तर अरु ठाउँहरु भन्दा निक्कै धेरै मानिसहरु थिए त्यहाँ । झरनासँग तस्वीर खिचाईरहेका धेरै हँसिला मान्छेहरुको समुहमा हामी पनि उसैगरि सामेल थियौं । तस्वीर खिचाउने र आँखाले झरनाको सुन्दरता पिउने कर्म सकेर गाडीतर्फ फर्किने क्रममा हामी हिँडिरहेको गोरेटोको पारीपट्टी भएको आकर्षक गलैंचा बिच्छ्याईएझैं पाखोले मेरो ध्यान खिच्यो । आउने जानेलाई बाटो छोडिने हिसाबले गोरेटोमा छेउ लाग्दै उभिएर मैले भनें, 'हेरत उ त्यो पारी, गलैंचा ओच्छ्याएजस्तै कति राम्रो पाखो रहेछ । जाउँ है त्यतातिर । मलाई त्यो झार चिनेजस्तै लाग्यो '

त्यो हरियो पाखोले मलाई यस्तरी आकर्षित गरिरहेको थियो कि मानौ त्यो पाखो ठुलो चुम्बक हो र म सानो टुक्रा फलाम । साँच्चै नै पनि प्रकृति मेरोलागी चुम्बक हो र म प्रकृतिकोलागी चुम्बकिय धातु ।

'रुख, बुट्टा, झार, ढुँगा सबै तपाईंलाई चिनेजस्तै त लाग्छन् । त्यो झार पनि तपाईंको सानोको साथी हो ल । तर त्यता नजाउँ । कोहि ग'का छैनन् ।' शर्मिला मलाई पारीपट्टी जान मनाहि गर्दै थिइन् ।

'कोहि जाउन कि नजाउन, कोहिसँग के सरोकार? मलाई जाउँ लाग्यो नि । जाउँ न प्लिज ।' अनुरोध गर्दागर्दै म गोरेटोबाट केहि तल झरिसकेको थिएँ । तल त्यहि वाईलुवा फल्सबाट तलाउमा झरेको पानी निकाश हुने सानो खोल्सो तर्नुपर्थ्यो तर खोल्सोभरि यमान यमानका ढुँगाहरु हुनाले फट्किंदै पानी नछोई पारी पुग्न सकिन्थ्यो

पारीपट्टी पुग्दाको आनन्द अवर्णनिय थियो । पाखोभरी हरियो बाक्लो गलैंचा बनेर बिच्छिएको झार मैले चिनेको मात्र हैन शर्मिलाले भनेजस्तै मेरो बच्चाको साथीझार नै थियो वास्तवमा ।

'ए! यो त चरिअमिलो हो नि, मेरो पो सानोको साथी रहेछ ।' खोल्सोपारी ससानो डीलमाथि उक्लँदै बोलिन शर्मिला

'हो र? खोल्सो तरेर यतापट्टी आएको सार्थक भयो उसोभए ।' शर्मिलाले पनि चरिअमिलोलाई आफ्नो सानोको साथी मान्नु मेरो लागि खुसीको कुरा बन्यो त्यो क्षण ।

'हाम्रोतिर तामाका भाँडाहरु टल्काउन यो झारले मस्काउने गरिन्थ्यो म सानो हुँदा ।' मलाई चरिअमिलोको थप परिचय दिँदै थिइन् शर्मिला । म भने चरि अमिलोसँगको आफ्नो बाल्यकालका प्रियपलहरु स्मरण गर्दैथिएँ । तर स्मरणमा आउने पलहरु सबै कहाँ प्रिय हुन्छन् र? चरिअमिलोसँग पनि मेरो एउटा भयानक दर्दनाक स्मृति गाँसिएको थियो । अनेक पटक अनेक कुराहरुले उघार्न खोजिरहने मेरो यस भयानक दुखको क्षणलाई अनेक पटक मैले सम्झन नचाहेर मानसपटलमा ताल्चा ठोकेको थिएँ तर आज चरिअमिलोले मलाई यस्तरी गलाईछाड्यो कि म चाहेर पनि त्यस दुखपूर्ण पललाई स्मरण नगरि नसक्ने भएँ ।

.....................................

अहो! त्यो दिन, आज सम्झँदा पनि मेरो मुटु ढक्क जमेझैं हुन्छ एकक्षणलाई

त्यसदिन म चारआलीको डाक्टरको भुमिकामा थिएँ । उपचारमा मलाई सहयोग गर्न नर्सको भुमिकामा गंगा थिइन् । जेसुकै खेल्दा पनि म गँगालाई आफ्नो पट्टि नै राख्थेँ   मसँग मिल्ने मात्र नभएर मैले जे भन्यो त्यो खुरुक्क मान्ने भएकोले गँगालाई अर्कोपट्टि पारेर म कहिल्यै खेल्न मान्दिनथिएँ । खास गरेर बिहेगरि खेल्नुपर्दा म आफु बेहुला र गँगालाई बेहुली बनाएर मात्र खेल्न राजी हुन्थेँ । अरु बेहुला बेहुली हुनेभए भने म खेलमै सामेल नहुने धम्किदिन्थेँ । कुनैदिन क्यै गरेर मेरो दाल गलेन भने पनि म आफु दुलाहा नबनेको बखत गँगालाई दुलही बन्न दिदैनथिएँ । एकहिसाबले त्यसबखत गँगामाथी म आफ्नो सम्पुर्ण अधिन भएको सम्झन्थेँ ।

गँगा र  म त्यसदिन चारआलीमा थियौं । दुईवटा बाँसझ्याङ्गको बिचमा रहेको केहि खाली ठाउँमा यौटा जुटको बोरा बिरामी सुताउने बेड बनाएर हालेका थियौं । गँगाको र मेरो आ-आफ्नै खोसेलाको पिह्रा थियो डाक्टर र नर्स बस्ने कुर्शीको रुपमा । डाक्टर र नर्सको लगाउने लुगा सेतो हुन्छ भनेर त्यसदिन हामी दुबैले स्कूलको सेतो शर्ट लगाएका थियौं । मसँग हजुर आमाले आँखामा लगाउने गर्नुभएको झोल औषधीको साना साना निक्कै खाली सिसीहरु र त्यसको कागजको बट्टाहरु प्रसस्त थिए । सिसीहरुमा पानी भरेर गँगाले एक लहर मिलाईसकेकि थिइन् भने अर्को लहर कागजका बट्टाहरु मिलाईएको थियो । अरुपनि साना साना टिनका बट्टाहरुमा धुलोमुलो लगायतका औषधीहरु भरेर लहर मिलाएर राखिएको थियो । चारआलीको भनिएको बाँसझ्याङ्गको हाम्रो अस्पताल हेर्दा साँच्चै नै स-सानो औषधी पसल जस्तै लाग्थ्यो

अर्कोपट्टी खेल्ने अरु साथीहरु आँखाले नदेखिने तर बोलाउँदा सुनिने दुरीमा परालको ढेडी नजिकै सितापुरी भनिएको ठाउँमा थिए । त्यसदिनको खेलमा सितापुरीको एकजनालाई विषालु सर्पले डस्ने र उपचारको निमित्त चारआली ल्याउने अनि चारआलीमा म आफैं भएको डाक्टर र गँगा नर्सले उपचार गरेर सर्पले डसेको विरामी ठीक पार्ने तय भएको थियो ।

त्यसताका साँच्चै पनि हाम्रो गौरादह क्षेत्रमा कसैलाई सर्पले डस्यो भने उपचारको निमित्त चारआली पुर्याउनु पर्थ्यो । हामीले थुप्रै पटक रातबिरात सर्पले डसेको विरामीलाई उपचारको निम्ती चारआली लगिएको, कति बचेर फर्केको त कति पुर्याउन नपाई शरिरमा विष फैलेर मरेको देखेसुनेका थियौं । त्यसैको प्रभाव हुनसक्छ हामीले त्यसदिनको खेल पनि त्यसै अनुरुप खेल्ने नीधो गरेका थियौं ।

गँगा र मैले हाम्रो अस्पतालमा आवश्यक कुराहरु जुटाउँदा जुटाउँदै अर्कोपट्टी खेल्ने साथीहरु मध्ये केसुले कराएर सोध्यो, 'ओई दीपक, तिमर्को रेडी भयो? हामी आउने है अब बिमारी ले'र ।'

'नाईं नाईँ एकछिन् पर्ख, हाम्रो सबै रेडी 'को छैन ।' गँगाले कराएरै जवाफ दिईन् ।

'भयो भयो, अब के चाहिन्छ र?' , घाँटीमा सानो जुटको डोरीको स्टेथेस्कोप हालेर डाक्टरको कुर्शी भनिएको खोसेलाको पिह्रामा बसिसकेको थिएं, गँगाले मात्र सुन्ने गरेर बोलें ।

'अँ होला? याँ मैले सर्पले टोकेको दबाई नै ल्याउन बाँकी छ । ल्या'र तेल्लाई पिन्नु परो, अनिमात्र रेडी हुन्छ ।' गँगाको जवाफ मलाई थियो ।

त्यसबेला खेल्दा चरिअमिलोलाई हामी सर्पको दबाई बनाउंथ्यौं । सर्पले टोकेको ठाउँमा चरिअमिलोको लेप लाएर त्यसमाथि घोटेर कौडा आकारमा ढालिएको अँगार राखेर सर्पको विष निको पार्ने गर्थ्यौं हामी । कालो अँगारलाई चैं हामी झारमौरो भन्थ्यौं

चारआलीका डाक्टर र नर्स बनेर खेले पनि उपचार गर्दा भने गाउँ गाउँमा सपेराले सर्पको विष झार्ने जडीऔषधी भन्दै डुलाउँदै बेच्ने झारमौरोको काईदालाई अपनाएका थियौं । हुनपनि हामीले त्यसबेला चारआलीमा सर्पले डसेको विरामी लगेको थाहा पाएका थियौं तर त्यहाँ डाक्टरहरुले कस्तो विधीले उपचार गर्छन् भन्ने त हामीलाई थाहा थिएन ।

अर्कोपट्टी खेल्ने साथीहरु कराउन थाले, 'छिट्टो गर, हाम्रो विरामीलाई सर्पले टोकिसक्यो । अब छिट्टो ल्याएन भने बाटैमा मर्छ।'

अर्कोपाटीले अत्याउन थालेपछि मैले आफ्नोपट्टी तयार नहुनुको झोँक गँगामाथि निकालें, 'यो त नर्स भ'कि पनि के गर्छे गर्छे, यत्रो बेरसम्म सर्पको दबाई पनि ल्या'कि छैन र'छे । जा छिट्टो ले'र आइज '

मेरो आदेश पालन गर्दै गँगा फाल तोडेर दौडिन् । सर्पको दबाई भनिएको चरिअमिलो लिन हामीले खेल्दै गरेको स्थानबाट केहि पर धान खेतको डीलसम्म जानुपर्थ्यो । त्यहाँ निक्कै झाडी र डीलैमा यौटा पाडारीको रुख थियो ।

'पाडारीको रुख भा'ठाउँमा गएर छिट्टो ले है ' गँगा दौडीसकेकि भएपनि मैले फेरि अह्राएँ

यता म डाक्टरको कुर्शीमा पलेँटी मारेर बसिराखेको बखत अर्को पट्टीका साथीहरुले सर्पले डसेको विरामी ल्याईपुर्याए ।

उनिहरुले विष्टको ज्ञानेलाई सर्पले टोकेको विरामी बनाएका थिए । उसको एउटा नली खुट्टामा रातो रगत जस्तै थोरै रंग लगाएर सर्पले टोकेको ठाउँ बनाएका थिए र सर्पले टोकेको ठाउँदेखि माथी पारेर पाँसुलामा र तिघ्रामा गरेर तीन ठाउँमा पटासीले टन्टनी कसेर बाँधेका पनि थिए ।

केसु विरामीको बाउ बनेको थियो । थोत्रे ढाकाको टोपी लगाएर उ घरी घरी खुइय खुइय गर्दै थियो । गाउँले बनेर दुर्गे, भन्डारीकि विना, चन्द्री माईला आदि आएका थिए । उनिहरुले डाक्टरको टेवल भनिएको जुटको बोरामाथि विरामीलाई लम्पसार सुताए र 'छिट्टो दबाई गर्नुपरो डाक्टर सा', नत्र हाम्रो बिमारी मर्छ' भन्न थाले

विरामी बनेको ज्ञाने पनि साँच्चै सर्पले नै डसेको हो कि कै भाँती पारेर आलसतालस भएको, ओईलिएर लल्याकलुलुक भएको अभिनय गर्दैथियो

भने सर्पको विष झार्ने दबाई लिन गएकि गँगा नफर्किएकिले रीसले आँखा देख्नै छोडिसकेको थिएँ । तर त्यसबेला खेलमा अर्को पट्टीका साथीहरुलाई रीस देखाउन पनि मिल्ने थिएन मैले । रीस देखाउन मिल्ने आफ्नो पट्टीकि गँगा अझै फर्केकि थिईनन् त्यसैले उपाय रचेर मैले भनें, 'लु बिमारीलाई फड्को भैसकेछ । पैले शीतल पार्ने दबाई गर्नुपर्छ '

यौटा भाँडोमा पानी राखेर सानो टालो भिजाएर राखेको थिएँ मैले । त्यहि टालो निचोरेर विरामीको निधारमा राखिदिएँ र विरामीका आफन्तलाई पँखा हम्कन अह्राएँ । विरामीको बाबु बनेको केसु बाँसको खबडाको पँखा बनाएर विरामीलाई हम्कन थाल्यो  । म उपचारको अरु प्रक्रिया तयार गर्न थालेँ

'मलाई त साँच्चै सर्पले टोक्यो कि क्या हो?' हातमा एकमुठो चरिअमिलोको लहरो बोकेर गँगा आईपुगीन्

'टोक्छ टोक्छ तँलाई सर्पले, याँ बिमारी मर्न आँटीस'को । कति ढिलो गरेकि । खै ले यता त्यो दबाई, आज पिन्नु पर्दैन एत्तिकै लगाउने ।' मैले गँगाको हातबाट चरिअमिलो झम्टेर लिएँ र हातैमा माड्न थालेँ

'हो भनेको के । यी याँ हेर त, कस्तो पोल्दैछ ' उसले खुट्टाको त्यहि भागमा सानो खोस्रिएको जस्तो दाग देखाई जहाँ ज्ञानेलाई सर्पले टोकेको बनाएर रंग लगाइएको थियो

चरिअमिलो हातमा माड्दै मैले गँगाको खुट्टामा नियाँलेर हरेँ त्याँहा थोरै रगत पनि निस्किएको जस्तै देखिन्थ्यो ।

', तँलाई सीरुको टुसाले घोचेछ । पर्खी, पैले यो बिमारी जाती पारेर तेरो पनि दबाई गर्छु म ।' गँगालाई पर्खन लगाएर मैले ज्ञानेको सर्पले टोकेको नक्कली घाउमा चरिअमिलो राखेँ र अँगारको झारमौरो पनि राखें र भनेँ, 'अब पाँच मिनेटमै सर्पको बिख झर्छ र जाती हुन्छ ।'

यता गँगा साँच्चीकै आलसतालस भईन् र तिर्खा लाग्यो भन्न थालीन् । मैले खेल्ने ठाउँमा पिउन मिल्ने पानी पनि राखेको थिएँ यौटा सिसाको बोतलमा । गँगालाई त्यहि दिएँ । उनले जन्म जन्म देखिको प्यास मेटाउन पिए जस्तै बोतलको पानी घट्घटी पिएर रित्याईन् ।

'साँच्चै टोकेको हो कि क्या हो दीपक? ठुलो मान्छेलाई बोलाउनु पर्छ होला ।' केसुले गँगालाई साँच्चै सर्पले डसेको हुनसक्ने अनुमानमा भन्यो ।

'होइन होइन, एल्लाई तिर्खा लागेर त्यस्तो 'को । अब म दबाई गर्छु यस्को ।' मैले विश्वस्त पारें ।

ज्ञानेको शरिरबाट सर्पको विष झरिसकेको थियो । मैले उसको खुट्टामा कसेर बाँधिएको पटासी खोलिदिएँ । उ उठ्यो । तर विरामी ल्याउनेले उपचार गराएको पैसा तिर्न नपाई गँगा लम्पसार परेर सुतिन् र पेट पोल्यो भनेर छट्पटाउन थालीन् । केसु ठुला मान्छे बोलाउन जान तम्सिंदैथियो ।

'ए यस्ता मुला सर्पले नै टोकेको भएपनि म सर्पकै डाक्टर त हो आज । जाती पारिहाल्छु नि अब । बोलाउनु पर्दैन ।' मैले रोकेँ । केसु र म भएर गँगालाई जुटको बोरापट्टी सार्यौं र मैले घाँटीमा स्टेथेस्कोप बनाउन झुण्ड्याएको डोरीले गँगाको खुट्टामा बाँधे ।

'मलाई साँच्चै सल्पले तोकेको होला । अब मलेँ भने के गल्ने?' बोरामा लम्पसार परेकि गँगा एकाएक तत्याङ्ग्रिएर बोल्न थालीन् । उनको जिब्रो लट्पटिसकेको रहेछ । तर म भने साँच्चैको डाक्टर नै भए जस्तै केहि हुँदैन, म जाती पार्छु भन्दै चरिअमिलो माडेर उनको खुट्टाको घाउमा राख्न थालेँ ।

गँगाले फेरि पानी मागिन् । हामीसँग त्यहाँ अरु पिउन मिल्ने पानी थिएन त्यसैले मैले ज्ञानेलाई अघिकै बोतल दिएर अह्राएँ, 'जा यस्मा पानी लिएर आइज ।'

ज्ञाने बोतल लिएर पानीलिन घरतिर गयो । यता गँगा झन छट्पटाउन थालीन् । उनको अनुहारको रंग नै अर्कै हुँदै जाँदैथियो । म भने आफ्नै हिसाबले उनलाई उपचार गर्न अझै जुटिरहेको थिएँ । गँगा आँखा हेर्नै छाडेर नबुझिने गरि लर्बराएको स्वरले बर्बराउँदै थिईन् ।

पानी लिन गएको ज्ञानेसँग हस्याङ्ग फस्याङ्ग गर्दै उसको ठुल्दाजु पनि आउनुभयो । ज्ञानेले गँगाको बारेमा सबै बताईसकेको रहेछ उसको ठुल्दाजुलाई । गँगालाई देख्ने बित्तिकै आत्तिएर भन्नुभयो, 'कतिबेला टोकेको? किन अघि नै तिमर्ले ठुलामान्छे नबोला'को?'

'मैले बोलाउन खोजेको यै दीपकले म दबाई गर्छु केहि हुँदैन भनो र नबोला'को ।' केसुले यथार्थ बतायो तर मलाई उसले पोल लगाएको जस्तै महसुस भयो । अब खेलको स्वादमा गर्याम् गर्याम् बालुवा मुक्याएझैं भैसकेको थियो मलाई । खेल खेल नरहेर ठुलो दुर्घटनामा रुपान्तरित भैसकेको थियो ।

'तेरिमा साले, तँ खुब डाक्टर हुने? पख्लास् तँलाई, यस्लाई केहि भयो भने पुलिस् बोला'र तँलाई झ्यालखाना नपठाई त....' ज्ञानेका ठुल्दाजुले मेरो गालामा एक झाप्पु कस्नुभयो र गँगालाई बोकेर दौडिनुभयो ।

केसु, ज्ञाने र अरुहरु पनि पछि पछि दगुरे । म केहिबेर तिरिमिरी झ्याँई तोरीको फूल देखेर रन्थनिईरहें र केहिबेरमा लुसुलुसु उतै लागें

वरपर निक्कै हाईहुई, हल्लीखल्ली भयो । राईकि गँगालाई सर्पले टोक्यो रे भन्दै मान्छेहरु गँगाको घरतिर दगुर्न थाले ।

गँगाको घरको आँगनमा झुरुम्म मान्छेहरु भेला भैसकेका थिए । गँगालाई आँगनमा लडाईएको थियो । भेला भएका मान्छेहरुले शरिरभरी सर्पको विष फैलिसकेको र प्राण पखेरु उडिसकेको ठहर गरिसकेका थिए । गँगाकि आमा 'मेरि रानी, मेरि पुतली जस्ति छोरी यो तिमीलाई के भयो? हे दैब.....' ईत्यादि भन्दै छाति पिट्दै, मजेत्रोले अनुहार पुछ्दै रुँदै थिइन् । म आँगनमा निस्कन डराएर करेसोमा भएको सिंवीको झालमा छलिएर अपराधिझैं सबै हेरिरहेको थिएँ ।

भेलाभएका मान्छेहरु केसु, ज्ञाने र अरु खेलका साथीहरुलाई के भयो कसरी भयो भनेर सोधिखोजी गर्दैथिए । उनिहरु पालैसँग यस्तो यस्तो भयो भन्दै परि लाउँदै मलाई दोषी देखाउँदैथिए । सिंवीको झालमा लुकेको म भने अब पुलिस आउनेछ र मलाई बाँधेर झ्यालखानमा थुन्न लानेछ भन्ने भयले सास दबाएर थाँक्रो हालेको कुनै रुखको लाथ्रोझैं खडा थिएँ । त्यसबखत मेरो आँखा र कान बाहेक शरिरका अरु सबै अँग निश्क्रिय बनेझैं भएको थियो । म अपराध गरेको र अब उम्कने बाटो पनि नरहेको स्थितीमा थिएँ त्यहाँ । आँखाले पनि पुलिस आएको र सिंवीको झालभित्रैबाट समातिएको दृश्य देख्न थालिसकेको थियो

अचानक गँगाको बाउको धोद्रे स्वर मेरो कानमा पर्यो, '....त्यो बरा बालखलाई अब के दोष लाईर'नु? केटाकेटिलाई के थाहा हुन्छ के भ'को हो भन्ने? हाम्री छोरीको लेखान्त नै यत्ति नै रहेछ । .....एकछिन् छुट्टिदैनथे उसंगै खेल्दाखेल्दै जानु र' एल्लाई.... ।'

गँगाको बाउको स्वर सुनेपछि मेरो शरिरमा रक्तसञ्चार हुनथालेझैं भएथ्यो मलाई । पुलिस लाएर पकडाउने रहेनछन् भन्ने कुराले ढुक्क भएर लामो सास फेरें मैले । एकाएक आँखाबाट तरर आँसु चुहिएर आए । भित्रैदेखि भक्कानो फुटेर आयो । म डाँको छाडेर रुन थालेँ भने मेरो उपस्थिती सबैले थाहा पाउनेछन् र मलाई गाली गर्नेछन् भन्ने भयले त्यहाँबाट धाईफल तोडेर घरतिर दगुरें म ।
घरपुगेर अघाउँजी रोएँ । धेरै दिनसम्म रोएँ । यदाकदा गाउँका ठुला मान्छेहरुले गँगाको मृत्युको दोष मलाई लगाउँदा झन् साह्रो रोएँ म । म ठुलो भैसकेपछि सायदै सबैले यो दुर्घटना बिर्सिए तर मैले गँगालाई सम्झिँदा अझैपनि रुन आउँछ मलाई । अझैपनि मैले गर्दा नै गँगा मरेकि हो भन्ने लागिरहन्छ ।

......................................

'साँच्ची त, हामी छ नि सानोमा चारवटा पत्ता भएको चरिअमिलो खोज्थ्यौ, लक्कि हुन्छ भनेर । हेर्नुस् त यो सबैमा तीन तीन पत्ता भएको मात्र हुन्छ । चारपत्ता हुँदैन है?' अघिदेखि निहुरिएर केहि अनुसन्धान नै गरेझैं गरिरहेकि शर्मिलाले तीनपत्ते चरिअमिलोको टुक्रा म तिर बढाउँदै आउँदा म झसँग भएँ ।

**********

 

Comments

Shiva Prakash

Chariamilo ko memory bidarak nai rahe6. 

आशमा

राम्रो कथा! तर मलाई त अब डर पो लाग्न थाल्यो  दीपकजीसंग दोस्ती गर्यो भने मरिने पो हो कि भनेर !! सबै केटी साथीलाई (पात्र )  किन मराउने होला ?!! दीपकजी अब आउने कथा निकै सवल र समाजमा सुनौलो परिपर्वतन गर्न सक्ने साहासिलि प्रगतिशील महिला पत्र राख्नुस है ! साच्चै कथा निकै चाख लाग्दो छ ! अहिले सम्म त गंगाले पुनर्जन्म लिसकेकि होलिन है :)

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |