हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बाँदरीय सिद्धान्तको सफल प्रयोग

संप्रस पौडेल दिवस, (हेटौंडा)

गहिरो अँध्यारो गुफामा बस्ने माछा आँखाको उपयोग नहुने कारणले अन्धो हुन्छ । जुन अङ्गलाई व्यवहारमा ल्याइँदैन, त्यो अंग विस्तारै हराउँदै जान्छ । त्यसैले बाँदरले पुच्छरको प्रयोग गर्न नजान्दा नजान्दै बाँदरहरु पुच्छर नभएको मान्छे बनेछन् । बाँदरलाई मानिसको पूर्खा हो भन्दै हजारौं बैज्ञानिकहरुले तर्क गरे । हाम्रो गाउँघरतिर पनि बालबच्चा, बयस्क, ठिटाठिटी बढी नै चकचके भए वा चले वा जिस्किएमा कस्तो बाँदर जस्तो चलेको भनी हामी आफ्नो पूर्खाको स्मरण गर्दछौं । छोराले कापी च्यात्यो भने बाँदर जस्तै भईस् भन्छौं, छोरीले कपाल बिगारी भने बाँदर्नी नै भइस् नी भन्छौं ।

गृहकार्य नगर्दा शिक्षकले कहिलेकाँही कुखुरा बनाएपनि हामी कुखुरा कहिल्यै हुन सकेनौं । किनकी एउटा विद्यार्थी बाँदर भयो तर कुखुरा कहिल्यै हुन सकेन । सक्यो त केवल बाघको खोल ओढेको गधा, वा बाँदरे कुखुरी काँ । हामी सँधै बाँदरका खनाती बबुरो, एकछिन कक्षामा कुखुरो । त्यसैले आफ्नो पुर्खाको नक्कल गर्न लगाएर पुख्र्यौली बेइज्जत गराउनुभन्दा कुखुरा बनाउनु धेरै राम्रो ठाने शिक्षक शिक्षिकाले ।

स्कूल जाँदा कलम बिर्सने तर कलकत्ते काँइयो भिर्ने शिक्षक, एकअर्कालाई पुच्छर झुण्ड्याई बस्ने विद्यार्थी, क्लास जानु अघि ऐनामा हेरी एक्लै मुसुक्क मुस्काउने शिक्षिका, भएका भौतिक संरचना भत्काउने हड्तालिया वा बन्दकर्ताहरु सबै बाँदरका रुप हुन् भन्दा नपत्याउने जति बिग्रे । आफ्नो पण्डित्याईमा गणेशका सट्टा सुपारी, सरस्वतीको सट्टा किताब, विष्णुको सट्टा पिपल, गाईको सट्टा गोबर राख्न लगाउने पण्डित बाजेले चामलको सट्टा माटो, धानको सट्टा बर्कौला र भेटिको सट्टा कागज वा अरु केही झारपात राख्न कहिल्यै लगाएनन् । त्यसो त घोडा र घाँस अनि बाघ र मृगको दोस्ती कतिञ्जेल टिक्नु र ? पैसो तिरेर खानुपर्दा खल्ति टक्टक्याउने अनि सित्तैमा पाउँदा तीनमाना चुक खाने प्रवृत्तिले नै मानिस बाँदरको खनाती पुस्ता पक्कै हो भन्ने यो स्तम्भकारको व्यक्तिगत लख हो ।

यहाँ श्रीमानले श्रीमतीलाई कुट्नु, विद्यार्थीले शिक्षकमाथि मुड्की बजार्नु, कर्मचारीले हाकिमको हड्डि फुस्काउनु, नेताले झूट बोल्नु, कार्यकर्ताले राजनैतिक आडमा शक्तिको दुरुपयोग गर्नु, अपराधीलाई पाकेको चना राष्ट्रवादीलाई घोडाको दाना खुवाउने सरकारी प्रवृत्ति, चोरलाई चौतारो साधुलाई शुली गरिने सदियौंदेखिको राजनैतिक परम्परा आदि बाँदरिय सिद्धान्तका सफल परीक्षणहरु हुन् । यसैले हाम्रो समाज नै बाँदरमय भई सकेको छ भन्दा मपाइँ तपाइँ सबैलाई अप्ठेरो नहोला की ?

शिक्षकहरुले नमस्कार नगरेको निहुँमा हेडसरले स्टाफ मिटिङ्ग राख्नु, स्वच्छ प्रतिस्पर्धाविना अभिभावक र पार्टिको वैठकले शिक्षकको भर्ति गर्नु, रीसाएर श्रीमतीले तरकारी डढाइदिनु, छोराले होमवर्क गर्ने कापीमा लभलेटर लेख्नु, छोरीले रुमालको स्कर्ट सिलाउनु, भाईले दाइको मोबाइलबाट गर्लपे्रmन्डलाई पैसा ट्रान्सफर गरिदिनु, आमाले उपचारलाई दिएको पैसा व्यथा लुकाई लुकाई थैली र कन्तुरमा लुकाउनु, बाले तिर्थव्रत जाने निहुँमा रकम असूली तासको खालमा समय बिताउनु, साथीहरुले तलब आएको दिनमा कार्यालयबाटै बोकेरै भट्टि भित्र्याउनु, हाँडी फुटाएको निहुँमा अड्डामा तारेखले हैरान हुनु, पत्रिकामा लेखेको भरमा सार्वजनिक अपराध गुथाइनु, लाइनर (लाइन गनेर पारिश्रमिक पाउने पत्रकार) ले लेखेको हात्तिजत्रो समाचारलाई सम्पादकले मुसाजत्रो बनाइदिनु, लेख लेखेर आउने पारिश्रमिकले एउटा कलम र डायरी किन्न धौधौ भई पित पत्रकारिता गर्नतिर लाग्नु, गुनासो गर्दा चियामा टार्नु, भट्टिवाल्नीले ब्राण्डेड विदेशी रक्सीको बोत्तलमा तिनपाने मिसाई बेच्नु, आलु बेच्नेले राता माटोका डल्ला बोरामा खाँद्नु, साग बेच्नेले घाँस मिसाउनु, चामल बेच्नेले सेता ढुंगा मिसाउनु, गा.वि.स. सचिवले चियाको भाउ बढेको निहुँमा पाँच रुपियाँबाट दश रुपियाँ अतिरिक्त शुल्क लिनु, मालपोतमा जिब्रो चपाउँदै हात मोल्ने कर्मचारीले नियम नपुगेको भन्दै तीन चोटी निवेदन फर्काईदिनु, दश हजारको चिट्ठा पर्दा लाख रुपियाँको पार्टि दिनु, प्रधानमन्त्रिले चियापानका नाममा लाखौं खर्चिनु र सभासदहरुले संविधान बनाउने नाममा अरबौं डकार्नु आदि सबै बाँदरीय प्रवृति हुन् भन्ने यस सिद्धान्तको आशय र पूर्ण व्याख्या पनि हो ।

विज्ञानका अनुसार हाम्रो पुच्छर काम नभएकै कारणले लोप भयो रे । यस्तै हो भने हाम्रो कपाल, दाह्री, नङ पनि लोप हुन्छन् होला । विज्ञानको यो नियमलाई सत्य हुने हो भने केही बर्षपछि हाम्रा नेताजीहरुको जिब्रो बाहेक अरु केही पनि बाँकी रहँदैनन् । गरिखाने भाँडो (जिब्रो) मात्रै बाँकी रहेपनि यिनीहरु भट्भट्याउँदै गर्छन् भन्ने चाँहि विज्ञानको नभई यो स्तम्भकारको व्यक्तिगत सिद्धान्त हो । यस बाँदरीय सिद्धान्तको प्रयोग र लागूको सफलतामा तपाई पाठक महोदय सहमत हुनोस् या नहुनोस् आगे तपाई विचार । अस्तु ।

Comments

reema

sarai ramra lekh lagyo sampras sir

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |