हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

धुस्वाँ: कहिल्यै नझर्ने फूल

प्रकाश सायमी , (गोधुली संसार )


धुस्वाँ सायमी नेपाली साहित्यजगत्का एक अन्तर्राष्ट्रिय दूत हुन् भन्दा द्विअर्थ नलाग्ला । यसका पछाडि धेरै अर्थातीत सन्दर्भहरू जोडिन आउनसक्छन्, जसबाट उनको साहित्यिकसत्ताको मुक्कमल समयको अब्बल व्याख्या गर्न सकिन्छ । उनको भारत प्रवासको समयमा भारतीय लेखकसित नेपाल र नेपाली लेखकसितको सभा–सङ्गत, त्यसमुताविक सिर्जनात्मक सहभागिता एक उल्लेख्य उदाहरण बन्न सकेको थियो । उनी भारतमा नेपालका सांस्कृतिक सहचारी भएर दिल्लीमा बस्दा उनले भारतकी चर्चित लेखिका अमृता प्रीतम, कुँवर नारायण, रामदरश मिश्रसित बिताएका प्रीतिकर क्षण साहित्यिक दस्तावेज बनिसकेको सत्य हो । यसैसन्दर्भमा हिन्दी भाषाकै चर्चित उपन्यास अदालतमा उनलाई नायक बनाएर लेखिएको प्रसङ्ग भारतीय र नेपाली साहित्यिक फाँटका लागि अविस्मरणीय र सान्दर्भिक घटना हो, जसले कालान्तरसम्म नेपाली–भारतीय साहित्यको सीमा संरक्षण गरिरहनेछ ।
हिन्दी साहित्यबाट लेखन सुरु गरेका धुस्वाँको पहिलो रचना ‘बालक’ भन्ने पत्रिकामा संस्मरणात्मक विधाबाट अभिप्रेरित थियो र त्यही रचना नै उनको साहित्यिक जीवनको सोपान थियो । उनको मातृभाषा नेवारी भए पनि उनले लामो समयपछि मात्र नेवारी भाषामा लेखिएको इतिहास देखिन्छ । मातृभाषमा उनको लेखनको ढिलाइ दुई कारणले भएको हुनसक्छ, एक प्रकाशन र विपणनको अभाव र दोस्रो स्वयंलाई भाषामा कमान नहुनु । उनी स्वयंले एक अन्तर्वार्तामा स्वीकारेका पनि छन्— “मैले मेरी पत्नी वसुन्धराबाट नेवारभाषा र संस्कृति बढी सिकेँ ।” काठमाडौँको मध्यवित्त परिवारमा जन्मेकी वसुन्धरा सायमी नै धुस्वाँलाई मातृभाषामा आकृष्ट गर्ने एक प्रेरक व्यक्ति हुन् भन्दा अत्युक्ति नहोला ।
नेपालभाषामा पहिलो उपन्यास लेख्ने साहसी लेखक धुस्वाँको पहिलो कृति स्त्रैन्य विषयमा केन्द्रित थियो । मिसा(आइमाई) शीर्षकको उपन्यास प्रकाशन हुँदा भारतमा मोहन राकेशको ‘अन्धेरे बन्द कमरे’को व्यापक चर्चा र प्रसङ्ग थियो । त्यस कृतिले साहित्य एकादमी पुरस्कार पाउँदा धुस्वाँ आफ्नो उपन्यासको तयारीमा थिए भने नेपालमा नेवारीभाषालाई दमन र प्रकाशनमा सेन्सरसिपको कठोर प्रथा यथावत थियो । त्यस समय नेवारीभाषामा कवि चित्तधर हृदय, मोतिलक्ष्मी उपासिका, फत्यबहादुर सिंह, हृदयचन्द्रसिंह प्रधान, गिरिजाप्रसाद जोशी भाषा आन्दोलनका पर्याय थिए भने धुस्वाँ त्यस सत्रका एक प्रमुख घटकका रूपमा प्रकट भए । शिक्षित परिवारमा हुर्केका धुस्वाँको लेखनको प्रभावले जाति जागरण र भाषा मुखर हुनु स्वभाविकै थियो । उनमा प्रशस्त विदेशी साहित्यको अध्ययनशीलता र सांस्कृतिक परिवेशको अन्तरङ्ग ज्ञान थियो, जसको समुचित प्रयोग गद्यलेखनमा बाहेक अन्य विधामा सम्भव थिएन । उनले उपन्यासलाई मुकाम बनाए । त्यस अर्थमा नेवारीभाषाका प्रथम उपन्यासकार भए उनी ।
धुस्वाँ जन्मेको परिवारको पर्यावरणीय असर उनमा त्यतिबेला प¥यो, जब उनी अध्ययनका लागि भारतमा प्रवासित भए । नाम र थरका कारण भारतीय मूलका एक हिन्दी कविले उनको नाममा व्यङ्ग्य गरेपछि उनले आफ्नो नाम र थरलाई नेवारीकरण गरे । त्यो त्यतिबेलाको नयाँ र नौलो मात्र नभई क्रान्तिकारी कदम थियो । मानन्धर थरबाट परिचित नेवार समुदायका व्यक्तिहरूलाई सामाजिक रूपमा होच्याएर सायमी भनेर भन्ने कुपरम्परा थियो, राणा प्रधानमन्त्री रणोद्विप सिंहको शासनकालदेखि क्रुद्ध राणाहरूले पानी नचल्ने भनेर घोषित मानन्धरहरू मल्लकालमा निर्माण विज्ञका रूपमा प्रतिस्थापित भएका कारण निर्माणधर भनेर विभूषित थिए । तिनै मानन्धरलाई राणाकालमा कोपभाजनका कारण साल्मी भनियो, जसको पेशागत क्षेत्र तेलको साल सञ्चालन गर्ने र भट्टीपसल चलाउने जिम्मेदारीमा सीमित राखेर अन्य सहभागिताबाट वञ्चित गरिएको अवस्थामा धुस्वाँको त्यो कदम एक साहसिक छलाङ मात्र नभई परिवर्तनका, स्वीकारको र सहजताको नयाँ परिभाषा थियो । तसर्थ उनले सायमी उपनाममा गार्खालीपनको कठोरता र नेवारीपनको सांस्कृतिक कोमलता त्यहीँ देखाए, जहाँ त्यतिबेला भारत बेलायतको एउटा उपनिवेश मात्र थियो ।
नेपाली, नेवारी, हिन्दीबाहेक अङ्ग्रेजी भाषामा पनि लेखनीय दम्भ भएका धुस्वाँको भाषाको प्रबलता हिन्दी र नेवारीभाषामा प्रवीण थियो भने निबन्ध र कवितालेखनमा भएको सार्थकताले गर्दा उनको उपन्यासमा कवितात्मक गद्यको नवीनता पाइन्छ । उनका उपन्यास कृतिहरू नेवारीमा बाहेक हिन्दी, मलयालम, चेक, जर्मन र नेपालीमा पनि गर्वका साथ पढ्न थालियो । यही गर्वशाली युगको प्रवेशद्वारमा धुस्वाँलाई पछ्याउँदै उनका अनुज–अनुयायी मथुरा सायमी, राज सायमी, शशीकला मानन्धर, भूषणप्रसाद श्रेष्ठ उपन्यासकारका रूपमा प्रकट भए । यो प्रकटको प्रमुख सूत्रधार धुस्वाँ नै हुन् भन्ने निर्दलीय आधारमा दुईमत हुन नसक्ला ।
वि.सं. २०१६ सालमा प्रकाशित उनको अर्को उपन्यास गंकीले नेपालभाषामा मात्र नभई नेपाली साहित्यमा समेत मार्गको खोजी गरेको स्पष्ट भान हुन्छ । समालोचक डा. तारानाथ शर्माको भनाइअनुसार— “यो नेपाली भाषाको ‘पाथ फाइण्डर कृति’को पर्याय हो ।” यस कुरालाई हृदयतः अवलम्बन गर्ने हो भने फ्रायडीयन मनोविज्ञानका आधारमा लिखित उपन्यासको धरामा यो कृति प्रथमेव भएको प्रख्य देखिन्छ । धुस्वाँलाई नेपाली जनसमाजले उपन्यास सम्राटका रूपमा सम्मान दिएको अन्यायौचित ठहरिँदैन । उनको उपन्यासको कथ्यपरम्परामा नारीको मनोविश्लेषणात्मक पक्ष, जातीय वकालती, भाषागत प्रवाह, जीवनजत्तिकै गहिरो जगत् र त्यस मुताविक गरिएको खोज र खनिज नै सायमीय सम्पत्ति वा ऊर्जा मान्न सकिन्छ । उनले गंकी उपन्यास आफ्ना समकालीन स्रष्टा विजय मल्ललाई घरीघरी लेख्न आग्रह गरे पनि मल्ल स्वयंले धुस्वाँलाई ‘मानन्धरको विषय र कलालाई तिमीले न्याय गर्न सक्छौ’ भनेपछि धुस्वाँ स्वयंले नै कलम उठाउनु परेको त्यो गर्वशाली क्षणलाई उनी चुनौतीका रूपमा सम्झन्थे र त्यो चुनौतीलाई समुद्रको एक लहरको रूपमा सम्मानका साथ ग्रहण गरेको उनी स्वीकार्छन् । गंकीको अध्ययन गर्दा उनी भारतीय लेखिका अमृता प्रीतमले भनेजस्तै इमान्दार स्रष्टाका रूपमा देखिन्छन्, यो उनको इमानदारीपन ‘दीपा’ उपन्याससम्म पनि विशिष्टताका साथ रहेको देख्न सकिन्छ ।
कवितामा बढी विद्रोही देखिने धुस्वाँको भाषा स्वतन्त्रताको भाषा हो, उनको लेखनको आग्रह कोसौँकोस टाढासम्म मान्छे र मान्छेभन्दा बढी अरू केही हुनसक्दैनथ्यो । काठमाडौँको र तराईको परिवेशलाई सहजतासँग गमन गर्नसक्ने धुस्वाँले आफ्नो मातृभाषाबाहेक अन्य जातिका मातृभाषालार्य पनि सम्मान गर्ने उद्देश्यले गंकी–वसुन्धरा पुरस्कारको स्थापना गरे । त्यस भावनालाई कदर गर्दै भोजपुरी, मैथिली र मगर भाषाका लेखकलाई सम्मान पनि गरे । मगर भाषाका प्रथम उपन्यासकार सञ्जोग लाफा मगरलाई सम्मानित गर्दा उनले आफूलाई मनपर्ने कवि शमशेरबहादुर सिंहको भनाइ सापटी लिँदै भनेका थिए— “संसारका हरेक भाषा हाम्रा मातृभाषा हुन् ।”
मातृभाषालाई अत्यन्त सम्मान गर्ने कवि, उपन्यासकार, नाटककार एवं निबन्धकार सायमी जीवनको अन्तिमकालमा परिवारद्वारा नेवारी परम्पराको सतत् सम्मान ‘जङ्कु’बाट आरोहण भएका थिए भने पुरस्कारमा मधुपर्क सम्मानद्वारा अन्तिमपटक सम्मानित भएका थिए । सतहत्तर वर्ष सात महिना चौध दिन पार गरेका महायात्रामा हिँडेका धुस्वाँको शाब्दिक अर्थ हुन्छ— ‘धूलोको फूल’ । उनको दिगन्त प्रस्थानपछि उनका एक सजातीयले उनको सम्झनामा नेवारीमा यस प्रकार लेखे— “धुया स्वाँ छ, धुले नासे जु वनः अझ नस्वाः जुईत (धूलोको फूल तिमी धूलोमै मिसिन गयौ, अझै सुभाषित फूल बन्नका लागि) ।”
आफ्ना सहजीविद्वारा आफ्ना बारेमा लेखिएका यी पङ्क्ति पढ्न नपाए पनि धुस्वाँले आफ्नो जीवनकालमा प्रशस्त साहित्यिक सराहना र आत्मसम्मान हुने साथी–सङ्गत पाएका थिए भने युवाहरूका उनी प्रेरक अग्रज थिए । उनी हरेक नवागत लेखक–कविलाई तिनका रचना पढेपछि फोन गरेर वा भेटेर प्रतिक्रिया दिन्थे, जसका कारण उनी युवामाझ सदैव जगप्रिय रहे । कविता, कथा वा उपन्यासका हरेक किताब किनेर पढ्नुपर्ने उनको बानी अध्ययनहीन हाम्रो समाजको लागि प्रेरणाको पाठ बन्यो भने पुस्तक सङ्कलन र वितरण गर्ने उनको बानी नक्कल गरिनसक्ने महँगो शौख बन्न पुगेको छ नेपाली जनस्थानमा । संसारकै सबभन्दा महँगो कलम मानिने मोन्ट ब्ल्याङ्कदेखि पार्कर, शेफरजस्ता कलमहरू सङ्ग्रह गर्न रुचाउने धुस्वाँको सङ्कलनमा सदैव मित्रहरूका कृति र विदेशी स्रष्टाहरूको आत्मगाथा, संस्मरण प्रथम दर्जामा पर्दथे । माईकल ओन्डत्ज्जेका कविता, ह्याण्डराइटिङ्ग पुस्तकका लागि उनले काठमाडौँको एक चर्चित पुस्तक पसललाई दसप्रति पुस्तकको पारवहन सःशुल्क भुक्तानी गरेर पुस्तक मगाएको कुरा पिलग्रीम्सका तिवारी अचम्भित भएर सदैव सुनाउँछन् । उनका कृतिका निकटतम प्रशंसक राजनीतिज्ञ कमरेड पुष्पकमल दाहालले उनको देहान्त भएको भोलिपल्ट यस पङ्क्तिकारलाई भनेका थिए— “उहाँ नेपालका सच्चा मौलिक सर्जक हुनुहुन्थ्यो, मलाई उहाँसित एकदिन सिङ्गै बिताउन मन थियो, त्यो अधुरै भो...।”
तर धुस्वाँको साहित्यिकयात्रा पाठकका निम्ति अधुरो रहेन । उनका पाठकले हरेक विधाका, हरेक किसिमका रचनाहरूको चास्नी लिन पाए । अझै नेपाली र नेवारीबाहेक अन्य भाषाका पाठकले पनि उनको रचनाको लोकरञ्जनकारी स्वाद लिन पाए । यो नेपालजस्तो मुलुकका लेखकको ठूलो भाग्य हो । धुस्वाँ भन्थे— “म तबसम्म बाँचिरहन्छु, जबसम्म म लेखिरहन्छु ।” उनलाई उनको लेखनले कहिल्यै नमर्ने र उनको बानीले कहिल्यै नबिर्सने लेखक बनाएको छ, यो उनको कलमको करामत र हृदयको उदारताको परिणाम हो ।

Comments

Shiva Praksh

very very informative .... thank you basu sir and Prakash Dai.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |