नीलो प्रतिबिम्ब
विद्या सापकोटा, (काठमाण्डौं )
छुट्दा–छुट्दै
साटिएको
दुइ दाना मोती
सुरक्षित राखे थें हृदयको खाल्टोभित्र ।।
खराब मौसम मनको ,
बेला–कुबेला
उम्लदै/छचल्किदै
भिजाइदिन्छ
आँखाका डीलहरु ।।
अनि हेर्न थाल्छु,
परदेशी तस्विर
तस्विर किनाराका समुद्रहरु
फेरी हेर्छु
आफू अटाएको समुद्र,
आफ्नै झण्डाका किनाराहरु ।।
यी त उस्तै पो देखिए,
त्यसैले पो
म माथिको आकाश,
मेरा सपना
र
हाम्रा आँशुका नदी
एकै रंगको हुदोँ रहेछ
बिल्कूल नीलो ..............।।